पञ्चायतले ३० वर्ष शासन गरे बराबर बहुदलीय प्रजातन्त्र स्थापना भएको पनि अब ३० वर्ष पुगेको छ । जुन जुन विकृति औल्याएर पञ्चायतको विरोध भएको थियो, आज ती विकृतिको अवस्था के छ भन्ने विषयमा समीक्षात्मक ढंगले तुलना गर्नु उचित हुन्छ । प्रजातन्त्रका नाममा आज पञ्चायती विकृतिको झन् भयाबह होडवाजीको ‘राजनीतिक’ दबदबा चलिरहेको छ । यस होडबाजीमा प्रथम विजयी स्वयं प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ भने पहिलो रनर–अपको ताज कांग्रेसका सभापति शेरबहादुर देउवालाई पहिर्याइदिए हुन्छ ।
अहिले ‘प्रधानमन्त्री’ पदको उधारो टेन्डर खुलेको छ । पद फालाफाल देखिन्छ । ‘बाठाहरूले आँट नगरे लाटालाई कन्याउनु’ भन्ने उखानझैँ फालाफाल हुँदै संसद्को मुख्य विपक्षी पार्टीका नेता (नेपाली कांग्रेसका सभापति) सम्म सो पद ‘खाइदिनुपर्यो’ भन्दै पुर्याइएको देखिन्छ । बुझिने गरी बोल्न नसक्ने, जनताको हित हुने काम गर्नै नजान्ने, पार्टीको मर्यादा राख्न नचाहने, लोकतन्त्रलाई जनउत्तरदायी प्रणाली बनाउन नसोच्ने, केवल सातपटक प्रधानमन्त्री हुने रेकर्ड बनाउने ध्याउन्न भएका पात्रलाई प्रधानमन्त्रीको रूपमा सिंगार्न के हेरेर रोजियो होला ? यही बुझ्न लायक छ । लगभग दुईतिहाइ बहुमत पाएको प्रधानमन्त्री बनेका पार्टी अध्यक्ष ‘अति जान्ने सर्वज्ञाता’ भइदिएपछिको परिणामस्वरूप सत्तामा यो दुर्दशा मौलाएको हो ।
देउवालाई पालेर अर्को बिपी जन्मेलान् भन्ने अपेक्षा गर्नु विषवृक्ष रोपेर अमृतफलको आशा गर्नु जस्तै पटमूर्खता हुन्छ ।
आजको नेपाली कांग्रेस बिपी तथा संस्थापक नेताहरूले तय गरेका विचारधारा र मार्गदर्शनबाट पूरै च्युत भएको छ । उहाँले बसालेका अनुकरणीय परिपाटी र संस्कारलाई पनि त्यस पार्टीले निर्ममताका साथ तोड्दै आएको छ । सत्तामा जान र पाएको सत्ता टिकाउन मर्यादाको बार धेरैपटक भाँचिइसकेको छ । गिरिजाप्रसाद कोइरालाले राजसंस्थालाई शत्रु र माओवादीलाई मित्र देख्नुभएको थियो । त्यसको महँगो मूल्य उहाँले र सिंगो कांग्रेसले चुकाउनुपर्यो । त्यसैकारण, पछिल्लो जनआन्दोलनयताको राजनीतिमा कांग्रेसले लगातार अभूतपूर्व धक्का बेहोर्नु परिरहेको छ । २०७४ मा भएका तीन तहका निर्वाचनमा त कांग्रेसको हुर्मत नै गुमाउने काम वर्तमान सभापतिका कारणले भयो । यसको क्षतिपूर्ति हुन त्यस पार्टीले अर्को बिपी कोइराला नै जन्माउनुपर्छ । देउवालाई पालेर अर्को बिपी जन्मेलान् भन्ने अपेक्षा गर्नु विषवृक्ष रोपेर अमृतफलको आशा गर्नु जस्तै पटमूर्खता हुन्छ । आजको कांग्रेसमा त अर्को बिपी जन्माउने इच्छाशक्ति र सपना पनि मरिसकेको देखिन्छ । पार्टी दिशाविहीन र मति बिग्रेका मानिसको निर्लज्ज स्वार्थी झुण्डका रूपमा देखापरेको छ । नेतृत्वको यो सबभन्दा ठूलो राजनीतिक दुर्दशा हो । नेपाली कांग्रेस र सत्तारुढ पूर्वनेकपामा नेतृत्वबाट निस्केको विषाक्त झोलले सारा राजनीतिक तथा सामाजिक सेरोफेरो नै दूषित हुन पुगेको छ ।
राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन लिँदा चार दलीय सरकारको नेतृत्व स्वयं देउवाको काँधमा थियो । मेलम्ची खानेपानी आयोजनाको प्रवेशमार्ग ठेक्कामा ६२ करोड रुपियाँको भ्रष्टाचार विवादमा उहाँ प्रत्यक्ष मुछिनुभएको थियो । पछिल्लो कालखण्डमा आउँदा, एयरबसका एक जोडी वाइडबडी जेट विमान खरिदमा भएको चार अर्ब ५६ करोड ३४ लाख कमिसन काण्डको सनासो बोकेर बसेका प्रधानमन्त्री ओलीले अख्तियारको पासो देखाएर सभापति देउवालाई आफ्नो लगाममा हिँडाइरहनु भएको छ । २०७४ को स्थानीय निर्वाचनमा प्रचण्डकी छोरीलाई भरतपुर महानगरपालिकाको मेयरमा जिताउन कांग्रेसको मञ्चबाट होइन, माओवादी झण्डाहरूको छायाँमुनि, आमसभाको मञ्चमा बसेर देउवाले माओवादीलाई भोट मागिदिनुभयो । कांग्रेस सभापति बसेको त्यो मञ्चमा आफ्नो पार्टीको एउटा झण्डा पनि त्यहाँ राखिएन ।
शेरबहादुर देउवा चारपटक (२०५२, २०५८, २०५९ र २०७४) प्रधानमन्त्री हुनुभयो । पहिलो प्रधानमन्त्रित्वकाल अत्यन्त विवादास्पद यस मानेमा भयो कि संसदीय व्यवस्था खराब हो भन्नलाई उदाहरण खोजिरहको त्यो बेला उदाउँदो माओवादीका लागि घतलाग्दो उदाहरणको प्रतीक देउवा नै बनिदिनुभयो । दोस्रो कार्यकालमा मध्यावधि निर्वाचनको घोषणा गर्नुभएका उहाँ सर्वदलीय निर्णयका आधारमा घोषित मितिमा चुनाव नहुने भनी बाधा अड्काउ फुकाउ आदेशको सिफारिस लिएर दरबार जानुभएको थियो ।
बुझिने गरी बोल्न नसक्ने, जनताको हित हुने काम गर्नै नजान्ने, पार्टीको मर्यादा राख्न नचाहने, लोकतन्त्रलाई जनउत्तरदायी प्रणाली बनाउन नसोच्ने, केवल सातपटक प्रधानमन्त्री हुने रेकर्ड बनाउने ध्याउन्न भएका पात्रलाई प्रधानमन्त्रीको रूपमा सिंगार्न के हेरेर रोजियो होला ?
सबैजसो जिल्लाबाट यो आक्रोश र गुनासो आइरहेको छ– नेपाली कांग्रेसको संस्थापन वा प्रतिपक्ष दुवैले परिस्थितिबाट शिक्षा र चेतना लिन नसक्नु भयानक समस्या हो । जनपरिचालन हुने ठोस कार्यक्रम ल्याउन नसक्नु, सरसल्लाह र सहमतिले काम गर्ने संस्कार तथा परम्परा मास्दै जानु, हचुवाको भरमा काम गर्ने परिपाटी बसाल्नु, कोठे झुण्डको अल्पबुद्धिको सिकार हुनु नै सभापति शेरबहादुर देउवाको विशेषता बन्न पुगेको छ । यसबारे संस्थापन पक्षकै कतिपय कार्यकर्ताको गुनासो सुनिन्छ– देउवा दाइको किचेन क्याबिनेटमा एक हुल खाउवीर, लठैत, लम्पट, सत्तापक्षका तावेदार, नातागोता र दृष्टिकोणविहीन तथा विवेकविहीन रित्ता मानिस छन्, तिनकै घेरामा गलत सूचना र डेढअक्कली विश्लेषण सुनेर देउवा दाइ निर्णय गर्नुहुन्छ । ‘जिउ भारी बुद्धि डाँडापारि’ को अवस्थाले पार्टी कहाँ जुझारु बन्न सक्छ ?
सभापति देउवा र रामचन्द्र पौडेलको दिमागमा त प्रधानमन्त्री र पार्टी सभापतिको कुर्सीबाहेक अरू कुनै सोच छँदै छैन । यही लोभ र र्याल कडाइले गर्दा भारतले नेपालमाथि ५ महिनासम्म नाकाबन्दी गरिदिँदा पनि त्यसलाई उनीहरूले नाकाबन्दी भन्न सकेका थिएनन् भने यी कति पराधीन र परमुखापेक्षी भइसकेका होलान् ! नेताहरूको निहित स्वार्थका दुई रूप देखिन्छ– १) नेतृत्वको नालायकीलाई कार्यकर्तासमक्ष छल्नु र २) आगामी महाधिवेशनमा आफ्नो पोजिसन बलियो बनाउनु ।
गणतन्त्रको अचानोमा कांग्रेसलाई बली चढाउने कम्युनिस्ट ब्यूह रचना जागृत छ । सत्तापक्ष चटके र प्रतिपक्ष रमिते भएको अवस्था छ । ‘शेर’ ‘शेखर’ ‘राम’ ‘प्रकाश’ आदिलाई उचालेर पछार्ने षड्यन्त्र टड्कारै देखिन्छ । तर सरोकारवालामा न कुनै संवेदनशीलता छ न त पार्टी संगठन सशक्त र जीवन्त बनाऔँ भन्ने अठोट र अडान नै । सत्तापक्षबाट अलोकतान्त्रिक गुप्त गतिविधि, मनपरि र अपारदर्शी निर्णय भइरहँदा यता लोकतान्त्रिक पक्षमा कुनै संवेदनशीलता नदेखिनु र प्रधानमन्त्रीको कुर्सीमात्र देख्नु लोकतन्त्रको भवितव्य, अराजकता र अनिश्चितताको द्योतक हो ।
चौधौँ महाधिवेशन गर्नुपर्ने लोकतन्त्रको अगुवा शक्ति कांग्रेसको वर्तमान चरित्र पैतृक सम्पत्तिको अंशका रूपमा हात परेको, बजार साँघुरिएको र यथास्थितिमा चलेको पुरानो कम्पनी जस्तो मात्र हुँदैछ जहाँ देउवा र पौडेल मुख्य सेयर होल्डर छन् । उनीहरू आ–आफ्ना भागको लाभांश मात्र हिसाब गर्छन् तर कम्पनीको बजार विस्तारका लागि सिन्को पनि भाँच्न नचाहँने/नसक्ने साहूझैँ लाग्छन् । आगामी भदौभित्रमा जसरी पनि महाधिवेशन गर्नैपर्छ । प्रतिष्ठित लोकतान्त्रिक पार्टी लोकतन्त्रका यी दिनमा घिसिपिटी चलेको बिजनेस कम्पनीमा रूपान्तरण हुनु लोकतान्त्रिक आन्दोलनका लागि कति स्वागतयोग्य होला, त्यो त जिम्मेवारहरूले नै जान्ने कुरा हो ।
आफ्नो कार्यकालमा कांग्रेस सभापति देउवा पार्टीबाहिरका अनेक अदृश्य र तिलश्मी दबाब, लोभ–लालच र अनिवार्यताको विवश बन्दी बन्नुभएकै हो । प्रतिपक्षी दलका नेता भएर पनि आफ्नो थान्को र मर्यादामा नबसेर, जापानका लागि नेपाली राजदूतमा आफ्नी सासू तर राप्रपाकी नेतृलाई त्यहीँ थमाउन, निर्वाचन आयोगको रिक्त आयुक्त नियुक्त गराउन, नेपाल वायुसेवा निगमका दुईटा वाइडबडी जेट विमान खरिदमा आफ्नो संलग्नता लुकाउन आदि अनेक कारणले सत्तातिर देखाएको अवाञ्छित आशक्तिले गर्दा उहाँमाथिको भरोसाहीनता वा अविश्वास झनै गाढा भयो । नेपाली कांग्रेसलाई उहाँले जुन नियत र मनोवृत्तिले फुटाउनुभएको थियो, आज कांग्रेसको नेतृत्वमा पनि त्यही नियत र मनावृत्तिले काम गरिरहेको छ ।
यस्ता अनगिन्ती आपत्तिजनक कार्यशैलीका कारण देउवाले अब फेरि सभापति हुने योग्यता र औचित्य गुमाइसक्नुभएको छ । उहाँका प्रति हिजोको उत्साह पनि आज निराशामा परिणत हुँदै गएको छ । पार्टी सभापति पद, सारा कार्यकर्ताका लागि निष्पक्ष न्यायमूर्ति र भजाउन नहुने सम्पत्ति हुनुपर्ने हो । तर उहाँले गुटबन्दी र भागबन्डालाई संस्थागत गर्न, एउटा गुटमा सीमित रहन र ‘कोठेशक्ति र ओठेभक्ति’ मै रमाउन खोजेको प्रष्टै भयो । त्यो नै पार्टीले बेहोर्न नसक्ने महँगो चेष्टा भइरहेको छ । लोकतन्त्रको सबभन्दा जेठो, ठूलो र अगुवा शक्ति मानिएको कांग्रेसमा शक्ति सञ्चय बढेर आयो भनेमात्र अन्य लोकतान्त्रिक शक्तिहरूको अस्तित्वको अर्थ हुनेछ । सकारात्मक भएर आशा गरौँ ।
प्रकाशित: १२ चैत्र २०७७ ०५:१५ बिहीबार