coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

पोस्टपार्टम डिप्रेसन

पहिलोपटक आमा बनेकी रमिला काखमा रहरलाग्दो बच्चा खेलाउन पाएर अत्यन्त खुसी थिइन्। उनीसँगै परिवारका सबै सदस्य खुसी थिए। तर यो खुसी रमिलाको मनमा धेरै दिन टिक्न सकेन। उनी भन्छिन्, ‘बच्चा जन्मेको एक हप्ता पनि नबित्दै एक्कासि मन उदास हुन थाल्यो। विनाकारण रुन मन लाग्ने, अरु बोलेको सुन्दा पनि झिजो लाग्ने, बच्चा स्वस्थ छ, तर पनि बच्चालाई केही नराम्रो हुन्छ कि भनी त्यत्तिकै डर लाग्ने हुन थाल्यो।’  

यो समस्या रमिलाको मात्र नभई संसारका ८० प्रतिशत महिलामा देखिने समस्या हो। बच्चा जन्मेको दुई–तीन दिनदेखि दुई–तीन हप्तासम्म यस्ता लक्षण धेरै सुत्केरी महिलामा देखिन सक्छ। यसलाई पोस्टपार्टम ब्लुज वा बेबी ब्लुज भनिन्छ। यो समस्या केही समयपछि आफैँ ठीक भएर जान्छ। तर, कहिलेकाहीँ यो समस्या निकै लामो समयसम्म रही जटिल रूप लिन सक्छ। यसलाई सुत्केरीपछिको डिप्रेसन (पोस्ट पार्टम डिप्रेसन) भनिन्छ। तथ्यांकअनुसार २० प्रतिशत महिलामा पोस्टपार्टम डिप्रेसन हुने गरेको पाइन्छ।

लक्षण

बिरामीको मन उदास हुन्छ। बच्चाप्रति बिरामीको मोह कम हुँदै जान्छ, वा आफ्नो बच्चालाई अरु कसैले केही नराम्रो गर्दै छ भन्ने शंका उत्पन्न भइरहन्छ। विनाकारण रुन मन लाग्ने, रुने कारण खोजिरहने र छिनछिनमा रोइरहने प्रवृत्ति पनि हुन सक्छ। सानो कुरामा चिढिने, रिसाउने, झर्कने गर्न सक्छन्। त्यस्तै, खान मन नगर्ने वा धेरै खाने, धेरै खाइरहे पनि शरीरमा शक्ति हराएको महसुस हुने हुन्छ। निद्रामा गडबडी (धेरै सुत्ने वा निद्रा नै नलाग्ने) हुन सक्छ।  

‘बच्चालाई स्याहार गर्न सक्दिनँ, म आमा बन्न योग्य छैन’ भन्ने भावना आमाको मनमा आउन सक्छ। त्यस्तै, एक्लोपन महसुस गर्ने, कसैसँग नबोली एक्लै टोलाएर बस्ने गर्न सक्छन्। बिरामीलाई आफ्नो जीवन नै बोझ लाग्न सक्छ। बच्चालाई हानि गर्ने वा आफ्नो जीवन नै समाप्त (आत्महत्या) गर्ने सोच मनमा आउन सक्छ। यीमध्ये कम्तीमा कुनै पाँचवटा लक्षण दुई हप्तादेखि बढी समयसम्म देखिएमा पोस्टपार्टम डिप्रेसन भएको हुन सक्छ। यो समस्या आउनुको पछाडि धेरै कारण हुन सक्छन्। मुख्य रूपमा निम्न दुई कारण लिन सकिन्छ।

शारीरिक कारण: गर्भावस्थाको समयदेखि नै महिलाको शरीरमा विभिन्न परिवर्तन आइरहेको हुन्छ। त्यसमध्ये सबैभन्दा ठूलो मात्रामा हर्मोनको परिवर्तन भएको हुन्छ। एस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनका कारण प्रसवको समयमा अत्यधिक श्राव हुन्छ। यसका साथै थायरोइड तथा कर्टिसोल हर्मोनजस्ता हर्मोन अधिक उत्पादन हुने हुँदा यसको कारणले शरीरमा थकान हुनुका साथै मनमा उदासी छाउँछ। प्रसवपछि बिस्तारै यी हर्मोनको उत्पादनमा सन्तुलन आउनुपर्ने हो। तर, कहिलेकाहीँ सन्तुलन बिग्रन गई सुत्केरी महिला डिप्रेसनको अवस्थामा पुग्न सक्छन्।  

२) संवेगात्मक कारण: प्रसवपछि महिलाको शरीर कमजोर हुन्छ। खानपान तथा आरामको राम्रो व्यवस्था गर्नुपर्छ भन्ने सबैलाई थाहा छ। आफ्नो क्षमताअनुसार सबैले यसको प्रबन्ध मिलाएकै हुन्छ। तर, सबैभन्दा मुख्य कुरो हर्मोनको परिवर्तनले पैदा गरेको मानसिक तनावको विषयमा सबैलाई जानकारी पनि हुँदैन र त्यस विषयमा जानकारी लिने चासो राखेको पनि पाइन्न। महिलालाई सबैभन्दा बढी तनाव हर्मोनका कारण हुन्छ। त्यसबाहेक आर्थिक कारण, पारिवारिक सम्बन्धका कारण आदिले पनि तनाव बढाउन सक्छ। यही तनाव लामो समयसम्म रहन गएमा त्यसले डिप्रेसनको रूप लिन्छ।  

सम्भावना  

विशेषगरी यो समयमा महिलाको शरीरमा हर्मोनको परिवर्तन भारी मात्रामा हुने हुनाले हर्मोनको अवस्था सामान्य नहँुदासम्म जोकोही सुत्केरी महिलालाई केही समयका लागि समस्या आउन सक्छ। तर बिस्तारै हर्मोनको सन्तुलन हुँदै गएपछि सामान्य अवस्थामा फर्किन्छन्। निम्न अवस्था भएको खण्डमा सुत्केरी महिलालाई बढी खतरा हुने सम्भावना रहन्छ। त्यसैले समयमै उचित रेखदेखको आवश्यकता पर्छ।

पहिलो गर्भको समय वा गर्भ हुनुभन्दा अघि डिप्रेसन भएको थियो, परिवारका कुनै सदस्यलाई डिप्रेसन वा कुनै पनि मुड डिसअर्डरसम्बन्धी समस्या थियो वा छ, गर्भावस्थामा कुनै रोग लागेको थियो भने दोस्रोपटक त्यसको असरले मनमा तनाव पैदा गर्न सक्छ।

त्यस्तै, बच्चामा कुनै स्वास्थ्यसम्बन्धी समस्या देखिएमा, जुम्ल्याहा, तिम्ल्याहा बच्चा जन्मेर स्याहार गर्ने समस्या आएमा, घर–परिवार वा श्रीमानश्रीमतीबीच सम्बन्ध राम्रो नभएमा, नचाहेको वा योजनाबिनाको गर्भ रहेमा दोस्रोपटक त्यसको असरले तनाव बढ्न सक्छ।  

विशेषगरी पोस्टपार्टम डिप्रेसन पहिलोपटक आमा बन्ने महिलालाई हुने गरे पनि पहिलोपटक बच्चा जन्माउँदा परिवारमा आर्थिक समस्या आइपरेको वा आफ्नो काम छुटेको थियो भने दोस्रोपटक त्यसको असरले मनमा तनाव पैदा गर्न सक्छ। तनावको कारण डिप्रेसन हुन सक्छ।  

असर

पोस्टपार्टम डिप्रेसनको असर मुख्य त बच्चाको आमालाई नै पर्छ। यसको कारणले आमाको स्वास्थ्य अवस्था बिग्रन्छ। उपचार नपाएमा यसको असर लामो समयसम्म रहन सक्छ। यो समस्या डिप्रेसनकै अवस्थामा नरहेर अन्य डिस्अर्डरको रूपमा देखापर्न पनि सक्छ। आमाको डिप्रेसनको असर बच्चामाथि प्रत्यक्ष पर्छ। बच्चामा व्यावहारिक तथा संवेगात्मक समस्या देखिन सक्छ। बच्चा धेरै रोइरहने हुन सक्छ। उसमा खाने, सुत्ने समस्या आउन सक्छ। बच्चाको बोलीको विकास पनि ढिलो हुन्छ।  

त्यसैले समयमै रोगको पहिचान गर्न सकेमा उपचार गर्न सजिलो हुन्छ। आफूलाई के भइरहेको छ भनी बिरामी अनभिज्ञ पनि हुन्छन्। यस्तो अवस्थामा परिवारका सदस्यले सहयोग गर्नुपर्ने हुन्छ। सबैको शरीर एकनाशको हुँदैन। महिलाले बच्चा जन्माउनु सामान्य कुरा हो, तर यही सामान्य कुरा हरेक महिलाका लागि सामान्य नहुन सक्छ। पहिलोपटक आमा बन्ने सातजना महिलामध्ये एउटी महिलालाई यो समस्या देखिएको अध्ययनले देखाउँछ। त्यो एउटी महिला आफ्नै घरकी छोरीबुहारी पनि हुन सक्छे। यस विषयमा गम्भीर हुनु आवश्यक छ। यसैले लक्षण देखिएमा तुरुन्त विशेषज्ञसँग परामर्श लिई सोही अनुरूप कार्य गर्न आवश्यक हुन्छ।  

(लेखक मनोपरामर्श दाता तथा सारथि फाउन्डेसन नेपालकी अध्यक्ष हुन्।)

प्रकाशित: ३१ चैत्र २०७७ ०५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App