८ वैशाख २०७८ बुधबार
विचार

डढेलो, प्रदूषण र भुइँ मान्छेका सरकार

‘वन डढेको सबैले देख्छन्, मन डढेको कसैले देख्दैन’– चर्चित नेपाली उखान। यतिखेर देशभरका वन डढेर खरानी भएका छन्। मन दुखाउँदै हेरिरहेका छौँ प्रदूषित आकाश कुइरिमण्डल भएर तुवाँलोको साम्राज्यमा हराइरहेको। भूउपग्रहबाट खिचिएको तस्बिरले देखाएको  छ– सयौँ स्थानमा आगो लागेको छ। गर्मी मौसम बढेसँगै त्यो आगोले सारा वन क्षेत्र विनाशिरहेको छ। यसरी डढेको वनसँगै डढेका छन् हजारौँ वनस्पति, वनौषधि, लोपोन्मुख अनेकौँ वन्यजन्तु, दुर्लभ प्रजाति र ऐतिहासिक वातावारणीय चक्रमा ठूलो आघात पुगेको छ। यसतर्फ कसैको ध्यान पुगेको देखिँदैन। राज्य यतिखेर कोरोना कहर, राजनीतिको फोहोरी जोडघटाउ, आरोप/प्रत्यारोप र व्यक्तिवादी अहंकारमा जकडिएको छ।

गत काठमाडौँ उपत्यकाको वायुको गुणस्तर सूचकांक ४७० सम्म पुगेको थियो।करिब  दुई महिनाअघि समेत जनवरी २० को बिहान काठमाडौंको वायुमण्डलमा हावाको गुणस्तर वायु गुण सूचकांक (एयर क्वालिटी इन्डेक्स) ४ सय ३७ मापन गरिएको थियो। यसरी विश्वका ५० सहरमा काठमाडौं नम्बर एकमा देखिनु चिन्ताको विषय हो।त्यस्तै सोमबार साँझ ६ बजे चितवनको एअर क्वालिटी इन्डेक्स ४२५ थियो। विश्व स्वास्थ्य संगठनले एअर क्वालिटी इन्डेक्स (एक्युआइ) ३००भन्दा बढी हुनुलाई ‘घातक’ भनेको छ।

कोरोनाको दोस्रो लहरको भय

तीव्ररूपले आफ्ना जनतालाई कोरोनाको गुणस्तरीय खोप लगाइरहेको भए पनि युरोपका केही देशमा दोस्रो र तेस्रो लकडाउन सुरु भइरहेको बताइरहँदा हाम्रो छिमेकी देश भारतमा ह्वात्त बढेको कोरोना संक्रमणले सबैलाई त्राहिमाम बनाइरहेको छ। कोरोनाको खोप प्रभावकारीरूपमा जनतालाई पुर्‍याउने चुनौती सामना गरिरहेको नेपाललाई अचानक वायुमण्डलमा थपिएको यो वातावरणीय प्रदूषण र वनको डढेलोले थप चिन्तित बनाएको छ। द गार्डियनमा प्रकाशित खबरअनुसार फोहोर हावाले श्वास/प्रश्वाससम्बन्धी समस्याको जोखिम बढाउँछ जुन कोरोना भाइरस भएका बिरामीका लागि घातक हुन सक्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ। त्यस्तै १ हजार ३ सय ४१ जना आइसोलेसनमा र ५६ जना क्वारेन्टाइनमा छन्। विश्व स्वास्थ  संगठनले जारी गरेको सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य गर्ने न्यूनतम सर्तलाई लत्याएर देशका सत्तासीन पार्टीहरूले शक्ति प्रदर्शनका नाममा देशभर गरेको वाक्कदिक्क लाग्दो प्रदर्शन, एकअर्काप्रति गरेको अमर्यादित  लाञ्छना, भ्रष्टाचारको १९ र ३८ पृष्ठका फिरादपत्रका नतिजा बिस्तार देखिँदैछ जनस्वास्थ्यमा।

विश्व कोरोनापछिको भविष्य त्यसले अर्थतन्त्रमा परेको गहिरो प्रभाव, भविष्यमा यस्ता महामारीबाट कसरी बच्ने, कसरी कार्बन न्युट्रल भविष्य कोर्ने भन्ने विषयमा विज्ञहरूसँग  मिलेर आवश्यक सोधखोज र अनुसन्धानमा जुटिरहेको छ। स्पष्ट रोडम्याप बनाएर अघि बढ्दैछ। कोरोनाका प्रभावले थलिएका  व्यवसायलाई कसरी सहयोग गरेर पुरानै लयमा फर्काउने भनेर रातोदिन विचारविमर्शमा लागिरहेको छ।दुर्भाग्य, हामी भने हुँदाखाँदाको संसद् बिघटन, नारा जुलुस, पुनस्र्थापना, संसद्भित्र अमर्यादित खेल, देश विकासका,वातावरण पर्यावरण जनजीविकाका सवालमा होइन, नितान्त राजनीतिक स्वार्थ र कमिसन भ्रष्टाचारको एउटा कुत्सित चक्रमा घुमिरहनु विडम्बना हो।

साइकल लेन

आज विश्व जलवायु परिवर्तनको गम्भीर संकटबाट गुज्रिरहेको छ। पर्यावरणविद्हरूले बताएअनुसार सही समयमा कार्बन उत्सर्जन नघटाउने हो भने पृथ्वीका हरेक जीवको अस्तित्व खतरामा हुनेछ। सुन्दर मानव धर्तीलाई बचाउन संसारभरि अनेकथरी अभियान चलेका छन्। त्यसैको एउटा महत्वपूर्ण कडी हो साइकल लेन। काठमाडौँको हरेक ठाउँमा सुरक्षित साइकल लेन बनाउने हो भने मात्र आधा घण्टामा हरेक ठाउँमा पुग्न सकिन्छ। साइकल एउटा राम्रो अन्तर्राष्ट्रिय खेल हुन सक्छ नेपालका सुन्दर हिमाल, पहाड र संस्कृतिले भरिएका सहरमा। जनस्वास्थ्यको रामवाण हो साइक्लिङ। विकसित देशहरूले साइकल लेन अनिवार्य गरेका छन्।  सहरका भित्री बाटामा सवारी साधनको आवागमन रोकेका छन्। पुराना पार्किङ लटलाई बगैँचा र बस्ने बेन्चमा बदलेका छन्।  सडकलाई खुला स्थान बनाएर ग्राहक आकर्षित गरेका छन्।  

विश्वका  यस्ता  कोभिड–१९ पछिका  नमुना कार्य  नेपाल  जस्तो  सानो  र  अल्पविकसित  राष्ट्रका लागि उदाहरणीय  हुनुपर्छ। बेलायतले साइकल र पैदलयात्राका लागि समर्पित भएर काम गर्न एक छुट्टै सरकारी संगठन सिर्जना गर्दैछ भन्ने शीर्षकमा ब्लुम्बर्ग सिटी ल्याब वेब पत्रिकामा फियर्गस सुलिभान लेख्छन्– यो नयाँ विभागले शारीरिक सक्रियतालाई प्रोत्साहित गर्दै पैदल र साइकलयात्रालाई बढवा दिन र आवश्यक कोष व्यवस्थालाई कायम गर्दै बढ्दो वातावरणीय प्रदूषण रोक्न काम गर्नेछ।  

साइकल इन्फ्रास्टक्चर डिजाइन प्रतिवेदनअनुसार सहरमा हरेक १० जनामा  ८ जनाले गर्ने यात्रा साइकल अथवा पैदल जान  सकिने प्रकृतिका  हुँदारहेछन्। तीनमध्ये दुई जनाले गर्ने यात्रा ५ माइल भन्दा कम दूरीका हुँदारहेछन्। १० मध्ये ९ प्राथमिक स्तरमा पढ्ने विद्यार्थी १५ मिनेटको पैदल या सार्वजनिक यातायातको दूरीमा रहेका पाइयो। त्यस्तै तीनचौथाइमाध्यमिक स्तरकाविद्यार्थी १५ मिनेटको साइकल यात्रामा पुगिने ठाउँमा बस्दारहेछन्। 

धेरै मान्छे मात्र ६ मिनेटमा सार्वजनिक बस स्टपमा पुगिने ठाउँमा बस्दारहेछन्। यस्तो अध्ययनले कसरी साइकल लेन र पैदल यात्रालाई प्रोत्साहित गर्ने भन्ने कार्यमा ठूलो सहयोग मिल्छ। दुर्भाग्य, नेपालमा यस्तो अध्ययनको कमी त छँदैछ। त्यसमा पनि विदेशमा बसेर कोरोनाले  ऊर्जा  क्षेत्रमा पारेको असरबारे अध्ययन गर्छु भनेर यो पंक्तिकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुखलाई धेरैपटक लेखेको इमेलको जवाफै आएन। तथापि नेपाल आयल निगम र राष्ट्र बैङ्कका प्रमुखले भने आवश्यक तथ्यांक उपलब्ध गराए। सडक विभागका प्रमुखले चक्रपथमा साइकल लेन नचाहिने बताएर हँसाए।  

ललितपुरका मेयर चिरीबाबु महर्जनको नमुना साइकल लेनको कार्यलाई समेत सडक विभागसँग स्वीकृत नलिएको भन्न भ्याए। यो भनाइले सरकारको साइकल लेनप्रतिको  बेवास्तालाई प्रतिविम्बित गर्छ। यसबाट हामी देशको विकासमा कसरी अनुसन्धानलाई लिन्छौँ भन्ने सानो उदाहरण मिल्छ। कस्तो नेतृत्वलाई देशको समग्र ऊर्जा, सडक, वातावरण, कृषिका  नीति  बनाउँदा प्रायोग गर्दैछौँ भन्ने प्रष्ट हुन्छ।  हालसालै सरकारले करिब दुई खर्ब खर्च गरेर बनाउने भनिएको रासायनिक मल कारखानाको सम्भाव्य अध्ययनमा कुनै विज्ञ प्रोफेसरलाई सम्झेन। जाइकाले बुझाएको प्रतिवेदन सरकारी अभिलेखबाटै गायब पारिएको रासायनिक मलको बारेमा अनुसन्धान गरिरहेकाप्राडा जगन्नाथ श्रेष्ठले बताएका छन्।

एकातिर भारतले बिजुली नकिनिदिने भो भनेर रोइकराइ गर्ने र बंगलादेशसम्म बिजुली किनिदिन अनुरोध गर्ने नेपालले रासायनिक मल कारखाना बनाउने कच्चा पदार्थ प्राकृतिक ग्यास  पाइप लाइन बनाएर भारतबाट ल्याउँदासम्भव हुन्छ  भनेर रातारात प्रतिवेदन दिए। अब केही दिनमा ढुंगा पुजेर शिलान्यास भएको ढोल पिटिनेछ।

राजनीति: समाजसेवा वा व्यवसाय?

नेपालमा राजनीति पैसा कमाउने ठूलो पेसा भएको छ। नत्र कसरी हिजो चप्पल पड्काउँदै सिंहदरवार छिरेकाहरू आलिसान बङ्गलाका अधिपति भए? कोही तयार छ एउटा निष्पक्ष आयोग सामना गर्न सक्ने?

देशको प्राकृतिक स्रोतसाधन, वनजंगल, अमूल्य वनस्पति र जनावरका अवैध सिकार, तिनका सिङ,छालासम्ममा गरिने  तस्करीले आज विश्व पर्यावरण र वैश्विक इको सिस्टममा नै गम्भीर संकट देखापरेको छ।हरेक पार्टीभित्र यस्ता प्रवृत्ति मौलाएका छन्। यो नै आजको राजनीतिक बेथिति, वातावरणीय पर्यावरणीय समस्याको सबै भन्दा मूल कारण हो। हरेक परियोजनामा हुने ढिलासुस्ती, तिनको छनोटमा हुने गडबडी, कानुन मिलाएर गरिने सफेद नीतिगत भ्रष्टाचार अन्त्य हुनुपर्छ।  

हिजो राजालाई भ्रष्टाचारी देख्नेहरू आज किन ठेकेदारको घरमा डेरा जमाउँछन्कि? न कहिले धनाढ्य शेर्पा, कहिले  बिजुलीको अरबौँ पैसा नतिर्नेको व्यापारीका घरमा पार्टी कार्यालय सार्दै हिँड्छन? यसको निष्पक्ष छानबिन कसले गर्ने? भियतनामका राष्ट्रपति हो चि मिन्ह भारत भ्रमणमा गएका बेला एउटा बैठकका क्रममा त्यहाँका मन्त्रीहरूसँग उनको कुराकानी भयो। संवादका क्रममा होले त्यहाँका मन्त्रीलाई सोधे– तपाईँहरू के काम गर्नुहुन्छ?  मन्त्रीहरूले सहजरूपमा जवाफ दिए– हामी राजनीति गर्छौँ। होले यो उत्तर बुझ्न सकेनन्।  

फेरि सोधे– मेरो मतलब तपाईँहरूको पेसा के हो ? भारतीय मन्त्रीले जवाफ दिए– राजनीति नै हाम्रो पेसा हो। त्यसपछि होले अलिक चिडिँदै भने– ’शायद तपाईँहरूले मेरो भनाइको मतलब बुझ्न सक्नुभएन। राजनीति त म पनि गर्छु तर पेसाले म किसान हुँ, म खेती गर्छु। खेतीबाटै मेरो जीविका चल्छ। बिहान बेलुका म आफ्नो खेतमा काम गर्छु, दिउँसो राष्ट्रपतिका रूपमा आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्छु।

यो कुरा सुनेर भारतीय प्रतिनिधिमण्डल स्तब्ध भयो। उनीहरूसँग यो कुराको कुनै जवाफ नै थिएन। अनि फेरि होले त्यही कुरा सोधेपछि एक जना भारतीय मन्त्रीले लज्जित हुँदै भने– राजनीति गर्नु नै हामी सबैको पेसा हो। फेसबुक सञ्जालमा यो संवादले धेरै वाहवाही बटुल्यो किनकि यो  प्रसंग नेपाली राजनीतिको एउटा ज्वलन्त सत्य हो। राजनीतिको  नाममा  हुने व्यापारीकरण, लोकतन्त्र र समाजवादको आवरणमा देखिने एउटा नाङ्गो सत्य हो। यो बाटो नबदलिएसम्म देशको वातावरण पर्यावरण र राजनीति कहिल्यै संग्लिदैन।

प्रकाशित: २० चैत्र २०७७ ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?