१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

नवअभिजातको शासन

राजनीतिका घटनाक्रम तेजीका साथ फेरिँदै गए। अन्योल, आशंका र अस्तव्यस्तता झागिँदै गए। कुनै समयका नायक खलनायकमा फेरिएको देखिँदा पनि समाजले लाचार भएर हेरिरह्यो। पार्टी र व्यक्तिका राजनीतिक गणनाले काम गरेन। आन्दोलनका रूपमा रहेपनि ‘कम्युनिस्ट’को आपसी झै–झगडाले निकट भविष्यमै प्रजापरिषद्को नियति भोग्न विवश हुनेछ। कांग्रेस त प्रतिपक्ष हो। उसलाई समय र इतिहासले प्रश्न गर्नेछ– जब संविधानको हत्या भइरहेको थियो, प्रजातन्त्र र संवैधानिक सर्वोच्चताको बखान गर्दै नथाक्ने, हे ‘भद्र’ प्रतिपक्ष तिमी त्यसवेला के गरिराख्याथ्यौ ?

‘सिन्डिकेट’ र ‘सेटिङ’को नेपाली राजनीतिमा सोच्ने तरिका पुरानै रहे, फेरिएनन्। प्रतिगमनका मानकमा संसद् विघटन, पुर्नस्थापित संसद् चल्न नदिनु, संवैधानिक अंग कब्जा गर्नु, राज्यका सबै अंग सेटिङमा चलाइनुलाई मौन समर्थन गरिँदै छ, यसको मूल्य भुक्तान त गर्नैपर्नेछ।सत्ता चरित्र फेर्न विगतमा धेरै विद्रोह र आन्दोलन भए तर सत्ताले ती विद्रोहलाई पचाइदियो। सबैको ध्यान सरकारमा रहे पनि सत्ताको चरित्र फेरिएन। जबसम्म सोच्ने तरिका फेरिँदैन, तबसम्म परिवर्तनको सन्देश र संकेत राजनीतिक पार्टी र समाजमा पर्दैन।  

‘कम्युनिस्ट’ अहंकारका द्वन्द्व, स्वत्वका टक्कर र आग्रहले समग्रदेश थिलथिलियो। प्रतिपक्षी कांग्रेस लाचार छाया सरकार बन्यो। अचेतनाले पार्टी, समाज, समूह लतारिन्छन्, त्यस्तावेला दायित्व तपसिलमा पर्न जान्छ। परिणामले भन्छः उपलब्धि हुनु भन्दा उपलब्धिको रक्षा र व्यवस्थापन गर्दै जानु महत्वपूर्ण र कष्टदायक हुँदो रहेछ। सामान्य जनले गरेका कमजोरीले उसको निजी जिन्दगी वा परिवारलाई असर पारेपनि समाज र देशलाई भने असर पार्दैन, तर शक्तिका टाकुरामा पुगेका, रहेकाले गरेका सामान्य कमजोरी, उदासीनता, अयोग्यताले समय र समाज मात्रै होइन, देश नै घायल हुनपुग्छ।जब व्यवस्था र देशनै संकटमा पर्छ, तब त्यसको अदृश्य कारण खोज्न राजनीतिक दास भने मौन हुँदा रहेछन्।  

मान्छेका स्वभिमान केहीले त किन्न, बेच्न सकिन्छ भन्छन्। व्यक्तिलाई ब्ल्याकमेल गर्नसकिए पनि आत्मसमर्पण भने गराउन सकिँदैन।समय, अवस्था र भूमिका अनुसार सत्यका परिभाषा फेरिँदै जान्छन्।नेतृत्वको सुन्दरतानै समय, समाज र लक्ष्य चिनेर सामूहिक विश्वास लिँदै दूरगामी निर्णय लिँदै पहल लिनु हो। अझ त्यस निर्णयले अनुयायी, समर्थकलाई नयाँ इच्छा शक्ति भरेर जागृति गराउँदै सामूहिक शक्तिमा फेर्नु हो। कवि मुस्ताक अहमद युसुफले भनेका छन्– जबसुन्नेलाईअर्कोले बोलेको कुरा झुट हो भन्ने थाहा हुन्छ, त्यहाँ झुट बोल्नु अपराध हुँदैन।

परम्परागत राजतन्त्रले श्रीपेच सन्तानलाई सम्पनुपर्ने भएकाले अपराध छ्यालब्याल भए जनविद्रोह उठ्न सक्ने भयले संयमित वा गोप्य अपराध गर्छन्, तर निर्वाचित शासक भने जनमत, संख्या, पार्टी वा संगठनको आवरणमा हुकुम चलाउँछन्।

त्यस्तै, ग्रिकशब्द ओमेर्टाले माफियाबीचको गुप्त सम्झौतालाई जनाउँछ, जहाँजतिसुकै प्रतिस्पर्धी भए पनि एकअर्काको गोपनीयता सार्वजनिक खोलिँदैन। नेपालको विकसित सत्ता चरित्र र राजनीतिकोसेटिङ र सिन्डिकेट पनि त्यस्तै भइरहेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सत्ता आडमा विरोधीलाई ठट्टामा उडाए। सत्ताको दुरुपयोग गरे। जब सत्ताबाट बाहिरिए, तब चर्चाहीन र घृणापात्र बने। अधिकांश नेतृत्व कार्यकर्तालाई अनुयायी नभई दास बनाउन चाहन्छ। पार्टीमा राम्रा वा नराम्रा कार्यकर्ता भन्ने हुँदैन। नेतृत्वको सोच, दूरदृष्टि, नैतिक आचरण अनुसारका कार्यकर्ता हुन्छन्। समाज र देशले भने त्यो नियालिरहेको, पछ्याइरहेको हुन्छ। अयोग्य क्याप्टेनले जतिसुकै आधुनिक र नयाँ जहाज पनि गन्तव्यमा पुर्‍याउन सक्दैन। सरकारी कम्युनिस्ट र कांग्रेसको हाल पनि त्यस्तै छ। हिटलर र मुसोलिनीले पनि कार्यकर्ता उत्तेजनामा ल्याएर नाजीवाद र फासीवाद लागू गरे। अर्कातर्फ, लेनिन, माओ, होचीमिन्ह र गान्धीले जनतालाई राजनीतिक कार्यकर्तामा फेरेर देशको सरकार मात्रै होइन, सत्ता चरित्रै फेरे।

वर्चश्वशाली तप्का र नयाँ अभिजात

नयाँ उदयमान शक्तिले वर्चश्वशाली तप्कासँग शक्तिको हिस्सेदारी खोज्दा जहाँ पनि राजनीतिक उथलपुथल हुन्छ।व्यापक जन असन्तोषले नयाँ राजनीतिक शक्तिमात्रै उदय हुँदैन, नयाँ अभिजात तप्का पनि जन्मन्छ। तब मात्र पुराना अभिजातले नयाँ शक्तिलाई एउटा हिस्सा दिन्छन्। नयाँ अभिजात पुरानैसँग घुलमिल हुँदा नैतिकपुँजी गुमाउँछन्। नाम र शब्द त्यही रहेपनि सन्दर्भ र समयसँगै विद्रोही बन्ने आधार, प्रतिबद्धता, महत्व र सन्देश अपिल गर्ने मनोबल खस्कन्छ। तब नयाँतर्क कोरलिन थाल्छन्। आग्रहका पर्खाल खडा भइसकेर सामन्ती संस्कृतिमा फेरिन्छ। त्यो टुट्न सक्छ, तर सहमति, सहकार्य र सहयात्रा गर्न भने तयार हुँदैन। एक ठाउँ र एक समयको सत्यलाई अर्काठाउँ र समयमा समयको गतिसँगै नियाल्न सकिँदैन।

आमजनताको कमजोरीनै अभिजात तप्का वा शासकको शक्ति बन्न पुग्छ। अझ डरपोक शासक ज्यादै खुँखार हुन्छन्। आफ्ना कमजोरी थाहा नपाओस् भनेर बालसखा, तन्नेरी जोडिदार, जेलका साथीर परिपक्व सहकर्मीबाट टाढिन्छन्। तब विगतका भूमिका, कमजोरी हैसियत थाहा नहुने र विचार सिद्धान्तहीन नयाँ सहयात्रीसँगै सहकार्य गरिन्छ। वा वरिपरि राख्ने गर्छन्। जसरी सेलिब्रेटीहरू वस्तुको विज्ञापन त गर्छन्, तर प्रयोग गर्दैनन्, त्यस्तै राजनीतिक पार्टी र नेताहरू पनि आदर्श र सिद्धान्तका कुरा त गर्छन्, नयाँ अभिजात वर्गमा फेरिनेबित्तिकै भन्नेगर्ने, देखिने र हुनेमा फरक हुन्छ।

जुनसुकै तानाशाह जतिसुकै योग्य र शक्तिशाली भएपनिउसमा असुरक्षा बोध हुन्छ। राजनीतिक दास वा लाल मण्डलेका घेरामा रहँदा पनि असुरक्षित ठान्दै शंकालु हुन्छ। षड्यन्त्र नै सुरक्षा कुण्डली बन्छन्। अझ अयोग्य तानाशाह त सन्की र मनो रोगी पनि बन्छन्। कुनै व्यक्तिलाई भरोसा नगर्र्न शक्तिमत्ताहरू आफन्तैबाट आखिरमा धोका खाने गर्छन्। टुट्न सक्ने तर सहकार्य, सहमति, सहयोद्धा भर नपर्ने– त्यो चट्टानी अडान शक्तिशालीसँग नौनीजस्तो पग्लनु र जोडिदारसँग कटबाँ सझैँ हुनु हो।तर, आमजनको मौनता अत्याचारीको समर्थन बन्छ। केही क्षमता भएका मान्छे पनि अदृश्य भयका कारण बोल्दैनन्।  

जैविक राजतन्त्रभन्दा निवार्चित राजतन्त्र अझ खतरा हुँदोरहेछ।जसले संविधान र कानुनलाई रछ्यानमा फाल्छ।विरोधीको हुर्मत काढ्नेलाई पुरस्कृत गर्छ। आलोचनात्मक चेतलाई सत्ताको लाठो बजार्छ। परम्परागत राजतन्त्रले श्रीपेच सन्तानलाई सम्पनुपर्ने भएकाले अपराध छ्यालब्याल भए जनविद्रोह उठ्नसक्ने भयले संयमित वा गोप्य अपराध गर्छन्, तर निर्वाचित शासक भने जनमत, संख्या, पार्टी वा संगठनको आवरणमा हुकुम चलाउँछन्। तन्त्रले आधारभूत ढाँचा फेरिरहेकोभएपनि समग्र जोडले राजनीतिक दिशा तयार गरिन्छ। झुटले पनि आकार लिन थालेपछि विभत्स हुन्छ। झुटलाई जहिलेपनि षड्यन्त्र सिद्धान्त आवश्यक हुन्छ।

अन्तमा 

मानिसले सही बाटो छेकियो भने गलतबाटो समात्छ। गलत बाटो हिँडेरगन्तव्य पुग्नै सकिँदैन।परिस्थिति र विवशता शक्तिले तय गर्छ, त्यो उन्मुक्तता भनेइतिहासको कलंक बन्छ। युगले त्यसको मूल्य भुक्तान गर्नुपर्छ। चाप्लुसी संस्कृतिले मौका पाउँदा निन्दारसले भाउ पाउँछ। निन्दा र आक्रमणलाई कमजोर शासकले सुरक्षा घेरा सोच्छन्। कमजोर शासकका समस्या बलियो र सर्वज्ञ देखाउने मनोरोग हुन्छ। अंशमा सकिने कि समग्रमा सकिने संसदीय नेकपाको चुनौती हो। दोस्रो र तेस्रो कोटिको नेतृत्वको राजनीतिक जीवनको परीक्षा हो।अहिले राजनीतिक संस्कृतिको प्रदर्शन नेताका मुखारबिन्दबाट गाली महात्म्यबाट भइरहेको छ। गाली स्वयं गालीबाट लजाएको छ। इतिहासको दबाबबाट कोही मुक्त हुनै सक्दैन।

इतिहासलाई अरूको चस्माबाट होइन, आफ्नाबाटै हेरौँ। झण्डै कार्यकारी शक्तिमा पुगेर झरेको मान्छेलाई सोध–किन सत्तामा टिक्न, पुग्नलाई मान्छे मरिहत्ते गर्छ भन्ने कुरा। ऊ गुलाम बन्न सक्छ,आदर्श बेच्न सक्छ, सिद्धान्तमा आची गर्न सक्छ। ठूलाको पाउ मोल्नु र कमजोरलाई किचल्न उसलाई सामान्य बन्न सक्छ। जस्तो पनि सम्झौता गर्न सक्छ।  

आखिर भक्तहरूले स्वामीका गल्ती कहिल्यै देख्दैनन्, विवेक त बन्धकी हुन्छ नै। स्वामी,प्रभु र ख्वामितको स्तुति गाउनु भक्तकर्म हो। जति जो पाखण्ड गर्न सक्छ, उसका त्यतिकै कट्टर भक्त हुन्छन्। भक्तहरू धनदौलत,इज्जत प्रतिष्ठा सबै स्वामीचरणमा चढाउँछन्। स्वयंसेवीभक्त त ज्यान लिन र दिन पनि सक्छन्।

समयका पांग्रा घुमिरहन्छन्।ऐतिहासिक परिवर्तनको आवश्यक थियो। त्यसले नयाँ अवस्था त ल्यायो, तर त्यसको राजनीतिक व्यवस्थापन गर्न सकेन। वर्चश्वशाली तप्का त्यसलाईस्विकार्न तयार थिएन। सामन्ती संस्कृतिले स्वाभिमानलाई अहंकारमा पु¥याउँछ।शक्तिमा टिक्न,पुग्न,रहिरहन जेजस्तो सन्धि,सम्झौता र सहमति गरेपनि त्यो आन्दोलनले शक्ति समीकरणमा ल्याएको उथुलपुथलको संकटलाई घर्काउने चाल मात्र हुन्थ्यो। सत्ता र सरकार एउटै होइन। 

निरन्तरताको सत्ता टिकाउने खैराकोटे (सेना) कालाकोटे (न्यायालय) र पहेँलाकोटे (पशुपति अर्थात् पुरोहित वर्ग) जर्नेल हुन्छन्। उनीहरूलाई धन्नासेठको टेको रहन्छ।उनीहरू जनउभारताका त हतियार बिसाउँछन्, तर संक्रमणकालमाती कोतमा राखिएका हतियार साँध लगाइरहेका हुन्छन्। अभिजातवर्गका सोच,भूमिका र स्वार्थको सूक्ष्म मानसिक व्यवस्थापन मिडियाले गरिरहेको हुन्छ। परिवर्तनको राप र ताप मथ्थर हुनेबित्तिकै विद्रोहीका कमी–कमजोरी,उदारतामाथि चोटिलो आक्रमण गर्नथाल्छन्। अर्कोतर्फ क्रान्तिकारी तप्काबाट आएका बुद्धिजीवीले प्रतिबद्ध चेतनाको फड्को मार्दा नयाँ तर्क, तथ्य तयार पार्छन्। बुद्धिविकृत गर्ने बजार ठूलो हुन्छ।सत्ताको तृष्णा सिंगारेर नयाँ सिन्डिकेट तयार गरिन्छ।नयाँ ट्रेडमार्कमा पुरानै सत्ता चरित्र हाबी हुन्छ।

प्रकाशित: ३० चैत्र २०७७ ०४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App