८ श्रावण २०७८ शुक्रबार
विचार

शैक्षिक भविश्यको सोच

यतिखेर विद्यालयहरूमा विद्यार्थी भर्नाको चटारो छ। राष्ट्रिय शिक्षा नीति भन्छ– विद्यालयमा विद्यार्थी संख्या बढाऊ, राष्ट्रिय जनसंख्या तथा स्वास्थ्य नीति भन्छ– देशमा जनसंख्या घटाऊ। जनसंख्या घटेपछि विद्यार्थी संख्या कसरी बढाउने ?

जतिखेर जापानमा कुनै विद्यालय स्थापना भएका थिएनन् त्यतिखेर नेपालमा दरबार हाइस्कुल स्थापना भइसकेको थियो। नेपालमा १९९० सालदेखि मेट्रिक ( पछि एसएलसी र अहिलेको एसइई नाम दिइएको) सुरु भयो। अक्सफोर्ड क्याम्ब्रिज जस्तो हजार वर्षको इतिहास नभए पनि त्रिभुवन विश्वविद्यालय  २०१६ असार ११ गते स्थापना भएको हो। द्वितीय विश्व युद्धअगाडि ‘एसियाली बिराला’ जस्ता देश आज ‘एसियन टाइगर’ बनिसकेका छन्। हाम्रो देश भने अतिकम अल्पविकसित देशको महापदवी पाएर गौरवान्वित भइरहेको छ। 

प्राकृतिक नियमअनुसार जस्तो मल त्यस्तै फल हुनुपर्ने हो तर नेपालका कार्यपालिका वा मन्त्रालयहरूमा खरदार, सुब्बा, अधिकृत, उपसचिव, सहसचिव, सचिव, मुख्य सचिव, मन्त्री, प्रधानमन्त्री प्रायः सबै उच्च शिक्षा हासिल गरेकै छन्। तर आर्थिक भ्रष्टाचार र सामाजिक बेथितिको मूलपानी भनेको आजको भ्रष्ट व्याक्तिलाई पहिलो दिन स्कुल पढाउँदा शिक्षकले भ्रष्ट बन्ने जग उसको दिमागमा हालिदिएका थियौँ भन्ने स्वतः प्रमाणित हुन्छ।

आज पनि विश्वमा सभ्यताका निम्ति लडाइँ भइरहेको छ। चाहे त्यो विधि वा प्रविधिका माध्यमबाट किन नहोस्। विश्वमा हिन्दु, बौद्ध, मुसलमान, इसाई आदि सभ्यता छन्। हिन्दु धर्मका वेद, पुराण, उपनिषद्, इतिहास आदि बुद्धको त्रिपिटक, इस्लामको कुरान, इसाईको नयाँ र पुरानो करार बाइबल आदि पथप्रदर्शक सिद्धान्त हुन्। सबैले ‘सर्वे भवन्तु सुखिनः सर्बे सन्तु निरामया’ भनेकै छन्। वेदव्यासले १८ पुराणको महासार भनेका थिए– परोपकारः पुण्याय पापाय परपिडनम्। अथवा महर्षि वेद व्यासले अरूको उपकार गर्दा पुण्य हुन्छ र अरूलाई दुःख दिँदा पाप हुन्छ भनेर व्यक्तिलाई पाप रोज वा पुण्य भनेर महास्वतन्त्रता दिए। नत्र त उनले परोपकारः पुण्याय मात्र भन्थे।  

हाम्रो पूर्वीय दर्शनले शिक्षाको माध्यमद्वारा व्यक्ति सत्यम् शिवम् सुन्दरम्को स्थितिमा पुग्छ भनेको छ। पश्चिमा दर्शनमा दीक्षाको माध्यमद्वारा व्यक्ति र समाज, जीवन र जगत्को व्याख्या र प्रयोग गरिएको छ। पूर्वीय दर्शनले व्यक्तिको आत्मज्ञान वा बुद्धत्वको खोजी गर्छ भने पश्चिमा दर्शनमा ब्रह्म ज्ञान वा ब्रह्माण्डसम्बन्धी खोजी र प्रयोग गरेको पाइन्छ। हामीले धर्मका ४ पाउ सत्य, दया, शान्ति र अहिंसा प्रयोगमा ल्यायौँ भने उनीहरूले कर्मका ५ पाउ क्रिएटिभ, कन्स्ट्रक्टिभ, प्रोडक्टिभ, इफेक्टिभ र डाइनामिक भने। सवाल यो हो कि आज मन्टेस्वरीमा भर्ना हुँदै गरेका बच्चा अबको १०० वर्षपछाडि उनीहरूलाई तत्कालीन समाजले ब्रह्मा विष्णु देख्छ कि मधु कैटव,  प्रह्लाद र हिरण्यकस्यपु, राम र रावण, कृष्ण र कंस, दुर्गा देख्छ कि महिषासुर।

प्रकृतिवादी दार्शनिक जिन ज्याक रुसोले भनेका थिए– किताबहरू जलाऊ, पर्खालहरू भत्काऊ र बालकलाई लगेर प्रकृतिको काखमा छाडिदेऊ। एलिजा कुकले भनेजस्तै ठूला मान्छेका लागि जेल बनाउनु भन्दा साना मान्छेका लागि स्कुल बनाउनु राम्रो हो। आज नेदरल्यान्डमा अपराधी संख्या शून्य भएपछि त्यो देश जिरो जेल कन्ट्री बन्यो तर त्यहाँ अपराधीहरूलाई जेल राख्नु भन्दा साधारण श्रम शिविरमा काममा लगाएर छाडिन्छ ताकि अपराधीले सुध्रने मौका पाओस्। 

स्केन्डेनिभियन देशहरूलाई जिरो क्राइम सोसाइटी भनिन्छ अथवा अपराध मुक्त समाज। नेपालमा चाहिँ काठमाडौँको नयाँ बसपार्क स्पेसल क्राइम जोन पर्दोरहेछ। बायो केमिकल सर्बेका रिपोर्टहरूअनुसार कतिपय नेपालीमा आपराधिक मनोवृति, पूर्वाग्रही मनोवृति, विभेदकारी मनोवृति, नकारात्मक सोचको मनोवृति आदि साइकोपाथहरू पाइन्छन्। यी मनोवृति उत्पन्न गर्ने जैबिक रसायन वंशानु खानपान र वातावरण वा समाजसँगको अन्तरक्रियाबाट उत्पन्न हुन्छन्।

यी जैविक रसायन अन्त्य गर्न बालबालिकाको वंशानु गुणमा ५० प्रतिशत, वातावरणमा ३० प्रतिशत र आहारबिहारमा २० प्रतिशत सुधार ल्याउनुपर्ने देखिन्छ। तर हाम्रो शिक्षा प्रणालीले कुन कुरा ठीक र बेठीक हो भन्ने प्रष्ट निर्देशन दिएको छैन। जस्तो पहिलो घण्टीमा विद्यार्थीले भगवान विष्णुले मधु कैटभ राक्षस मारेपछि त्यस राक्षसका मासुबाट माटो हड्डीबाट ढुङ्गा रगतबाट समुन्द्र रौँबाट रुखपात बनेर संसार  सृष्टि भयो भनेर पढाइन्छ। दोस्रो घण्टीमा विद्यार्थीले मिल्की वे महाबिष्फोट भएर गे्रट ग्यालेक्सी बन्यो। गे्रट ग्यालेक्सी महाबिष्फोट भयो र सौर्यमण्डल बन्यो। सौर्य मण्डल बिष्फोट भएर ग्रहहरू बने। पृथ्वी बिष्फोट भएर चन्द्रमा बन्यो भन्ने दीक्षा दिइन्छ। अथवा हाम्रो दीक्षाशिक्षा र विद्या प्रणालीमा अन्तरैअन्तर छन्।  

विद्या बन्धु जनो विदेश गमने विद्या परम देवता– (विद्या नै इष्टमित्र हो, विद्याले नै विदेश जान पाइन्छ र विद्या नै परम देवता हो) भनिएको छ। तर इजरायल, जापान, कोरिया आदिमा नेपाली श्रमिकहरू लैजाँदा नेपाली शिक्षाको औपचारिक कुनै गे्रड खोज्दैन। यी देशमा श्रमिक लैजाँदा नेपालको एसइइ, प्लस टु, ब्याचलर मास्टर्स, एमफिल, पिएचडी, डिएस्सी कुनै तह माग्दैन। यसको मतलब हाम्रो शिक्षा विधिमा आधारित र उनीहरूको काम प्रविधिमा आधारित देखियो। तसर्थ अबका वर्षहरूमा शिक्षा प्रणालीलाई बासी भात तताएर भुटी माम भनेर बच्चालाइ छक्याए जस्तो नगरेर बरफलाई तताएर पानी बनाएर पानी तताएर बाफ बनाउनुपर्छ अथवा फलामलाई ‘प्याराडाइम सिफ्ट’ गरेर सुन बनाउनुपर्छ। अथवा शिक्षाले नेपालको आउँदो पुस्तालाई दुनियाँको दास होइन कि संसारकै आश बनाउनुपर्छ।  

नेपाली बालबालिका हेर्दै घीनलाग्दा टीठलाग्दा निराश लाग्दा नबनून्। उनीहरू हेर्दै आशलाग्दा, रहरलाग्दा, खाइलाग्दा, मनपर्दा बनाउने शिक्षा क्षेत्रका व्यवसायमा कार्यरत शिक्षक, अभिभावक, विद्यार्थी र शैक्षिक नीतिको मूल मन्त्र बन्नुपर्छ। सरकारले निजी शैक्षिक संस्थाहरूलाई राष्ट्रियकरण, सहकारीकरण, सामुदायीकरण, गुठीकरण आदि सयथरी बाजा, सय थरी तालका भाकाहरूमा हालिरहेको हुन्छ। सरकारी विद्यालयहरूले नै गुणात्मक शिक्षा दिने हो भने त नेपालका साढे छ हजार निजी विद्यालयले विकल्प अवश्य खोज्नेछन्। तर तिनै नीति निर्माणकर्ताका सन्तान महँगा महँगा स्वदेशी र विदेशी विद्यालयमा पढाउँछन्। अनि निजी विद्यालयलाई नाङ्गलो पिटेर हात्ती तर्साउन खोज्छन्।

हाम्रो शिक्षा नीतिको कमजोरी भनेको शिक्षा मौलिक र दिगो छैन। ब्रिटिसकालीन भारतको लर्र्ड मेकुलेको सन १८३५ को चपरासी उत्पादन गर्ने शिक्षाले नेपालको राजनीति अर्थनीति समाजनीति शैक्षिकनीति सबै नुहाएका छन्। हाम्रो धर्मनीतिमा भने स्वर्गकी शिक्षा मन्त्री सरस्वती छिन् र अर्थमन्त्री लक्ष्मी। तर हाम्रो समाजमा लक्ष्मी र सरस्वती उत्पादन गर्ने लैङ्गिक शैक्षिक वातावरण खै? कन्फुसियसका गुरु तथा चिनियाँ ताओ– (जीवनको बाटो) धर्मका प्रवद्र्धक लाओत्सेको इम्पाल्न्ट द पिपल– (मान्छेको दिमागमा विचार रोप) सिद्धान्तको व्यवहार हामीले कहाँ खेती गर्‍यौँ त ? हामीले अबको १ दिनदेखि १००० वर्षसम्मको योजना बनाएर त्योअनुसारको जनशक्ति किन उत्पादन नगर्ने ? हामीले ज्ञानयोगीमात्र होइन, भक्तियोगी र कर्मयोगी पनि जनशक्ति उत्पादन गर्नुपर्छ। ज्ञानले मात्र केही हुँदैन, त्यस कामप्रति  लगनशील र काम पनि गर्ने जनशक्ति उत्पादन गर्नुपर्छ।

वर्तमान शिक्षा प्रणालीले विद्यार्थीमा सम्बन्धित विषयको ज्ञान, सिप, अनुभव प्रयोग र पुँजी दिन सक्दैन। हामीले हाम्रा लालाबालाको रित्तो दिमागमा भए÷नभएका कवाडी, बासी र सडेका ज्ञान दिइरहेका छौँ। ती दिमागमा त उनीहरूकै रिसर्च एन्ड डिभलोप्मेन्ट सिर्जना र रचना हुन दिनुपर्छ। कालो गाईले हरियो घाँस खाएर कसरी सेतो दूध दिन्छ भन्ने रिसर्च गराउनुपर्नेमा हाम्रा छोराछोरी दूध कहाँबाट आउँछ भन्दा प्लास्टिकको पोकाबाट, चिनी कहाँबाट आउँछ भन्दा बोराबाट भन्ने भइसके। काभ्रे जिल्लाबाट काठमाडौँ पश्चिम पर्छ भन्नु सत्य हो र गोर्खा जिल्लाबाट काठमाडौं पूर्व पर्छ भन्ने कुरा पनि सत्य हो। अथवा कसरी दुईवटा सत्य भए त। यसरी बच्चाको दिमागमा सेल्फ एक्चुएलिजेन उत्पन्न नगराएसम्म आमाको मायाममताले मात्र देशले होनहार जनशक्ति पाउँदैन।  

आज संसारको जुनसुकै ठाउँमा सँगै जन्मिएका बच्चाका भविष्यका चुनौती र अवसर समानरूपका हुन्छन। नेपाली पनि नासाका वैज्ञानिक बनेकै छन्। तसर्थ अबको शिक्षा नीति र कार्यक्रम सरकारले समाजमाथि लाद्ने होइन कि ग्रेट सोसाइटी वा वृहत्तर विश्वका मागलाई व्यवस्थापन गर्नमात्र जुनसुकै सरकार पनि सहजकर्ताको भूमिकामा सीमित हुनुपर्छ। नत्र हाम्रा सन्तान दरसन्तानको भविष्य कुनै समूहको आदेश पालकमै सीमित हुन सक्छ। जे होस्, विद्यालयलाई ज्ञान र व्यवहारको शान्ति क्षेत्र बनाउनुपर्छ कुरु क्षेत्र होइन। (कार्यक्रम संयोजक, नमुना छात्रा संसद् कार्यक्रम)

प्रकाशित: ७ श्रावण २०७८ ०९:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App