५ आश्विन २०७८ मंगलबार
विचार

प्रजातान्त्रिक सेनानी रामेश्वरप्रसाद सिंह

नेपालको प्रजातान्त्रिक आन्दोलनमा धेरै योद्धाको योगदान छ तर तिनलाई कसैले सम्झँदैन। नयाँ पुस्तालाई सात सालको जनक्रान्तिदेखि छयालीस सालको जनआन्दोलनमा लडेका, ज्यान गुमाएका तथा सहादत प्राप्त गरेका योद्धाबारे थाहा नहुनु स्वाभाविकै हो। त्यहीमध्ये एक अथक योद्धा रामेश्वरप्रसाद सिंह हुनुहुन्थ्यो।

उहाँको जन्म सप्तरीको कोइलाडी बरसाइन गाउँमा प्रसिद्ध जमिनदार सुब्बा सत्यनारायण सिंहको पुत्रका रूपमा १९६७ मंसिर १७ गते भएको थियो भने निधन २०३६ साल साउन १३ गते भएको थियो। उहाँको शिक्षादीक्षा भारत बिहारको प्रख्यात विलियम हाइस्कुल, सुपौलमा भएको थियो। त्यतिबेला अंग्रेजहरूको शासनको विरोधमा भारतमा महात्मा गान्धी तथा लोकमान्य तिलकको नेतृत्वमा आन्दोलन सुरु भएको थियो। रामेश्वर बाबु त्यस आन्दोलनबाट निकै प्रभावित हुनुभएको थियो खासगरी लोकमान्य तिलकको नीतिबाट।  

सन् १९४२ को अंग्रेजविरुद्ध महात्मा गान्धीको नेतृत्वमा भएको भारत छोडो आन्दोलनताका हजारीवाग जेल तोडी नेपालको सप्तरी, कोइलाडी बरसाइनस्थित रामेश्वर बाबुको घरमा प्रसिद्ध समाजवादी नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, सुरजनारायण सिंह, नित्यानन्द सिंह, गुलावी गुप्तालगायत नेता आए। रामेश्वर बाबुले उहाँहरूलाई भूमिगतरूपमा आश्रय दिए। त्यो भन्दा अघि नै अंग्रेज सरकारद्वारा पक्राउ हुने डरले बिहारका सुपौल, सहर्षातिरको क्रान्तिकारी कार्तिकप्रसाद सिंहको नेतृत्वमा दर्जनौँ क्रान्तिकारी उहाँको घरमा आश्रय लिन आइपुगेका थिए।

रामेश्वर बाबुले भारतीय क्रान्तिकारीहरूलाई केही महिना आफ्नो घरमा आश्रय दिइ भूमिगत राखे। पछि राणा शासकले अंग्रेज सरकारको दबाबमा खोजविन गर्न थाल्यो। यसबाट बच्न रामेश्वर बाबुले कोसीपारि कुशहाको बक्रो टप्पुमा रहेको जमिनदारी कामतमा फुसको नयाँ घर बनाइ जयप्रकाश नारायण, डा. राममनोहर लोहियालगायतका एक समूहलाई बस्न पठाए। अर्काे समूहलाई सप्तरीको पश्चिमी भेग कुशहा नजिक सुरुङ्गास्थित चुरे जंगलमा पठाए जहाँ सरदार नित्यानन्द सिंह र गुलावी गुप्ता सोनारको नेतृत्वमा गुरिल्ला युद्धको प्रशिक्षण दिन थाले। त्यहाँ आजाद दस्ता गठन गरे। त्यहाँबाट बेतारको तार जोडी भारतीय क्रान्तिकारीहरूसित संवाद आदान–प्रदान गर्थे।

यसैबीच राणा शासकले आफ्ना सुराकीद्वारा कोसीपारि भूमिगतरूपमा बसिरहेको भारतीय नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, डा. वैद्यनाथ झा, विजया पट्टवर्धनहरूलाई सेनाद्वारा पक्राउ गराइ तत्कालीन सप्तरी जिल्लाको सदरमुकाम हनुमाननगर जेलमा थुनिए। यो कुरा पूरै सप्तरीमा आगोझैँ फैलियो। सप्तरीका जनता ती भारतीय नेताहरूलाई जेलबाट निकाल्न योजना बनाउन लागे। उता सप्तरीको पश्चिमी भेग कुशहा सुरुङ्गा जंगलमा गुरिल्ला युद्धको प्रशिक्षणमा संलग्न जवानहरू रातारात रामेश्वर बाबुको घरमा आइपुगे। उहाँको निर्देशनमा स्थानीय व्यक्ति तथा गिरफ्तारबाट बचेका भारतीय क्रान्तिकारी जवानहरूको उपस्थितिमा बैठक बस्यो। हनुमाननगर जेलमा थुनिएका भारतीय नेताहरूलाई कसरी निकाल्ने भनी योजना बनाए। रामेश्वर बाबुले आफ्नो भतिजो तारिणीप्रसाद सिंहको नेतृत्वमा एउटा समूह जेलमाथि आक्रमण गर्न पठाए। त्यस समूहमा सरदार नित्यानन्द सिंह, सुरजनारायण सिंह, गुलावी सोनारहरू थिए। तिनीहरूले रातारात नै हनुमाननगर जेल तथा गोश्वारामाथि अन्धाधुन्ध गोली फायरिङ गरे। दुई जना सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु भयो। त्यहाँ रहेका आकाशवाणी फोनका तार काटियो। ती क्रान्तिकारी भारतीय नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहियाहरूलाई जेल तोडी निकाल्न सफल भए। उहाँहरूलाई रातारात नै नावबाट कोसी पार गरी भारततिर पठाए।

यसरी भारतीय स्वतन्त्रता आन्दोलनमा रामेश्वर बाबुको योगदान त छँदै थियो। त्यसपश्चात नेपालमा एकतन्त्रीय राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले बि.पी. कोइरालाको नेतृत्वमा २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भई त्यसको अधिवेशनमा भाग लिन सप्तरीको डेलिगेसनको नेतृत्व गरी जानुभएको थियो। त्यतिमात्र नभइ २००४ सालमा दरभंगामा भएको अधिवेशनमा पूण खर्च बेहोर्नुभएको थियो। राम्रो सम्बन्ध रहेकाले उहाँको बरसाइनस्थित गाउँमा बि.पी. आइरहनुहुन्थ्यो। २००७ सालको जनक्रान्तिमा ठूलो धनराशि सहयोग गर्नुभई क्रान्तिमा लाग्नुभएको थियो। २०१५ सालमा उहाँलाई आफ्नो सप्तरी क्षेत्र नं. ३६ बाट सांसदको टिकट नदिइ सिरहा लहान क्षेत्रबाट दिइयो तर दुर्भाग्यवश केही मतले पराजित हुनुभयो।

२०१७ पुस १ गते जननिर्वाचित सरकारविरुद्ध राजा महेन्द्रले सैनिक ‘कु’ द्वारा विघटन गरी प्र.म. बि.पी. कोइरालालगायत सबै मन्त्री, सांसद र नेतालाई गिरफ्तार गरी जेल हालियो। त्यतिमात्र नभइ सात सालको जनक्रान्तिबाट प्राप्त संसदीय प्रजातन्त्रको हत्या गरी निरंकुश निर्दलीय पञ्चायती व्यवस्था लादियो। यसविरुद्ध नेपाली कांग्रेसले भारत प्रवासबाट निरंकुश पञ्चायती व्यवस्था समाप्त गरी पुनः प्रजातन्त्र स्थापनार्थ सशस्त्र क्रान्ति गरे। रामेश्वर बाबु पनि प्रवासमा गइ प्रजातन्त्र स्थापनाका लागि सशस्त्र क्रान्तिमा लागे। त्यसको आरोपमा राजा महेन्द्रले सर्वस्वहरण गरे। प्रवासमा निकै दुःख कष्ट सहन गरी २०१५ सालमा तत्कालीन पार्टीका का.वा. सभापति सुवर्णशमशेरको वक्तव्यपछि राजाले आममाफी दिएपछि ८ वर्षको प्रवासपछि २०२६ सालमा स्वदेश प्रवेश गरे।

२०३६ जेठ १० को जनमत संग्रह घोषणा हुँदा अत्यन्त नै खुसी हुनुभएको थियो र शारीरिक अस्वस्थताका बाबजुद बहुदलको आमसभामा जाने गर्नुहुन्थ्यो। तर त्यसको दुई महिनापछि नै उहाँको दुःखद निधन भयो। उहाँको निधनमा बि.पी. कोइरालाले दुःख व्यक्त गर्नुभएको थियो। जनआन्दोलनबाट प्राप्त प्रजातन्त्र देख्न सक्नुभएन तर उहाँ जस्तो प्रजातन्त्र सेनानीहरूकै संघर्ष र आन्दोलनबाट प्राप्त प्रजातन्त्रलाई हामी उपभोग गरिरहेका छौँ। प्रजातन्त्र पुनस्र्थापनापछि कांग्रेसको नेतृत्वमा पटक पटक सरकार गठन भएको छ तर उहाँको योगदानबारे कहीँ कतै चर्चा भएको छैन। तसर्थ वर्तमान प्र.म. शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारलाई उहाँको सम्मान र संझनामा केही स्मरणीय काम गर्न आग्रह गर्छु।

साथै तराईका धेरै नेताले नेपाली कांग्रेसमा लागेर प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका छन्। कतिले सहादत दिए, कतिको सर्वस्वहरण भयो तर पार्टीले तिनीहरूको न कुनै अभिलेख राखेको छ न त कुनै मूल्याङ्कन नै गरेको छ। छयालीस सालपछि कांग्रेसमा आएका व्यक्तिकै हालिमुहाली छ। तिनीहरूलाई पुरानो पुस्ताका नेताबारे थाहा नहुनु स्वाभाविकै हो तर नेतृत्वमा बसेकाले पुरानालाई नसम्झनुचाहिँ दुःखको कुरा हो।

प्रकाशित: १३ श्रावण २०७८ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App