२६ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

सुन्दरताका मापन

वरिपरिको खुला हरियो वनमा जे छ, भित्र मनमा सुन्दर भनेको यही हो कि भन्ने जस्तो लाग्छ। यी कुरा भित्रबाट अनुभूत भएको थिएन। जब कोरोना कहरले थन्क्याएको डेढ वर्ष भयो, त्यही बेलादेखि मनमा यो परिवर्तन आइरहेछ। लाग्दै छ, जो माटोमै खनी–खोस्री गर्छन्, नयाँ बीज उमार्छन्, तिनको स्याहारसुसार गर्छन्। दिनरात खटेर पसिनासँगै निदाउँछन्, उनीहरूले जति प्रकृतिको सौन्दर्यबोध अरू कसले गर्न सक्ला र ?  

यहाँ कुरो प्राकृतिक सौन्दर्यबोधको मात्र होइन, महिलालाई दिइने वा भनिने सौन्दर्य उपमालाई जोड्न खोजिएको छ। सुन्दरता भन्नेबित्तिकै विशेष रूपमा महिलालाई जोडिन्छ। सुन्दर महिलाले यसो गरिन्, सुन्दरी महिलाले बन्दुक बोकिन्, उनको सुन्दरतामा मोहित नहुने कोही छैन, आदि–इत्यादि।  

सयौँ वर्षदेखि पुरुषहरू सेनामा भर्ती हुने या समाजको रक्षा, रखवाला गर्न अभ्यस्त रहे। त्यो उनीहरूको बहादुरी र सक्षमता हो। तर समाजमा महिलाको परिचय सुकोमल, सुन्दर, दयालु अनि गृहिणीमै अड्किएको छ। संसारले चरम उत्पादनका वस्तु उपभोग गरिरहेको छ। युग विज्ञान, पुँजीवाद र उपभोगवादको छ। तर, मान्छे स्वस्थ भएर आफ्नो दैनिक कार्यमा डटिरहनु मात्र उसको सौन्दर्यभित्र पर्दैन। अझ महिलामाथि त ‘मेन्टेन’ शब्दले राज गरिसकेको छ। महिलाले शरीरको बाहिरी अंगको सौन्दर्यसँगै पोसाकमा पनि ध्यान दिनुपर्छ। यी कुरामा अलिकति पनि नयाँपन नदेखिँदा समाजको नजरमा नपरिने भय पो छ त ! आफूलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्नु मात्रै महिलाका लागि सौन्दर्य रहेन, उसले शरीरलाई ‘मेन्टेन’ गर्नुपर्छ। अर्थात् मोटाउनु हुँदैन, छाला स्वस्थ राख्नुपर्छ, कपडा मिलेको हुनुपर्छ।  

आफूलाई चिटिक्क, छिटोछरितो र स्फूर्त राखेर हिँड्नु वा काम गर्नु भनेको समयसँगै चल्नु हो। तर, हामीकहाँ संस्कृति र समाजले महिलाको सौन्दर्यको मानक तोकिदिएको छ। जाति अनुसारको शरीरको आकृति, नाक, छाला, आँखा, उचाइलाई सौन्दर्यको मापदण्ड बनाइएको पाइन्छ। प्याच्च भनिन्छ, फलानी फलानो जातकी भएर पनि फलानो जातजस्तै राम्री वा भद्दा देखिन्छे।

हुन त आफैँले आफ्नो शरीरलाई यत्रतत्र प्रदर्शन गर्ने, आफ्नो खुसी र स्वतन्त्रताको प्रस्फुटन गर्ने, आफ्नो रुचिका कुरा हुन् भन्ने सवाल पनि एकातिर छ। यही सवालसँगै महिला नै बढी किन प्रदर्शित भइरहने भन्ने अर्को सवाल पनि उठ्छ। व्यक्ति आफैँले आफ्नो स्वतन्त्रताको उपभोग गर्नु र मनस्थिति नै बनाएर महिलालाई सुन्दर र कुरूप भनेर घोषणा गरिदिनु के संसारमा भएका विविध शारीरिक बनावट र रंगका महिलालाई न्यायोचित होला त ?  

केही समयअघि अभिनेत्री प्रियंका कार्कीले गर्भवती अवस्थाको तस्बिर सार्वजनिक गरिन्, त्यसप्रति धेरैले विभिन्न टिप्पणी गरे। कसैले गर्भावस्थामा आनन्दानुभूति गरेको रूपमा लिए भने कतिपय पुरुषले नकारात्मक टिप्पणी गरे। प्रियंका त एक आधुनिक सेलिब्रेटी परिन्। उनले सायद गर्भावस्थालाई यसरी पनि खुसीका साथ लिन सकिन्छ भन्ने सन्देश दिइन्, या केवल आफ्नै रमाइलोका लागि फोटो सार्वजनिक गरिन्। प्रश्न अर्को पनि उठ्न सक्छ, के आम दूरदराजका गर्भवतीले आफू गर्भवती हुनुलाई यसरी उत्सव जसरी खुला रूपमा मनाउन पाउँछन् ? या यो चेत उनीहरूमा आएको छ त ? पक्कै छैन। हुम्लाको अति दुर्गम गाउँमा बस्ने गर्भवती महिलाले खाद्य संकट भएपछि एक महिनादेखि एक छाक मात्र खाना खाएको समाचार आइरहने समाजका प्राणी हौँ हामी। अनि गर्भवतीले आफ्नो सौन्दर्यबोध गर्ने सहज वातावरण छ त ?

प्लेटोले भनेका रहेछन्, ‘सुन्दरता हेर्नेको आँखामा हुन्छ।’ सुन्दरता आफैँमा सुन्दर होइन, यो त अवलोकनकर्ताले सिर्जना गरिदिएका हुन्। एउटालाई सुन्दर महसुस हुनु या उसको भावनामा लागेको कुरा अर्कोलाई ठ्याक्कै त्यस्तै नलाग्न सक्छ। डेनिस डटन भन्ने एक फिलोसफीका प्रोफेसरले भनेका छन्– मानिसहरू निरन्तर सुन्दरता खोजिरहेका हुन्छन्। जब यो सृष्टिको संरचना भयो, मानिसले यसै प्रकृतिमा रहेर जुनसुकै अभ्यास र खोज–अनुसन्धान गर्दै आए, ती सबै सुन्दरतामै पर्ने रहेछन्। ती सब प्राकृतिक थिए। अरू कलात्मक कुरा पनि मानिसले तिनै प्रकृतिको छापलाई लिएर गुफा सिँगार्नेदेखि घरकोठा बगैँचालाई कलात्मक बनाउने चलन आजपर्यन्त छ। कुनै पनि वस्तु सुन्दर बनाउन त्यहाँ मेहनत, जाँगर, काम, दक्षता चाहिन्छ, त्यो सिर्जना सुन्दर हुन्छ। यो परिभाषालाई मान्ने हो भने हामीले भन्ने गरेको सुन्दरतामा महिलालाई वस्तुका रूपमा हेरिने चिन्तनको गहिरो छाप देखिन्छ। आखिर सुन्दरता पुरुष र महिला दुवैमा हुने रहेछ, त्यो सुन्दरता उनीहरूको सिर्जनाले नै तय गर्ने रहेछ।  

समाज परिवर्तनसँगै अभिनेत्री, मोडल लगायतले महिलालाई सुन्दर बनाउने र सुन्दरता यही हो भन्ने भान हुने खालका प्रस्तुतीकरण दिन्छन्, जसले गर्दा सुन्दरता महिलाका लागि अनिवार्य कुरा हो भन्ने छाप समाजमा परेकै छ। महिलाको दिमागमा लगभग यो कुरा घुसाइएको छ कि महिला सुन्दर देखिनैपर्छ। आफ्नो अन्तरनिहित क्षमतालाई भन्दा पनि बाहिरी आवरण, जस्तोः उचाइ, रंग, तौल, कपालको गुणस्तरीयतामा महिला बढी सजग हुन थालेको देखिन्छ। राम्रोसँग हिँड्नुपर्ने, विनम्र भएर बोल्नुपर्ने र रुचाइएको मेकअप गर्नुपर्ने– पक्कै पनि समाजले सिकाएका यस्ता नियम र सौन्दर्य प्रसाधनलाई पछ्याउँदापछ्याउँदै महिलाको भित्री क्षमता ओझेलमा परिहाल्छन्। अझ सौन्दर्य बजारमा लागेका महिलाले आफ्ना शरीरमा कृत्रिम सर्जरी गरेर सुन्दर हुने होड चलेको पाइन्छ। जसकारण कालान्तरमा कतिले शारीरिक कठिनाइ भोगेका छन्, कतिले अझै भोग्ने हुन् ! आधुनिक संसारको सौन्दर्यलाई हाम्रोजस्तो गरिब मुलुकका ग्रामीण भेगका युवतीले पनि पछ्याउँदै छन्। जबकि उनीहरूले कैयौँ भेद बुझ्न बाँकी छ, धेरै पढ्न बाँकी छ र थुप्रै सिर्जना खन्याउनै छ। उनीहरू पनि यो कृत्रिम सुन्दरताको परिभाषा खोज्न पो लागिरहेछन्।  

महिलाको मोडलवाला पेसा, जसलाई ग्ल्यामरको दुनियाँ पनि भनिन्छ, यस भित्रबाट मानिसले सुन्दरताका परिभाषा बनाएका छन्। ती मोडल या कलाकारका थरीथरीका तस्बिरलाई मिडियामा ठाउँ दिइन्छ, मानौँ महिला केवल प्रदर्शनमा राखिएका वस्तु हुन्। हुन त यो सौन्दर्य सामग्रीको बजारीकरणको युगमा महिलाले हाउभाउ प्रदर्शनलाई आफ्नो पेसा, रहर, ‘प्यासन’सम्म बनाएका छन्। यो उनीहरूको आर्थिक आत्मनिर्भताको पाटो पनि भएको छ। अर्कोतिर व्यक्तिगत छनोट र रुचिको कुरा छँदै छ। सवाल यही हुन्छ कि आफ्नो पेसा एकातिर छ, तर शरीरलाई ‘हट’ र ‘कुल’ भन्दै समाचारको शीर्षक बन्नुको अर्थ के ? आफ्नो शरीरलाई रमिताका लागि ‘हट’ बनाउने वा नबनाउने भन्ने विवेक महिलासँग हुनुपर्छ। सौन्दर्य प्रसाधनका उत्पादक र पुरुषले पनि महिला एक सुन्दर शरीर मात्र होइन, उनीहरूको पनि आत्मसम्मान, बौद्धिकता, प्रतिभा र क्षमता छ भन्ने बुझ्नुपर्छ। 

सुन्दरता भनेको बाहिरबाट देखिने आकृति, नाक, आँखा, चालढालसँग मात्र सम्बन्धित छैन, यो बलियो आत्मबल, परिश्रमसँग सम्बन्धित छ र हुनुपर्छ। अहिलेको विश्व परिवेशलाई हेरौँ, कोरोना महामारीले विश्व जनमानस आक्रान्त भइरहेका बेला अहोरात्र बिरामीको सेवामा खट्ने स्वास्थ्यकर्मी कति सुन्दर लागिरहेछन् ? ती महिला या पुरुष जोसुकै हुन्। यही चपेटामा खाना खान नपाएकालाई खाना खुवाउने, उपचार नपाएकालाई उपचार दिनेहरू सुन्दर छन्। महिलालाई मात्रै वस्तुकरण गर्दै सुन्दरताको एक पक्षीय पगरी गुथाइदिन छाडौँ। सुन्दरताको नयाँ परिभाषा खोजौँ। 

प्रकाशित: १९ असार २०७८ ०५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App