२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

आर्थिक-राजनीतिक प्रणाली र इको-मार्क्सवाद

उत्पादनको स्वामित्व उच्च वर्गको हातमा हुँदा श्रमिक वर्गको श्रमको मूल्यबाट धनी वर्गले नाफा कमाइ झन् धनी बन्दै जाने भएकाले समाज वर्गीय हुने र राज्यको प्रकृति पनि वर्गीय हुन्छ। त्यसकारण राज्य भनेको एक वर्गले अर्को वर्गमाथि अधिनायकत्व कायम गर्ने संस्था बनेको हो। समाज विकासका क्रममा वर्ग संरचना एवम् उत्पादन सम्बन्धमा आएको परिवर्तनसँगै अर्थतन्त्रको स्वरूपले पनि नयाँ रूप लिँदै गयो। 

श्रमजीवी वर्ग औद्योगिक मजदूर वर्गबाट सेवा वर्गमा भएको रूपान्तरण, विज्ञान प्रविधिले ल्याएको परिवर्तनले अर्थतन्त्र एवम् उत्पादनका साधन र उत्पादन सम्बन्धमा भएको परिवर्तन एवम् उत्तर आधुनिक चिन्तनले वर्गीय संरचनाको सूक्ष्म पक्षमा परिवर्तन आए पनि पुँजीवादी संकटले उत्पादन गरेका नयाँ समस्याले वर्ग अन्तरविरोध हल गर्न सकेको छैन। औद्योगिक पुँजीवाद वित्तीय पुँजीवादमा रूपान्तरण भएसँगै ज्ञानमा आधारित अर्थतन्त्र (नलेज इकोनमी) ले स्थान लिए पनि धनी र गरिबबीचको अन्तर उल्लेख्य कम हुन सकेको छैन।  

पुँजीवाद खुलाबजार र सीमित सरकारी हस्तक्षेपमा आधारित प्रणाली हो जसले असमानता, बजारको असफलता, वातावरण विनाश, क्षणिकपना, भौतिक सम्पत्तिको अधिक लोभ, मन्दीका साथसाथै आर्थिक चक्रलाई समेत ध्वस्त पार्छ। यो (पुँजीवाद) वातावरण विनाशउन्मुख हुन्छ, प्राकृतिक स्रोतहरूको यसले दोहन गर्छ, वायु तथा जलप्रदूषण गर्नुका साथै दिगो विकासमा समेत प्रभाव पार्छ। तथापि, समाजसंँग सरोकार राख्नेहरूको सचेतना तथा ज्ञानका कारण सबैखालका मानवीय क्रियाकलाप अझ बढी जिम्मेवारपूर्ण ढङ्गले अगाडि बढेका छन्। 

पुँजीवादी समाजका मूलतः तीन समस्या छन्, अन्यमाथिको भौतिक मूल्यको दबदबा, समाजमा विजेता र पराजेयताको निर्माण र सामानको बेवास्ता। पुँजीवादको यस्तो सोच र मान्यताले हामीलाई छुट्टै प्रकारको आधारभूत आर्थिक प्रणालीद्वारा चित्रित तथा उत्पादन र वितरणका साधनप्रति राज्यको दायित्व भएको आर्थिक प्रणालीतर्फ सोच्न अग्रसर गराउँछ।  

अर्को पाटो, मार्क्सवाद एउटा सामाजिक, राजनीतिक र आर्थिक सिद्धान्त हो जसले मालिक (पुँजीपति) र श्रमिकबीचको शक्ति सम्बन्ध स्वभावैले परस्पर विपरीतखालको हुन्छ र यसले वर्ग संघर्ष सिर्जना गर्छ भन्ने कुरामा विश्वास गर्छ। यसले अर्थतन्त्र, समाज र राजनीतिलाई छुट्टाछुट्टै राखेर होइन कि ऐतिहासिकरूपमा नै एकापसमा सम्बन्ध भएका चिजका रूपमा विकास भएको विश्लेषण गर्छ। यस दृष्टिकोणबाट हेर्दा पुँजीपति र श्रमिक वा पुँजी र श्रम एकापसमा विपरीत वर्ग देखिन्छ। पहिलो वर्ग स्वाभाविकरूपमा उत्पादनको साधनमाथि र दोस्रो स्वतन्त्र ज्याला प्राप्त गर्ने श्रमिकहरूका पक्षमा देखिन्छन्। 

पुँजीवादी व्यवस्थाअन्तर्गत श्रमको शोषण मात्र नभएर वस्तुहरूको प्रयोगलाई आधार बनाएर पुँजीवादले समाजमा विविधताको संरचना पनि तयार गर्छ। जसको परिणामस्वरूप सामाजिक सम्बन्धहरू व्यापारीकरण सम्बन्धमा परिणत हुन्छन्, विनिमय खरिद बिक्रीमा परिणत हुन्छन्। राज्यको वर्तमान सामाजिक र आर्थिक अवस्थालाई प्रष्टरूपमा परिवर्तन गर्ने खाका माक्र्सवादमा हुन्छ जसमा मुक्तिको कुरा रहन्छ। यस अर्थमा संसारको वित्तीय अभाव विश्लेषण गर्न कार्ल माक्र्सको व्याख्या सान्दर्भिक छ।  

इको-मार्क्सवाद

इको-मार्क्सवाद एउटा राजनीतिक विचार हो जसले अपुँजीवादी सिद्धान्तलाई इकोलोजीसंँग, प्रतिभूमण्डलीकरण र थुप्रै पूर्वपर्यावरणीय नीतिसंँग जोड्छ। इको-मार्क्सवादको विकास इकोलोजिकल चिन्तनमा, वर्गविहीनताको अभावले समालोचनाका रूपमा भएको हो। यसले लाल र हरित सोचलाई जोड्छ। इको-मार्क्सवादले प्रकृतिको समान सम्बन्ध रचनात्मक हेर्छ र यसको मध्यस्थता उत्पादनका विभिन्न माध्यमबाट हुन्छ। जसले प्रकृति र आर्थिक चक्रको सम्बन्धलाई स्मरण गराउँछ। यो आर्थिक पुँजी संकलनसँगै गहिरिँदो छ र पारस्परिक विपरित सम्बन्ध जस्तै छ। इको-मार्क्सवाद, मार्क्सवादको सिद्धान्तको पर्यावरण विश्लेषण सम्बन्धित असर प्रक्रियाको अध्ययन र प्रयोगको सिद्धान्त हो।  

यद्यपि व्यक्तिगत सम्पत्तिको संकलन र प्रकृतिलाई प्रयोग गरी प्राप्त गरिने मूनाफाप्रति मार्क्सवादको आफ्नै धारणा भए तापनि कार्ल माक्र्सको पर्यावरणीय ह्रासप्रतिको अध्ययन अग्रभागमा छ। मार्क्सले इतिहास र प्रकृतिको भौतिकवादी धारणालाई स्थापित गरे जुन एकापसमा सम्बन्धित छन्। उनको इकोलोजी विधिमा मानव समाज भौतिक संसारमा नै डुबेको छ। तीव्र जनसांख्यिकी तथा प्रविधिको परिवर्तनका कारण वातावरणमा व्यवधान थोपरेको छ, थुप्रै जनावर र रुख बिरुवाहरू लगभग लोपको अवस्थामा छन्। जल प्रदूषण, ओजन तहको विनाश, हावापानीमा परिवर्तन, वन विनास, अम्लीय वर्षा आदिका रूपमा वातावरण समस्या प्रकट भएको छ। यी सबै समस्याको मुहान भूप्राकृतिक स्रोतका क्षयीकरण हुन्। अब सर्वत्र वातावरणीय प्रभावबारे सोचिँदैछ। यही अवस्था रहेमा भविष्यका सन्ततिहरूको जीवन खतरामा छ।  

संसारमा ३० प्रतिशत जमिन जंगलले ढाकेको छ। ४.०६ विलियन हेक्टर तर यो कारुणिक अनुपातमा ह्रास हुँदैछ। सन् १९९० देखि सन् २०१६ को बीचमा १.३ मिलियन वर्ग कि.मि. बराबरको जंगल सखाप भयो। यसरी विगत दश वर्षमा ठूलो मात्रामा जंगल सखाप भएका देशहरूको अग्रपंक्तिमा ब्राजिल, कंगो, इन्डोनेसिया, एंगोला, तान्जानिया, पाराग्वे, म्यानमार, कम्बोडिया, बोलिभिया र मोजाम्बिक रहेका छन् तथापि अन्य देशमा पनि वनजंगल विनाशका समाचार निरन्तरतामा छ।

सन् २०१५ देखि २०२० सम्ममा प्रतिवर्ष लगभग १० मिलियन हेक्टर जमिनको जंगल विनाश देखियोे जुन २०१० देखि २०१५ सम्म १२ मिलियन हेक्टर थियो। प्रकृतिप्रति मानवीय चेतनाको विकासले गर्दा संरक्षित बनेको क्षेत्रफल ७२६ हेक्टर विलियनले बढेको छ जुन १९९० को भन्दा २०० मिलियनले बढी छ।  डब्लुडब्लुएफको पछिल्लो प्रतिवेदनअनुसार सन् १९७० देखि हालसम्म ६० प्रतिशत जंगली जनावरको जनसंख्यामा ह्रास आएको छ। इकोसिस्टम असन्तुलित भएको छ र मानव समाज यसबाट नकारात्मकरूपले प्रभावित भएको छ। यस्तो आमह्रासमा मानवीय चरम उपभोगको संस्कृति नै प्रमुख दोषी देखिन्छ। वन विनाशमा तुरुन्त रोक लगाउनुका साथै जंगलले दिगो खाद्य उत्पादन गर्ने सहयोगलाई निरन्तरता दिनुपर्छ। त्यस्तै गरिबी निवारण, खाद्य सुरक्षा जैविक विविधताको संरक्षण तथा जलवायु परिवर्तनमा चनाखो रहनुपर्छ।  

इको-मार्क्सवादले वातावरणीय ह्रास, युद्ध, असमानता र गरिबीका प्रमुख कारण पुँजीवादको विस्तार भूमण्डलीकरणमार्फत भएको केलाएको छ। इको-माक्र्सवादीहरूले हरित राजनीतिलाई आफ्नो आन्दोलनको केन्द्रमा राखेका छन्। उनीहरूका अनुसार वातावरणीय ह्रास वर्तमानको पुँजीवादी राजनीति र यसको विनाशकारी अर्थनीतिका कारण भएको हो। जहाँ/जसरी भए पनि नाफा हुनुपर्छ भन्ने पुँजीवादी पराकाष्टा वा मन्त्र जुन सामाजिक न्यायको विरुद्धमा छ, यही नै पर्यावरणीय ह्रासको कारण हो भन्ने मार्क्सवादीहरूको आधारभूत बुझाइ हो।  

मानव र प्रकृति पुँजी निर्माणका दुई प्रमुखकर्ता हुन् र भौतिक पुँजी निर्माणको पिता श्रम हो। पुँजीवाद विस्तारका कारण वातावरणमा ह्रास हुनुका साथै सामाजिक खण्डीकरणको निरन्तरता भएको छ। हालसालै इको-पुँजीवाद वा दिगो विकासवादीको उदय भएको छ जसको उद्देश्य यो उपग्रहलाई पुँजीवादको विस्तारका कारण भएको इकोलोजिकल ह्रासबाट जोगाउनु रहेको छ। चरम उपभोगलाई हाम्रो जीवनदर्शन बनाऊ भन्ने संस्कृति हाम्रो अर्थ-राजनीतिले गरिरहेको छ। इको-मार्क्सवादले जंगल विनाशलाई वातावरणीय साम्राज्यका रूपमा लिन्छ किनकि पुँजीवादले भविष्यका सन्ततिप्रति निर्मम बन्दै जमिन र वातावरणको शोषण/दोहन गर्छ।  

पुँजीवादीहरू एक क्षेत्र विनाश गर्दै अर्को क्षेत्रमा फड्को मार्छन्। रोजगारीको अवसर सिर्जना गर्ने नाममा स्थापना गरिने कम्पनीहरूले कलात्मक ढङ्गले श्रमिकको शोषण गर्नुका साथै माटो, प्रकृतिको पनि शोषण गर्छन्। गरिबीलगायत विविध कारणले मानिस घर छाड्न बाध्य छन्, श्रमिकहरू न्यून ज्यालामा काम गर्नुपर्ने अवस्था छ, निकै ठूलो मात्रामा जंगल तथा वातावरण दोहन भएको छ। यी सबैका कारण पुँजवादको निरन्तर लगानी र नाफामूलक सोच कारक तत्व हुन्।  

निष्कर्ष

पुँजीवाद सारमा सञ्चय गर्ने, थुपार्ने काममा व्यस्त आर्थिक–राजनीतिक–सामाजिक व्यवस्था हो र जति थुपार्न/सञ्चय गर्न सक्यो त्यसैमा यसले आफ्नो जीवनको दिगोपना देख्छ। यसको सर्वोच्चतामा नाफा भन्ने हुन्छ र पृथ्वीमा जति क्षय भए पनि पुँजीवाद यही निरन्तरतामा अगाडि बढ्छ। इको-मार्क्सवादले प्रकृति र मानवबीच अन्तरसम्बन्ध निर्माण गर्छ। त्यसैले कुनै एकमा हुने क्षय अर्काको पनि क्षय हो भन्ने सहअस्तित्वलाई यसले ग्रहण गरेको छ। कार्ल माक्र्सको पृथ्वीमा हुने संकट वा माटोमा हुने संकट जुन १९ औँ शताब्दीको मध्यतिर विकास भयो यसले उनलाई दिगोपनातर्फको दृष्टिमा उन्मुख गरायो जुन साम्यवादी समाजको केन्द्रीय प्रमुख चिज बन्यो। दिगोपना हरेक माक्र्सवादी समालोचना र समाजको भविष्य भन्ने चिन्तनको केन्द्रमा रह्यो। यसमा गुण र जटिलता दुवै छन्।मार्क्सवादप्रति नजिकैबाट गरिने परीक्षणले यसको दिगोपनाप्रतिको अवधारणाले अझ बढी दिगो सामाजिक समानताको अवसर वा संभावनालाई देखाउँछ/दर्शाउँछ।

प्रकाशित: १३ जेष्ठ २०७८ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App