८ कार्तिक २०७८ सोमबार
विचार

वृद्धाश्रम : बाध्यता र आवश्यकता

विश्व समुदायमा भएको औद्योगिकीकरण सँगसँगै मानिस काममा व्यस्त हुनुपरेको छ । बढ्दो प्रतिस्पर्धाले गर्दा जिउनका लागि बढीभन्दा बढी आयआर्जन गर्नैपर्ने बाध्यता पनि बढेको छ । जसले गर्दा परिवारका सदस्य घरदेखि टाढिनुपरेको छ । विश्वअर्थतन्त्र कृषिबाट क्रमशः औद्योगिकीकरणउन्मुख भएकाले परिवारका सबै सदस्य एकै ठाउँमा बसेर काम गर्ने वातावरणमा परिवर्तन आएको छ । परिवारका सदस्य रोजगारीको सिलसिलामा एक ठाउँबाट अर्को ठाउँमा गएर समय बिताउनुपर्ने हुँदा ज्येष्ठ नागरिकले नैसर्गिकरूपमा पाउनैपर्ने परिवारको सामीप्य र स्याहारसुसारसमेत प्रभावित हुने क्रम बढेको छ । चाहेर पनि ज्येष्ठ नागरिकको स्याहारसुसारमा समय बिताउन असम्भव बनेको छ । यसले गर्दा ज्येष्ठ नागरिकहरू उपेक्षाको सिकार भएको भान परे पनि त्यो बाध्यताको उपजका रूपमा छ ।  

विकसित मुलुकहरूमा ज्येष्ठ नागरिकको सम्पूर्ण जिम्मेवारी राज्यले नै बहन गर्ने गरेको पाइन्छ । सामाजिक सुरक्षाको अवस्था निकै सुदृढ हुने गरेकाले विकसित मुलुकका ज्येष्ठ नागरिकले आफूलाई असुरक्षित महसुस गर्नुपर्ने अवस्था छैन । वृद्धाश्रमहरूको यथेष्ट व्यवस्था र ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि राज्यस्तरमै उचित व्यवस्था भएकाले विकसित मुलुकका ज्येष्ठ नागरिकको जीवन तुलनात्मकरुमा सुरक्षित नै रहेको पाइन्छ । यद्यपि छोराछोरी वालिग हुनासाथ परिवारबाट अलग्गिने प्रवृत्तिले भने विकसित मुलुकका धेरै ज्येष्ठ नागरिकले जीवनको उत्तराद्र्धमा पुगेपछि पारिवारिक सुखभोग भने गर्न पाउँदैनन् । वृद्धावस्थामा एक्लै बाँच्नुपर्ने बाध्यताले विकसित मुलुकका ज्येष्ठ नागरिकहरू पारिवारिक माया, प्रेम र सद्भावबाट वञ्चित हुने गरेका छन् । सेवा–सुश्रुषाका लागि व्यावसायिकरूपमै व्यवस्था गरिएको भए तापनि त्यस्तो व्यवस्थामा पारिवारिक सुखको अनुभूति गर्ने अवसर भने प्राप्त हुँदैन । अर्थात् आफ्नै सन्तानले गर्ने मायामा जस्तो अपनत्वको भावना व्यावसायिक मायामा हुनै सक्दैन । 

वृद्धावस्थामा एक्लै बाँच्नुपर्ने बाध्यताले विकसित मुलुकका ज्येष्ठ नागरिकहरू पारिवारिक माया, प्रेम र सद्भावबाट वञ्चित हुने गरेका छन् । 

नेपालमा अझै पनि छोराछोरी बाबुआमासँगै बस्ने प्रचलन छ । यो हाम्रो सनातनदेखिको परम्परा नै हो । यो परम्परा अझै तोडिएको छैन । यद्यपि बढी आधुनिक सभ्यताको प्रभावमा परेका वा पश्चिमी सभ्यताबाट बढी प्रभावित पुस्ता भने क्रमशः संयुक्त परिवारबाट एकल परिवारतिर आकर्षित हुने र बाबुआमाबाट अलग्गिएर बस्ने क्रम क्रमशः बढेको छ । कतै बाध्यताले र कतै स्वेच्छाले नै बाबुआमाबाट अलग्गिने परिपाटी सुरु भएकाले नेपालमा पनि ज्येष्ठ नागरिकहरू एक्लिँदै जाने र उनीहरूको वृद्धावस्था आर्थिक र सामाजिक दृष्टिकोणले पनि असुरक्षित हुने क्रम बढेको छ । यो प्रवृत्तिले वृद्धाश्रमको आवश्यकतालाई अझ बढाएको महसुस हुन्छ ।

समय र परिस्थितिले वृद्धाश्रमको आवश्यकतालाई औल्याए पनि अझै पनि हाम्रा ज्येष्ठ नागरिकहरू परिवारमै बस्न लालायित छन् । वृद्धाश्रममा बस्नुलाई परिवारबाट परित्यक्त भएको महसुस गर्ने ज्येष्ठ नागरिकको संख्या अधिक छ । सामाजिक दृष्टिकोणमा वृद्धाश्रममा बस्ने मान्छेलाई निसहाय र परिवारबाट परित्यक्त भएको मान्ने परम्परा अझै हट्न सकेको छैन । स्वयं ज्येष्ठ नागरिकहरूले नै समय र परिस्थितिका कारण वृद्धाश्रमको आवश्यकता परेको तथ्यलाई सहजै स्वीकार गर्न सकेका छैनन् । त्यसैले कठिन अवस्थामा वृद्धाश्रममा जान हिच्किचाउने र जस्तै दुःख सहनुपरे पनि आफ्नै घरमा बस्ने वा जतिसुकै अपमानित र अपहेलित हुनुपरे पनि परिवारमा सँगै बस्ने इच्छा धेरै ज्येष्ठ नागरिकको रहेको पाइन्छ ।  

वृद्धाश्रम ज्येष्ठ नागरिकको सेवा र सुविधाका लागि हो । वृद्धाश्रम समय र परिस्थितिले सिर्जना गरेको आवश्यकता हो भन्ने कुराको बोध अझै पनि सबै ज्येष्ठ नागरिकमा हुन सकेको छैन । यस्तो बोध नभएसम्म वृद्धाश्रमप्रतिको सोच र धारणामा सकारात्मक परिवर्तन आउन अझै केही समय लाग्ने देखिन्छ । तथापि वृद्धाश्रमको आवश्यकता र महत्व बुझेका र आर्थिक तथा सामाजिक कारणले समस्यामा परेका ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम सुरक्षित स्थल हो भन्ने मान्यताले क्रमशः सामाजिक स्वीकृति पाउँदै गएको सत्य भने स्वीकार्नैपर्छ ।

पछिल्लो समय ज्येष्ठ नागरिकहरूको संख्या बढेसँगसँगै सामाजिक र आर्थिक कारणले उनीहरूको जीवनयापन असुरक्षित र अमर्यादित बनेको भन्दै ज्येष्ठ नागरिकको जीवन सुरक्षित र मर्यादित बनाउन समुदाय र राज्यस्तरमै पनि केही पहल हुन थालेको पाइन्छ । राज्यस्तरमा कानुनी र केही नीतिगत व्यवस्थाबाटै ज्येष्ठ नागरिकहरूको हित र कल्याण गर्ने प्रयास भएको पाइन्छ । विशेषगरी सहाराविहीन अथवा संरक्षकविहीन र विभिन्न कारणले घरपरिवारबाट परित्यक्त ज्येष्ठ नागरिकहरूलाई दृष्टिगत गरी समुदाय र राज्यस्तरबाट पनि व्यवहारिक सेवा र सुविधा प्रदान गर्ने काम हुँदै आएका छन् ।  

अहिले राज्यले वृद्धभत्ता र स्वास्थ्य उपचार भत्ताको नाउँमा एकमुष्ट मासिक तीन हजार रुपियाँ प्रदान गर्ने गरेको छ ।यो भत्ता विशेषगरी दुर्गम र ग्रामीण क्षेत्रका गरिब घरपरिवारका ज्येष्ठ नागरिकका लागि ठूलो आर्थिक सहारा बनेको छ । त्यसैले वृद्धभत्ताप्रति राज्यका ज्येष्ठ नागरिकहरूको निकै सकारात्मक धारणा रहेको पाइन्छ । ज्येष्ठ नागरिक भत्ता राज्यको एउटा देखिने र महत्वपूर्ण कामका रूपमा पनि रहेको छ ।  

राज्यले प्रदान गर्ने वृद्धभत्तालाई निकै सकारात्मक कामकारूपमा स्वीकारिएको अवस्थामा राज्यले प्रदान गर्दै आएको वृद्धाश्रमको सेवा तथा सुविधा भने सधैँ आलोच्य बन्दै आएको अवस्था छ । राज्यले निःशुल्क व्यवस्था गरेको वृद्धाश्रममा ज्येष्ठ नागरिकका लागि आवश्यक आधारभूत सेवा तथा सुविधाहरूको उचित प्रबन्ध हुननसकेको अथवा तिनको उचित व्यवस्थापन गर्न नसकेकाले त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरूको जीवनयापन सहज हुननसकेको गुनासो नियमितरूपमा सुनिने गरेको छ । त्यसैले अब निजी क्षेत्रबाट निःशुल्क अथवा सशुल्क सेवा प्रदान गर्ने वृद्धाश्रमहरूको स्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ जहाँ आश्रय लिने ज्येष्ठ नागरिकहरूले सबै प्रकारका आधारभूत सेवा तथा सुविधा उपभोग गर्न पाऊन् र मानवोचित जीवनयापन गर्न पाउन् ।

वृद्धाश्रम गरिब र निसहाय ज्येष्ठ नागरिक मात्रै बस्ने थलो होइन । यहाँ आवश्यक सेवा र सुविधाका लागि आर्थिक दृष्टिकोणले सक्षम तर पारिवारिक हेरचाहबाट वञ्चित ज्येष्ठ नागरिक पनि बस्न सक्छन् । त्यसैले वृद्धाश्रम सबैको हो र सबैका लागि हो भन्ने सोच विकास हुनु जरुरी छ । वृद्धाश्रमप्रतिको नकारात्मक सोच र धारणामा परिवर्तन गर्नसके गरिब तथा निसहाय र आर्थिक दृष्टिकोणले सक्षम भइकन पनि समय र परिस्थितिका कारण पारिवारिक हेरचाहबाट वञ्चित ज्येष्ठ नागरिकहरूको जीवन सुरक्षित र मर्यादित बनाउन मद्दत पुग्नेछ ।

प्रकाशित: २६ फाल्गुन २०७७ ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App