७ पुस २०८१ आइतबार
image/svg+xml
विचार

विष्णुबहादुरको विरासत

घटना नं.१

विशेष गरी तराईमा जमिनदारले किसानलाई व्यापक शोषण गरेका थिए। ऐलानी जमिनसमेत उनीहरूले नै कब्जा गर्थे जबकि त्यसमा खेती भने भूमिहीनले गरिदिनुपथ्र्यो। जमिनदारको यही रवैयाको विरोध गर्ने क्रममा २००९ सालमा रौतहटको महम्मदपुर गाउँमा सुरक्षाकर्मीले विष्णुबहादुर मानन्धरलाई पक्रन उनी रहेका घर घेरा हाल्यो। त्यो थाहा पाएर सयौँको सङ्ख्यामा जम्मा भएका स्थानीयले प्रहरीसमेत जल्ने गरी आगो लगाइदिने धम्की दिएपछि प्रहरी भागे। यो घटनाले किसानको पक्षमा आवाज उठाउन विष्णुबहादुरलाई थप हौसला मिल्यो।

घटना नं. २

उसै त चर्को ब्याज, त्यसमा पनि चक्रवृत्ति ब्याज जोड्ने गर्दा धेरै किसानको उठिबास लागेको थियो। यस्तो अवस्थाबाट निकै चिन्तित विष्णुबहादुरहरूले जमिनदारले दिएका भर्पाइ किसानसँग माग्ने र च्यातिदिने अभियानै चलाएका थिए। साथै ऋण नतिर्न पनि आग्रह गर्दै आएका थिए।जुन ‘कागजफट्टा’ आन्दोलनका नामले किसान आन्दोलनको इतिहासमा पढ्न पाइन्छ।  

घटना नं. ३

२०२१ सालमा राजा महेन्द्रले भूमि सुधार कार्यक्रम घोषणा गरे। जसअनुसार मोहीआफूले कमाएको जमिनमा निश्चित हिस्सा पाउने नियम बस्यो। तर तराईमा जमिनदारको डरका कारण मोही किसानले सरकारले खटाएका कर्मचारीसमक्ष मोहियानी हक दाबी गर्न सक्ने अवस्था थिएन। यही बुझेका विष्णुबहादुर मानन्धरले वास्तविक मोहीलाई हौसला दिन र कर्मचारीसमक्ष मोहियानी हक लेखाउन सघाउने उद्देश्यले आफ्ना सय भन्दा बढी कार्यकर्ता परिचालन गरेका थिए रौतहटमा। जतिबेला उनी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा रौतहटका जिल्ला सचिव थिए।

कुरा २००९ सालको हो। किसानमाथि जमिनदारको व्यापक शोषणविरुद्ध रौतहटमा आन्दोलन चक्र्यो। यस क्रममानेतृत्व गर्ने नारायण मानन्धरलाई प्रहरीले पक्राउ गर्‍यो। आफ्ना नेतालाई पक्रेपछि हजारौँको सङ्ख्यामा जम्मा भएका कार्यकर्ता भागेनन्। उल्टै तत्काल छाड्नुपर्ने माग राखेर धर्नामा बसिरहे।

न भोक, न प्यास। एउटा व्यक्तिलाई छुटाउनका लागि यति धेरै मानिस चट्टानी अडानका साथ धर्ना बसेको देखेपछि विष्णुबहादुरलाई तिनीहरूको माया लाग्यो। अनि लागे हाट बजारतिर। र, व्यापारीसँग अनुरोध गरे कि तिमीले बेच्न ल्याएको तर नबिकेका कुरा लेउ, हामी शोषणमा परेर न्याय माग्न आएका किसानलाई ख्वाउँछौँ। उनीहरू भोकै छन्।

नभन्दै व्यपारीहरूले सक्दो सहयोग गरे। सखरखण्ड नै दुई गाडा भएछ। अरू खाद्यान्न पनि जम्मा भयो। अनि उनले आफ्नै नेतृत्वमा ती खाद्यान्न लगेर धर्नारत किसानलाई बाँडे। एक अपरिचित व्यक्तिले गरेको यो अपत्यारिलो सहयोगले सबैलाई आश्चर्यचकित तुल्यायो। त्यसपछि आन्दोलनकारीहरूद्वारा विष्णुबहादुरको खोजी हुन थाल्यो। र, नेताहरूसँग भेट भई कुराकानी भएपछि यो आन्दोलन कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको थाहा पाउनु नै विष्णुबहादुर कम्युनिस्ट बन्नुको मुख्य कारण बन्यो।  

कम्युनिस्ट पार्टीमा संलग्न भएपछि यी २२ वर्षे ठिटोको जोश जाँगर झनै चुलिँदै गयो। खासगरी आफ्नै गृहजिल्ला अर्थात रौतहटमा जमिनदारी शोषणविरुद्ध केन्द्रित कार्यक्रम बढाउन थाले। कहिले कागजफट्टा आन्दोलन त कहिले ज्याला बढाउनुपर्ने आन्दोलनले एकातिर उनी किसानमाझ प्रिय हुँदै गइरहेका थिए भने अर्कोतर्फ जमिनदारको चाहिँ तारो। सुरक्षा निकाय पनि जमिनदारकै पक्षमा भएकाले दमन जारी थियो। तर पनि विष्णुबहादुरहरूको हिम्मत २० को १९ पनि भएन।

आन्दोलनहरू सोचे जसरी सफलोन्मुख भएनन् तर आफूमाथि शोषण भइरहेको छ र यस्तो अन्याय सहनु हुन्न भन्ने चेतना बेस्कन फैलाउन सफल भए उनी र उनका सहयोगीहरू। फलस्वरूप कर्मचारीले गरिबलाई सित्तैँमा काम लगाउने सनातनी प्रचलनले डाँडो काट्यो।त्यतिमात्र हैन, गाउँ जाँदा र फर्कँदा स्थानीयलाई आफ्ना भारी सित्तैँमा बोकाउने चलन पनि कुलेलम ठोक्यो। यतिसम्म कि उनले र उनको समूहले ‘केही नलिइ कसैको पनि काम सित्तैँमा नगर्न’ उर्दी नै जारी गरेका थिए जिल्लामा।  

रौतहट विष्णुबहादुर मानन्धरको कर्म थलो। जहाँ उनले बुझ्ने भएदेखि अन्यायविरुद्ध विगुल फुके। उनको विगुलको प्रभाव कति कडा थियो भन्ने थाहा पाउन धेरै अनुसन्धानै आवश्यक छैन, मात्र २०१५ सालको आमनिर्वाचनको परिणाम नियाले पुग्छ। जतिबेलासिङ्गो कम्युिनस्ट पार्टीले मुलुकभरबाट जम्मा ४ सिट जितेकोमा आधा अर्थात २ सिट रौतहटबाटै थियो।त्यतिबेलाको त्यो जित रूपमा शेख फरमान र हरदयाल महतो देखिए पनि सारमा विष्णुबहादुर र अन्य सयौँ किसानपक्षीय अभियन्ताको थियो।  

जनताको पक्षमा काम गर्ने बानी बसेपछि त्यो नशामै परिणत हुने रहेछ भन्ने प्रमाण पनि हुन् विष्णुबहादुर मानन्धर। २००९ सालमा बारा, रौतहट र पर्सामा धेरै सक्रिय भयो भनेरसरकारले प्रतिबन्ध लगाइदियो अखिल नेपाल किसान सङ्घमाथि। तर खाने मुखलाई जुँगाले छेकेन। विष्णुबहादुरहरू मिलेर किसान पञ्चायत नामक सङ्गठन बनाए। नाममा पञ्चायत जोडेपछि कसले शङ्का गर्ने रु शङ्का नगर्ने यही वातावरणको भरपुर उपयोगमार्फतउनीहरूले अन्यायविरुद्ध आवाज उठाइरहे।

दूरदर्शिता विष्णुबहादुरको अर्को विशेषता थियो। भूमिहीन र कृषि मजदूरका समस्या ठूलो र जेलिएको भएकाले यसको समाधान सहज नभएको उनको बुझाइ थियो। त्यसैले यो समस्या समाधानमा अरूलाई पनि गम्भीर बनाउने उद्देश्यसाथ उनले आफ्नो जिल्लामा नेपाली कङ्ग्रेस र प्रजा परिषद्को बैठक राखे २०२४ सालमा।त्यस क्रममा विष्णुबहादुरले जनतासँग लिएको कर सरकारले केमा खर्च गर्छ भन्नेबारे जानकारी माग्ने प्रस्ताव राखे। पर्चा निकाल्ने कुरा पनि भयो। विडम्बना, यो सूचना बैठकमै सहभागी एक जनाले तत्कालै प्रशासनमा पुर्‍याएछन्। भोलिपल्टै उनलाई सेनाले पक्राउ गर्‍यो र गौरबाट वीरगन्ज लगिए, हिँडाएरै। ‘कसैले चाहे पनि नचाहे पनि पञ्चायती व्यवस्था चलिरहेको छ’– पर्चामा उल्लिखित यही वाक्य थियो उनलाई पक्राउ गर्ने आधार। पक्रने÷छाड्ने, यस्ता धेरै छन् उनको जीवनका कहानी।

२००७ सालको क्रान्तिपछि गाउँ गाउँमा सभा हुने क्रम बढ्दो थियो। यही क्रममा २००८ सालमा विष्णुबहादुरहरूले रौतहटकै सबैभन्दा ठूला जमिनदार तेजप्रताप सिंहको घरनजिकै सभा राखे।७५ मौजा भएका तेजप्रताप आफूलाई निकै ठूलो ठान्थे। जिल्लाकैसबैभन्दाठूलो जमिनदारभएकाले सभाकोअध्यक्षता गर्ने अवसरमलाई प्राप्त हुनेछ भन्ने उनलाई लागेको रहेछ।तर विष्णुबहादुरले सिंहको तुलनामा निकै तल्लो वर्गको मानिने गाउँकै महतो थरका एक जनालाई सभाध्यक्ष बनाएपछितेजप्रताप झोक्किँदै हिँडेका थिए।त्यसपछि अब तेजप्रतापले के गर्ने हुन् भनेर सहभागीहरू निकै डराए तर विष्णुबहादुरले सबैलाई आश्वस्त तुल्याए र कार्यक्रम राम्रोसँग सम्पन्न गराए।

कुनै साहूको पछि लागेर रौतहटको गौर पुगेका विष्णुबहादुरका बाबु नदी घाटको ठेक्का लिन्थे। गर्दै जाँदा उनले अन्य कामको पनि ठेक्का लिन थाले र भन्सार उठाउने ठेक्कासमेत सुरु गरे। अनि ठाउँठाउँमा उपठेकेदार नै राखेका थिए। यस्ता उपठेकेदारले उठेको पैसा आफूखुसी खर्च गर्न थालेपछि तिर्न नसकेर त्यसबापत आफ्नो जग्गा दिँदै जान थाले। यसरी विष्णुबहादुरका बाबु ३–४ सय बिघा जमिनको मालिक बन्न पुगे।

भारतको सीतामढीमा समेत ठेक्का लिन थालेका उनी दिन/प्रतिदिन धनीमाथि धनी हुँदै गइरहेका थिए। नेपाली आएर भारतमा ठेक्का गर्न थालेको थाहा पाएपछितत्कालीन ब्रिटिस सरकारलेउनलाई ‘भारतमा ठेकेदारी गर्ने हो भने अङ्ग्रेजी जान्नुपर्छ’ भन्ने खबर पठाएछ।भारतीय सरकारको यो आदेशले उनका छोराहरूलाई भने निकै फाइदा भएछ किनकि त्यसपछि विष्णुबहादुरका बाबुले छोराछोरी पढाउन थालेछन्।उनका एक छोरा ९प्रा।नारायणबहादुर मानन्धर० त गणितमा एमए गर्ने नेपालकै पहिलो व्यक्तिसमेत बन्न सके, जसले संस्कृतमा पनि एमए पास गरेका थिए। विष्णुबहादुरचाहिँ राजनीतिमा लागेका कारण बिए भन्दा बढी पढ्न सकेनन् तर पनि उनको अङ्ग्रेजी निकै राम्रो थियो।

आफ्नै बाबु ठूला जमिनदार। त्यसैले विष्णुबहादुरलाई कुनै कुराको कमी हुने अवस्थै थिएन। तर उनको सन्तुष्टिको आधार बाबुको सम्पत्ति बन्न सकेन। किसानको हँसिलो मुहार रोजे उनले। उनले सधैँ भन्दै आएका थिए कि यो धनको कुरै हैन, वैचारिक कुरा हो। धनले मात्र मानिसलाई सन्तुष्टि दिन सक्छ ररु

मर्नु केही समयअघिसम्म छोरा सुनिलमार्फत मुलुकमा भइरहेका सबै घटनामा अद्यावधिक भइरहने विष्णुबहादुर मुलुकमा जारी भूमि अधिकार आन्दोलनबारे निकै चासो राख्थे। भूमिहीन किसानका समस्या समाधान नगरी मुलुक समृद्ध नहुने निष्कर्ष निकाल्ने उनी भन्थे–यसका लागि निरन्तर सङ्घर्ष एकमात्र उपाय हो।  

अन्त्यमा,

१५ फागुन, २०७५। विष्णुबहादुर मानन्धरसँग मैतीदेवीस्थित उनकै निवासमा उनको राजनीतिक र सङ्घर्षमय जीवनयात्राबारे विस्तृत कुराकानी भइरहेको थियो। छोरा सुनिलले सहजीकरण गरिरहेका थिए। उनको स्वास्थ्यका कारण थकाइ मारी मारी कुराकानी अघि बढाउनुपर्ने बाध्यता थियो। आफूलाई लागेका धेरै जिज्ञासा मेटाइरहेको थिएँ, खासगरी किसान र भूमिहीनसँग जोडिएका विषयमा। कतिपय सोध्नै बाँकी थियो।  

कुुराकानीकै क्रममा बुहारी राधा भट्टराईले सुनिललाई बाहिर बोलाइन्। केहीबेरपछि भित्र पसेका सुनिलले मलाई र बुबा दुवैलाई ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना भएको र त्यसमा एमाले नेता रवीन्द्र अधिकारलगायत रहेका जानकारी गराए। हामी सबै एकै पटक स्तब्ध भयौँ। रवीन्द्रसँग आत्मीय सम्बन्ध भएका कारण त्यसपछि मेरो मुखबाट एक शब्द निस्कन सकेन र उठेर हिँडे, बाँकी जिज्ञासा अर्को भेटमा मेटाउने आशासहित। तर विडम्बना, त्यो अर्को भेट यो जुनीमा सम्भव भएन। हार्दिक श्रद्धाञ्जली किसानका नेता विष्णुबहादुर मानन्धरज्यू।

प्रकाशित: १९ चैत्र २०७७ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App