१० असार २०७८ बिहीबार
विचार

के कांग्रेसले दिशा गुमाएकै हो ?

नेताहरूले अधिकारका कुरा धेरै गरिसके र सुविधा धेरै भोगिसके। जनतालाई अब कर्तव्य र जिम्मेवारीका कुरामात्र सुन्न मन छ। नेताहरूको बोलीको ठेगान छैन, त्यसैले कुरा सुन्नभन्दा पनि त्यहीअनुरूप इमानदारीका साथ क्रियाशील भएको हेर्न प्रतीक्षारत छ।

कांग्रेसका अग्रज र संस्थापक नेताहरूले रामायणको चरित्रजसरी पार्टी चलाए। आजका कांग्रेस नेताहरू पार्टीको नेतृत्व हत्याउन महाभारत चरित्र अपनाउन थालेका छन्। रामायणको यथार्थ हो, राज्यका निम्ति भाइहरू नलड्ने। भरतले पाएको राज्य उनी लिन चाहँदैनन्, हकवाला रामलाई नै राज्य सुम्पिन चाहन्छन् तर रामचाहिँ भरतले पाइसकेको राज्य कुनै पनि मानेमा आफूले चलाउन नहुने भन्दै राज्य भरतलाई नै सुम्पिन्छन्। 

अर्कातिर महाभारतको यथार्थ हो राज्य हत्याउन सकिन्छ भने दाजुभाइबीच जस्तोसुकै शत्रुता, जालझेल, छलछाम, गठबन्धन र षड्यन्त्र गर्न पछाडि हट्दैनन्। पाण्डवले बस्नका लागि पाँचवटा गाउँ दुर्योधनसँग माग्दा उनी नदिने अहंकारपूर्ण रबैया अपनाउँछन्। आखिर राज्यका लागि महाभारत युद्ध नै हुन्छ। कांग्रेसले आफूभित्रका विवादलाई मिलाएर र आफू बाहिरका विवादलाई चिरेर अगाडि बढेको लामो इतिहास र अनुभव छ। त्यो इतिहासको आलोक र अनुभवले दिएको कौशलद्वारा आजका विवादहरू मिलाउन सकिन्छ। तर यसको केन्द्रीय तहमा विद्यमान अस्तव्यस्तता, संगठनमा देखिएको छरपस्टता, अनुशासनहीनता र निर्णयहीनताले खेदजनक परिस्थितिमा पुर्‍याएको र सबैजसो कांग्रेसी मनलाई चिन्तित तुल्याएको कुन नेताले अनुभूत गरेको होला भन्न गाह्रो छ। 

कार्यकर्ताहरूको विवाद नेताहरूले मिलाउँछन् तर नेताहरूको विवाद कार्यकर्ताहरूका निष्पक्ष विचारका सहायताले मिलाउनुपर्छ। कार्यकर्ताहरूले नेताका कुरा धेरै सुनिसके, यस मामिलामा अब नेताहरूले कार्यकर्ताका आवाज सुन्नुपर्छ। यो नै आन्तरिक लोकतन्त्रको उच्चतम प्रयोग हो। चिप्लोले लडाउँछ, खस्रोले अड्याउँछ। सिंगो पार्टीको हित कुन उपायले हुन्छ, त्यस बाटोमा जानुपर्छ।

राजनीतिमा सफल हुने स्वाभाविक चाहना राख्दा नैतिकतालाई बाधक ठान्ने मनोभाव बढ्न थाल्यो भने त्यो आत्मघातक हुन पुग्छ। आफ्ना आदर्शको सार्थकता र आकांक्षाको परिपूर्ति होस् भन्ने कामना राजनीतिमा लागेको हरेक व्यक्तिले गरिरहेकै हुन्छ। यो सहज मानवीय ध्येयमा आदर्श र आकांक्षाबीच सन्तुलन हुनुपर्छ। दुवैबीच सन्तुलन भएन र आकांक्षा मात्र अगाडि बढ्यो भने आदर्श मरेर जान्छ। आदर्श मारेर आकांक्षा मात्र बोकी हिँडेको व्यक्ति नेता वा कार्यकर्ताभन्दा पनि अराजकतावादी वा अवसरवादीका रूपमा चिनिन्छ, वास्तवमा गतिछाडा र खतरनाक हुन्छ। आदर्शवादी राजनीति मात्र बोकेर हि“ड्ने मान्छे आजको जमानामा पाउन निकै कठिन छ।

यतिबेला कांग्रेस सत्तामा जान व्यग्र भएको देखिन्छ। सर्वोच्च अदालतमा बहस र विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका वादीहरूको पक्षमा फैसला भएर प्रतिनिधिसभा पुनःस्थापना भयो भने प्रबल सम्भावना के देखिन्छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका विपक्षी करिब दुई दर्जन सांसदलाई संसद्बाट हटाउनेछन् र आफैं एकल ठूलो पार्टीका रूपमा सत्तामा बसिरहनेछन्। ‘दक्षिणको दक्षिणा’ स्वरूप सत्ता पाएका प्रधानमन्त्री ओलीले सत्ता टिकाउन ‘नांगो नाच’ र ‘हजार दाउ’ चलाएर र राष्ट्रपतिको सहयोग लिएर भए पनि सत्ता छोड्नेछैनन्।

यसको अर्थ कांग्रेस सभापति शेरबहादुर देउवालाई फेरि थाङ्नामा सुताइँदैछ। राष्ट्रिय तथा बाह्य परिस्थितिको विश्लेषण नै नगरी अरुले हौस्याएको भरमा उकासिएर, कार्यकर्ताको भावना तथा चाहनालाई उपेक्षा गरेर कांग्रेसका एकदुई नेताहरूले जुन निर्णय लिँदैछन्, यो एकदमै केटीकेटीपन र कांग्रेसलाई नसुहाउने निरर्थक अठोट कांग्रेसले लिएको छ। वास्तवमा विद्यमान जनादेश कांग्रेसलाई सत्तामा जान मिलेको होइन। एमालेकै माधवकुमार नेपाल वा माओवादी अध्यक्ष प्रचण्डलाई सत्तामा जान कांग्रेसले छोड्नुपथ्र्यो। तर, आफैं सुरिएपछि चोक्टा खान गएको... जस्तो हुने अवश्याम्भावी छ।

जतिसुकै अन्तर्विरोध भए पनि कांग्रेसभित्र मिल्नै नसक्ने र फुटेर जानेसम्मको विवाद केही पनि छैन। दुइटामध्ये जुन आँखा घोचे पनि आफैंलाई दुख्ने खालको अवस्था छ। यसो भन्दैमा सहमतिका नाममा अँध्यारा कोठामा पदाधिकारी र एक/दुईजना फ्याउरे नेता बसेर अपारदर्शी तुच्छ लेनदेन गरेकोलाई सहमति भनी मान्नु न्यायोचित हुँदैन। पार्टीको विधानले अहिलेका ‘पदाधिकारी’लाई चिन्दैन। सार र स्वरूप नभएको स्वार्थी सम्झौतामा सहमतिको साक्षी बस्न कसैले जानुहुँदैन। 

त्यसैले बृहत् एकताको विकल्प छैन, गुट र फुटको भविष्य छैन। पार्टीको ‘प’ सँगै फुटको ‘फ’ पनि ऐंजेरूजस्तै टाँसिएको हुन्छ भन्ने जिम्मेवारीपूर्ण सतर्कता त लिनैपर्छ। पार्टीका संस्थापक राजनेताहरूले सिकाएको मन्त्र ‘बहसमा विविधता र निर्णयमा एकता’ नै कांग्रेसको लोकतान्त्रिक संस्कार तथा परम्पराको चुरोलाई कुनै नेताले नछोडून् ! पार्टी अनुशासन कसले मान्नुपर्ने कसले नमाने पनि हुने भन्ने अलगअलग व्यवहार जन्मिन थाल्यो भने त्यो अर्को खेदजनक स्थिति हुन्छ। निरर्थक आत्मविश्वास र रणनीतिको अभावले गर्दा कांग्रेस २०७४ सालका निर्वाचनहरूमा दोस्रो स्थानमा झरेको हो। 

एकताबद्ध अल्पमतले असंगठित बहुमतलाई पराजित गर्छ भन्ने उक्त निर्वाचनको शिक्षा हो। पार्टीले कृत्रिम रूपबाट भोग्नुपरेको धक्का र यसका कारक तत्वको कदर हुने तर समर्पितहरूले आफ्नो ठाउँ आपैंmले खोज्नुपर्ने हो भने त्यो नेतृत्वको दोष हो र असफल नेतृत्वको द्योतक हो। आजको कांग्रेसमा नेतृत्वबाटै यस्तो प्रवृत्ति देखाइँदैछ। यो आरोप होइन जल्दोबल्दो यथार्थ हो।

पार्टी चौधौं महाधिवेशनको चरणमा पुगिसक्यो तर पनि प्रक्रिया प्रारम्भ गर्न र संगठनात्मक पूर्णता दिन सकेको र चाहेको छैन। केन्द्रीय विभाग र भ्रातृ संस्थाहरूलाई आफ्नो खल्तीको खेलौना बनाउन नपाउँदा असंगठित र अन्योलपूर्ण अवस्थामा राखिएको छ। यो दुरवस्थालाई इतिहासले भावी पुस्ताका लागि हेरिरहेकाले इतिहासको आँखा छल्न सकिन्न। संसदीय भूमिकामा प्रमुख विपक्षी दलको जिम्मेवारीमा शिथिलताको कारण के हो ? सत्ताबाट लोकतन्त्रको गला अँठ्याउँदै भ्रष्टाचार र आपराधिक क्रियाकलापका एकपछि अर्को भयानक र खतरनाक काण्डहरू मच्चाइरहँदा पनि महाभारतमा दुर्योधनको सभाका मूकदर्शक, लाचार र विवश सदस्यजस्तो मनोदशा कांग्रेसका सांसदहरूलाई केले गरायो ? यो अब प्रश्न मात्र रहेन रहस्यमय पहेली बन्दैछ। खुद्रामसिना उपलब्धि र समाजमा सरकारविरोधी लहर उठेकोमा केवल रमाउनु, शीत चाटेर प्यास मेट्न खोज्नुजस्तै हो। त्यसबाट कांग्रेसको अभिभारा पूरा हुँदैन।

सत्तापक्षलाई जनताले आसाको भोट दिएका थिए। कांग्रेसले भरोसाको भोट पाएको हो। २०७४ को निर्वाचनमा आसाको बहुमत र भरोसाको अल्पमत भएकाले कांग्रेसको भूमिका परिवर्तन मात्र भयो, जिम्मेवारीको मात्रा घटेको होइन। हिजोको आसा आज तीव्र गतिले नैराश्यमा परिवर्तन भइरहेको छ। लोकतन्त्रवादी पार्टीकै सेरोफेरोमा सत्ताबाटै लोकतन्त्रको हुर्मत लिने हर्कत भइरहेको छ। जनतामा व्याप्त यो निराशालाई भरोसामा बदल्ने रणनीति कांग्रेससँग भएन भने जनताको नजरमा यो पार्टी पनि ‘एउटै ड्याङका मुला’ हुनेछ।

आजको नयाँ पुस्ता पश्चिम एसियामा ट्विटर वा फेसबुकजस्ता सामाजिक सञ्जालद्वारा ल्याइएका लोकतान्त्रिक वा स्वतन्त्रतावादी आन्दोलनको संवाहक हो, कलर रिभोलुसन वा चेहराविहीन आमक्रान्ति (फेसलेस रिभोलुसन) को रचयिता हो। तर नयाँ पुस्ताको रूचि र आवश्यकतालाई नेतृत्वले सम्बोधन गर्न नसक्दा संसारका ठल्ठूला शासक ढलेनन् मात्र, तिनको उछितो काड्याे यही पुस्ताले। यो सिर्जनशील र शक्तिशाली पुस्ताको सहभागिता नेपाली कांग्रेसलाई चाहिएको छ। पार्टीको सुन्दर इतिहास देखाएर तर पुरानै ढर्रा, बासी विचार र लथालिंग चालाले नयाँ पुस्ताको सहभागिता हुन सक्दैन भन्ने पनि छर्लङ्ग छ। तर संवैधानिक राजतन्त्र, समाजवादजस्ता आधारभूत सिद्धान्तलाई गिरिजाप्रसाद कोइरालाको पालादेखि नै त्याग्दै आएको कांग्रेसले आफ्ना नैतिकता, संस्कार, परम्परा र कार्यशैलीलाई बिल्कुलै देख्न नसकेको धृतराष्ट्र प्रवृत्ति वरण गर्न पुगेको छ।

त्यसैले सर्वप्रथम पार्टीमा पूर्ण एकता र त्यसद्वारा शक्ति सञ्चय वर्तमानको अनिवार्यता हो। आफूले गरेका गल्ती–कमजोरी र कार्यशैलीमा देखापरेका असंगतिपूर्ण पक्षलाई साहसपूर्वक सच्याउँदै एकतापूर्ण ढंगले जानुपर्छ भन्ने प्रयासका लागि प्रत्येक नेता आ–आफ्नो स्थानबाट सतत प्रयत्नशील हुनुपर्छ। गतिहीन पार्टी आफैंमा हराएर जाने जोखिमलाई पनि नेतृत्वले हेक्का राख्नुपर्छ। प्राविधिक रूपको वा टालटुले एकताले मात्र हुँदैन, त्यो फगत फुटेको हाँडी जोडेजस्तो हुन्छ। कांग्रेसभित्र भावनात्मक तथा भ्रातृत्वपूर्ण एकता बनाउनुपर्छ, बनाउन सकिन्छ। फुटपरस्त पार्टीको जनतामा कुनै भाउ छैन भन्ने धरातलीय यथार्थ कम से कम कांग्रेसले अनिवार्य बुझ्नैपर्छ।

प्रकाशित: २० जेष्ठ २०७८ ०९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App