१० असार २०७८ बिहीबार
विचार

उज्ज्वलको प्रेरणा र भावी नेपाल

उज्वल थापाले आफ्ना केही युवा साथीहरूलाई लिएर स्थापना गरेको विवेकशील दलले नेपालको विकृत राजनीतिबाट दिक्क भएका जनतामा नयाँ आशा सञ्चार गरेको थियो। विवेकशीलले २०७० र २०७४ मा संविधान सभाको चुनावमा भाग लिएको थियो यद्यपि ज्यादै नयाँ दल हुनाले चुनावमा धेरै मत जित्न सम्भव थिएन  किनकि पुराना पार्टीको जकड पकडबाट नेपाली राजनीति मुक्त हुन सकेको पनि थिएन।  

पहिलो पटक चुनाव लडेको केही समयपछि (शायद २०७२ मंसिर २५ गते) उज्वल थापा रमेश पौड्याल र केही साथीहरूसित मेरो घर आए र नेपालको राजनीति र खासगरी परराष्ट्र नीतिवारे मेरो राय मागे। मैले पहिले उनकै विचार सुनेँ र भनेँ ‘तपाईँको विचार ठीक छ, यसैलाई लिएर अघि बढ्नोस् मेरो पूर्ण समर्थन र शुभकामना छ। पृथ्वीनारायण शाहले अपनाएको नेपालको परराष्ट्र नीति नै हाम्रो परराष्ट्र नीतिको मुख्य आधार हो तर हामीले देशको आर्थिक विकास नगरे कुनै पनि परराष्ट्र नीति सफल हुँदैन’। पछि सुनेँ, २०७४ साउनमा साझा पार्टीसित मिलेर विवेकशील साझा पार्टी बन्यो तर त्यो २७ पौष २०७५ फुटेको पनि सुनेँ र दुःखित भएँ यद्यपि कताकता मैले त्यो सम्भावना पनि देखेको थिएँ।  त्यसपछि उज्वल थापासित मेरो दोस्रो भेट भयो २०७६ साउनमा। 

उनी क्यालिफोर्नियाको स्ट्यान्फोर्ड विश्वविद्यालयमा आयोजित युवा नेतृत्वविकास सम्बन्धी कार्यक्रममा सहभागी हुन गएका थिए। डा. तारा सिग्देल र वहाँका साथीहरूको संयोजकत्वमा चौतारी भन्ने एक अनौपचारिक छलफल कार्यक्रम हुँदोरहेछ सप्ताहान्तमा। उज्वल थापालाई बोल्न बोलाइयो २८ जुलाइ २०१९ (१३ साउन, २०७६) का दिन। म पनि सुन्न गएँ। त्यहाँ उनले नेपाली समाजको आफ्नो भविष्यचित्र (भिजन) र त्यसलाई साकार पार्ने राजनीतिक अभियान वारे बोले।  अनि प्रश्नोतर कार्यक्रमा कसैले सोध्यो, तपाईंको पार्टी किन फुट्यो ? उज्वल थापाले भने, “विचार र कार्यप्रणालीमा भिन्नता देखिन आयो”। त्यस विषयमा थप कोट्याएर कसैले सोधेन।  

दोस्रो प्रश्न थियो – तपाईंको पार्टीले चुनाव जित्न सकेन, सांसद मन्त्री बनाउन सकेन, प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्न कुरा त झनै टाढा भयो। यस्तो अवस्थामा हामीले तपाईंबाट के आशा गर्ने ? उज्वल थापाले त्यस प्रश्नको जे उत्तर दिए त्यसबाट म धेरै प्रभावित भएँ। उनले भने, हामी अहिले सरकार बनाउने या सरकारमा कसरी जाने भन्ने खेलमा लागेका छेनौं। त्यो हाम्रो मुख्य उद्देश्य पनि होइन। नेपालमा राजनीति बडो विकृत र फोहोरी खेल भइरहेछ। चुनावमा कालो धनको खोलो बगाइन्छ, भोजभतेर गरिन्छ। 

मत किनिन्छ, मतपत्र च्यातिन्छ। प्रजातन्त्रको धज्जी उडाइन्छ। खराब मानिसहरू सरकारको नेतृत्व गर्न पुग्छन्।  त्यसकारण हाम्रो उद्देश्य र अभियान समाजमा त्यस्तो संस्कार विकास गर्नका लागि हो जसमा मतदाताले राम्रो मानिसलाई चुनेर पठाउनुपर्छ भन्ने बुझून्। असल मानिस नचुनिइकन राजनीति आफसेआफ राम्रो हुँदैन। राजनीतिक व्यवस्था मात्र होइन, राजनीतिक व्यक्ति पनि राम्रो हुनुपर्छ।  

उज्वलले आफ्ना कुरा राख्दा कुनै आवेशमा नआइकन (वास्तवमा अप्रभावकारी ढंगले) बोलेका थिए। सत्ता राजनीतिको खेलबारे चोटिला कुरा सुन्ने अपेक्षा गरेका श्रोतागण उज्वलको कुराबाट कति प्रभावित भए मलाई थाहा भएन। तर म भने उनको त्यस जवाफबाट दुई कारणले धेरै प्रभावित भएँ। पहिलो, उनी आफ्नो राजनीतिको उद्देश्यवारे स्पष्ट रहेछन्। दोस्रो, उनमा आफू नेता बन्ने वा शक्तिको पदमा पुग्ने लालसा होइन कि समाजमा परिवर्तन ल्याउने चाहना रहेछ। त्यो एउटा गम्भीर कुरा लाग्यो र साथै उदात्त पनि।  

मलाई लाग्यो, उज्वल थापा त बी पी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भटराई, मदन भण्डारीजस्ता पो रहेछन्। ती नेताहरूका लागि सत्ता गौण थियो। प्रजातान्त्रिक संस्कृतिको विकास र पद्धतिको सुदृढीकरण मुख्य कुरा थियो। उनीहरूले त्यस कुरामा कम्प्रोमाइज गरेनन्। बी पी कोइरालाका लागि प्रधानमन्त्री बन्नु त्यति महत्वपूर्ण थिएन जति २०१५ सालको आम चुनावको प्रक्रियामा नेपाली जनतालाई सहभागी गराउनु र देशमा प्रजातान्त्रिक समाजवादी व्यवस्था संचालन शुरु गर्नु थियो। २०४६ सालको जन आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गर्दा गणेशमान सिंहले त्यो अस्वीकार गर्नुबाट पनि उही कुरा देखिन्थ्यो – उनलाई प्रधानमन्त्रीको पद होइन, प्रजातन्त्रको पुनःस्थापना महत्वपूर्ण कुरा थियो। 

२०४७ सालमा कृष्ण प्रसाद भट्टराईका लागि पनि अन्तरिम सरकारको प्रधानमन्त्री बन्नुभन्दा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको संविधान ल्याउनु बढी महत्वपूर्ण थियो। आफूले जीवनभर गरेको संघर्ष, त्याग, तपस्या र बलिदानका कारण  प्रजातान्त्रिक पद्धति स्थापित हुँदा अनुभूत भएको सन्तोष मुख्य कुरा थियो।  

कृष्णप्रसाद भटराईले २०५६ साल चैत्र ३ गते प्रधानमन्त्रीको पदबाट राजीनामा दिँदा संसदमा भनेको यो कुराको पनि मलाई सम्झना भयो – 'हाम्रो प्रजातन्त्रका सञ्चालकहरू भनेका हामी नै हौं। त्यसैले यदि हामीभित्र अवाञ्छित र अनियन्त्रित राजनीतिक उच्चाकांक्षा छ भने त्यस संकटका कारक पनि हामी नै हुन्छौं। पद्धति राम्रो छ तर त्यस अनुरूप हाम्रो व्यवहार राम्रो छ कि छैन ? यो प्रश्न आज हाम्रो सामुन्ने उपस्थित भएको छ तथा त्यसको उत्तर पनि हामीले नै दिनुपर्छ। अहिले प्रधानमन्त्रीका रूपमा मेरो नेतृत्वमाथि संकट आइपरेकाले त्यसबाट बच्न म यी कुराहरू गरिरहेको छैन। किनभने, मेरो राजनीतिको ध्येय प्रधानमन्त्रीको कुर्सीमा बस्नु थिएन। मेरो ध्येय प्रजातन्त्रको निम्ति र समृद्ध समुन्नत नेपालको निर्माण थियाे'।      

मैले उज्वलका साथीहरूबाट सुनेँ, उनी आफू पछाडि बसेर अरूलाई गन्तव्यतर्फ अगाडि बढाउँथे। नेल्सन मण्डेलाको नेतृत्वशैलीका विषयमा पनि मैले त्यही कुरा सुनेको थिएँ। उनी गाइवस्तु पाल्ने कबिलाका मुखियाका छोरा थिए त्यसो हुनाले गोठालाले जसरी आफ्ना गाइवस्तु पछाडिबाट धपाएर गन्तव्यमा पर्‍याउँछ त्यसैगरी पछाडिबाट नेतृत्व गर्थे र जनतालाई आफ्नो गन्तव्यमा पर्‍याउँथे।  

आज विश्वका धेरै देशमा राजनीति केवल पदप्राप्तिको घिनलाग्दो खेल भएको छ। त्यसकारण विवेकशील साझा पार्टीका युवा नेताहरूले मात्र होइन, नेपालका अरू पार्टीका युवा नेताहरूले पनि र वास्तवमा समस्त नयाँ पुस्ताले समाउनुपर्ने बाटो उज्वल थापाले देखाएको बाटो नै हो। उनको असामयिक निधनले हामीलाई जुन झट्का लागेको छ त्यसले हामीलाई बिउँझाउनुपर्छ र हामीले बुझ्नुपर्छ कि उज्वलले देखाएको बाटोमा हिँडेनौं भने हामी पनि अहिलेको नेपाली राजनीतिमा देखिएका निकृष्ट कलहप्रिय झुण्डहरूभन्दा फरक हुनेछैनौं। त्यति मात्र होइन, हामी आफू, आफ्ना सन्तति र समस्त नेपालको भविष्यलाई खाडलमा हालेको अपराधबाट बच्न पनि सक्नेछैनौं। यदि नेपालको भविष्य उज्वल बनाउनुछ भने त्यो उज्वल थापाको सन्देश अनुसरण गरेर मात्रै सम्भव छ।  

प्रधानमन्त्री, मन्त्री, सांसद केही पनि नभएका उज्वल थापाबाट धेरै नेपाली युवाहरू प्रेरित र प्रभावित भएका थिए। उनी बिरामी भएको खबर सुनेर उनको उपचारका लागि चौबिस घण्टामा पचास लाख रूपियाँ विश्वभर छरिएका नेपाली युवाहरूबाट उठ्यो र त्यो रकम उठाउने प्रक्रिया रोक्नुपरेको थियो भन्ने स¦नियो। त्यसबाट युवा पुस्तामा नयाँ नेतृत्वको कति भोक रहेछ भन्ने देखियो। नेता पदले होइन, विचार, नैतिकता र कार्यक्रमले प्रेरक हुनेरहेछ भन्ने पनि देखियो। उज्वल थापाको प्रेरणा त्यो हो।  अबको युवा पुस्ताले उनको अनुसरण गर्ला ?

प्रकाशित: २६ जेष्ठ २०७८ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App