गाउँ–गाउँसम्म पनि रेडियोको चर्चा भइरहँदा रेडियोकर्मी भने रेडियोको साख र प्रसिद्धि गुम्दै गएकामा चिन्तित देखिन्छन् । विश्वभरि नै रेडियोका स्रोता घट्दै नयाँ सञ्चार माध्यममा स्थानान्तरण भए पनि अझै नेपालका ग्रामीण बस्तीमा रेडियो नै प्रमुख सञ्चार माध्यमका रूपमा छ । सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगति हुँदै आएको थियो । तर पछिल्लो समयमा एफएम रेडियोहरूको संख्या बढी हुँदा रेडियो सुन्ने स्रोता घटेका छन् भने रेडियोमा पनि गुणस्तरीय कार्यक्रम उत्पादन गर्ने रेडियोकर्मी घटेका छन् ।
अहिले सञ्चालनमा रहेका करिव ६ सय ८५ भन्दा बढी रेडियोमध्ये प्रायः सबैको कार्यक्रम र समाचार एकै ढाँचाका छन् । कुनै समय रेडियोमा कार्यक्रम चलाएर प्रसिद्धि कमाएका व्यक्ति पनि रेडियोको आकर्षण अर्थात क्रेज घट्यो भनेर अन्य पेसामा विस्थापित भएका छन् । सामाजिक सञ्जाल र अनलाइनमार्फत घटना तथा जानकारी तुरुन्तै प्राप्त हुने भएकाले कान थापेर रेडियो सुन्नुपर्ने अवस्था पनि छैन । त्यसैले सामाजिक सञ्जाल र अनलाइन जस्ता नयाँ सञ्चार माध्यमको विकासले रेडियोलाई चुनौती र अवसर दुवै थपिएका छन् । रेडियोका कार्यक्रम र समाचारहरू सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट पनि सेयर गर्दा वा बाँड्दा विश्वव्यापी गर्न सकिने फाइदा हाम्रो सामु छ । त्यस्तै रेडियोको कार्यक्रमका लागि स्रोता प्रतिक्रिया लिने र कार्यक्रममा जोड्ने काम पनि यस्ता मिडियाले गर्न सक्छन् । तर धेरै रेडियोकर्मी रेडियोको स्रोता घटेको र प्रसिद्धि घटेको भन्दै अन्य पेसामा लाग्न थालेका छन् ।
सामाजिक सञ्जाल र अनलाइन जस्ता नयाँ सञ्चार माध्यमको विकासले रेडियोलाई चुनौती र अवसर दुवै थपिएका छन् ।
रेडियोमा बोलेर प्रसिद्धि कामाउनका लागि भनेर यो क्षेत्रमा लाग्ने त झन चाँडै चाँडै रेडियो छाडेर भाग्दैछन् । १० वर्षअघिसम्म हरेक रेडियो स्टेसनमा कम्तीमा पनि २० जना रेडियोकर्मी काम गर्ने गर्थे तर अहिले ती रेडियोमा करिव १० जना मात्रै रेडियोकर्मी काम गरिरहेका छन् । रेडियोको संख्या बढी हुँदा उनीहरूले बजारबाट पाउने विज्ञापन र सूचना पनि कम हुन थालेका छन् र रेडियोको दिगोपनामा प्रश्न उठ्न थालेको छ । रेडियोको आम्दानी कम हुँदा त्यसमा काम गर्ने रेडियोकर्मीको पारिश्रमिक पनि कम भएकाले पनि रेडियोतर्फको आकर्षण घट्न थालेको छ । रेडियोमा प्रसारण हुने विषयवस्तु र कार्यक्रममा धेरै खर्च नगर्दा गुणस्तरीय रेडियो कार्यक्रम उत्पादन हुन सकेको छैन र स्रोता घटाएको छ । छिटो छिटो समाचार दिने होडबाजीका कारण रेडियोको विश्वसनीयता पनि घट्दै गएको छ । हिजोका दिनमा परिवर्तन र रूपान्तरणमा धेरै उपलब्धिमूलक काम गरेका रेडियोको सम्भावना अझै बढाउन सकिन्छ ।
विश्वका अन्य मुलुकमा झैँ नेपालमा पनि आमसञ्चारको एक सशक्त माध्यमका रूपमा रेडियोको विकास भएसँगै पत्रकारिता पत्रिकामा मात्रै सीमित भएन । सन् १९२० मा लन्डनमा विश्वमै पहिलो पटक नियमित रेडियो प्रसारण सेवाका रूपमा बिबिसीले आफ्नो सेवा सुरु गर्यो र बिस्तारै बिस्तारै विश्वभर रेडियो स्थापना हुन थाले अनि रेडियो पत्रकारिताको पनि विकास भयो । नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरका पालामा राणा परिवारले रेडियो सेट सुन्न थाले तापनि २००४ सालपछि मात्रै पद्मशमशेरले सर्वसाधारणलाई रेडियो सेट राख्ने अनुमति दिए । २००७ सालको जनक्रान्तिका बेला भारतको फर्बेसगन्जबाट रेडियो ट्रान्समिटर झिकाइ भोजपुर जिल्ला र पछि विराटनगर जूट मिलबाट क्रान्ति सफल बनाउन रेडियो प्रसारण सुरु गरिएको थियो ।
जनक्रान्ति सफल भएपछि त्यही उपकरणलाई काठमाडौँको सिंहदरबारमा ल्याइ रेडियो नेपालका रूपमा २००७ चैत २० गतेदेखि प्रसारण सुरु गरिएको हो । अहिले देशैभरि फैलिएका एफएम रेडियोहरूको सुरुवात भने वि.सं. २०५२ मा रेडियो नेपालको एफएम ब्यान्डबाट भएको हो । त्यसपछि दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रूपमा २०५४ जेठ २ गतेबाट रेडियो सगरमाथाले प्रसारण सुरु ग¥यो । त्यसपछि निजी र सामुदायिकतवरबाट धेरै एफएम खुल्न थाले । सूचना, मनोरञ्जन र शिक्षामा स्थानीय स्तरको स्वाद बोकेर स्थानीय भाषामै एफएम रेडियोहरूले कार्यक्रम तथा सामाचार प्रसारण गरिरहेकाले गाउँघरमा अहिले सञ्चारको पहिलो माध्यम रेडियो नै हुन पुगेको छ । अझ दुर्गम ग्रामीण क्षेत्र र पत्रपत्रिका समयमा पुग्न नसक्ने ठाउँमा खुलेका सामुदायिक रेडियो त सूचनाको प्रमुख आधार हुन पुगेको छ । नेपालमा यी रेडियो विकासको इतिहास धेरै लामो नभए पनि यसको प्रभावकारिता बढ्दै गइरहेको छ । अहिले एफएम रेडियोको विकासमा दक्षिण एसियामा नेपाल अग्रपंक्तिमा छ भने विश्वलाई नै नयाँ नमुना प्रस्तुत गरेको छ । सरकारले रेडियोसम्बन्धी स्पष्ट नीति नियमको व्यवस्था नगरे पनि रेडियोहरूको दिगो विकासका लागि भने समस्या परेको छ । रेडियोहरूको आर्थिक अवस्था पनि राम्रो छैन । आर्थिक अवस्था कमजोर हुने रेडियोको प्रसिद्धि पनि घट्दै जाने अवस्था भएपछि रेडियोको दिगो विकासमा चुनौती थपिने नै भयो । अब स्थानीय सरकार र सरोकारवालाले स्थानीय विकासका लागि रेडियोलाई साझेदार बनाउने र नागरिकसामु आफ्ना गतिविधि पुर्याउनका लागि रेडियोलाई प्रयोग गर्नुपर्छ ।
राष्ट्रिय आमसञ्चार नीति–२०७३ ले अब रेडियो एफएमहरूको व्यावसायिक विकासको बाटो खोलेको छ । नीतिले एफएम रेडियो र टिभीका फ्रिक्वेन्सीलाई सार्वजनिक सेवा प्रसारण, सामुदायिक प्रसारण र व्यापारिक प्रसारण गरी तीन भागमा वर्गीकरण गरेको छ । नीतिले सामुदायिक रेडियोहरूको छुट्टै ऐनका साथ पहिचान दिने व्यवस्था गरेको छ ।
राजनीतिक परिवर्तनका लागि भएको दोस्रो जनआन्दोलनमा रेडियोले खेलेको भूमिकाको सबैतर्फ प्रशंसा भएपछि रेडियोतर्फ धेरैको ध्यान तानिएको थियो । शाही शासनकालमा समाचारमा रोक लाएकोविरुद्ध सडकमा बसेर समाचार भनेको, एकोहोर शंख बजाएर सरकार विरोधी आन्दोलन गरेको स्मरण अझै झल्झली आउँछ । त्यतिबेलाको राजनीतिक परिवर्तनमा सहयोग गरेको रेडियोहरूलाई गणतन्त्र आएपछि सहयोग गर्नुपर्नेमा सरकारले झन अधिकार खुम्चाएर लाने रणनीति लिएको देखिन्छ । पछिल्लो समय आएका सञ्चारसम्बन्धी ऐन कानुनले यसलाई प्रष्ट पार्छन् ।
२०६१ माघ १९ गतेको शाही कु सँगै रेडियोले समाचार भन्नसमेत पाएका थिएनन् । पछि समाचार खुला भयो, रेडियोकै कारण जनआन्दोलन र राजनीतिक परिवर्तनलाई टेवा पुग्यो । त्यसपछि रेडियोको शक्ति बुझेर धेरै रेडियोकर्मीले आफ्नै रेडियो खोल्न थाले । रेडियोको संख्या थेग्नै नसकिने धेरै भइसकेपछि यसका स्रोता पनि विभाजित भए र प्रभाव पनि घट्यो । सीमित बजारमा धेरै रेडियो स्टेसन आश्रित हुनुपर्दा स्थानीय प्रतिस्पर्धा विकृत हुन पुग्यो । यही कारण रेडियोको गुणस्तरमै प्रश्नचिह्न उब्जन थालेका छन् । समुदायलाई पस्कनुपर्ने सामग्री कता छन् कता, रेडियोमा प्रसारण भइरहको छ अर्कै कुरा । तर अझै पनि धेरै अभ्यास गर्न सकिन्छ । सबै जिल्ला र पालिकामा रेडियोको भौतिक उपस्थिति भइसकेको अवस्थामा अब प्रसारण सामग्रीमा सुधार गर्ने बाटो लिनुपर्छ । त्यति गर्न सके अन्तर्राष्ट्रिय क्षेत्रमा पाएको साख जोगाइरहन सकिन्छ । आफ्नो प्रसिद्धि र साख अनि पहिचान जोगाउन पनि अब रेडियोले गर्ने पैरवी, पस्कने सामग्री, रेडियोको क्षेत्रगत वर्गीकरणसहितको नयाँ बाटोमा हिँड्नुको विकल्प छैन ।
(प्रमुख, सामुदायिक सूचना नेटवर्क – सिआइएन)
प्रकाशित: १८ फाल्गुन २०७७ ०६:२७ मंगलबार