१० असार २०७८ बिहीबार
विचार

पुराना मान्छेको कथा

इतिहासकार डिल्लीरमण रेग्मीको अन्तर्वार्ता लिँदा पुराना मान्छेका बारेमा धेरै कुरा थाहा पाएँ, मैले। ऊबेला कान्तिपुर पत्रिकाको सहायक सम्पादक थिएँ म। मनमोहन अधिकारीलाई बनारसमा ट्युसन पढाएका रहेछन् रेग्मीले। रेग्मीले भनेको सम्झन्छु– ‘ती युवक सरल, विनम्र, अध्ययनशील र शालीन थिए।’ परराष्ट्रमन्त्रीसमेत भएका रेग्मीले हजारौँ पुस्तक संग्रह गरे। सो पुस्तकालय र निजी घर सरकारलाई हस्तान्तरण गरे।

घाँटीको क्यान्सरले आवाज मधुरो भएको थियो, बिपीको। कांग्रेस नेता सिके प्रसाईले विर्तामोडमा पाँच मिनेट जति समय मिलाइदिए, विपी कोइराला भेट्न। प्रसाईले सिफारिस गरे– ‘युवराज बाबु, विवेचना साप्ताहिकका सहायक सम्पादक हुनुहुन्छ।’ ‘सम्पादक को त ?’ बिपीले सोधे। प्रसाई बोले– ‘सम्पादक नकुल काजी। साहित्यकार पनि हुनुहुन्छ काजी।’ प्रसाई र काजी दाइको सम्बन्ध राम्रो थियो। पत्रकारिताका मेरा प्रथम गुरु काजी दाइ र प्रसाईको राजनीतिक विचार फरक थियो। त्यो पर्खाल थिएन, बाटो मात्र थियो। सिके प्रसाईको चिन्तन र लेखहरू बुद्धिजीवीहरूबीच उदाहरणीय थियो। उनी राम्रा वक्ता थिए। विरोधीलाई कहिले पनि गाली गरेनन्। वैचारिक प्रतिरोध मात्र गर्थे, शिष्ट भाषामा।  

डा. तुलसी गिरी अध्ययनशील, विनयी, शिष्ट र सुसंस्कृत थिए। तीन चारपल्ट लामो कुराकानी भयो। कैयन् कुरा ‘मेरो जीवनपछि पनि नलेख्नू’ भनेपछि आलेखहरूमा उल्लेख गर्न मिलेन। बिपीको बाटो त्यागे पनि बिपीप्रति गिरीको उच्च सम्मान थियो।

झण्डै तीन करोड जनतामध्ये एक प्रतिशतलाई पनि समेट्न नसक्नेहरूले राष्ट्र उठाउँछन् कि गिराउँछन् ? भन्नु परोइन।

गिरीले हात्तीगौँडा (बूढानीलकण्ठ) स्थित निवासमा माओवादीका उच्च दर्जाका नेता आफूसँग भेट्न आएको र राजसंस्था स्वीकार गर्न तयार भएको प्रसंग सुनाए। ‘पार्टीमा निर्णय गराएको लिखित दस्तावेज आयो भने म सरकारमा जाहेर गर्छु’ भनेपछि कुरा टुंगिएको र त्यो ‘च्याप्टर क्लोज’ भएको प्रसंग सुनाए उनले। शक्ति सञ्चयका लागि माओवादीका कमान्डरले २०६५/६६ सालपछि त्यो नाटक रचेको गिरीको विश्लेषण थियो। त्यही क्रममा आर्मी हेडक्वार्टरमा केही जर्नेललाई मूर्ख बनायो माओवादीले। लोन नोलका वंशज रहेछन् उनीहरू।

पुराना मान्छेमा हृषिकेश शाह धेरै प्रतिभाशाली तर ‘पिँध नभएको लोटा’ लाग्यो मलाई। मनमा केही नराख्ने, मज्जाले हाँस्ने, विद्वान् र संसार बुझे पनि सिद्धान्तमा अडिग भएनन्। दिल्लीबाट नेपालमा नाकाबन्दी हुँदा उनले दूरदर्शन टिभीमा नेपाल भारतको सुरक्षा छातामा बस्नुपर्छ भनेका थिए। ऊबेला मलाई मिडिया अनुगमन गर्न गोरखापत्रका प्रधानसम्पादक वालमुकुन्ददेव पाण्डेले सञ्चार मन्त्रालयमा पठाएकाले धेरै कुरा थाहा भयो।

संयोग नै भनौँ, शाहकी पत्नीको नाम सिद्धान्त थियो। कान्तिपुरमा उनले लेखहरू पठाउँथे। लेखरचना सम्पादकको हैसियतमा म सम्पादन गर्थेँ। एकदिन त राजनीति, कूटनीतिको होइन, प्रेमपिण्ड चलचित्रको समीक्षा पठाए। मैले फोनमा निवेदन गरेँ– ‘हामीले चाहेको कूटनीति र राजनीतिको विश्लेषण हो। चलचित्र समीक्षा त जसले पनि गर्न सक्छ।’ उनी मज्जाले हाँसे। ‘परेँ म त माया जालैमा... भन्ने गाना मन परेपछि लेखुँलेखुँ लाग्यो’– उनले ढाँटेनन्।

कीर्तिनिधि बिष्ट अत्यन्त फरासिला थिए। पाँचपल्ट प्रधानमन्त्री भए उनी। मनमा लागेको कुरा ‘डाङडुङ’ बोल्ने हक्की स्वभावका कीर्ति बाबुले पनि महाकाली सन्धिको घोर विरोध गरे। महाकाली सन्धिबाट नेपाल झिलिमिली हुन्छ र हरेक वर्ष नेपाललाई सयौँ अर्ब रुपियाँ फाइदा हुन्छ भन्ने केपी ओली, पशुपतिशमशेर, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, प्रकाशचन्द्र लोहनी, कमल थापा, शेरबहादुर देउवालगायत प्रायः सबैले सन्धि पारित गराउने खेल खेल्दा कीर्ति बाबुले विरोध गरे।

राजा, सरकार र संसद् मिलेर बनेको ‘श्री ५ को सरकार’ थियो ऊबेला। राजा वीरेन्द्रले आफ्ना निकट र मनोनीत सांसदहरूलाई बोलाएर सम्झाएछन्– ‘महाकाली नदी नेपालको हो, साझा होइन। मेरा केही संवैधानिक बाध्यता छन्। क्याबिनेट र संसद्बाट गलत हुँदैछ भने म सचेतमात्र गराउन सक्छु, दण्ड दिन सक्दिनँ। तर राष्ट्रघात हुन नदिन हामी ‘अलर्ट’ हुनुपर्छ। त्यसैले मनोनीत सांसदहरू ‘अब्स्टेन’ (जोगिएर बस्नु) हुनु।’ आर्थिक प्रलोभनमा परेका कैयन् राजनीतिक व्यक्ति, उच्चपदस्थ कर्मचारी, चर्चित पत्रकार सबैबाट धोका पाए वीरेन्द्रले। भारतले भरिया बनाइसकेका प्रभावशालीहरूले राष्ट्रघात गरेको टुलुटुलु हेरेर बस्न बाध्य भए वीरेन्द्र। संविधानले उनलाई अधिकारबिहीन बनाएको थियो। आफैँले मनोनीत गरेकामध्ये शारदा पोखरेल र रवीन्द्र चक्रवर्तीबाहेक सबै विदेशीकै कित्तामा उभिए। राष्ट्रवादी र राष्ट्रघाती चिन्न महाकाली सन्धिको ऐना हेर्नुपर्छ।

हरेक वर्ष जेठ १९ गते राजा वीरेन्द्रलाई सम्झेर हामी भावुक बन्छौँ। नेपाली नागरिक हुन नेपाली नै हुनुपर्छ भन्ने उनको स्पष्ट धारणा थियो। नेपालको प्रकृतिक स्रोत/साधनमा विदेशीको आदेश÷निर्देश हुनुहुँदैन भन्ने उनको अडान थियो। नेपालीले मात्र नेपालको राजनीति, कूटनीतिलगायतका विषयमा निर्णय गर्नुपर्छ भन्ने अठोट थियो। नेपाली भूमि चीन, भारत वा कुनै पनि राष्ट्रविरुद्ध प्रयोग नहोस् भन्ने सदिच्छाले राजा वीरेन्द्रले २०३१ सालमा शान्ति क्षेत्रको प्रस्ताव ल्याए। भारतले विरोध गर्‍यो। नेपालका दलहरू प्रतिबन्धित थिए। उनीहरूले भारतलाई खुसी बनाउन राजाको विरोध गरे।

कृष्णप्रसाद भट्टराई, रणधीर सुव्वा, शैलेन्द्रकुमार उपाध्याय, वेदानन्द झा, भेषबहादुर थापा, यदुनाथ खनाल, सुन्दरप्रसाद शाह, तेजबहादुर प्रसाई, त्रैलोक्यनाथ उप्रेती, अंगुरबाबा जोशी, खड्गमान मल्ल, उपेन्द्रमान मल्ल, मोहनमान सैजू, डा. हर्क गुरुङ, कुलशेखर शर्मा, राधारमण उपाध्याय, केबी शाही, शेरबहादुर शाही, शेरबहादुर मल्ल, दामोदरशमशेर, उद्धवदेव भट्ट, श्रीभद्र शर्मा, विश्वबन्धु थापा, छिरिङतेन्जिङ लामा, रामप्रसाद मानन्धर, गेहेन्द्रबहादुर राजभण्डारी, देवेन्द्रराज उपाध्याय, मातृकाप्रसाद कोइराला, रामहरि शर्मा, कल्याणविक्रम अधिकारी, खिलेन्द्रप्रसाद पाण्डेलगायत धेरैले राजा वीरेन्द्रलाई मद्दत गरे। २०४७ सालपछि अधिकार कटौती भएकाले राजा वीरेन्द्र मुकदर्शक भए। उनको मौन चित्कार (साइलेन्ट क्राइ) सुनिदिने कोही भएन।  

बितेका पच्चीस/तीस वर्षयताका शासक÷प्रशासकमध्ये असल पनि देखिए तर राष्ट्रहितका लागि जुन एकता, अठोट र उत्साह हुनुपथ्र्यो, त्यो देखिएन। ससाना घेरामा स्वार्थी समूह बनाएर त्यसलाई दल वा गुटको जामा लगाइएको छ।

पिता राजा महेन्द्र (न्वारानको नाम देवेश्वर) र बाजे त्रिभुवन (न्वारानको नाम पेशल र विवुधर) भन्दा फरक थिए, वीरेन्द्र। युरोप–अमेरिकाबाट उच्च शिक्षा लिएका कारण उदार र प्रजातान्त्रिक प्रणालीप्रति बढी विश्वस्त थिए। उनको उदार चरित्र नबुझ्ने कैयन्ले कमजोर पनि भने। राजा महेन्द्रले कैयन् राष्ट्रवादी चरित्रका व्यक्तिलाई जीवन यापनका लागि यथेष्ट व्यवस्था गरेको प्रशंसा सुनाउँछन्, पुराना मान्छे। गणेशमान सिंहलाई २००८ सालमा मन्त्री बनाउन राजा त्रिभुवनले सिफारिस गरेको राजा महेन्द्रका निजी सचिव लोकदर्शन वज्राचार्यले ‘उहिले बाजेको पालामा’ भन्ने पुस्तकमा लेखेका छन्। बिपीकी बहिनी विजयलक्ष्मी कोइराला (बुनु) लाई पनि राणा–कांग्रेसको अन्तरिम सरकारमा सामेल गर्न खोजिएको थियो तर अन्त्यमा रोकियो। उनका पति महमदअक्रम जाकीलाई मैले इस्लामावादस्थित नेपाली राजदूतावासको रात्रिभोजमा भेटेको थिएँ। जाकी र बुनुको विवाह २०१५ सालमा भएको थियो।

दयाराम भक्त माथेमाको ‘अनुभव र अनुभूति’, भीमबहादुर पाँडेको ‘त्यसबखतको नेपाल’ (चार भाग), गृष्मबहादुर देवकोटाका ग्रन्थहरू (नेपालको राजनीतिक दर्पणलगायत) आदि बुझेपछि नेपाली राजनीतिको जरो बुझन सकिन्छ। इतिहासकार भुवनलाल प्रधान भन्थे– मैले राजा त्रिभुवन, राजा महेन्द्र र राजा वीरेन्द्रको निकट हुने मौका पाएँ। उनीहरू सुखदुःख सोध्थे। राजा महेन्द्रबाट प्राप्त बकसबाट मैले बबरमहलमा घर जोडेको हुँ। राजाले हामीलाई माया गर्थे। हामी राजालाई माया गथ्र्यौँ। बाबु र सन्तानको जस्तो सम्बन्ध थियो राजा र जनताको। त्यसैले, उहिलेका धेरैजसो मान्छे इमानादर थिए।  

शुक्राचार्य नीतिमा राजाका वास्तविक हितैषीले लोभ गर्नुहुँदैन भनिएको छ। सेवकले मान वा दान नपाए पनि राजाको सेवा गर्नु तर शत्रुसँग मिल्न जानुहुँदैन भनिएको छ। शासक (राजा) धार्मिक छन् भने जनता पनि धार्मिक हुन्छन् भनेका छन् शुक्रचार्यले। ‘यथा राजा तथा पूजा’ भनेझैँ शासक सक्षम छन् भने उनका वरिपर असल र कुशल सहयोगीहरू हुन्छन्। उहिलेका हुन् वा तीस/पैँतीस वर्षपहिले राजकाजमा संलग्नहरू प्रायः सबै सफल र असल थिए।

बितेका पच्चीस/तीस वर्षयताका शासक/प्रशासकमध्ये असल पनि देखिए तर राष्ट्रहितका लागि जुन एकता, अठोट र उत्साह हुनुपथ्र्यो, त्यो देखिएन। ससाना घेरामा स्वार्थी समूह बनाएर त्यसलाई दल वा गुटको जामा लगाइएको छ। झण्डै तीन करोड जनतामध्ये एक प्रतिशतलाई पनि समेट्न नसक्नेहरूले राष्ट्र उठाउँछन् कि गिराउँछन् ? भन्नु परोइन।

प्रकाशित: २१ जेष्ठ २०७८ १०:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App