१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

आरएसएस र नेपाल–भारत सम्बन्ध

सबैलाई थाहा भएकै कुरा हो– अहिले भारतमा कट्टर हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघबाट निसृत भारतीय जनता पार्टीका प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले आफ्नो दोस्रो कार्यकाल पूरा गर्दैछ। यो संघको स्थापना सन् १९२५ मा केशवराव बलिराम हेडगेवारले नागपुरमा स्थापना गरेका थिए । उनी संघको पहिलो प्रमुख अर्थात सरसंघचालक भए । पचास हजार भन्दा बढी शाखा भएको यस संगठनलाई विश्वको सबैभन्दा ठूलो स्वयंसेवी संगठनका रूपमा पनि लिइन्छ।  

नेपालमा आरएसएस विश्वहिन्दु स्वयंसेवक संघ (एचएसएस) को नामले आक्रामकरूपले काम गरिरहेको छ । यस अतिरिक्त पशुपति शिक्षा मन्दिर, वनवासी कल्याण आश्रम, विश्व हिन्दु परिषद् आदि अनेकौँ नामले समाजका विभिन्न क्षेत्रमा कार्य विस्तार गरिरहेको छ।

भारत कहिल्यै पनि नेपालमा स्थिर सरकार होस् भन्ने चाहँदैन भने नेपालका नेताहरू उसको गोटी बनेर काम गरिरहेका छन्।

इतिहासमा नेपाल र आरएसएस अनि नेपालको सम्बन्धबारे अध्ययन गर्दा सन् १९६२ को भारत–चीन युद्धलगत्तै आरएसएसका दोस्रा प्रमुख र आरएसएसका प्रमुख चिन्तक माधव सदाशिवराव गोलवलकर (गुरुजी) ले २६ फेब्रुअरी सन् १९६३ मा  महाशिवरात्रिको अवसर पारेर नेपाल भ्रमण गरेका थिए। अहिले पनि आरएसएस गुरुजीकै विचारबाट सञ्चालित छ।

पशुपति दर्शनलगत्तै उनले राजा महेन्द्रसँग नेपाल–भारत सम्बन्धबारे विस्तृत कुराकानी गरेका थिए। एक घण्टालामो वार्तामा राजा महेन्द्रले गुरुजीलाई भने– नेपाल आर्थिक र शिक्षाको दृष्टिकोणबाट पछिपरेको छ। नेपालका वामपन्थीहरूले भारतमा आश्रय लिएर नेपालमा उपद्रो मच्चाइराखेका छन्। धार्मिक र सांस्कृतिक एकताका कारण नेपाल र भारतबीच स्वाभाविक अपनत्वको सम्बन्ध छ। वामपन्थी हाम्रो धार्मिक श्रद्धाका कट्टर विरोधी हुन् । नेपालको उत्तरी सीमा चीनसँग जोडिएको हुनाले चीनसँग अत्यन्त सतर्कताका साथ सम्बन्ध राख्नुपर्ने हुन्छ । 

नेपालले कोलकाता बन्दरगाह हुँदै विदेशबाट सामान झिकाउन भारतसँग अनुमति मागेको थियो। तर भारतले त्यो अनुमति नदिएको हुनाले बाध्य भएर पूर्वी पाकिस्तान (हाल बंगलादेश) को चिटगाउँ बन्दरगाहबाट सामान ल्याउने अनुमति माग्नुपर्‍यो र पाकिस्तानले विनासंकोच त्यो अनुमति दियो। मलाई लाग्छ, पण्डित नेहरुलाई हिन्दु–राष्ट्र (नेपाल) असहनीय छ। यस्तो लाग्छ, पण्डित नेहरुलाई कसैले नेपालको बारेमा नचाहिँदो भ्रममा पारेको छ। मलाई लाग्छ, भारतको विदेश–नीति नेपालअनुकूल छैन। नेपालप्रति भारतको दृष्टिकोण पूर्वाग्रहले गर्दा दूषित भएको छ। यो परिवर्तित हुन सक्योभने नेपाल–भारत सम्बन्ध राम्रो हुनेछ। उक्त वार्तामा प्रधानमन्त्री डा. तुलसी गिरी पनि उपस्थित थिए।

राजा महेन्द्रको कुरा सुनेर गुरुजीले १ मार्च १९६३ मा नेपाल भ्रमण गर्न लागेका गृहमन्त्री लालबहादुर शास्त्रीलाई एक चिठी लेख्दै भने– नेपालप्रति भारतद्वारा हुने व्यवहारमा सुधार गरी, उचित सम्मान दिएर नेपालसँग राम्रो सम्बन्ध स्थापित हुनेछ। र, नेपालको आर्थिक, शैक्षणिक क्षेत्रमा नेपालको आवश्यकता बुझेर सहयोग गर्नुपर्छ । किनकि नेपाल–भारत दुवैको हित एकापसमा जोडिएको छ । नेपालसँग निष्कपट सम्बन्ध स्थापित गर्नुपर्छ । यसका लागि भारतीय दूतावासमा नेपालमैत्री अधिकारीको नियुक्ति आवश्यक छ।

साथै गुरुजीले प्रधानमन्त्री पण्डित नेहरुलाईपनि २७ फेब्रुअरी १९६३ मा आफ्नो नेपाल भ्रमणबारे चिठी लेख्दै भने– नेपालसँग सम्बन्ध सुधारका लागि नेपालप्रति भारतको नीतिमा परिणाम दिने परिवर्तन गर्नु आवश्यक छ। भारतले नेपालप्रति आफ्नो नीति निर्माण गर्दा नेपाललाई विश्वासमा लिनुपर्छ । नेपालको सार्वभौमसत्ता सम्पन्न स्वतन्त्रराष्ट्रको प्रतिष्ठालाई सम्मान गर्नुपर्छ । नेपालमा अनावश्यक राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्छ ।

५८ वर्षअघि आरएसएस प्रमुखले नेपाल–भारत सम्बन्धबारे गरेको विश्लेषण आजपनि त्यत्तिकै समसामयिक छ । अहिले भारतको केन्द्रीय सरकारमा आरएसएस (बिजेपी) आफ्नो दोस्रो कार्यकालमा छ। अहिले के आरएसएस (बिजेपी) ले आफ्ना अग्रजले नेपाल–भारत सम्बन्धबारे आफैँले नेपाल–भारत सम्बन्ध सुधारका लागि पण्डित नेहरूलाई दिएको सुझाव कार्यान्वयन गरेको छ त ? अवश्यपनि छैन। गुरुजीले सन् १९६३ मा नेपाल भ्रमण गरेपश्चात नेपालमाथि भारतले तीन–तीनपटक (वि. सं. २०२७, २०४५ र २०७२ मा) आर्थिक नाकाबन्दी लगायो भने एकपटक काठमाडौँबाट उडेको इन्डियन एयरलाइन्सको हवाईजहाज भारतीय नागरिकले नै अपहरण गरी अफगानिस्तानको कान्दाहार पुर्‍याएको निहुँमा २०५६ पुस १० देखि २०५७ असोज १५ सम्म नेपालमा हवाई उडानसमेत नभरी भारतले नेपालमाथि हवाई नाकाबन्दीसमेत गरेको थियो ।  

नेपाल–भारत सीमाको सैकडौँ ठाउँमा नेपाली भूमि कब्जा गरिबसेको छ। यस्तै कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताको सैकडौँ हेक्टर जमिनमा अवैध कब्जा जमाएर बसेको छ। मुलुकमा अहिले अस्थिर राजनीति निम्तनुमा भारतकै प्रत्यक्ष वा परोक्ष संलग्नता छ भनिन्छ । किनभने भारत कहिले पनि नेपालमा स्थिर सरकार होस् भन्ने चाहँदैन र नेपालका नेताहरू उसको गोटी बनेर काम गरिरहेका छन् । दुवै देशका प्रधानमन्त्रीद्वारा नियुक्त गरिएका नेपाल–भारत प्रबुद्ध समूहद्वारा नेपाल–भारत सम्बन्ध सुधारका लागि तयार पारिएको प्रतिवेदन तीन वर्ष हुन लाग्दासमेत प्रधानमन्त्री मोदी त्यसलाई बुझ्न तयार भएका छैनन्।

सन् १९६३ मा आफू भारतीय जनसंघको नाममा विपक्षी दलका रूपमा लोकसभामा जम्मा १४ सिट रहेका बेला नेपाल सरकार र नेपाली जनताको मर्म र भावनालाई बुझी सोहीअनुसार सत्ताधारी भारतीय राष्ट्रिय काँग्रेसका प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूलाई नेपाल–भारत सम्बन्ध सुधारका लागि ठोस सुझाव दिने आरएसएस (बिजेपी) अहिले आफू दुईतिहाइ बहुमतको दोस्रो कार्यकालका लागि सत्तारूढ भएका बेला नेपाल–भारत सम्बन्ध किन सुमधुर हुन सकेको छैन ? प्रधानमन्त्री मोदी आरएसएसका प्रचारक (पूर्णकालीन कार्यकर्ता) रहिसकेका व्यक्तित्व हुन् । आशा गरौँ, प्रधानमन्त्री मोदी आफ्ना अग्रज, आरएसएसका पूर्वप्रमुख विचारक, चिन्तक गुरुजीले नेपाल–भारत सम्बन्ध सुधारका लागि देखाएको बाटोमा हिँड्ने छन् । नेपाल–भारत दुवै देशका जनताको भलाइका लागि सम्बन्ध उत्कृष्ट बनाउने छन् । यो उनको कर्तव्य पनि हो। भारतले नेपालमा प्रभाव विस्तार गरेर मात्र दुई छिमेकीबीच सम्बन्ध सुदृढ हुँदैन।

प्रकाशित: १२ चैत्र २०७७ ०४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App