११ कार्तिक २०७८ बिहीबार
विचार

गृहयुद्धको बीउ

अमेरिकामा सयौँ वर्षपहिले चलेको गृहयुद्धका प्रमुख कारणहरू अफ्गानिस्तानको अशान्तिका जडहरूसँग मिल्दैन। कृषिमा आश्रित अमेरिकामा कारखानाका मालिक र मजदुरको द्वन्द्व तथा धनी किसान र दासबीचको असमानता ब्रिटेनमा व्याप्त अशान्तिजस्तै थियो।

१६औँ राष्ट्रपति अब्राहम लिंकनले साउथ क्यारोलिनालाई सन् १८६० को डिसेम्बरमा संघीय शासनमा विलय गराए। जेफर्सनले दक्षिणी राज्यहरूको अर्थतन्त्र सुधार्न सकेनन्। दासत्व, मानव अधिकार, आर्थिक अवसर र व्यक्तिगत स्वतन्त्रता लगायतका कारणले पहिले गृहयुद्ध हुने गथ्र्यो। अचेल  कसले, कसरी, किन र कसका लागि गरेको गृहयुद्धमा राष्ट्र जल्दै छ भन्ने भेउ नपाएर राष्ट्रपति, प्रधानमन्त्री, सेनापति सबै ‘सपना हो कि विपना’ मनस्थितिमा पुगेका उदाहरण पनि छन्। साउथ सुडान, इरिट्रिया, इस्ट टिमोर यसका उदाहरण हुन्।

गृहयुद्धमा मर्ने र मार्ने त दरिद्र मात्रै हुन्छन्। अपवादबाहेक युद्धमा ‘हुने खाने वर्ग’ सामेल हुँदैन। भनिन्छ, ‘गृहयुद्ध भनेको धनीका लागि दरिद्रले लड्नुपर्ने युद्ध हो।’ नेपालको कथित जनयुद्धले पनि यही पुष्टि गरिदियो। हँसिया–हथौडा नछोएकाहरू लडाकुका निर्देशक भए। झन्डै १८ हजार नेपाली मारिए तर अधिकांश हमलामा संलग्न हतियारधारीहरू गरिब किसान र मजदुरका सन्तान थिए।

राष्ट्रवादीविरुद्ध कम्युनिस्टले चीनमा गृहयुद्ध चलाए। चीनको राजतन्त्र ढलेपछि कोरिया र मन्चुरियामा जापानले हमला गर्‍यो। त्यो बेला माओले हतियार थुपार्न थाले। अमेरिकाले ऊबेला एसियामा आफ्नो शक्ति विस्तार गर्न विभिन्न रणनीति अपनायो। जापानको संविधान बनाइदियो। यो टोकियोलाई अर्को वासिङ्टन बनाउने योजना थियो। आज जापान, अस्ट्रेलिया, दक्षिण कोरियालगायत राष्ट्रमा अमेरिकी प्रभाव झन् बढेको छ। ‘एमसिसी’ र ‘बिआरआई’मध्ये एउटा टिममा लागेर फुटबल खेल्न भूराजनीतिक कारणले नेपाल बाध्य हुने अवस्था देखिएको छ। गृहयुद्धको बीउ–विजन त गणतन्त्र रोपिएकै दिन रोपिएको थियो। त्यो अहिले टुसाउँदै छ।

सन् १९५४ मा भियतनामलाई दुई ठुन्का पारियो। सन् २०११ मा सुडान र साउथ सुडान टुक्रेझैँ राष्ट्र टुक्र्याउने गोरा हातहरूले गृहयुद्ध चर्काए। भियतनाम युद्धमा जनताले एक–अर्कालाई मारे। हजारौँ ‘टीकापुर’ देखियो त्यहाँ। कंगो, बुरुन्डी, लेबनान र रुआन्डादेखि ५०औँ राष्ट्रमा विदेशीले पेट्रोल छर्के। दरिद्रहरूले आफन्तकै घरमा आगो झोसेँ। नाइजेरियामा सन् १९६७ पछि चार वर्ष चल्यो गृहयुद्ध। अंगोलामा ३६ वर्ष चल्यो।

फ्रेन्च लेखक भिक्टर ह्युगोले भनेका छन्, ‘दाजुभाइलाई आपसमा मर्न र मार्न बाध्य पार्ने युद्धलाई गृहयुद्ध भन्छन्।’ हुन पनि हो, राष्ट्र गृहयुद्धमा सल्कियो भने पल्लाघरे छिमेकीले मार्छ। फागुमा लुकेर रंग हान्ने भाइले दाजुलाई एके फोर्टी सेभेनले ठहरै पार्छ। एमजिथ्री मसिनगन, हेक्लर एन्ड कोच लगायत हतियार सबै सडकमा आउन थाल्छन्। हजारौँ घर जल्न सक्छन्, जात, धर्म वा भाषाका बहानामा। धर्मले भारत दुई टुक्रा बनायो, सन् १९४७ मा भाषाले पाकिस्तान टुक्रियो, सन् १९७१ मा गृहयुद्धले अनन्त पीडा दिएर जान्छ। राष्ट्रलाई क्षतविक्षत पार्छ। लाखौँ नागरिकलाई शरणार्थी बनाउँछ।

विदेशी धनमा मोहियानी हक समेत लिएर नेपालमा विदेशी जमिनदारको काम गर्नेहरूले गृहयुद्धको बीउ रोपिरहेको देखिन्छ। धोती सल्के पनि न्यानो मान्नेहरू मौन छन्। यसले गर्दा राष्ट्रका वास्तविक अभिभावक को हुन् भन्ने प्रश्न उठेको छ।

म्यानमार, इजरायल, कोलम्बिया, फिलिपिन्स, अफ्गानिस्तान, कम्बोडिया आदि राष्ट्र गृहयुद्धले रोएको हाम्रै पुस्ताले सुनेको र देखेको कुरा हो। युगोस्लाभिया टुक्राटुक्रा भयो। सिरिया, इराक, यमन, सोमालिया, लिबिया, कंगो र नाइजेरिया लगायत धेरै राष्ट्र अशान्तिका कुरूप उदाहरण हुन्। ३० वटा राष्ट्रका करोडौँ जनता आज पनि गृहयुद्धका कारण रगतको आँसु बगाइरहेका छन्। यस्तो दुर्भाग्यबाट बच्ने हो भने हाम्रो एउटै मन्त्र हुनुपर्छ, ‘हामी नेपाली।’

मोनाको, हल्यान्ड, बेल्जियम, नर्वे, डेनमार्क, स्विडेन, भुटान, क्यानडा आदि राष्ट्रले गृहयुद्ध नामको क्रूर दानवको मुख हेर्नुपरेन। राजतन्त्रात्मक, स्थायी, भरोसायोग्य नेतृत्वले राष्ट्रलाई संरक्षण, संवद्र्धन र सम्पोषण गरिरह्यो। नेतृत्व गतिलो नहुँदा कतिपय राष्ट्रमा स–साना पृथकतावादी समूहले पनि गृहयुद्धको आगो सल्काएका छन्।

फ्रान्स, रसिया, चीन र अमेरिकाजस्ता राष्ट्रमा पनि गृहयुद्ध भयो। तिब्बतदेखि सिन्जियाङ क्षेत्रमा आज पनि आगो बाल्ने तयारी गर्दै छन्, पश्चिमाहरू। अमेरिका र भारतको रणनीतिक साझेदारीले नेपालमा राप र ताप बढाउने सम्भावना देखिन्छ। अर्थात्, सामरिक दृष्टिले हामी ‘निल्नु न ओकल्नु’ अवस्थामा पुगेका छौँ। उत्तरपश्चिम चीनमा ‘इस्ट तुर्किस्तान इन्डिपेन्डेन्स मुभमेन्ट’ सुरु भएको धेरै वर्ष भयो। अन्तर्राष्ट्रिय घटनाका बारेमा चासो राख्नेहरूलाई थाहा छ, चेचन्याको विद्रोहजस्तै उग्र हुन सक्छ, उइगुर विद्रोह। त्यसैले चीन टुक्र्‍याउन चाहनेले नेपाललाई ‘गठ्ठाघर’ वा ‘असबाबखाना’ बनाउन सक्छन्।

शास्त्रमा भनिएको छ, ‘राजनीति यदासम्यक् शास्टारमधि तिष्ठति, तदा विद्या विदः सर्वे शेषा विद्या उपासते।’ अर्थात्, ‘जुन दिन असल शासकले शासन गर्छन्, त्यो दिनदेखि विद्वान्ले विद्याको उपासना गर्छन्।’ राजनीतिमा खराब पात्रहरूको वर्चस्व भएमा राष्ट्रहितको उपेक्षा हुन्छ। त्यस्तो बेला राष्ट्रवाद कमजोर हुन्छ। जहाँ राष्ट्रवाद शिथिल हुन्छ, त्यहाँ राष्ट्रघातले टाउको उठाउँछ।

‘ब्रेकिङ इन्डिया’ पुस्तकमा राजीव मल्होत्राले भारत गृहयुद्धले नै टुक्रन्छ भनेका छन्। भारतमा फैलिएका जातीय, क्षेत्रीय, साम्प्रदायिक र धार्मिक कलहमा बितेका ७० वर्षमा लाखौँ जनता मरिसकेका छन्। अहिले पनि त्यो क्रम रोकिएको छैन। विश्व मामिलाका ज्ञाता नेपाली पत्रकार सञ्जय उपाध्यायको पुस्तक ‘ब्याक फायर इन नेपाल, हाउ इन्डिया लस्ट द प्लट टु चाइना’ निकै चर्चित छ। भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले ‘सर्वाधिक संवेदनशील सुरक्षा खतरा’ मानेको माओवादीलाई दिल्लीका महलहरूमा आतंकवादी र नेपालमा लोकतन्त्रवादी ठान्नु नै भारतको द्वैधचरित्रको प्रमाण भनेका छन्, उपाध्यायले।

कूटनीतिक स्वार्थ, सामरिक चासो र बहुपक्षीय कपटले काठमाडौंलाई काबुल बनाउन सक्छ। राष्ट्रसंघका लागि जर्मन कूटनीतिज्ञ किस्टोफ हेस्जनले ३९ वटा राष्ट्रका तर्फबाट राष्ट्रसंघमा प्रस्तुत गरेको प्रतिवेदनमा चीनलाई ‘मानवताविरोधी’ र ‘प्रजातन्त्रविरोधी’ भनिएको छ। क्युबाका दूत आना सिल्भियाले ४५ वटा राष्ट्रका तर्फबाट प्रस्तुत गरेको प्रतिवेदनमा जर्मन दूतले चीनविरुद्ध लगाएको आरोप असत्य भनिएको छ, (द डिप्लोम्याट पत्रिका अक्टोबर २०२०)।

अमेरिका, ब्रिटेन, जापान, फ्रान्स, स्विडेन, नर्वे, हल्यान्ड, अस्ट्रेलिया र डेनमार्क लगायत राष्ट्र चीनविरोधी कित्तामा उभिएका छन्। रसिया, साउदी अरेबिया, श्रीलंका, म्यान्मार, पाकिस्तान, इजिप्ट, बहराइन लगायत राष्ट्रका साथै नेपाल चीनतिर उभिएको देखियो, राष्ट्रसंघमा। मलेसिया र इन्डोनेसिया तटस्थ बसेका छन्। यसले गर्दा ह्वाइटहाउस र क्रेमलिन शीतयुद्धकालका शक्तिकेन्द्र भएझैँ अब वासिङ्टन र बेइजिङ विश्व शक्तिका केन्द्र बनेको स्पष्ट हुन्छ।

गृहयुद्ध चर्किनुमा अन्तर्राष्ट्रिय आयामहरू त्यत्तिकै जिम्मेवार हुन्छन् भन्ने विद्वान्को मत छ। चीनले हङकङ, तिब्बत र ताइवानको प्रश्न आन्तरिक मामिला भन्दै आए पनि त्यहाँको कोलाहल संसारमै फैलिएको छ। सन् २००३ मा अमेरिकाले इराकमा सैनिक हस्तक्षेप गरेको जगजाहेर छ। नेपालका हिमाली जिल्लामा खम्पा विद्रोह चर्काउने अमेरिकाले चीनलाई चिराचिरा पार्न नेपाल उर्वरभूमि हुन सक्छ भन्ने ठानेको छ। त्यसैले यहाँका कैयन् बुद्धिजीवी बेलाबखत ‘चीनमा प्रजातन्त्र हरायो’ भनेर चिन्ता व्यक्त गर्छन्। तटस्थ बसेको भए इराक, कुवेत, काबुलदेखि कंगोसम्म पश्चिमा राष्ट्रले गरेका कर्तूतका बारेमा पनि उनीहरू बोल्नुपथ्र्यो। मनको कुरा खोल्नुपथ्र्यो। राष्ट्रका उच्च तहमा पनि बेइजिङ र वासिङ्टनका भाडाका सिकारी (मर्सिनरी) देखिएका छन्। यसले कल्पनातीत परिस्थिति उत्पन्न हुने देखिन्छ।  

नेपाल, भुटान, बर्मा (म्यानमार), लाओस, अफ्गानिस्तान, कजाखस्तान, किर्गिस्तान, उत्तरकोरिया, भारत, पाकिस्तान, भियतनाम, ताजिकिस्तान, रसिया र मंगोलियाजस्ता १४ राष्ट्र चीनका छिमेकी छन्। युरोप, अमेरिकाको खर्चमा चलेका ‘परोपकारी संस्था’ ९रु० एनजिओ/आइएनजिओ नै पर्याप्त छन्, चीनलाई घेरामा पार्न। राजनीतिक क्षयको अवस्था, अस्थिरता, भ्रष्टाचार सरकारको अक्षमता र अपारदर्शी शासनले हरेक राष्ट्र संकटको भुँवरीमा पर्न सक्छन्। त्यसमाथि गृहयुद्धको खेतीपाती गरेर धनी हुन चाहनेहरू बढ्दै गएका छन्। विदेशी धनमा मोहियानी हक समेत लिएर नेपालमा विदेशी जमिनदारको काम गर्नेहरूले गृहयुद्धको बीउ रोपिरहेको देखिन्छ। धोती सल्के पनि न्यानो मान्नेहरू मौन छन्। यसले गर्दा राष्ट्रका वास्तविक अभिभावक को हुन् भन्ने प्रश्न उठेको छ।

ब्रिटेनको कन्जर्भेटिभ दल राष्ट्र बचाउन राष्ट्रका सबै शक्तिको प्रयत्न र योगदान हुनुपर्छ भन्ने मान्यतामा अडिग छ। ब्रिटेनबाट स्वाधीन हुनुभन्दा पहिले अमेरिकामा पनि ‘ह्विग पार्टी’ थियो र त्यो ‘टोरी पार्टी’ भन्दा फरक सिद्धान्तको थियो। कन्जर्भेटिभ दलबाट प्रेरित र प्रभावितहरूले अमेरिकामा डेमोक्र्याटिक पार्टी खोले। संघीय शासनका पक्षधरहरू ‘रिपब्लिकन पार्टी’ खोलेर सक्रिय भए। सिद्धान्त जे भए पनि राष्ट्र कमजोर पार्ने खेलमा लागेनन्। 

त्यसको विपरीत एसिया र अफ्रिका लगायत क्षेत्रमा कतिपय दलले जात, धर्म, भाषा, क्षेत्र वा रंगका आधारमा जनतालाई विभिन्न ‘पार्ट’ (भाग) मा विभक्त गरेर पार्टी खोले। रसिया र चीनको कलहले भारतका कम्युनिस्ट दुई टुक्रा भए, सिपिएम र सिपिआइएम। हामी केटाकेटी छँदा नेपालका चीन पक्षधर कम्युनिस्ट रसिया समर्थक कम्युनिस्टलाई ‘रसियन कम्युनिस्ट’ भन्थे। ‘रसियन’ कम्युनिस्टले अर्को समूहलाई ‘चाइनिज कम्युनिस्ट’ भन्थे।

काठमाडौंस्थित चिनियाँ दूतावास जय नेपाल सिनेमा हल छेउको हात्तीसारमा थियो। त्यहाँबाट कम्युनिस्टका हजारौँ पुस्तक र माओको तस्बिर अंकित मोनोग्राम सित्तैमा बाँडिन्थ्यो। जताततै माओको ‘लकेट’ लगाएका मानिस देखेपछि अमेरिकी दूतावासले ती सबै लकेट किन्न थाल्यो। मेरा एकजना मित्रले १४ वर्षको उमेरमा ४१ वटा लकेट ४१ रुपैयाँमा बेचेर दशैँमा नयाँ लुगा किनेछन्, ०२८÷२९ सालतिर। अब एमसिसी र बिआरआईका लकेट बाँडिन सक्छन्। चीन र अमेरिकाले एकअर्कालाई ‘निचा’ देखाउन काठमाडौं लगायत कैयन् सहरका टाठाबाठालाई मुन्सी, मुनिम, दिवान, तहबिलदार, पटवारी र मोही बनाउन सक्छन्। जसरी बगदाद र काबुलका नेता विभक्त भए, त्यसरी नै नेपाली राजनीतिले राष्ट्रिय एकता बिर्सेको छ।

धेरै नेपालीलाई एक छाक मासुभात, रक्सी र अलिकति खर्च दिएर जुलुसमा कुदाउनेको उदय भयो, २००७ सालपछि। बाजे कुदे, बाबु कुदे, छोराछोरी पनि कुद्दै छन्। संसार बुझे पनि आफूलाई ठग्नेहरू चिन्न सकेनन् धेरैले। कुनै दलको नेताले ढाडमा ‘ढ्यापढ्याप’ पारेपछि उनीहरू भिक्टोरिया क्रस पाउने गजे घलेझैँ बुरुक्क र जुरुक्क हुन्छन्। नेता बिरामी पर्दा ती रुन्छन्। राष्ट्र मुच्र्छा पर्दा उनीहरूलाई पत्तो हुँदैन। अफ्रिकातिर एउटा उखान प्रसिद्ध छ ‘बन्चरोले बिर्सिन्छ, रूखले सम्झिरहन्छ।’ यस्तै नेपाली जनताले बितेका झन्डै ७० वर्षमा प्रजातन्त्रका नाममा भएका धेरै खेल देखेका छन्। नयाँ पुस्ताले सुनेका पनि छन्। तसर्थ आउँदा दिनमा पनि हिजोकै फोहोरी खेल दोहोरिने सम्भावना देखिँदैन। किनभने युवा पुस्तामा निकै ठूलो जागरण आइसकेको छ।

प्रकाशित: २७ चैत्र २०७७ ०८:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App