२६ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

अस्तित्व गुमाउँदै पोखराको बाटुलेचौर

पोखराको बाटुलेचौर भन्नेबित्तिकै दुइटा कुराको सम्झना हुन्छ– पहिलो हो, जनकवि केशरी धर्मराज थापा जन्मे–हुर्केको ठाउँ । दोस्रो हो, गन्धर्व कला तथा संस्कृतिको उद्गम थलो (यसको ऐतिहासिक पुष्टि हुन बाँकी छ) ।  

करिब एक दशक अघिसम्म यो ठाउँ पोखराको दुर्गम ठाउँमा गनिन्थ्यो, सेती नदीमाथि बनेको जीर्ण पुल तरेर पुग्न सकिने यो ठाउँ कुनै ग्रामीण बस्तीजस्तो देखिन्थ्यो। अहिले सेती नदीमा बनेको पक्की तथा फराकिलो पुल तथा तीव्र सहरीकरण तथा जनसंख्या वृद्धिका कारण यो ठाउँ पोखराका अन्य सहरी क्षेत्रजस्तै भएको छ। मैले यस ठाउँलाई नेपालका प्रसिद्ध लोक तथा कर्खा गायक झलकमान गन्धर्वको जन्मथलो पनि भएको र गन्धर्वहरूको ठूलो बस्ती भएको क्षेत्र भन्ने अनुमान गरेको थिएँ, तर हालसालै त्यहाँ पुग्दा अचम्भित भएँ। किनभने त्यस क्षेत्रमा बनेका ठुल्ठूला भवन अन्य समुदायको थियो, गन्धर्वको बस्ती त अत्यन्तै साँघुरो गल्लीको बाटो भएको करिब ४–५ रोपनीमा कच्याककुचुक्क भएर बसेको देख्दा र गन्धर्व संस्कृति तथा परम्परा झल्किने कुनै कुरा नदेख्दा मन खिन्न भयो। यसअघि मैले सो बस्तीबारे अमृत भादगाउँलेको लेख पढेको थिएँ। सो लेखमा त्यस क्षेत्रलाई गन्धर्व संस्कृतिको विकास र प्रवद्र्धन गर्ने थलो बनाउनुका साथै हरेक दिनजसो पोखरामा भित्रिनेले देशी–विदेशी पर्यटकलाई सांगीतिक जानकारी तथा मनोरञ्जन दिने केन्द्र बनाउने प्रस्ताव गरिएको थियो। त्यसो गर्दा गन्धर्व संस्कृतिको प्रवद्र्धन र संरक्षण मात्र नभएर पोखराकै एउटा प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने लेखमा औँल्याइएको थियो। त्यहाँ पुग्दा त्यस्तो बन्ने कुनै छनक देखिएन।  

कुनै पनि देशको लोकसंस्कृति, वाद्यवादन तथा गीतसंगीत त्यहाँको अमूल्य निधि हुन्छ, किनभने तिनै कुराबाट देशको पहिचान बन्नुको साथै महत्व पनि बढ्छ। मानिसहरू पर्यटनकका रूपमा एक ठाउँबाट अर्को ठाउँमा घुम्दा त्यहाँको प्रकृति र भूगोल मात्रै हेर्ने होइनन्, त्यहाँको कला संस्कृति त्यसमा पनि मूर्त तथा अमूर्त संस्कृति पर्छन्, हेर्न खोज्छन् र रमाउँछन्। गन्धर्व संस्कृति पनि नेपालको अमूल्य निधि हो भन्दा फरक नपर्ला, किनभने यहाँका कुनै पनि पहाडी भाकाको लोकगीत सारंगीविना अधुरो हुन्छ र त्यो सारंगीको सर्जक तथा प्रवद्र्धक तीनै गन्धर्व हुन्।  

पोखराको बाटुलेचौरको सो गन्धर्व बस्ती गन्धर्व संस्कृतिको केन्द्र भएको हुँदा त्यसलाई प्रवद्र्धन गर्ने काम छिटफुट रूपमा नभएको भने होइन। झलकमानले देशविदेशमा ख्याति प्राप्त गरे पनि उनले आफ्नो सम्पूर्ण जीवन काठमाडौंको कीर्तिपुरमा दोस्रो विवाह सहितको घरजम गरेर बिताए, अतः उनको बाटुलेचौरमा खासै लगानी देखिँदैन र पनि सडकको किनारामा उनको शालिक स्थापना गरेर उनलाई सम्मान मात्र दिएका छैनन्, वडा कार्यालयले वडा–१६ को स्थिति पत्र बनाउँदा झलकमानलाई वडाको गौरवको रूपमा प्रस्तुत गरेको छ। वडाध्यक्ष जीवनप्रसाद आचार्यसँग कुरा गर्दा गन्धर्व बस्ती अत्यन्त साँघुरो र थोरै जग्गामा भएको हुँदा गल्लीको बाटोहरू सुधार गर्ने बजेट विनियोजन भइसकेको तर ठूलो काम हुन नसकेको कुरा बताए।  

स्थानीयसँग कुरा गर्दा, पञ्चायत कालमा धेरै विदेशी पर्यटक हेर्न बुझ्न आउँथे तर प्रजातन्त्र आएपछि सो हटेको, त्यति बेला एउटा पर्यटक स्थलकै रूपमा हेरिन्थ्यो, अहिले त्यस्तो नभएको बताए। उनीहरूको बसोबास अत्यन्तै सानो ठाउँमा भएको हुँदा खेतीपाती गर्ने कुरा भएन, तत्कालीन सामन्ती परम्पराले उनीहरूलाई उत्पादनसँग जोडेन वा चाहेन, पुरुषहरू सारंगी बजाउँदै माग्दै जीवनयापन गर्नुपर्ने बाध्यता थियो भने महिलाहरू धेरैजसो कृषि मजदुरका रूपमा काम गर्ने वा घरमा केही नभए माग्दै हिँड्नुपर्ने थियो। समाजले उनीहरूलाई अछूत भनी हेला गर्ने र उनीहरूको गीत तथा सारंगीलाई पनि महत्व नदिने हुँदा नयाँ पुस्तामा सारंगीप्रतिको मोह तथा लगाव कम हुँदै गयो। ०४०/४२ सालदेखि पोखरा नगरपालिकाले बाटुलेचौरका गन्धर्वलाई सफाई कर्मचारीको रूपमा जागिर दिएको हुँदा उनीहरूलाई गाउँदै हिँड्नुपरेन, त्यसले संस्कृतिको विकासबाट विमुख गरायो। केही पढे–लेखेका पुरुषले अन्यत्र गएर जागिर पनि खाए र आफ्नो आर्थिक हैसियत उकासे, तर बाटुलेचौरबाट बाहिर गएर ठूलो आर्थिक प्रगति गर्न सकेको देखिएन।  

बलराम गायकका अनुसार, हाम्रो नाममा गायक तथा गन्धर्व जोडिएकै हुन्छ, तर हामीमध्ये धेरैले न गाउन सक्छौँ न त बजाउन, त्यसो हुनुको मुख्य कारण सारंगीलाई भएको अपमान र अपहेलनाले गर्दा हो, त्यसैले पेसा छुट्यो। गीत गाउन तथा संस्कृति जोगाउन त मनपर्छ तर अपमान हुँदा मन नलाग्ने रहेछ। धनबहादुर गन्धर्वले यहाँको संस्कृतिलाई जोगाउन बच्चाबच्चीलाई सारंगी र मादल बजाउन सिकाउनुभयो, तर उहाँको असामयिक निधनका कारणले गर्दा त्यो अभियान पनि रोकिएला जस्तो भएको थियो, तर उहाँले सिकाएका केटाले प्रायजसो रोधी साँझमा जागिर पाएका हुँदा सो अभियानलाई उहाँकै छोरा दिलीप गन्धर्वले निरन्तरता दिएका छन्।  बस्तीमा सबैको स–साना बास मात्र भएको हुँदा मर्दापर्दा तथा सार्वजनिक समारोह गर्दा दुःख हुन्थ्यो, पूर्वमन्त्री तथा नेकाका नेता कुमार खड्काको पहलमा ६–७ लाख रुपैयाँ उपलब्ध भएको थियो, त्यसबाट पहिलो तला बन्यो, स्वर्गीय रवीन्द्र अधिकारीले दोस्रो तला बनाउन सहयोग गर्नुभयो। पहिलो तलामा किरियापुत्री बस्ने तथा अन्य साझा काम हुन्छ। दोस्रो तलामा वाद्यवादन सिक्ने तथा कार्यालय सञ्चालन भएको छ। आर्थिक अवस्था राम्रो भएपछि पहिचानको आवश्यकता पर्दो रहेछ, अतः आफ्नै प्रयासमा संग्रहालय स्थापना गर्ने काम हुँदै छ। तर, राज्यबाट खासै सहयोग भइरहेको छैन।  

बाटुलेचौर अध्येताहरू बीचमा पनि अत्यन्तै लोकप्रिय भएको देखियो। बलराम गायकका अनुसार गन्धर्वहरूको अवस्था तथा अन्य विविध पक्षबारे पिएन क्याम्पसका प्राध्यापक कुश्माकर न्यौपानेले निकै ठूलो अध्ययन गर्नुभएको छ। ज्ञानु क्षेत्रीले गन्धर्वकै विषयमा विद्यावारिधि गर्नुभएको छ। प्रत्येक वर्ष कसै न कसैले स्नातकोत्तरको शोधपत्र बाटुलेचौरमा आएर लेख्छन्, तर उनीहरूले के पत्ता लगाए र के लेखे भन्ने कुरा बाटुलेचौरका कुनै पनि गन्धर्वलाई थाहा छैन। संग्रहालय स्थापना तथा सञ्चालन अत्यन्तै प्राविधिक काम हो, जुन काम गर्ने सीप साधन र स्रोत बाटुलेचौरका गन्धर्वसँग छैन, न त तीनै तहका सरकारसँग कुनै नीति, कार्यक्रम र बजेट नै छ। गण्डकी प्रादेशिक सरकारले पोखरा प्रज्ञा प्रतिष्ठान गठन गरेको रहेछ, त्यसमा शौभाग्यवश बाटुलेचौरका दिलीप गन्धर्व पनि समावेश भएका रहेछन्।

मेरो आयरल्यान्डको एक वर्षको बसाइका क्रममा आयरल्यान्ड र चीनको सांस्कृतिक टोलीको भव्य प्रदर्शन हेर्ने मौका मिल्यो। चीन देश जति विशाल छ, त्यहाँको गीत संगीत तथा बाजाहरू पनि त्यत्तिकै विविध र विशाल रहेको देखियो। आयरल्यान्ड देश पनि सानो र त्यहाँको लोकसंस्कृति पनि त्यत्तिकै सानो भएको अनुभूति गरेँ। उनीहरूले आफ्नो मौलिक भनेर गर्व गर्ने केवल एउटा वा दुइटा धुन मात्रै थियो, तर चिनियाँहरूको कति हो कति । मलाई अत्यन्तै आश्चर्य तथा राम्रो लागेको कुरा के थियो भने, चिनियाँ टोलीमा भएका सांस्कृतिककर्मी सबै एउटा विश्वविद्यालयका प्राध्यापक थिए, त्यसमा पनि अधिकांश महिला। उनीहरूको काम भनेको चिनियाँ लोकसंस्कृतिको अभ्यास र विकास गर्ने, आगामी पुस्ताका विद्यार्थीलाई पढाउने तथा सिकाउने र संसारका विभिन्न देशको भ्रमण गरी चिनियाँ संस्कृतिको जानकारी तथा प्रचार गर्ने।  

हाम्रो नेपालमा खासगरी गैरदलितका संगीतकार चाहे गोपाल योञ्जन हुन् वा दीपक जंगम, उनीहरू कलेजमा पढाउने कामसँग पनि जोडिए, तर दलितका कुनै पनि सर्जक त्यसरी पढाउने काममा जोडिएको थाहा छैन। केहीले रेडियो नेपाल तथा सांस्कृतिक संस्थानमा जागिर पाए पनि त्यसले सम्मानजनक स्थान पाएको देखिँदैन, विश्वविद्यालयको प्राध्यापकको त परको कुरा।  

बाटुलेचौरका वडाध्यक्ष जीवनप्रसाद आचार्यले बाटुलेचौरको गन्धर्व संस्कृतिको प्रवद्र्धन र विकासमा के गर्नुहुन्छ भन्दा यो काम प्रधानमन्त्रीको स्तरबाट हुनुपर्छ भनी पन्छिए, गीतसंगीतमा अत्यन्त रुचि राख्ने अहिलेका प्रधानमन्त्री केपी ओलीलाई बाटुलेचौरको गन्धर्व संस्कृतिको प्रवद्र्धन र विकासमा सोच्ने फुर्सद मिल्ला भनेर कल्पना गर्ने अवस्था कमसे कम अहिलेलाई छैन।  

प्रकाशित: २३ चैत्र २०७७ ०४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App