coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

गेमचेन्जर कार्यक्रम : बालविकास शिक्षा

२०७८/२०७९ का लागि प्रस्तुत गरिएको बजेटमा बालविकास कक्षामा शिक्षण गर्ने शिक्षकको मासिक पारिश्रमिक छ हजारबाट आठ अजार पुर्‍याइयो। स्थानीय तहले सात हजार थप गरी १५ हजार पारश्रमिक पुर्‍याउनुपर्ने भन्ने उल्लेख गरियो। विगतका बजेटमा बालविकास कक्षाका शिक्षकको पारिश्रमिकको कुरा उल्लेख नै हुँदैनथ्यो। अन्य शिक्षक कर्मचारीको तलब पढ्दा पनि न्यून पारिश्रमिक पाउने यी शिक्षकको तलब बढेको थिएन। एक दुई हजार पारिश्रमिक थपिए पनि शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट शिक्षाका कार्यक्रम र बजेट सार्वजनिक गर्दामात्र थपिने कुराको जानकारी हुन्थ्यो। यस पटक बजेटमा नै दुई हजार थपिएको हुनाले बालविकास तथा शिक्षामा न्यून तलवमा काम गर्दै आएका शिक्षकहरूले राहत महसुस गरेका छन्।  

स्थानीय तहहरूको भनाइ भने फरकखालको छ। उनीहरूले संघीय सरकारले पारिश्रमिक १५ हजार पु¥याउन चाहेको हो भने बजेटमा नै उल्लेख गर्नुपथ्र्याे। हैन भने सबै पारिश्रमिक पुग्ने रकम समपुरक बजेटमार्फत हस्तान्तरण गरी न्यूनतम पारिश्रमिक पुर्‍याउन स्थानीय तहलाई निर्देशन दिनुपथ्र्याे। संघीय बजेटमा दुई हजार थप गरी सात हजार पारिश्रमिक स्थानीय तहले दिनुपर्नेछ भन्ने उल्लेख गर्नाले स्थानीय तहहरूले समस्या थपिएको महसुस गरेका छन्। स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएकै वर्षदेखि कुनै स्थानीय तहले दुइै हजार त कसैले छ सात हजार थप गरी पारिश्रमिक दिएका थिए। धेरै स्थानीय तहले यस आ.व.को आफ्नो बजेट सार्वजनिक गर्दा दुई हजारमात्र थप्ने उल्लेख गरेका छन्।

शिशु अवस्थामा राम्रो वातावरण पाएको वयस्कले जीवनको कुनै अवस्थामा समस्यामा परे पनि अर्को समयमा क्षतिपूर्ति गर्न सक्छ तर शिशु अवस्थामा भएको क्षतिलाई भने कुनै पनि तरिकाले पूर्ति गर्न सक्दैन।  

फ्रान्समा विगतमा चार वर्षको उमेरदेखि १८ वर्षको उमेरसम्म अनिवार्य शिक्षा तोकिएको थियो। गत वर्ष तथा सन् २०२० देखि सामाजिक असमानता घटाउन, विपन्न परिवार तथा सामाजिकरूपमा पछाडि परेका परिवारका बालबालिकालाई गरिने संरक्षण र शिक्षाको गुणस्तर बढाउन भनेर उक्त नीतिमा परिवर्तन गरी तीन वर्ष उमेरदेखि १८ वर्षसम्म हुने बनाएको छ। एक वर्षको बालशिक्षाको अवधि बढाएर दुई वर्षको हुने बनाएको छ र सरकारी लगानीसमेत बढाएको छ।  

प्रारम्भिक उमेर तथा जन्मदेखि आठ वर्षको उमेरसम्मको अवस्था मानव जीवनको महत्वपूर्ण र विशेष अवस्था हो। प्रभावकारी बालविकास तथा शिक्षालाई रुख बिरुवाको नर्सरी जस्तै मानिन्छ। हरेक रुख बिरुवा, जीवजन्तु, जनावरकोे प्रारम्भिक अवस्था भनेको निकै सम्वेदनशील हुन्छ। प्रारम्भिक अवस्थामा पाउने हेरविचार, स्याहार तथा संरक्षण तथा सकारात्मक वातावरणसँग वयस्क उमेरमा हुने स्वस्थता, उत्पादनशीलता समानुपातिक हुन्छ। मानव शिशुले गर्भावस्थामा र जन्मपछिका प्रारम्भिक वर्षहरूमा पाउने वातावरणले वयस्क अवस्थामा उसको स्वास्थ्यमात्र हैन, बौद्धिकता, सिर्जनात्मकता, आत्मविश्वास, सकारात्मक सोच, स्वभाव, जीवनप्रतिको दृष्टिकोण, मेहनत गर्ने र ध्यानकेन्द्रित गर्ने बानीसमेतमा प्रभाव परेको हुन्छ। प्रभावकारी बालविकास तथा शिक्षाले माथिल्लो तहको शिक्षालाई मात्र होइन, जीवनका हरेक पक्षमा सकारात्मक प्रभाव पार्छ।  

सामन्यतया शिशु गर्भमा रहेको समयमा गर्भवती महिलाले पोषणयुक्त खाना, स्वास्थ्य परीक्षण, आराम पाएको छ भने जन्मने शिशु सामान्य जन्मन्छ। प्रकृतिले गरिब र धनीको सामान्य शिशुका बीच अन्याय गरेको हुँदैन। भविष्यप्रतिको सम्भावनामा बढी र कमी हुँदैन। जन्मेपछि पाउने पोषणयुक्त खाना र वातावरणले बालबालिकाको क्षमता र सम्भावनामा फरक पर्दै लैजान्छ। बालबालिकाको मस्तिष्कको अत्यधिक वृद्धि हुने भनेको नै चार—पाँच वर्षको उमेरभित्र हो। सिक्नका लागि चाहिने ध्यान केन्द्रित गर्ने सिप, संज्ञानात्मक सिप, भाषिक सिप यसै अवधिमा विकास हुन्छन्। 

यस अवधिमा पोषणयुक्त खानाको कमी भयो, मस्तिष्कको विकास हुन सकेन, संज्ञानात्मक सिप, भाषिक सिप सिक्न पाएन भने पछिल्लो उमेरमा जति नै मेहनत गरे पनि जीवनका जुनसुकै क्षेत्रमा पनि सफलता प्राप्त गर्न सक्दैन। सबै नागरिकलाई न्याय गर्न र समानता स्थापित गर्न चाहने राज्यले गर्भावस्थादेखि सात आठ वर्षको उमेरसम्म पोषणको व्यवस्था र उपयुक्त वातावरण निर्माण गर्न लाग्नुपर्ने हुन्छ। शिशु अवस्थामा राम्रो वातावरण पाएको वयस्कले जीवनको कुनै अवस्थामा समस्यामा परे पनि अर्को समयमा क्षतिपूर्ति गर्न सक्छ तर शिशु अवस्थामा भएको क्षतिलाई भने कुनै पनि तरिकाले पूर्ति गर्न सक्दैन।  

प्रभावकारी बालविकास तथा शिक्षाले अभिभावकको आर्थिक विपन्नताले बालबालिका पार्न सक्ने नकारात्मक प्रभाव, सिर्जना गर्न सक्ने असमनता, सामाजिक भेदभाव घटाउन सहयोग गर्छ। पिछडिएको परिवारमा हुने शिक्षाप्रतिको नकारात्मक सोच नयाँ पुस्तामा सर्नबाट समेत रोक्छ। बालविकास कक्षामा दिइने सरसफाइसम्बन्धी सिप र पोषणयुक्त दिवा खाजाको व्यवस्थाले विपन्न परिवारका बालबालिकामा हुने कुपोषण, झाडापखला, आउँ र फोहोरबाट सिर्जना हुने रोगको प्रभाव हटाउन मद्दत गर्छ। कक्षा एकमा भर्ना भएपछि विद्यालय शिक्षा पूरा नगर्दै बीचैमा कक्षा छाड्ने, कक्षा दोहो¥याउने जस्ता समस्या घटाउन र माथिल्लो कक्षामा शैक्षिक उपलब्धि वृद्धि गर्न सहयोग गर्छ।  

यस पङ्तिकारले नेपालका ग्रामीण बस्तीमा पुग्ने क्रममा ढोकामा ताल्चा लगाएको घरभित्र, महिला श्रमिकले गिट्टी कुट्ने, ढुङ्गा बोक्ने कार्यको नजिकै साना शिशु रोइरहेका, महिला श्रमिकले बच्चा बोकेरै कठिन श्रम गरिरहेका धेरै पटक देखेको छ। यस्ता कार्यले एकातर्फ शिशुको सुरक्षामा जोखिम, बौद्धिक, सामाजिक, शारीरिक विकासमा नकारात्मक प्रभाव परेको छ भने अर्कोतर्फ श्रमिक महिलाको उत्पादकत्व घटाएको छ। तथ्यांकमा हेर्ने हो भने जुन स्थानीय तह, जिल्ला र प्रदेश मानव विकास सूचकांकमा पछाडि परेका छन् तिनै तह र प्रदेशमा बालविकास र शिक्षामा शिशुको पहुँच कम छ। 

नेपालको समग्ररूपमा बालविकास तथा शिक्षामा पहुँचको प्रतिशत ८६.४ पुगेको देखिन्छ भने प्रदेश नं. दुई र कर्णाली प्रदेशमा क्रमशः ४९.९ र ६४.१ प्रतिशतमात्र पुगेको देखिन्छ। शिक्षित र सम्पन्न परिवारका बालबालिकालाई भन्दा विपन्न र पछाडि परेका परिवारका बालबालिकालाई बालविकास तथा शिक्षाको महत्व बढी हुन्छ।

प्रकाशित: २४ श्रावण २०७८ ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App