१ जेष्ठ २०७८ शनिबार
विचार

जातीय मुक्ति संघर्षको वैचारिकी

१९२७ मार्च २० मा डा. भीमराव अम्बेडकरको नेतृत्वमा भारत महाराष्ट्रको रायगढ जिल्लामा ‘महाड सत्याग्रह’ भएको थियो। भारतका अन्य ठाउँका नदी, तलाउ या अन्य पानीका स्रोतमा जस्तै महाडको चवदार तलाउको पानी दलित समुदायका लागि पिउन र प्रयोगबाट वञ्चित गरिएको थियो। १९२३ अगस्टमा बम्बे लेजिस्लेटिभ कौसिकले एक अधिनियम ल्याए जसअनुसार सार्वजनिक नदी, तलाउ, कुवा तथा सरकारले निर्माण र संरक्षण गर्ने स्थानहरूको प्रयोग सबैले गर्न पाउने र प्रयोग गर्नबाट कोही कसैले रोक लगाउन नपाउने व्यवस्था भयो।

१९२४ मा नगर निगम परिषद्ले उक्त अधिनियम लागु गरे तापनि त्यहा व्यवहारमा लागु हुन सकेको थिएन। त्यसैका विरुद्ध ऐतिहासिक सत्याग्रह भएको थियो। सत्याग्रहपश्चात अम्बेडकरले दुवै हातले तलाउको पानी उघाए र पिए साथै त्यहाँ उपस्थित उनका हजारौँ अनुयायीले पनि त्यसै गरे। महाड सत्याग्रहको दिन अर्थात मार्च २० लाई भारतमा ‘सामाजिक सशक्तीकरण दिवस’ का रूपमा मनाउने गरिन्छ। महाड सत्याग्रह अम्बेडकरको पहिलो सत्याग्रह थियो।

भारत, नेपाललगायत ब्राह्मण धर्म मान्ने देशहरूमा प्रचलित वर्ण वा जात व्यवस्था के हो ? वर्ण व्यवस्था के शूद्र (दलित) को मात्रै समस्या हो ? गैरदलित समुदायलाई यसले प्रभावित पार्छ वा पार्दैन ? र अर्काे वर्ण व्यवस्थालाई माक्र्सवादी आन्दोलनसँग किन नजोड्ने ? यी यस्ता महत्वपूर्ण सवाल र मूल प्रश्न हुन्, यिनको जवाफ नखोजी जातीय मुक्ति संघर्षको वैचारिक धारणा निर्माण गर्नै सकिन्न। जातीय मुक्ति संघर्षको वैचारिकी निर्माण नै नगरी जात व्यवस्थाद्वारा सिर्जित हाम्रो मुलुकको प्रधान समस्या समाधान गर्न सम्भव छैन। त्यसैले यस आलेख इतिहासका तथ्यका साथै भविष्यमा खोजिनुपर्ने समाधानतर्फ लक्षित रहनेछ।

जात व्यवस्था के हो ?

हिन्दु धर्मको प्राचीन नाम ब्राह्मण धर्म हो। ब्राह्मणले मान्ने धर्म भएकाले ब्राह्मण धर्म रहन गयो। कुनै पनि शास्त्रमा हिन्दु शब्द छैन। हिन्दु शब्दको प्रयोगबारे विभिन्न मिथक पाइन्छ। कसैकसैले सिन्धुबाट हिन्दु भयो भन्ने पनि गर्छन्। जात याने वर्ण व्यवस्थाको जननी ब्राह्मण धर्म नै हो। जात व्यवस्था के हो ? ‘हिन्दु धार्मिक राजनीति’ को परिणाम जात व्यवस्था हो। यति भनिसकेपछि स्पष्ट हुन्छ– हिन्दु धर्म मात्रै होइन, यो राजनीति हो। 

त्यसो भए के हिन्दु धर्मभित्र परिमार्जन गरेर, जातका आधारमा गरिने विभेद र छुवाछूत व्यवस्था हटाउँदै जाने हो भने जातीय समस्याको समाधान सम्भव होला ? एक टेलिभिजन कार्यक्रममा चर्चित कलाकार यस कुमारको मत जस्तै सति प्रथा जसरी जातीय विभेद र छुवाछूत व्यवस्थालाई उन्मूलन गरेर समाधान गर्न सकिन्छ होला त ? प्रश्न स्वाभाविकै हो, सति प्रथा हट्ने, छुवाछूत व्यवस्था किन नहट्ने ? या अन्य कुनै जटिल समस्या जीवित छन् ? यी दिग्भ्रमहरू चिर्ने कोसिस गरौँ।

आर्य समुदाय विशाल महाभारत क्षेत्रमा करिब ४ देखि ५ हजार वर्षअघि मात्रै प्रवेश गरेका हुन्। आर्य समुदायको उद्गम स्थल आर्याक, इराक देश हो। इराक देशको नाम आर्य शब्दबाट राखिएको तथ्यबाट स्पष्ट हुन्छ। उनीहरू र यिनीहरूको नश्ल (रेस) जीन मिल्छ। आर्यहरू अग्नि याने आगो पुजक हुन्। आर्यहरू घुमन्ते, फिरन्ते जाति हुन् त्यसैले संसारभर पुगेका छन्। त्यस्तै खसहरू ककेसस या ककेसिया (जनवादी रसियाभित्र पर्ने देश) हरूबाट यता प्रवेश गरेका हुन्। ककेसियन भएकाले कस शब्द अपभं्रश भएर खस भनिए। पश्चिम नेपालमा खसहरूको विशाल राज्य थियो। खसहरू त्यहा आएर शासन हत्याएका हुन् तथापि हाम्रो पश्चिम नेपाल आदि कालीन खस भूमि अथवा खसान भूमि कदापि होइन। यो भ्रम नरहोस्।

संसदीय लोकतन्त्रमा मात्रै जातीय मुक्तिको बाटो खोज्न सम्भव छ। जनवादी सत्ता निरंकुश हुन्छ। पुरानो र कथित साम्यवादको स्वैरकल्पनामा डुबेर जातीय मुक्तिको सपना नदेख्दा हुन्छ।

हामीले कहिल्यै यो प्रश्न गरेनौँ– आर्य–खस समुदाय यस भूमिमा आएर शासन हत्याउनुपूर्व हामी कहाँ थियौँ ? को थियौँ? हिन्दु धर्मशास्त्रहरू, वेद, पुराण, रामायण, महाभारत र स्मृतिहरूका आधारमा किटान गर्न सकिन्छ, जात व्यवस्था आर्य र अनार्य अथवा सवर्ण र अवर्णबीच युद्धको हार/जीत, शासन र सत्ता द्वन्द्वका कारण निर्माण गरिएको हो। हामी मूलबासी हाैं। दलित समुदायका पुर्खाले शासन गरेका राज्यहरू भारत र नेपालमा प्रशस्तै छन्। जहाँ हाम्रो हार भयो, त्यसको जात सानो घोषित भए। अझ आफ्नो हार सहर्ष स्वीकार नगर्नेहरू शुद्र (अछूत) बनाइए। देवता र राक्षसको मिथक पनि आर्य र अनार्य समुदायको प्रतीक नै हुन्। 

ज्ञातव्य नै छ, इतिहास जित्नेले आफ्नो पक्षमा बढाइचढाइ आफैं लेख्ने गर्छ, हार्नेको होइन। हाम्रा इतिहास भनेका कथित धर्मशास्त्र हुन् जुन मिथकमा बढी आधारित छन्। यथार्थ खुट्याउनै मुस्किल हुन्छ। हिन्दु धर्मशास्त्रहरूका आधार र आधुनिक खोजहरूले जात व्यवस्था हिन्दु धर्मको अभिन्न अंग रहेको पुष्टि गर्छ। शरीरबाट अभिन्न अंग जस्तै मुटु निकालेर अन्य सबै अंग ठीकै छ, एउटा मुटु नभएर के भो त भनी मुर्ख तर्क प्रदर्शन गरे जस्तै हिन्दु धर्मबाट जात व्यवस्था निकालेर फाल्ने कुरा बोल्न जति सजिलो र सम्भव छैन। अम्बेडकरले जीवनभर यही प्रयास गरे। जीवनको उत्तरार्धमा असफल भएपछि बुद्ध धर्म अवलम्बन गर्न बाध्य भए।

राजनीतिक अधिकार प्रधान

अक्बेडकर भन्छन्– ‘आफ्नो इतिहास नजान्नेले भविष्य पनि निर्माण गर्न सक्दैन। जुन समाजमा हाम्रो जन्म भएको छ, त्यस समाजको उत्थानमा काम गर्नु हाम्रो पहिलो कर्तव्य हो। सामाजिक क्रान्तिबिना राजनीतिक क्रान्ति सफल हुन सक्दैन।’ जातीय मुक्तिको सवाल केवल दलित समुदायको मात्रै होइन। भाषिक, क्षेत्रीय, लैंगिक र धार्मिक उत्पीडनमा पारिएका जनसमुदायको सामूहिक समस्या हो। जंगबहादुर राणाले ‘मासिन्या मतवाली’ मा राखिदिएको तामाङ जाति जातीयरूपमा उत्पीडनमा कसरी छैन भन्नु ? क्षत्री ‘क्ष’ हुन्छ, तामाङ ‘त’, मगर ‘म’, कामी ‘क’, दमाइ द’, गुरुङ ‘ग’ किन भएन ? खस याने क्षत्रीहरू पनि जात व्यवस्थामा दोस्रो दर्जाकै मान्छे मानिन्छन्। जात व्यवस्थामा क्षत्री कहिल्यै बाहुन बन्न सक्दैन। त्यसैले जात व्यवस्था सबैको समस्या हो।

जातीय मुक्ति अझ दलित मुक्तिका निम्ति भन्दै विभिन्न प्रवृत्तिका व्यक्ति, समूहहरू सक्रिय बन्न थालेका छन्। यो सुखद अवस्था हो। तथापि मुख्य सवाल जातीय समस्याबारे हेर्ने दृष्टिकोणमा नै भ्रम र अस्पष्टता व्यापक देखिन्छ। कोही धार्मिक मुद्दामा केन्द्रित भएका छन्, कोही सामाजिक सुधारमा लिप्त। घटनाक्रमहरूमा झुल्किने र समझदारी या मुद्दा दर्ता गर्न टेवा पु¥याउने कार्यमा सक्रियता बढेका छन्। एउटा सरकार, सरकारको प्रधानमन्त्री, राजनीतिक दलका नेताको बोलीप्रति प्रतिक्रिया व्यक्त गर्दैमा जातीय मुक्ति संघर्षको वैचारिकी निर्माण हुँदैन।

यहाँ समस्या नीति निर्माण र नीतिको कार्यान्वयनमा कमजोरी प्रमुख समस्या हो। राज्य उत्पीडित समुदायको हितमा काम गर्न सक्षम र सक्रिय छैन। यस्तो हुनु स्वाभाविक हो। किनभने राज्यसत्तामा उत्पीडित समुदायको बलियो पहुँच तयार गर्न सके मात्रै राज्यको आधारभूत जातीय संरचनामा बद्लाव ल्याउन सकिन्छ। त्यसैले प्रधान कुरा राज्यसत्ता नै हो। राज्यसत्ता धार्मिक सुधार, सामाजिक आन्दोलन, एनजिओ, सेवामूलक पेसा र व्यापार आदि अभियानले प्राप्त हुनै सक्दैन। राज्यसत्ता राजनीतिक शक्ति निर्माण गर्न सके मात्रै प्राप्त गर्न सकिन्छ। राज्यसत्ता जनमतद्वारा प्राप्त हुन्छ। त्यसैले जातीय मुक्तिका लागि राज्यसत्ता अनिवार्य सर्त हो। यो राजनीतिक समस्या हो र राजनीतिक समाधानबाहेक समाधानका अन्य विकल्प छैन।

जातीय मुक्तिका सवालमा कस्तो राज्य व्यवस्था उपयुक्त हुन्छ ? शासन प्रणालीको सही छनोटविना मुक्ति आन्दोलनको कल्पना गर्न कठिन हुन्छ। संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था, धर्म निरपेक्षता नै त्यसका निम्ति उत्तम शासन व्यवस्था हो। किनभने लोकतन्त्रमा जनताको मुक्ति संघर्ष गर्ने अधिकार सधैँ सुरक्षित रहन्छ। दल निर्माण गरी राज्यसत्तामा पुग्न यसले अवसर दिन्छ। मुख्य कुरा संसद् जनताको समस्याबारे छलफल गर्ने र कानुन, ऐन र नियम बनाउने सार्वभौम संस्था भएकाले संसदीय व्यवस्था हाम्रो लागि उत्तम व्यवस्था हो। संसद्ले संविधान संशोधन गर्नेसमेत हक राख्छ।

संसदीय व्यवस्था नेपालमा बढी बदनाम किन र कसका कारणले हुन पुग्यो ? संसदीय लोकतन्त्रका आधार के के हुन् ? यसबारे बुझ्न जरुरी छ। पहिलो– नेपालमा गैरलोकतन्त्रवादी दलहरू सत्तामा पुग्नु संसदीय लोकतन्त्र बदनाम हुनाको प्रमुख कारण हो। दोस्रो– असमावेशी राज्यसत्ता र दलहरू। सत्ताको नेतृत्वमा रहेका दलहरूको विगत हेरौँ, एकल जातिवादी नेतृत्वबाट सधँै ग्रसित रहे। सबैभन्दा बढी सत्ताको बागडोर सम्हालेको नेपाली कांग्रेस पार्टीको आन्तरिक लोकतन्त्र, समावेशी सिद्धान्त र व्यवहार हेर्दा कस्तो देखिन्छ ? नेकपा एमालेको प्रमुख नेतृत्वमा बाहुनबाहेक अन्य कल्पना गर्न गाह्रो छ। माओवादीको पनि हालत उही हो। क्रान्तिको समयमा पार्टी भूमिगत हुँदा माओवादीको केन्द्रीय समितिमा कति जना दलित, महिला, आदिवासी जनजाति, मधेसी थिए ? कम्युनिस्ट पार्टीहरूको लक्ष्य र गन्तव्य जनवादी सत्ता हो, लोकतन्त्र त सम्झौता मात्रै हो। संसदीय लोकतन्त्रमा मात्रै जातीय मुक्तिको बाटो खोज्न सम्भव छ। जनवादी सत्ता निरंकुश हुन्छ।

पुरानो र कथित साम्यवादको स्वैरकल्पनामा डुबेर जातीय मुक्तिको सपना नदेख्दा हुन्छ। प्राप्त उपलब्धिहरूको सही प्रयोगमार्फत संविधानको कार्यान्वयन र संशोधन गरी थप अधिकारको ग्यारेन्टी गर्दै पूर्ण समानुपातिक प्रतिनिधित्व, समानता र जातविहीन समाज निर्माण गर्न राज्यसत्तामा हस्तक्षेपकारी वैकल्पिक राजनीतिक दलको उदयबाट मात्रै जातीय समस्याको समाधान गर्न सकिन्छ। एक अति जातिवादको विकल्प अर्काे जातिवाद हुन सक्दैन। जातविहीन अवस्था भनेको दलितविहीन होइन। धार्मिक सुधार, सहभोज, अन्तरजातीय विवाह आदिले जात व्यवस्थाको अन्त्य गर्न सक्दैन। वैधानिक राज्यसत्ता र राजनीतिक समाधान नै जातीय मुक्ति मार्ग हो। बरु सबै जात, जातिवाद र जात व्यवस्थाको विघटन हो। त्यो नै सुन्दर भविष्यको खोजी बन्नेछ। त्यसका निम्ति अम्बेडकरवाद नै सही सिद्धान्त र विचार हो।

प्रकाशित: १३ वैशाख २०७८ ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?