७ वैशाख २०८१ शुक्रबार
विचार

विक्रम संवत् हाम्रो गौरव

विक्रम संवत् नेपालमा प्रचलित संवत्मा सबैभन्दा जेठो मौलिक संवत् हो। विक्रम संवत् २०७८ साल मेष सक्रान्ति सोमबारको दिन नयाँ वर्षको उदय भएको छ। विक्रम संवत्मा मीन राशि समाप्त भई मेष राशि प्रारम्भ हुनासाथ वैशाख महिना सुरु हुन्छ। अंग्रेजी संवत् अनुसार सन् २०२१ अप्रेल १४ मा पर्छ। विक्रम संवत्को नयाँ वर्ष मेष सक्रान्ति, वैशाख १ गते नयाँ वर्षको दिन प्रकृतिले पनि स्वागत गर्छ। विक्रम संवत् प्रारम्भ हुने दिन हरेक वर्ष नयाँ वर्षको बिहानै सिराहामा सलहेस नामक सुनगाभाजस्तै ठूलोखाले फूल फुलेर सुख–समृद्धिका लागि सबैका लागि अमूर्त रूपले नयाँ वर्षको शुभकामना सम्बोधन गर्ने गर्छ।

सिराहाको लाहानदेखि चार किलोमिटर पश्चिममा वर्षमा एक दिन मात्र फूल्ने र एउटै मात्र मालाजस्तो लामो झ्याम्म परेको सलहेस फूल लटरम्म फूल्छ। अचम्मको कुरा अघिल्लो दिन कोपिला लाग्ने बिस्तारै आकार दिएको हुन्छ र नयाँ वर्षको बिहानी वैशाख १ गते मालाको आकारमा थपक्क भएर फुल्छ। बिहान फक्रने र वैशाख १ गतेको साँझदेखि ओइलिँदै भोलिपल्ट झर्ने गर्छ। यो दृश्य हेर्न नेपाल तथा भारतबाट कैयौँ स्थानबाट तीर्थयात्रीको आगमन हुन्छ। यस यथार्थताले के बुझाउँछ भने विक्रम संवत् प्रकृतिसँग पनि सम्बन्धित छ, जसले वैशाख १ गते मेष संक्रान्तिको प्रारम्भ नै सौहार्दतापूर्ण देखाउँछ। विक्रम संवत् प्रारम्भ भएको दिनमा बिहानैदेखि सलहेस फूल फुलेर बिहानैदेखि नेपालीमा शुभकामना अर्पण गर्ने गर्छ।  

विक्रम संवत् हिमवतखण्ड नेपालका विभिन्न साना राज्यमा प्रचलित भइरहेको र विशाल नेपालको सिर्जना भएपछि पनि विक्रम संवत् नेपालको राष्ट्रिय संवत्को रूपमा स्थापित भएको हो। विक्रम संवत् आदिकालदेखि नेपालमा चल्दै आएको प्रमाण काभे्र जिल्लाको नालामा उत्तरापुर राज्यको नाउँमा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको किंवदन्ती छ। विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा साँखु बज्रयोगिनीको मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौँदेखि बज्राचार्य वंशका पुजारीले गरिआएका छन्।

यस क्षेत्रमा विक्रमादित्य राजाको कुनै अस्तित्व नभएको भए यसरी विक्रमादित्यको मूर्तिको पूजाआजा गरेर बस्नुपर्ने कुनै कारण हुँदैनथ्यो। यिनै चक्रवर्ती राजाले नेपाललाई विस्तार गर्दै काशीसम्म पुगी काशीमा विश्वनाथको मन्दिर स्थापना गरेका थिए भन्ने कुरा हिमवतखण्ड पुस्तकमा उल्लेख छ। विक्रम संवत् सौर्यसँग सम्बन्धित छ। इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्– ‘विक्रम संवत्को प्रचलन मध्यकालमा बाइसी–चौबिसी, सेन, मल्ल, शाह राजाहरूले विक्रम संवत् चलाउँदै आएका थिए। केन्द्रका तीन सहरका मल्ल राज्यहरूमा पनि पूर्व मल्लकालदेखि अभिलेख, हस्तलिखित, पाण्डुलिपिका वाक्यमा विक्रम संवत्को प्रयोग हुँदै आएको थियो। भक्तपुरमा नववर्ष प्रारम्भ हुनुभन्दा अगाडि धुमधामसाथ बिस्केटजात्रा मनाइन्छ। तराईमा थारुहरू वैशाख सुरु हुने दिनदेखि नै सिरुवा जात्रा मनाउँछन्।’

नेपालका खोजकर्ता शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका अभिलेखमा उल्लिखित संवत्हरूलाई विक्रम संवत् हुन् भन्दै जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा ‘विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ। मोरङका राजा हरिश्चन्द्र सेन र बृषशेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम संवत् १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखिएका कैयौँ प्रमाणहरू भएको कुरा इतिहासविद् शंकरमान राजवंशीले पुरातŒव संग्रह (२०१८)मा प्रकाशित गराएका छन्। 

भारतीय इतिहासकारहरू गुजरातका विद्वान् खोजकर्ता पं. भगवानलाल इन्द्रजी, कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले विक्रम संवत्को उठान नेपालमै भएको र मानदेव प्रथमका समयमा उल्लिखित अभिलेखहरू सबै विक्रम संवत् हुन् भनेर लेखेका छन्। पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम संवत् १८२५ को वसन्तपुर दरबारको अभिलेखमा ‘राजा पृथ्वीनाराणको वंश गुह्येकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्’ भनेर गौरवमय विक्रम संवत् उल्लेख गरेका थिए। यसले पनि विक्रम संवत् नेपालीको राष्ट्रिय गौरव मानिन्छ।

विक्रम संवत् हिमवतखण्ड नेपालका विभिन्न साना राज्यहरूमा प्रचलित भइरहेकाले विशाल नेपालको सिर्जना भएपछि विक्रम संवत् नेपालको राष्ट्रिय संवत्को रूपमा स्थापित छ। विक्रम संवत्, शक संवत्, नेपाल संवत् तिथिमा चल्दै आएका संवत् हुन्। विक्रम संवत्ले वैदिककालदेखि प्रचलित तिथि र बारहरूको अवलम्बन गर्दै आएको र तर तिथिहरू थपघट भइरहने हुनाले शासन व्यवस्थामा धेरै अप्ठेरो भएकाले ज्योतिषहरूको सम्मेलनको सुझावमा शासन व्यवस्थामा सजिलोका लागि चन्द्रशमशेरले विक्रम संवत् १९६१ वैशाख १ गते मेष संक्रान्तिदेखि तिथि र बारहरूमा कुनै तलमाथि नगरी गतेमा लेख्ने चलन चलाएका हुन्।

तिथिहरू कहिले एकै दिन दुइटा आइपर्ने हुँदा गतेमा लेख्ने चलन प्रारम्भ भएको हो। शनिबार सार्वजनिक बिदा दिने चलन पनि चन्द्रशमशेरकै पालादेखि चलेको हो। विक्रम सम्वत् १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी वर्षभरिका १२ महिनाका महिनाका दिनहरू निर्धारण गरिएका हुन्। शक संवत् र नेपाल संवत्हरूका वर्षमा ३५४ दिन हुने हुँदा र तिथिहरूबाट मात्र चल्ने भएको र विक्रम संवत्मा वर्षमा ३६५ दिन हुने हुँदा शक संवत् र नेपाल संवत्को दाँजोमा विक्रम संवत् व्यावहारिक हुन पुगेको हो।  

तर कतिपय व्यक्तिले विक्रम संवत् नेपालको संवत् नै होइन भनेकाले यस बारेमा केही तथ्यहरू उजागार हुन अत्यावश्यक छ। सत्य कुरा के हो भने हाम्रा दुई सम्मानित व्यक्ति चक्रपाणि चालिसे र इतिहासविद् नयराज पन्तले अनुमानका भरमा विक्रम संवत्को उठान भारतमा भएको हो भनेकाले यसबारे भ्रम हुन गएको छ। चक्रपाणि चालिसेले कालीदासको मेघदूत नेपालीमा अनुवाद गर्दा उनले लेखेका छन्– ‘कालीदासको समयका विक्रमादित्य चन्द्रगुप्त द्वितीयले नै विक्रम संवत् उठान गरेका थिए।’ यसले गर्दा नेपाली जनमानसमा भ्रम सिर्जना हुन गएको हो। 

वास्तवमा विक्रम संवत् उठान भएको चार सय वर्ष पछिका गुप्तवंशी समुन्द्रगुप्तका बाबु चन्द्रगुप्तले आफूलाई विक्रमादित्यको उपाधि धारण गरेको आधारमै विक्रम संवत् उनैले उठान गरेको भन्नु इतिहास सम्मत् कुरा होइन। यस्तै चाँगुनारायणमा स्थित मन्दिरमा मानदेव प्रथमले उल्लेख गरेका संवत् ३८६ लगायत मानदेवका सबै अभिलेखहरूमा उल्लिखित संवत्हरू कार्तिकादि शक संवत् हुन् भन्ने लिच्छवि संवत्को निर्णय भन्ने पुस्तकमा इतिहासविद् नयराज पन्तले उल्लेख गरे। तर शक संवत्को उठान मात्र चैत्र शुक्ल प्रतिवदा हो, तर कार्तिकादि होइन। यसो भएपछि विक्रम संवत्को उठान कहाँ भएको भन्ने कुरामा विवाद उठ्ने नै भयो। इतिहासमा अप्रमाणित कुरालाई अनेकौँ तर्कहरू उठाएर भ्रमित बनाइनुहुन्नथ्यो।  

यस बारेमा इतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नुभएको छ– ‘जुन समय ई.पू. ५८ वर्षमा यो संवत् उठान भएको थियो, उस समयमा भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन। उज्जयनीका खण्डहरूको उत्खनन हुँदा पनि त्यस समयमा विक्रमादित्य भएको चिह्न भेटिएको छैन।’ यस्तै योगी नरहरिनाथले ‘श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः’ भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ती राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाउँमा राजसिंहासान थियो भन्ने पाइन्छ भन्नुभएको छ।

पशुपति पुराणमा उल्लेख छ– ‘अथ सूर्यवंश प्रभावोन्नेपाले किराँत राजन निर्जित्य लिच्छवि वंश प्रवर्तते’ अर्थात् सूर्यवंशी लिच्छविको प्रभावले किरात राजालाई जिती लिच्छवि वंश सुरु भएपछि लिच्छवि वंशका पहिला राजा धर्मपाल, भूमिबर्मा, विक्रमादित्य आदि नामबाट पुकारिने राजाको शासनकालदेखि नै विक्रम संवत्को उठान भएको मानिन्छ। विक्रम संवत् नेपालको सार्वभौम अस्तित्वसँग पनि सम्बन्धित छ। एसियाका धेरै राष्ट्र चीन तथा भारत साम्राज्यवादी शक्तिको दपेटामा परेकाले त्यहाँका आदि संवत्हरू सबै विस्थापित गरिएर इस्वी संवत् लागू गरियो, तर नेपाल साम्राज्यवादीले प्रभाव जमाउन नसकेकाले विक्रम संवत् यथावत रूपमा प्रचलित रहिरह्यो।  

नेपालको सार्वभौमसत्तासँग जोडिएको यो संवत् ऐतिहासिक रूपमा नेपालका लागि गौरव हो। नेपालमा विदेशी साम्राज्यको प्रभाव नपरेका कारण विक्रम संवत् निरन्तर रूपमा चलन चल्तीमा आइरहेको हो। एसियाका देशहरूमा भारत, पाकिस्तान लगायत जहाँ–जहाँ बेलायती साम्राज्य स्थापित भयो, त्यहाँ इस्वी संवत् चलेका छन्। नेपालमा विदेशीले राज गर्न नसकेकाले विक्रम संवत् नै यथावत रहिरह्यो। नेपालमा विदेशीले राज गर्न सकेको भए विक्रम संवत् हटाएर अरु देशमा झैँ इस्वी संवत् नै लागू हुन्थ्योे। अतः नेपालको सार्वभौमसत्ता कुनै सम्राज्यवादी शक्तिहरूबाट बिटुलो भएन। हिमवत खण्डको यो देवभूमि नेपाल जहाँ ऋषिमुनिहरूको जन्म भयो, देश, उपनिषद, पुराण, नीतिशास्त्रको जन्मभयो, जहाँ सद्कर्म भावनाबाट उत्प्रेरित छ। पशुपतिनाथको कृपाले नेपाल सधैँ सुरक्षित रहिरहन्छ भन्ने विश्वासको कुरा हो। अतः यो २०७८ साल नेपालको सार्वभौमसत्ता, एकता र स्थायित्वको आधार स्तम्भ अटल राखी २०७८ साल स्वदेश विदेशमा रहेका सम्पूर्ण नेपालीका लागि शुभ रहोस् भन्ने शुभकामना छ।

प्रकाशित: २ वैशाख २०७८ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App