७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

संस्कृत शिक्षामा आकर्षण

दृष्टिकोण

सेनापत्यं चराज्यं च दण्डं नेतृत्वमेव च।

सर्वलोकाधिपत्यं च सर्वँ शास्त्र विदर्भति।।

श्रीमद्भागतवको चौथो स्कन्धका यी हरफको भावार्थ हुन्छ– संसारमा सेनापति बन्नु छ, राज्य गर्नु छ, कसैलाई दण्ड दिनुु छ, संसारमा शासन गर्नु छ भने शास्त्रको अध्ययन गर। शास्त्र संसारमाथि आफ्नोपन जमाउने आधारबीज हो।  

यी हरफले संसारमा शासन गर्न र संसारको नेतृत्व गर्न आवश्यक पक्षलाई उजागर गरेको छ। यो नै पूूर्वीय साहित्य चिन्तनमा देखापरेको भावना र त्यसले अभिव्यक्त गर्ने आधार हो। यसैलाई आधार मानेर नेपालको शिक्षा नीतिमा समवेत् रूपमा परिवर्तनको आवश्यकता रहेको पाइन्छ। यो नै प्राच्य संस्कृति, परम्परा र शिक्षाको इतिहासमा देखिएको प्राचीन मान्यता पनि हो। यो संसारमा शास्त्रप्रति देखापरेको सामाजिक अवस्था पनि हो। यही व्यासको वाक्यलाई आधार मानेर शिक्षाको बीउ रोप्न सकिन्छ। यसैलाई आधार मानेर संसारमा साहित्य र अध्ययन परम्परालाई जीवन्त बनाउन सकिन्छ। नेपालको सन्दर्भमा हेर्ने हो भने अध्ययनको परम्परा लामो भए पनि औपचारिक शिक्षाको परम्परा त्यति लामो छैन। राणाकालमा संस्कृत शिक्षाका सन्दर्भमा देखिएको अवस्थालाई र आजको समाजमा संस्कृत शिक्षाको आवश्यकतालाई यहाँ उल्लेख गरिएको छ। इतिहास र वर्तमानमा संस्कृत शिक्षा कस्तो थियो र छ भन्नु मात्र उल्लेख्य विषय हो।

तीनधारा पाकशाला

राणाकालसम्म हाम्रो शिक्षाको अवस्था कमजोर थियो, लगभग शिक्षाका क्षेत्रमा अन्धकारमय नै थियो। तत्कालीन समयमा नेपालमा शिक्षाको एउटा मात्र आधारबिन्दु दरबार हाइस्कुल थियो। जंगबहादुरले बेलायतको भ्रमणपछि खोलेको यस स्कुलमा राणा परिवारका र राजपरिवारका सदस्य मात्र अध्ययन गर्न पाउने व्यवस्था गरिएको थियो। दरबार हाइस्कुलमा अध्ययन गर्न नपाउनेहरू शिक्षा आर्जनका लागि बनारस जान्थे। बनारसबाट अध्ययन गरेर आएका व्यक्ति नै नेपालमा जागिरे सेवामा प्रवेश गरेका थिए। १९४१ सालमा तत्कालीन श्री ३ वीरशमशेरले गुठीको स्थापना गरी ५४ जना ब्राह्मणलाई भोजनवृत्तिसहितको तीनधारा पाकशाला (संस्कृत छात्रावास)को स्थापना गरे। उपाध्याय ब्राह्मणका छोरालाई भोजनवृत्ति व्यवस्थासहितको अध्ययन केन्द्रका रूपमा तीनधारा पाकशाला स्थापना भएको थियो। यसरी ५४ ब्राह्मणको ठाउँमा १९४३ सालमा धीरशमशेरको सङ्कल्प अनुुसार १०८ ब्राह्मण बटु (बालक)लाई भोजन छात्रवृत्तिको व्यवस्था गरे। सो सम्बन्धको लिखित दस्तावेज ताम्रपत्रका रूपमा अद्यापि तीनधारा पाकशालामा सुरक्षित छ।  

तत्कालीन समयको अवस्थामा दिइने भोजनवृत्तिले नेपालको दूरदराजमा रहेका ब्राह्मणका छोराको अध्ययनको व्यवस्थालाई जीवन्तता दिएको पाइन्छ। नेपाली साहित्यका कविशिरोमणि लेखनाथ पौड्याल र राष्ट्रकवि माधवप्रसाद घिमिरे समेत त्यही तीनधारा पाकशालामा अध्ययन गरेर कविका रूपमा बाहिर आएका प्रतिभा हुन्। यसरी स्थापना गरिएको तीनधारा पाकशालाको मुख्य उद्देश्य संस्कृत शिक्षालाई जीवन्त रूपमा बाहिर ल्याउनु रहेको थियो। त्यही पाकशालामा अध्ययन गर्ने विद्यार्थीले २००४ असार १ गतेदेखि असार १० गतेसम्म ‘जयतु संस्कृतम्’का नामले आन्दोलन गरेका थिए।

 तत्कालीन दरबार हाइस्कुलमा पढाउने शिक्षकलाई मासिक ३०० रूपैयाँ र संस्कृत पढाउने शिक्षकलाई मासिक ६० रूपैयाँ तलब दिने तत्कालीन सरकारका विरुद्ध आन्दोलनको शंखघोष भएको थियो। तीनधाराबाट आरम्भ भएको आन्दोलनको माग ‘संस्कृत पढ्ने विद्यार्थीले अंग्रेजी, सामाजिक शिक्षा आदि विषय पनि पढ्न पाउनुपर्छ। सरकारले दिने तलबमा समानता हुनुपर्छ। असमान व्यवहार राज्यबाट हुनुहुँदैन’ भन्ने थियो। उक्त आन्दोलनको पहिलो दिन असार १ गते २९ जना विद्यार्थी गिरफ्तारीमा परे। उनीहरूलाई राति १२ बजेको तोप पड्कनुअघि ११ बजे छाडिएको थियो। असार २ गते विद्यार्थी पशुपति गए। त्यहीँबाट उनीहरू मोहनशमशेरको दरबार घेर्न पुगे।

असार ४ गतेदेखि विद्यार्थीले पशुपतिको सिंहसत्तलमा सप्ताह महायज्ञको आरम्भ गरे। तत्कालीन समयको आन्दोलनका मुख्य नायक श्रीभद्र शर्मा, राजेश्वर देवकोटा तथा काशीनाथ गौतम थिए। यो आन्दोलन तत्कालीन राणाशासन विरुद्धको एउटा प्रयास थियो। नेपालको कुुना काप्चाबाट अध्ययनका लागि काठमाडौं आएका विद्यार्थीको समूूह राणाशासकविरुद्ध उत्रिएको पहिलो घटना थियो। तीनधारा पाकशाला इतिहास हो, ऐतिहासिक पृष्ठभूमि हो। नेपालको राजनीति र शिक्षाको विकासमा देखिएको प्रतिविम्ब हो। आज पनि तीनधारा पाकशालाबाट अध्ययन गरेका विद्वान् र राजनीतिक व्यक्तित्वको ठूलो समूह नेपाली समाजका विभिन्न क्षेत्रमा क्रियाशील रहेको छ।

संस्कृत पाकशालाका विद्यार्थीले हालको दरबार हाइस्कुलमा पठनपाठन गर्थे। त्यहाँ अंग्रेजी माध्यमको शिक्षा अध्ययन हुँदै आएको थियो। अहिले त्यहाँ एउटै भवनमा दरबार हाई स्कुल र संंस्कृत मावि छन्। संस्कृत पढ्ने ब्राह्मणलाई भोजन छात्रवृत्तिको व्यवस्था गरिएको थियो। अहिले तीनधारा पाकशाला दरमार्गमा रहेको छ।  

२०६३ सालमा सर्वोच्च अदालतको फैसलाअनुरूप आज उक्त छात्रावासलाई समावेशी बनाइएको छ। उक्त छात्रावासमा रहेका १०८ कोटालाई बढाएर १११ पुर्‍याइएको छ। उक्त पाकशालामा संस्कृत माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययन गर्ने ३५ विद्यार्थी रहने व्यवस्था गरिएको छ। वाल्मीकि विद्यापीठमा अध्ययन गर्ने विद्यार्थीका साथै नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेका विद्यापीठबाट आउने विद्यार्थीका लागि क्षेत्रीय कोटाको व्यवस्था गरिएको छ। हाल उक्त पाकशालामा ८० विद्यार्थी रहेका छन्। देशको गौरवपूर्ण इतिहास बोकेको उक्त पाकशाला जीर्ण भइसकेकोले मर्मतको पर्खाइमा रहेको छ। उक्त छात्रावासको भोजनको व्यवस्था हाल नेपाल स्ांस्कृत विश्वविद्यालयको आंगिक विद्यापीठ वाल्मीकिले हेर्ने गरेको छ। आज उक्त पाकशालामा समावेशी रूपमा विद्यार्थीहरू बस्दै आएका छन्।

वाल्मीकि विद्यापीठ  

नेपाल संस्कृत विश्वविद्यालयको आंगिक विद्यापीठका रहेको वाल्मीकि विद्यापीठको स्थापना २००८ सालमा भएको हो। यस विद्यापीठमा शास्त्री (स्नातक), आचार्य (स्नातकोत्तर) तहको अध्ययन हुन्छ। आचार्य तहमा संस्कृत विषय मात्र अध्यापन हुने यसमा ‘क’ वर्ग विषय अन्तर्गत वेद (ऋग्वेद, यजुुर्वेद, सामवेद, अथर्ववेद), न्याय (प्राचीन न्याय, नव्यन्याय), ज्योतिष (सिद्धान्त र फलित) व्याकरण, साहित्य, तन्त्र, वेदान्त, सर्वदर्शन, बौद्धदर्शन, धर्मशास्त्र, इतिहासपुराण, मीमांसा गरी १७ विषयमा स्नातकोत्तर अध्ययन हुने गरेको छ। यसका साथै शास्त्री (स्नातक) तहमा ‘ख’ वर्ग अन्तर्गत नेपाली, अंग्रेजी, अर्थशास्त्र, राजनीतिशास्त्र, गणित ऐच्छिक विषयका रूपमा अध्ययन हुने गरेका छन्। स्नातक तहमा प्रवेश गर्न भाषा प्रशिक्षण कार्यक्रम अन्तर्गत (प्राक्शास्त्री) को अध्ययन हुने गरेको छ। हाल प्राक्शास्त्रीमा तीन सय विद्यार्थी अध्ययनरत छन्।  

विदेशी विद्यार्थी

संस्कृतको ज्ञान लिने उद्देश्यअनुरूप नेपालमा आउने विदेशीका लागि समेत नेपाल संस्कृत विश्वविद्यालयले औपचारिक शिक्षाको व्यवस्था गरेको छ। संस्कृतमा भाषा प्रशिक्षण लिन चाहने विदेशीका लागि सेमेस्टर प्रणालीको व्यवस्था गरिएको छ। स्नातकोत्तर अध्ययन गर्न चाहने विदेशी विद्यार्थीका लागि प्राच्य धर्मदर्शन विषयलाई विश्वविद्यालयले मान्यता प्रदान गरेको छ। हाल पहिलो सेमेस्टरमा १५ र दोस्रो सेमेस्टरमा आठ विद्यार्थी अध्ययनरत छन्। विदेशी विद्यार्थीका लागि भने विश्वविद्यालयले बेग्लै पाठ्यक्रमको व्यवस्था गरेको छ। विदेशी विद्यार्थीको अध्ययन सशुल्क हुन्छ। संस्कृत भाषा प्रशिक्षण अध्ययन गर्ने विदेशी विद्यार्थीका लागि हाल चार सय ७० युएस डलर शुल्क लाग्ने गर्छ। आचार्यमा अध्ययन गर्ने विद्यार्थीका लागि एक हजार तीन सय ५० युएस डलर शुल्क निर्धारण गरिएको छ। नेपाली विद्यार्थीका लागि भर्ना शुल्कबाहेक अन्य कुनै शुल्क लाग्दैन।  

योग तथा प्राकृतिक चिकित्सा  

नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान अन्तर्गत वाल्मीकि विद्यापीठमा योग तथा प्राकृतिक चिकित्साको ६ महिने कार्यक्रम सञ्चालित छ। विश्वविद्यालयको औपचारिक कार्यक्रम अन्तर्गतको कार्यक्रम होइन यो। प्रवेशिका उत्तीर्ण गरेका व्यक्तिहरू भर्ना हुन सक्ने उक्त कार्यक्रममा ६ महिनाका लागि ११ हजार सात सय रूपैयाँ लाग्छ। प्रयोगात्मक रूपमा सिकाइने योग तथा प्राकृतिक चिकित्सामा प्रत्येक ६ महिनामा एक सय २० विद्यार्थी भर्ना लिने गरिएको छ। दुई समूहमा सञ्चालन हुने उक्त कार्यक्रम विश्वविद्यालयको अनौपचारिक अन्तर्गतको कार्यक्रम हो।

कर्मकाण्ड प्रशिक्षण  

वाल्मीकि विद्यापीठमा प्राथमिक तथा माध्यमिक तहको कर्मकाण्ड प्रशिक्षण कार्यक्रम सञ्चालित छ। पूर्णरूपमा कर्मकाण्डीय ब्राह्मण उत्पादन गर्ने उद्देश्य अनुरूप सञ्चालित यसमा प्राथमिक तहमा ५० र माध्यमिक तहमा ५० विद्यार्थी अध्ययनरत छन्। उक्त कार्यक्रमका लागि प्रत्येक विद्यार्थीबाट तीन हजार पाँच सय शुल्क लिने व्यवस्था गरिएको छ।  

सायंकालीन कक्षा  

वाल्मीकि विद्यापीठमा भाषा प्रशिक्षण (प्राक्शास्त्री), योग तथा प्राकृतिक चिकित्सा, कर्मकाण्ड प्रशिक्षण कार्यक्रमको अध्ययन अध्यापन सायंकालीन सत्रमा हुुने गर्दछ। सरकारी सेवामा रहेका र सरकारी सेवाबाट निवृत्त भएका अध्ययनार्थीलाई पनि अध्ययनका लागि सहज होस् भन्ने उद्देश्यले यस प्रकारको व्यवस्था गरिएको छ। शास्त्री र आचार्यका कक्षा भने दिवाकालीन सत्रमा हुने गरेका छन्।

छात्रवृत्तिको व्यवस्था  

वाल्मीकि विद्यापीठ पहिले त्रिभुवन विश्वविद्यालयको संस्कृत अध्ययन संस्थान अन्तर्गत रहेको थियो। २०४३ सालमा महेन्द्र संस्कृत विश्वविद्यालयका रूपमा स्थापना भएको हो। २०६२/०६३ को आन्दोलनपछि महेन्द्र संस्कृत विश्वविद्यालय नेपाल संस्कृत विश्वविद्यालयका रूपमा परिणत भएको हो। आज नेपाल संस्कृत विश्वविद्यालयका चौधवटा आंगिक र चारवटा सम्बन्धनप्राप्त विद्यापीठ रहेका छन्। यस विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई विश्वविद्यालयले छात्रवृत्तिको व्यवस्था गरेको छ। शास्त्री र आचार्यमा अध्ययनरत विद्यार्थीलाई १० महिनाको छात्रवृत्तिको व्यवस्था रहेको छ। दलित, जनजातिका लागि मासिक दुई हजार, महिलालाई मासिक एक हजार तथा ब्राह्मण, क्षेत्रीलाई मासिक नौ सयका दरले छात्रवृत्तिको व्यवस्था विश्वविद्यालयले गरेको छ। भाषा प्रशिक्षण, योग तथा प्राकृतिक चिकित्सा, कर्मकाण्ड प्रशिक्षण र विदेशी विद्यार्थीका हकमा यो व्यवस्था रहेको छैन। तीनधारा छात्रावासमा रहेका विद्यार्थीलाई भोजनवृत्ति दिइने हुनाले यो व्यवस्था लागू हुदैन।

संस्कृतप्रतिको आकर्षण  

संस्कृति, परम्परा र समाजको व्यवस्थालाई जीवन्त दिने र नैतिक मूल्य र मान्यताप्रति सजग बनाउन संस्कृत शिक्षा अपरिहार्य देखिएको छ। यसको प्रमाणका रूपमा वाल्मीकि विद्यापीठमा भर्ना हुने विद्यार्थीको उमेरलाई ध्यानमा राखेर हेर्न सकिन्छ। सरकारी सेवा र गैरसरकारी सेवामा कार्यरत कर्मचारी, शिक्षक, प्राध्यापक, विज्ञान, इन्जिनियर, व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर गरेका व्यक्ति पनि विद्यार्थीका रूपमा भर्ना हुने र ज्ञान प्राप्त गर्ने हुनाले यसको आकर्षण दिन प्रतिदिन बढिरहेको देखिन्छ। ज्ञानको खानी, पूर्वीय चिन्तनको आधार तथा प्राच्य परम्पराको धरोहरका रूपमा संस्कृत शिक्षालाई लिने गरिएको छ। त्यसकारण संस्कृत शिक्षाप्रति दिनानुदिन आकर्षण बढ्दै गएको पाइन्छ। शिक्षा मात्र नभई विद्याका रूपमा रहेको संस्कृतप्रतिको आकर्षण आज सबै वर्ग, उमेर र समूूहमा देखिएको छ। सामान्य १० जोड दुई पास गरेर प्रवेश गरेका विद्यार्थी र ७३ वर्षका विद्यार्थी एकै स्थानमा भेला भएर अध्ययन गर्ने परम्पराले पनि यो शिक्षा नभई विद्या हो भन्ने कुरालाई प्रमाणित गरिदिएको छ।

शिक्षा प्रयोजनमुख, आर्थिक लाभका रूपमा रहेको हुन्छ भने विद्या ज्ञानको स्रोतका रूपमा रहेको हुन्छ। शिक्षालाई कहिलेकाहीँ उमेर हदले छेके पनि विद्यालाई उमेर हदले नछेकेको तथ्यलाई संस्कृतप्रतिको आकर्षणले देखाएको पाइन्छ। लक्ष्मीप्रसाद देवकोटाले शिक्षाका सन्दर्भमा उल्लेख गरेका तर्क उपयोगी देखापरेका छन्। देवकोटाले भनेका छन्, ‘प्राकृतिक आभ्यान्तरिक उद्गारमा साम्य, सौन्दर्य र सत्याभास दिन्छ र हरहमेसा जागृत राख्छ, विश्वास उत्पादन गर्दछ र विश्वासका अमर नियमद्वारा स्वर्ग, ईश्वरको चेत खँदिलो बनाउँछ, जसले मानवताको आह्वान आत्मालाई कसरबिना उचालेर प्रत्युुत्तरदायी बनाउँछ, त्यो शिक्षा हो। यही शिक्षाको स्वरूप संस्कृत शिक्षामा पाइन्छ। संस्कृत भाषा प्रशिक्षण, कर्मकाण्ड प्रशिक्षण, योग तथा प्राकृतिक चिकित्सामा दिन प्रतिदिन विद्यार्थी संख्या बढ्नुलाई यसको प्रमाणका रूपमा मान्न सकिन्छ। नेपाली मात्र नभई विदेशी विद्यार्थीको समेत आकर्षण देखिनुले संस्कृत शिक्षाका सन्दर्भमा भनिएको छ: 

जानाति विविधा भाषा जानाति विविधाः कलाः।  

आत्मानं नैव जानति यो न जानति संस्कृतम्।।

यसको तात्पर्य हो– विभिन्न भाषा, कला जाने पनि जसले संस्कृत भाषा जानेको छैन भने त्यसले आत्मालाई चिनेको छैन। त्यसैले मानिसले मानिसलाई वा आफूलाई चिन्न समेत संस्कृत शिक्षाको आवश्यता रहेको तथ्यलाई यहाँ उल्लेख गरिएको छ।

बेरोजगारीको अन्त्य  

शिक्षाको मूल प्राप्ति आजको सन्दर्भमा रोजगारी पनि हो। बेरोजगार उत्पादनको केन्द्र शिक्षाको मान्यता हुनुहुदैन। संस्कृत शिक्षा आर्जन गरेका विद्यार्थी बेरोजगारको चपेटामा पिसिएका छैनन्। कर्मकाण्ड, ज्योतिष, पुराणवाचक बनेर समाजमा संस्कृतिको संवद्र्धन उनीहरूले गरेको देखिन्छ। नेपाली सेनामा पण्डित बन्नेदेखि संस्कृतिको संरक्षण गर्नेसम्मका प्रयत्न संस्कृत शिक्षाले दिएको देखिन्छ। अध्ययन गरेर बेरोजगारी समस्यामा नपिरोलिनु र संस्कृतिको रक्षाका निमित्त निरन्तर लागिरहने पुस्ताका रूपमा संस्कृतका उपासकलाई लिने गरिन्छ। संस्कृतको अध्ययनले जीवनलाई जीवन बनाउँछ। नैतिक मूल्य–मान्यता प्रदान गर्छ। अर्काप्रति सम्मानको भावना व्यक्त गर्ने अभिभारा प्रदान गर्छ। स्वरोजगारका रूपमा रहेको संस्कृत शिक्षालाई जीवन्त बनाउनु राज्यको दायित्व रहने कुरालाई नर्कान सकिँदैन।

(लेखक वाल्मीकि विद्यापीठका पूर्वप्राचार्य हुन्।)

प्रकाशित: २८ चैत्र २०७७ ०३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App