सन् १९९९ मा रिसोर्सेस हिमालयले एउटा काम आँट्यो, त्यो के थियो भने चुरे शृङ्खलाको राष्ट्रव्यापी वैज्ञानिक तथ्याङ्क आधार तयार पार्ने। त्यतिबेला चुरे भन्ने शब्द पनि त्यति चलनमाफिक थिएन, पाठ्यपुस्तकहरूमा सिवालिक लेखिएको हुन्थ्यो। भारतीयहरू अझ शिवालिक लेख्छन् र हिन्दुले मान्ने गरेको शिवसित यसको नाता जोड्न खोज्छन्। हामीले रोज्यौँ चुरिया, जोकोही नेपालीले जानेको शब्द। चुरियाकै अर्को शब्दरूप चुरे हो, अझ झर्रो र लोकलयमा। चुरेमा काम गर्ने प्रेरणा कहाँबाट जुर्यो त भन्दा सन् १९९४ मा केशव राजभण्डारीले आफ्नै खर्चमा एउटा ग्रन्थसूची निकाल्नुभएको थियो। नाम थियो ‘अ बिब्लियोग्राफी अफ दि प्लान्ट साइन्स अफ नेपाल’। त्यो ल्यापटपको जमाना थिएन, निजी कम्ंप्युटर पनि हुन्नथ्यो। सन् १८०५ देखिका २५ सय भन्दा बढी प्रकाशनहरू बडो परिश्रमका साथ केलाउँदै तिनलाई वर्णानुक्रममा मिलाइवरी छापेर उहाँले हामीलाई ठूलो गुन लाइदिनुभयो।
डा. राजभण्डारीले तयार पारेको उल्लिखित ग्रन्थमा स्थानविशेषका आधारमा ६३७ वटा सन्दर्भसूची संग्रहित छ (पछि सन् २००१ मा थपेकोसमेत)। अनुसन्धानको खाँचो कहाँ रहेछ त ? केलाउँदा देखियो कुल सूचीमा अधिकांश अनुसन्धान मध्यपहाड र उच्चपर्वत हिमालतिर सोहोरिएको रहेछ, क्रमशः ५५ र २९ प्रतिशत। चुरेमा जम्मा १९ वटा अनुसन्धान (३%) भएको रहेछ, तराईमा २५ (४%)। इसिमोड (१९९६) ले निकालेको जैविक विविधतासम्बन्धी ग्रन्थसूचीमा पनि चुरेबाट जम्मा ४ प्रतिशतमात्रै प्रतिवेदित थियो। यो कुनै काकताली थिएन, विदेशी अनुसन्धानकर्मीहरू धेरै हिमालतिर लागेका रहेछन्, नेपाली अनुसन्धानकर्मीहरू धेरै मध्यपहाडतिर। चुरे र तराई भने सीमान्तकृत भएको पाइयो। प्रष्टै देखियो अध्ययनको खाँचो चुरे र तराईतिर रहेछ। रिसोर्सेस हिमालयले पनि धेरै अनुसन्धान मध्यपहाड र हिमालतिरकै जैविक विविधतामा गरिरहेको थियो। अब भने उसले चुरेलाई प्राथमिकता दियो।
चुरेलाई प्राथमिकता दिनुमा खास दुई कारण थिए– १) पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तानिएका नेपालका पाँचवटा भौगोलिक पेटीहरूमा चुरे अविच्छिन्नरूपले वनसहित बाँकी रहेको एक मात्र प्राकृतिक मार्ग भएको र २) अत्यन्त गतिशील जगमा अडेको चुरेको पारिस्थितिकी (इकोलजी) र जैविक विविधतासम्बन्धी ज्ञानको ठूलो अभाव खट्किएको। अनुसन्धानका निम्ति चारवटा विधा समेटिइयो– १) वनको अवस्था र पुनर्जनन क्षमता, २) चरा र अन्य वन्यजन्तुको आधारभूत सूचना, ३) बोटबिरुवा उपयोगमा स्थानीय समुदायको ज्ञान र ४) विभिन्न कालखण्ड (सन् १९५८, १९७८ र १९९२) मा भूउपयोग परिवर्तन। स्थलगत सर्वेक्षणका लागि उही लोकप्रिय तथ्याङ्क तालिका र्यान्डम टेबल प्रयोग गरियो।
र्यान्डम टेबल प्रयोग गर्न डा. प्रह्लाद योञ्जनले सुझाउनुभएको थियो। उनी नेपाली भूगोलमा यस्तो तालिका प्रयोग गर्न माहिर थिए। नेपालको नक्सालाई नदीको आधारमा पाँच खण्डमा विभाजन गरियो – १) मेची–कोसी, २) कोसी–वाग्मती, ३) वाग्मती–कञ्चन (बुटवल), ४) कञ्चन–कर्णाली र ५) कर्णाली–महाकाली। त्यसपछि चुरेमाथि अक्षांश र देशान्तरका काल्पनिक रेखाहरू कोरियो अनि त्यसैमाथि –र्यान्डम संख्याहरू राखी सर्वेक्षणको स्थान निर्धारण गरियो। यस्तो स्थान लगभग ३०० वटा हुने देखियो। सन् १९९९ मा थालिएको सर्वेक्षण सन् २००३ सम्म लगातार चल्यो, कोसी–वाग्मती छाडेर सबै खण्डमा काम सक्याइयो। बाँकी रहेको खण्ड पछि अन्य संस्थाहरूमार्फत् सम्पन्न भयो। अधिकांश स्थान अप्ठ्यारा भिरालो वनमा हुन्थ्ये र बगर, खोल्सी हुँदै हिँडेर गइन्थ्यो। नेपाली नापी विभागले तयार पारेको स्थलगत नक्सा हेर्दै अमेरिकी गार्मिनको जिपिएस सहायताले निर्धारित स्थानमा पुगिन्थ्यो।
नेपालको नक्सामा चुरेको स्थलगत पेटी सब भन्दा पातलो छ। अधिक चौँडा भनेको चितवन उपत्यकामा ४५ किमिसम्म तन्केको छ, कोसीतिर त आधा किमिमा साँघुरिएको छ। क्षेत्रफल हेर्ने हो भने देशको कुल भूभागको १२.८४ प्रतिशतमात्र ओगटेको छ (चुच्चे नक्सा आएर यो प्रतिशत अझ खुम्चिएको होला)। अर्थात् जमिनका हिसाबले ऊ सबभन्दा निमुखा छ। उचाइले पनि चुरे आकाशिएको छैन, औसतमा १ हजार मिटर भन्दा कम छ। सँगैको महाभारतको अघिल्तिर त ऊ फुच्चे नै हो। पश्चिम कैलालीतिर चाहिँ केही अग्लिएर १ हजार ८ सय मिटरसम्म भएको कुरा डा. हर्क गुरुङले उहिल्यै भिनेट्स अफ नेपाल (प्रकाशन १९८०) मा स्मरण गर्नुभएको थियो। चुरेलाई यो उचाइको हिसाबकिताबसित मतलब छैन। किनकि उसको चिनारी भनेको भौगर्भिक संरचना हो।
भौगर्भिक विज्ञानले के भन्छ भने चुरे हिमालय पर्वतको सबभन्दा तरुण शृङ्खला हो। हिमालयको प्रादुर्भाव करिव ५ करोड वर्षपहिले भएको अनुमान गरिन्छ। चुरेचाहिँ २ करोड वर्षयतादेखि मात्र उठ्न थालेको रहेछ। त्यसो भनेको बिनापुच्छरका बाँदर एपस् रामापेथिकस सँगसँगै चुरे पनि देखा परेको हो। तिनको बङ्गरा रबर्ट वेस्ट र टिआर पन्तको टोलीले सन् १९८२ मा बुटवलतिरैबाट उत्खनन गरेका हुन्। प्राग–भौगर्भिक विज्ञानका अनुसार चुरेमा मियोसिन काल (५ लाख – २ करोड वर्षअघि) तिर न्यानो ओसिलो हावापानी विद्यमान थियो। त्यहाँको जङ्गलमा भीमकाय हात्ती जस्ता स्टेगोडन, जिराफ चर्थे र दलदले मैदानमा हिप्पो, ठूलठूला कछुवा आदि आहाल लाएर बस्थे। चुरे बन्दाबेलाका यी सबै साक्षी लोप भैसकेछन्। तिनका जीवावशेष भने कहीँकतै भेटिएला।
नेपालमा ६ हजार नदीनाला छन्। ती सबै चुरेको आँगन भएरै बग्छन्। सबैले जानेकै कुरा हो मनसुनका बेला यी खोला र नदीहरू उर्लेर बग्छन्। मानिसलाई डर लाग्छ, चुरेलाई चाहिँ लाग्दैन। उसका लागि यो प्राकृतिक प्रणाली हो।
चुरेमा रमेका यी प्रागैतिहासिक कालका जीवहरूको काल्पनिक चित्रसहितको हुलाक टिकटहरू केही वर्षयता नेपालले प्रयोगमा ल्याएको छ। मियोसिन कालका जनावरहरू लोप भएर गए तापनि ती भन्दा पुराना बिरुवाका प्रजाति भने केही बाँकी छन्। रानीथाकल (साइकस पेक्टिनाटा) र रुख–उन्यु (साइथिया स्पिनोलुसा) त्यस्ता जिउँदा जीवावशेष हुन्। रानीथाकल चुरेकै रैथाने हो, रुख–उन्यु भने चुरेबाहेक अन्तका खोल्सीहरूमा पनि पाइन्छ। यी दुवै आइयुसिएन रातो सूचीमा अङ्कित दुर्लभ बिरुवा हुन्। मोरङ र इलामका चुरेतिर १५ स्थानमा ३६ वटा रानीथाकल भेटिएको थियो, प्राकृतिक बासस्थानमा अन्तबाट अहिलेसम्म त्यो प्रतिवेदित भएको छैन। रुख–उन्युलाई पोखरा फेवाताल मास्तिर तगारो बनाउनसमेत प्रयोग गरेको देखियो। त्यो डाइनोसरको पालाको रुख हो भनेपछि काट्न छाडेका छ्न्, अचेल त गएर सेल्फी खिच्छन्।
सेल्फी खिच्न लायक स्थानहरू चुरेमा धेरै छन्। पहाडको बाँझ र तराईको साल एकै ठाम भेटिने चुरेमात्र हो। किनकि चुरे कतैकतै इकोटोन अर्थात संक्रमणकालीन स्थानविशेष पनि भैजान्छ। खोला किनारमा फैलिने खयरका रुखहरू पनि चुरे डाँडाका नाकहरूमा पाइन्छन्। ती हेर्नलाई भने पश्चिम नेपालको सुँगरखाल र गडानशिर जानुपर्छ। बाटोमा सिमलका सेतो फूल पनि देख्न पाइएला, अक्सर देखिने त रातो हो। चुरे वनमा धेरै राज त सालकै चल्छ।
यो अग्लो पनि छ र गोलाइबाट निकालिने बेसल एरियाको हिसाबले ३५ प्रतिशत ओगट्छ। तर त्यससित अरू पनि हुन्छन्, जस्तै– हर्रो, बर्रो, साज, कर्मा, बोटधएरो, खोटेसल्लो आदि। तिनको ओतमा चाहिँ सिन्दुरे प्रशस्त भेट्टिन्छ, अचेल तर वनमारा फैलिँदैछ। स्थानीयबासीसित सोधेर चुरेबाट ओखतीका निम्ति प्रयोग हुने २०० भन्दा बढी प्रजातिका बिरुवाहरूको अभिलेख गरिएको थियो। यीमध्ये पाषणभेद, सिकारी लहरो, रुदिलो, धँयेरो, गाइखुरे केही प्रतिनिधि नाम हुन्। तारिफको कुरा त तिनको प्रयोगबारे महिला, केटाकेटीसमेतले बताउँथे। चुरेको वन स्थानीय ज्ञानको विश्वविद्यालय र प्रयोगशाला हुन्। एक ठाउँमा बुकानानिया प्रजातिको सानो रुख देखियो। बाटोमा आउँदै गरेकी महिलासित सोधियो, बडो असजिलो मान्नुभयो भन्न। किनकि त्यसको नाम पियारी रहेछ।
चुरेका वनले थुप्रै वन्यजन्तुलाई पनि आश्रय प्रदान गरेको छ। सन् १९९० दशकतिर चितवनमा धनेष देखिन छोडेको थियो। सर्वेक्षणका क्रममा तिनलाई मोरङको लालझोडा जङ्गलमा उडिरहेको देखेर अनुसन्धान टोली निकै उत्साहित भएको थियो। गैँडा र बाघ चितवन अनि बर्दियामा संरक्षण गरिएका छन्, ती दुवै राष्ट्रिय निकुञ्ज चुरेकै भुइँमा छन्। चुरे जङ्गली हात्तीहरू ओहरदोहर गर्ने जैविक मार्ग पनि रहेछ। पश्चिम चुरेतिर तिनले त्याग गरेको मल ७ सय मिटरको उचाइसम्म देख्दा अनुसन्धान टोलीलाई अलिकति आश्चर्य पनि लाग्यो। एक रात एउटा चरिबाघ टोलीको क्याम्प नजिकै भएर गएको रहेछ, यो लमही चुरेतिरको कुरा हो। उड्ने चराहरू दिनमा आठ प्रजातिका दरले देखिन्थे। कुल गरी १७० भन्दा बढी चरा प्रजातिहरू रेकर्ड गरियो तर यो एक ऋतुको मात्र तथ्याङ्क हो।
बोटबिरुवा र पशुपक्षीबाहेक चुरेबारे कौतुहल जाग्ने कुरा त्यहाँको भूउपयोगमा आएको परिवर्तन हो। नेपालको चुरेमा सन् १९७८ को एलआरएमपी नक्साले ७६ प्रतिशत वन देखाएको थियो। सन् १९९४ को भूस्थल नक्सानुसार ७० प्रतिशत देखियो। पछिल्लोपल्ट एफआरए (२०१५) अनुसार पनि नेपालको चुरेमा वनक्षेत्र ७२ प्रतिशत देखिन्छ। तर यस्तो हिसाब भूउपग्रह फोटोमा मात्र भर गरेर हुँदैन, क्षेत्रगततवरमा पनि तिनको अवस्था खुट्याउनुपर्छ। जस्तो अघिल्लोपल्ट सन् १९९४ नक्सामा पूर्व कोसी र मेचीबीचको चुरेमा (क्षेत्रफल ७७९ वर्गकिमि) वनक्षेत्र ६० प्रतिशत भन्दा बढी नै देखियो। ती २०० टुक्रामा विभक्त थिए। टुक्रे वनहरू बासस्थानका दृष्टिले खासै उपयोगी हुँदैनन्। काटिएका रुखका ठुटा पनि त्यहाँ प्रशस्त देखिए। त्यस इलाकामा ७० वटा प्लटमा रुख बिरुवाको नाप गरिएको थियो। त्यस्ता ठुटा ६३ वटामा देखियो। के यो चिन्ताको विषय हैन ?
चुरेलाई नियाल्दा छुटाउनै नहुने विषय भनेको त्यहाँको भूगर्भ हो। त्यसो भनेको ढुङ्गा, बालुवा, गेग्रान, चट्टान; माटो भेट्टाउन त त्यहाँ सकस नै पर्छ। कहिलेकाहीँ यस्तो लाग्थ्यो, चुरेको नाम ढुङ्गो, बालुवा राख्नुपर्ने, त्यति धेरै छन् ती त्यहाँ। भूगर्भ विज्ञानले के भन्छ भने चुरे कम्तामा पनि तीन तहले बनेको छ किनकि चुरेको विकास तीन कालखण्डमा भएको रहेछ। जब हिमालय पर्वत उठ्दै गयो, यहाँका नदीहरू दक्षिणतर्फ बग्न सुरु भयो। यिनै नदीहरूको थेग्रेटो नै चुरेका डाँडा भए। यसको सब भन्दा बाहिरको तह भन्नाले सब भन्दा नयाँ तहमा रोडा, अभ्रक र पाँगो माटो मिसिएको बलौटे ढुङ्गाको पत्रेदार समूह भेटिन्छ। त्यसो त चुरेमा खनिज पदार्थ हुँदै नभएको पनि भन्ठानुहुन्न, त्यसमा क्याल्सियम कार्बोनेट, फलाम, तामा, सल्फर पनि छ तर हेक्का रहोस् कि ति आर्थिक दृष्टिले कति पनि लाभकारी छैन।
ढुङ्गा र बालुवा भनेको जीवहरूको आश्रयस्थल पनि हो। ब्राजिलको मिनास जेराइसमा रोद्रिगो फेरेरा र मार्कोनी सिल्भा (२००१) ले त्यहाँको ढुङ्गामा कति जति कीराफटेङ्ग्रा पाइँदोरहेछ भनेर एउटा अनुसन्धान गरेका रहेछन्। उनीहरूले जम्मा पारेका २८ वटा हत्केला साइजका ढुङ्गाहरूमा ४१ परिवारका १ हजार २ सय १६ वटा कीरा भेटिए। अस्ट्रेलियाको सिड्नीमा तातो ढुङ्गामुनि समेत प्रतिनमुना सातवटा प्रजातिसम्म भेटियो। नेपालमा चुरेको ढुङ्गा र बालुवामा यस्तो अनुसन्धान हुनै बाँकी छ। एकफेरा चुरेको बगर हुँदै हिँड्दै गर्दा मान्छेलाई भन्यौँ, ढुङ्गा धेरै नफोड्नु है, ढुङ्गा भनेका गङ्गटाका घर हुन्। वैज्ञानिकहरूका कुरा सुनेर कोही हाँसे, कोही गम्भीर बने।
चुरेको ठूलो विशेषता भनेको यसको गतिशीलता हो। भौगर्भिक बनावटले हेर्दा चुरे शृङ्खला हिमालयको मुख्य र अघिल्लो सीमाबीच रहेको नयाँ भूभाग हो। यी सीमा भनेका खासमा फाटिएका धाँजा हुन् जुन भारतीय भूभाग तिब्बती भूभागभित्र धसिने क्रममा बनेको हो। यो धसिने क्रम जारी छ यसैले चुरे हरेक वर्ष अग्लिँदै पनि छ। वैज्ञानिकहरूका अनुसार यो वर्षमा ३ देखि ४ मिलिमिटरका दरले वृद्धि भइरहेको छ। यसैले हिमालय पर्वतमालामा सबभन्दा पछि बनेको यो चुलबुले पहाडलाई हिमालयको कान्छी बहिनी भनी पुकार्दा हुन्छ। नेपालमा ६ हजार नदीनाला छन्। ती सबै चुरेको आँगन भएरै बग्छन्। सबैले जानेकै कुरा हो मनसुनका बेला यी खोला र नदीहरू उर्लेर बग्छन्। मानिसलाई डर लाग्छ, चुरेलाई चाहिँ लाग्दैन। उसका लागि यो प्राकृतिक प्रणाली हो। चुरेलाई डर भनेको शायद मानिसको हो किनकि पछिल्लो समय मानिस चुरेको विज्ञानमा हैन विनाशमा रमाउन थालेको छ।
प्रकाशित: १० असार २०७८ ०४:४१ बिहीबार