परिवर्तन प्रकृतिको शाश्वत नियम हो । तसर्थ परिवर्तनलाई सबैले स्वीकार्नुको विकल्प छैन । फरक यति हो कि परिवर्तनलाई ल्याउने प्रतिकूल असरबाट प्रभावित हुन थालेपछि बाध्य भएर त्यसलाई स्वीकार्ने कि योजनाबद्ध ढंगमा रणनीतिकतवरले परिवर्तनलाई व्यवस्थापन गर्ने । निश्चय नै दोस्रो उपाय प्रभावकारी ठहरिन्छ । परिवर्तन व्यवस्थापन व्यक्ति, संगठन, समाज, राष्ट्र, विश्व सम्पूर्ण पक्षहरूका लागि नै अति आवश्यक छ । व्यक्तिको शारीरिक परिवर्तनसँगै उसका क्रियाकलाप, इच्छा, आवश्यकता, व्यवहारसमेत परिवर्तन हुँदै जान्छन् । तसर्थ सोही परिवर्तनअनुरूप आफूलाई ढाल्दै लैजानुपर्छ । अन्यथा भविष्यमा सफल हुन कठिन हुन्छ । त्यस्तै, राष्ट्रले पनि अन्तर्राष्ट्रिय अभ्यास, जनताको इच्छा, आकांक्षाबमोजिम परिवर्तनशील हुनु आवश्यक हुन्छ । तसर्थ, परिवर्तनलाई आत्मसात् गर्नु जो कसैको पनि बाध्यता हो भने परिवर्तनलाई रणननीतिक ढंगले व्यवस्थापन गरेर अगाडि बढ्नु वुद्धिमत्ता मानिन्छ । अतः परिवर्तनले ल्याउने भावी असरहरूलाई वर्तमानमा नै अनुमान गरेर त्यसअनुरूप आफूलाई भविष्यका लागि तयार गर्ने प्रक्रिया नै परिवर्तन व्यवस्थापन हो ।
परिवर्तनले ल्याउने भावी असरहरूलाई वर्तमानमा नै अनुमान गरेर त्यसअनुरूप आफूलाई भविष्यका लागि तयार गर्ने प्रक्रिया नै परिवर्तन व्यवस्थापन हो ।
विश्व आर्थिक परिवेश अत्यन्त परिवर्तनशील छ । यसमा भएका परिवर्तनहरूलाई संगठनले पनि आत्मसात गरेर अगाडि बढ्नु अति आवश्यक छ । अन्यथा संस्था असफल हुने सम्भावना तीव्र हुन्छ । जस्तो कि विश्वमा उदारीकरणको लहर अगाडि बढेपछि नेपालमा पनि आर्थिक तथा वित्तीय उदारीकरणको सुरुवात भयो । निजी र संयुक्त लगानीका बैंक खुल्न थाले । त्यस्तै सन् २००८ को आर्थिक वित्तीय संकटपछाडि अन्तर्राष्ट्रिय बैंक वित्तीय संस्थाहरूलगायत वासल कमिटीले बैंकिङ सुपरीवेक्षणका नयाँ विधिहरू प्रयोगमा ल्याउन थाल्यो । ती विधिलाई नेपालमा समेत क्रमशः प्रयोग गरिँदैछ । यो कुरा वस्तु, सेवा र अन्य बैंकिङ प्रडक्टहरूको आविष्कार र नेपालमा तिनको क्रमिक अवलम्बन जस्ता कुराले प्रष्ट पार्छ । विश्वव्यापीरूपमा आएको घर जग्गा संकटबाट पाठ सिकेर नेपालले पनि घर/जग्गा कारोबारमा निगरानी कडाइ गरेका कारण आज बैंकिङ क्षेत्रमा स्थायित्व कायम गर्न सम्भव भएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय आर्थिक वृद्धि दर, मुद्रास्फीति दर, क्षेत्रीय अर्थतन्त्रहरूको अवस्था, युरो क्षेत्रको संकट, औद्योगिकीकरण र हाल आएर कोभिड–१९ आदिले सम्पूर्ण विश्वकै अर्थतन्त्रहरूमा प्रभाव पारेको छ । यस्ता विश्व आर्थिक परिवर्तनहरूलाई व्यक्ति तथा संस्थाले बेलैमा बुझेर आवश्यक कदम चाल्नुपर्छ ।
संगठन सञ्चालन हुने कानुनी संरचनामा परिवर्तन आयो भने त्यसले पनि संंगठनका उद्देश्य, क्रियाकलापमा प्रभाव पार्छ । तसर्थ यस्ता कानुनी पक्षमा हुने र भएका परिवर्तनलाई यथासमयमै विश्लेषण गरी त्यसअनुकूल हुने गरी आफ्ना क्रियाकलाप निर्देशित गर्नु सम्बन्धित संस्थाको बुद्धिमानी हुनेछ । कर्मचारी, स्वास्थ्य, सुरक्षा, वातावरणसम्बन्धी ऐन, नियम, वस्तु तथा सेवासम्बन्धी ऐन, नियम, सञ्चारसँग सम्बन्धित ऐन/नियम आदि र संगठनसँग सम्बन्धित अन्य विभिन्न ऐन/नियममा आएका परिवर्तनहरूको विश्लेषण र पालना गर्नु जरुरी हुन्छ । बैंकिङ वित्तीय संस्थाहरूले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, कम्पनी ऐन, सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा सुपरीवेक्षकीय निकायले दिएका निर्देशनहरूमा भएका परिवर्तनहरूलाई हरदम अध्ययन, विश्लेषण र पालना गर्नुपर्ने हुन्छ । अन्यथा संस्थाले कारबाहीको भागी हुनुपर्छ । अर्को कुरा संस्थाको व्यवसाय नै असुरक्षित हुने पनि हुन्छ । यसका लागि पनि परिवर्तन व्यवस्थापन आवश्यक छ ।
संगठनको कार्यसम्पादनमा सुधार ल्याउन पनि विभिन्न प्रकारका परिवर्तनलाई आत्मसात गर्नुपर्ने हुन्छ । प्रतिस्पर्धीहरूका विजय रणनीतिहरू के के हुन् ? बजारमा आएको उपभोक्ताको रुचि, वस्तुको मूल्य परिवर्तन, नयाँ वस्तु तथा सेवाको आगमन आदि परिवर्तनलाई विश्लेषण गरी आफ्नो कार्यसम्पादन सुधार गर्न पनि परिवर्तन व्यवस्थापनको महत्वपूर्ण भूमिका हुन्छ । कर्मचारीहरूलाई प्रशिक्षण दिएर, उनीहरूलाई परिवर्तनको आवश्यकता बोध गराएर, प्रोत्साहन दिएर, ठीक व्यक्तिलाई ठीक ठाउँमा नियुक्त गरेर कार्यसम्पादन सुधार गर्न सकिन्छ ।
परिवर्तन भन्न भन्दा गर्न धेरै कठिन कुरा हो । यो त्यति रुचिकर पनि हुँदैन । गरिरहेको र आदत भइरहेको प्रणालीमा परिवर्तन गर्नुपर्दा एउटा तरंग नै आउँछ ।
विश्वमा आज प्रविधिको तीव्र परिवर्तन भइरहेको छ । हातले धेरै समय लगाएर गर्नुपर्ने काम कम्प्युटर र मेसिनले सजिलै र छिटै गर्न सकिने भएको छ । सञ्चारको जगत्मा अभूतपूर्व विकास भएको छ । सूचना प्रविधिको विकासले संस्थालाई सकारात्मक र नकारात्मक दुवै किसिमका प्रतिफलहरू दिएको छ । प्रविधि परिवर्तनले ल्याएका अवसरहरूको भरपुर उपयोग गर्दै यसले सिर्जना गरेका परिवर्तनका दबाबलाई व्यवस्थापन गर्नु आजका संगठनहरूका लागि अत्यन्त जरुरी छ । जस्तो कि उदाहरणका लागि मेसिन र कम्प्युटरले धेरै काम गरिदिएपछि जनशक्तिको व्यवस्थापन चुनौतीपूर्ण हुन सक्छ ।
सञ्चारको तीव्र विकासले गर्दा आज उपयुक्त ठहरिएको वस्तु तथा सेवा भोलि नै बजारबाट आउटडेट भइसक्छ । बजार सम्वेदनशील हुन्छ । प्रत्येक वस्तुको मूल्य सबैलाई थाहा हुन्छ । प्रतिस्पर्धा बढ्छ । बैंक वित्तीय संस्थाहरूमा एटिएम कार्ड, क्रेडिट कार्डलगायत अन्य प्रविधिजन्य ठगीका घटनाहरू पनि बढ्ने सम्भावना हुन्छ । अतः यस्ता प्रविधिजन्य परिवर्तनहरूलाई व्यवस्थापन गर्दै अगाडि बढेमा मात्र संगठन सफलताको मार्गमा अगाडि बढ्न सक्छ ।
परिवर्तन व्यवस्थापनलाई ध्यानमा राखेर संस्था अगाडि बढ्यो भने प्रत्येक किसिमका जोखिमहरूलाई न्यूनीकरण गर्न सकिन्छ । उदाहरणका लागि बैंक वित्तीय संस्थाहरूले सुपरीवेक्षकीय निकायको निर्देशनमा भएका परिवर्तनहरूलाई प्रभावकारीरूपमा परिपालना गर्दै अगाडि बढे भने उनीहरूको व्यवसाय निरन्तर र सुरक्षितरूपमा अगाडि बढ्छ । त्यस्तै, प्राविधिक परिवर्तनहरूलाई ध्यानमा राख्यो भने प्राविधिक कारणले हुने क्षति, काममा ढिलाइ हुँदैन । प्रतिस्पर्धामा खरो उत्रन सहज हुन्छ ।
परिवर्तन व्यवस्थापनबाट संस्थाले विभिन्न किसिमका अवसर प्राप्त गर्न सक्छ । जस्तो कि विश्वव्यापीकरणको उदयका कारण आफ्ना वस्तु तथा सेवाले विश्व बजारमा स्थान पाउनु, प्रविधिको परिवर्तनलाई आत्मसात गर्न सक्नाले वस्तु प्रतिस्पर्धी (मूल्य र गुणस्तरका दृष्टिले) हुनु, समयमा सामान उपलब्ध गराउन सक्षम हुनु, कर्मचारीजन्य परिवर्तनलाई बुझ्नाले उनीहरूको सहयोगी भाव हुनु, उपभोक्ताको रुचिमा हुने परिवर्तनको सही विश्लेषण गर्न सक्नाले वस्तुको माग बिक्री बढ्नु, नियामक निकायको निर्देशन पालनाले व्यवसाय सुरक्षित हुनुका साथै ख्यातिमा अभिवृद्धि हुनु आदि सकारात्मक अवसरहरूको अभिवृद्धिका उदाहरण हुन । अतः संस्थामा परिवर्तन व्यवस्थापनले चुनौतीको दबाब मात्र ल्याउँदैन, बल्की सकारात्मक अवसरहरू अभिवृद्धिसमेत गर्छ ।
जुन संस्थाले परिवर्तन व्यवस्थापनलाई अहम् महत्व दिई संगठनलाई अगाडि बढाएको छ, उसले कर्मचारी पलायन हुनबाट जोगाइरहेको हुन्छ । कर्मचारी अर्थात् जनशक्ति संस्थाको मूल्यवान पुँजी हो । संस्थामा उपयुक्त कार्य वातावरण, आर्थिक र गैरआर्थिक प्रोत्साहन पाएन भने ऊ संस्था छाडेर अन्य संस्थामा जान सक्छ । यस्तो अवस्थामा संस्थालाई ठूलो घाटा हुने हुन्छ । अतः अन्य संस्थामा भएका कर्मचारीजन्य अभ्यासमा भएका परिवर्तनहरू आफू जस्तै अन्य संस्थामा लागू भएको तलव प्रणाली, त्यसमा गरिने समसामयिक परिवर्तन, कर्मचारीहरूको मनोबल उकास्न गरिएका परिवर्तनहरू, ठीक ठाउँमा ठीक व्यक्ति राख्न गरिएका अभ्यासहरू, कर्मचारीको योग्यता, जेष्ठता, कार्यसम्पादन आदि सम्पूर्ण कुराहरूमा भएका परिवर्तनहरूको निरन्तर विश्लेषण र सोहीअनुरूप कर्मचारीहरूको सेवा/सुविधामा परिवर्तन गरेमा कर्मचारी पलायन रोक्न सम्भव हुन्छ । अतः परिवर्तन व्यवस्थापन कर्मचारी व्यवस्थापनमा पनि लागू हुन्छ ।
वित्तीय क्षेत्र स्थायित्व कायम गर्नका लागि एउटा बैंकिङ वित्तीय संस्थाले आफ्नोतर्फबाट निर्वाह गर्ने भूमिका पनि परिवर्तन व्यवस्थापनमा नै आधारित छ । जुन बैंक वित्तीय संस्थाले आर्थिक, प्राविधिक, सामाजिक, कानुनी परिवर्तनहरूलाई आत्मसात गरेका छन् र नियमनकारी निकायका निर्देशन एवं प्रचलित अन्तर्राष्ट्रिय अभ्यासहरूमा हुने परिवर्तनहरूलाई हुबहु अपनाएका छन्, तिनले वित्तीय क्षेत्र स्थायित्वमा ठूलो योगदान दिन सक्छन् । एउटा संस्था आफूमा सफल, नैतिक र स्थायी भयो भने त्यसले सम्पूर्ण वित्तीय प्रणालीलाई नै स्थायी बनाउन सहयोग पु¥याउँछ ।
यसरी परिवर्तन व्यवस्थापनबाट विभिन्न किसिमका अवसर प्राप्त गर्न र चुनौतीहरूको सामना गरी भावी उद्देश्य प्राप्तिमा सफलता हासिल गर्न सहयोग पुग्ने हुनाले आज व्यक्ति, संस्था, संगठन, समाज, राष्ट्र र विश्वलाई नै परिवर्तन व्यवस्थापन आवश्यक छ । यस सम्बन्धमा परिवर्तन व्यवस्थापन पेस्टल एनालाइसिस फ्रेमवर्कको अत्यन्त सान्दर्भिकता र महत्व रहेको पाइन्छ । यो प्रेमवर्कले संगठन सञ्चालन हुने विभिन्न वातावरणीय तत्व, जस्तै– आर्थिक, प्राविधिक, राजनीतिक, सामाजिक, कानुनी, वातारवरण संरक्षण तथा संस्थागत सामाजिक उत्तरदायित्व आदि जस्ता तत्वमा हुने परिवर्तनको प्रभावकारी व्यवस्थापनले मात्र संस्था सफलतापूर्वक सञ्चालन हुन सक्छ भन्ने मान्यता राख्छ ।
परिवर्तन व्यवस्थापनको अवरोध
परिवर्तन भन्न भन्दा गर्न धेरै कठिन कुरा हो । यो त्यति रुचिकर पनि हुँदैन । गरिरहेको र आदत भइरहेको प्रणालीमा परिवर्तन गर्नुपर्दा एउटा तरंग नै आउँछ । यो कष्टसाध्य, लागत र समययुक्त पनि हुन्छ । यसकारण परिवर्तनलाई आत्मसात गर्दा विभिन्न बाधा/विरोध र अवरोधहरू सामना गर्नुपर्छ । यस्ता बाधा/विरोध र अवरोधहरू कर्मचारी, सरोकारवाला र अन्य पक्षबाट समेत हुन सक्छ । यस्ता अवरोधलाई व्यवस्थापन गर्नका लागि देहायका तत्वमा विशेष ध्यान पुर्याउनु आवश्यक हुन्छ ।
संगठनमा नयाँ नेतृत्व आउन सक्ने, जागिर परिवर्तन हुने, नयाँ दक्षता, क्षमता विकास गर्नुपर्ने सम्भावना हुनाले कर्मचारीहरूले यसको विरोध गर्ने गर्छन् । तसर्थ परिवर्तनका सरोकारवालाहरू सबैलाई परिवर्तनको आवश्यकता, महत्वबोध, त्यसको क्रमबद्ध र वैज्ञानिक योजना, डिजाइन र रणनीति प्रणाली, प्रक्रियाको बारेमा जानकारी दिने, सचेत बनाउने र परिवर्तनका कारण उनीहरूको जागीर धरापमा पर्ने होइन, बल्की अझ बढी सहजता र शीघ्रता कायम हुने भनी विश्वास दिलाउनुपर्छ ।
संगठनका प्रत्येक तह, तप्का र व्यक्तिमा परिवर्तन लागु हुने भए तापनि परिवर्तन व्यवस्थापन माथिल्लो तहबाट सुरु गनुपर्छ । संगठनमा कुनै नौलो परिवर्तन आउन लागेको छ वा कुनै नयाँ नीति लागु गर्न लागिएको छ भने सबै कर्मचारीको आँखा त्यस संस्थाको प्रमुखमाथि हुन्छ । उक्त परिवर्तनका लागि आवश्यक सहयोग, दिशा निर्देश र सबलता अभिवृद्धिका लागि उनीहरूले संस्था प्रमुखबाट आशा गर्छन् । तसर्थ संस्थामा ल्याउन लागेको परिवर्तनको बारेमा सर्वप्रथम संस्था प्रमुख, नेतृत्व समूहले बुझ्नु, चुनौती लिनुपर्छ । यसपछि मात्र त्यसको कार्यान्वयन गर्न तल्लो तहलाई प्रयोग गर्नुपर्छ ।
संस्थामा ल्याइने परिवर्तन प्रक्रियाले योजना, रणनीति निर्माण, लक्ष्य निर्धारण, कार्यान्वयन प्रक्रियालाई समावेश गरेको हुन्छ । यस प्रक्रियामा संस्थाका प्रत्येक तह र तप्काका कर्मचारीको सहयोग, लगनशीलता र धैर्य आवश्यक हुन्छ । तसर्थ परिवर्तन प्रक्रिया, यसको आवश्यकता र अपेक्षित परिणामबारे सबै तहका कर्मचारीलाई जानकारी दिनुपर्छ ।
परिवर्तन भन्ने कुरा संगठनमा अनौपचारिक, व्यक्तिगत प्रयासबाट मात्र सम्भव हुँदैन । यसका लागि योजना, रणनीति, उद्देश्य निर्धारण, कार्ययोजना, कार्यान्वयन, मूल्यांकन, तालिम, शिक्षा आदि आवश्यक पर्छ । तसर्थ लिखितरूपमा रणनीति, उद्देश्य निर्धारण गरी सोहीबमोजिम सम्पूर्ण कर्मचारीको प्रयासलाई निर्देशित गर्नुपर्छ ।
जसले परिवर्तन ल्याउन खोजेको हो उसमा त्यसप्रति स्वामित्वको भावना सिर्जना गरिनुपर्छ । स्वामित्वको भाव भएपछि मात्र व्यक्ति तथा समूहले परिवर्तनको आवश्यकता, कार्यान्वयन, डिजाइन, कार्यान्वयनमा आइपर्न सक्ने समस्या, त्यसको समाधानका उपायहरू पत्ता लगाइ वास्तविकरूपमा परिवर्तनलाई मूर्त रूप दिनसक्छ । एउटा प्रभावकारी परिवर्तन कार्यक्रमअन्तर्गत संगठनका नेताले संगठनका सबै तहका कर्मचारीहरूमा परिवर्तनको आवश्यकता, कार्यक्रम, डिजाइन, उद्देश्य र आसन्न समस्या समाधानका उपाय आदिबारे ठीक समयमा ठीक तरिकाले सूचना सञ्चार गर्नुपर्छ । कर्मचारीलाई थप तालिम, शिक्षा, अन्तरक्रिया, व्यक्तिगत परामर्श आदिको माध्यमबाट समेत सञ्चार गरिनुपर्छ ।
संगठनमा परिवर्तन कार्यक्रम लागु गर्नु भन्दा अघि र लागु गरिसकेपछि कर्मचारीहरूको त्यसप्रतिको धारणा, भावना, मूल्य, मान्यता, प्रतिक्रिया, चाख, विरोध, अवरोध, व्यवहार, विश्वास, आदिको विश्लेषण र मूल्यांकन गर्नुपर्छ । परिवर्तन कार्यक्रम लागु गर्नुभन्दा अगाडि गरिएको यस्तो मूल्यांकनले उनीहरूलाई कुनरूपमा परिवर्तन व्यवस्थापनमा समाहित गर्ने भन्ने कार्यमा सहजता मिल्छ भने परिवर्तनपश्चातको अध्ययनले प्राप्त परिवर्तनलाई संस्थागत गर्न सहयोग पुग्छ ।
परिवर्तन भन्ने कुरा योजना गरेअनुसार नहुन पनि सक्छ । विभिन्न व्यक्तिले विभिन्न तरिकाले परिवर्तनलाई अवरोध पनि गर्न सक्छन् । समस्याहरू आउन सक्छन् । बीचैमा कहिलेकाहीँ परिवर्तन व्यवस्थापनको एउटा विधिलाई छाडेर अर्को विधिमा लाग्नुपर्ने हुन्छ । अतः यस क्रममा जे/जति बाधा/व्यवधान आउन सक्छन्, तिनको सामना गर्न, अनिश्चितताहरू झेल्नका लागि तयार हुनुपर्छ । यस्तो अवस्थामा परिवर्तन व्यवस्थापन गर्दा परिवर्तनको आवश्यकता, विधि, डिजाइन, प्रक्रिया, योजना, रणनीति, कार्यान्वयन र परिणामबारे व्यक्तिगतरूपमा सम्पर्क, विचार आदान–प्रदान, अभिव्यक्ति सञ्चार गर्नु पनि प्रभावकारी हुन्छ ।
(कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक)
प्रकाशित: २६ फाल्गुन २०७७ ०५:४१ बुधबार