१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

अमित शाहको बयान र नेपाल–भारत सम्बन्ध

जब जब नेपालमा अस्थिरता उत्पन्न हुन्छ तब तब भारतले विभिन्न निहुँमा हस्तक्षेपकारी भूमिका बढाउँदै जान्छ । भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव र भारतका गृहमन्त्री अमित शाहको नेपालसम्बन्धी विवादास्पद बयान यही शृंखलाको एक कडी हो।

मुख्यमन्त्री देवले गत शनिबार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा समेत भारतीय जनता पार्टी (भाजपा) को सरकार विस्तार गर्ने योजना बनाएको विवादास्पद अभिव्यक्ति दिएका थिए । देवले शनिबार राजधानी अगरतलाको एउटा पार्टी बैठकमा भाजपा अध्यक्ष रहेका बेला शाहले त्यस्तो योजना सुनाएको बताएका थिए । ‘राज्य सरकारको गेस्ट हाउसमा चलेको छलफलमा अजय जमवाल (भाजपाको उत्तरपूर्व क्षेत्र सचिव) आफ्नो पार्टीले भारतका धेरै राज्यमा सरकार बनाउन सफल भएको बताएपछि त्यसको जवाफमा शाहले अब श्रीलंका र नेपालमात्र बाँकी रहेको हुँदा ती दुई देशमा पनि पार्टी विस्तार गरेर सरकार बनाउनका लागि जित्नुपर्छ भन्ने योजना सुनाउनुभयो’– देवलाई उद्धृत गर्दै त्रिपुराको अंग्रेजी अनलाइन इस्ट मोजोले लेखेको थियो ।

यहाँनेर एउटा विचारणीय प्रश्न के छ भने मुख्यमन्त्री देवले अमित शाह भारतीय जनता पार्टी अध्यक्ष भएको बेला बोलेको पुरानो कुरा अहिले नेपाल अस्थिर रहेको बेला किन उद्घाटित गरे ? यसलाई भारतीय राज्य नै नेपालविरूद्धको गम्भीर षड्यन्त्रमा लागेको हो कि जस्तो आभास भएको छ । किनभने शाह र देव भारतको महत्वपूर्ण संवैधानिकपदमा आसीन छन् । अमित शाह भारतको संघीयसरकारको गृहमन्त्री हुन् भने विप्लव देव त्रिपुरा राज्यका मुख्यमन्त्री हुन्।

नेपाल–भारत सम्बन्धलाई झन् कसिलो बनाउनका लागि भारतका गृहमन्त्री अमित शाह र त्रिपुराका मुख्यमन्त्री विप्लव देवले नेपाल र नेपाली जनतासमक्ष आफ्नो भनाइ फिर्ता लिइ माफी मागी यो विषयको पटाक्षेप गर्नुमा नै दुवै मुलुकको भलो हुनेछ।

यसभन्दा पहिले पनि भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवाणेले नेपाल चीनको इशारामा चल्ने मुलुक भनेर नेपालविरूध्द गम्भीर आरोप लगाएका थिए।

भारतीय पक्षबाट आउने यस्ता भनाइ नेपालको राजनीति अत्यन्त तरल रहेको बेला नेपाली जनतालाई भड्काउनका लागि ल्याइएको हुन सक्छ। किनभने नेपालमा अस्थिरता बढ्यो भने भारतलाई पहिल्यै जस्तै नेपालमा हस्तक्षेप गर्न सजिलो हुन्छ। र, यस अवस्थामा नेपालमा भारतको निहित स्वार्थ पूरा हुन्छ।

देव र शाहको यस भनाइप्रति भारतमै पनि तीव्र विरोध सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले भनेको छ– ‘यस्तै मानिसको बेबकुफीपूर्ण बयानकै कारण आज भारतको छिमेकीहरूसँगको सम्बन्ध सबैभन्दा खराब अवस्थामा आइपुगेको छ।’ यस विषयमा गृहमन्त्री शाहले अहिलेसम्म मुख खोलेका छैनन्।

शाह र देवको यस भनाइलाई लिएर नेपाल र श्रीलङ्काले कूटनीतिक माध्यमद्वारा भारतसरकारसँग स्पष्टीकरण मागिसकेका छन्। नेपाल सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिइ उचित कूटनीतिक कारबाही चलाउनु आवश्यक छ। यी भनाइबाट के स्पष्ट हुन्छ भने भारत साँचो अर्थमा नेपाल र नेपाली जनतासँग मित्रताको हात बढाउन चाहँदैन । र सधैँभरि नेपाललाई दबाबमा राखेर आफ्नो स्वार्थ पूर्ति गर्न चाहन्छ।

जहाँसम्म नेपाल–भारत दुवै मुलुकमा हिन्दु धर्म मान्ने बहुसंख्यक जनता भएकाले दुवै देशको सम्बन्ध अतुलनीय छ भनिन्छ, के विश्वमा इस्लाम र क्रिस्चियन धर्म मान्ने राष्ट्रबीच ठूलाठूला युध्द भएका छैनन् ? भएका छन्। तसर्थ धर्मले मात्र दुवै देशको सम्बन्ध प्रगाढ हुँदैन। एकअर्कालाई सम्मान गर्ने व्यवहार भएमात्र सम्बन्ध दह्रो हुन्छ।

नेपाल–भारत सम्बन्धका सन्दर्भमा कुरा गर्दा यस्ता कैयौँ विषय छन् जसको समाधान दशकौँदेखि भएका छैनन् । जस्तै– कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताको सीमा विवाद अहिलेसम्मपनि समाधान भएका छैनन्। दुवै मुलुकका प्रधानमन्त्रीबीच सहमति भई दुवै देशका प्रबुद्ध समूहले नेपाल–भारत सम्बन्ध सुधारबारे तयार गरेको प्रतिवेदन दुईवर्ष बितिसक्दापनि भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले अहिलेसम्म बुझ्न आनाकानी गरिरहेका छन् । यस्तो परिस्थितिमा कसरी नेपाल–भारत सम्बन्ध सुधार हुन्छ ?

भारतको सत्तारुढ पार्टी बिजेपीको माउ संगठन राष्ट्रियस्वयंसेवक संगठन (आरएसएस) को विभिन्न आंगिक संगठनहरू हिन्दुस्वयंसेवक संगठन, विश्वहिन्दु परिषद्, एकल विद्यालय र वनवासी कल्याण आश्रमलगायतका संगठन नेपालमा आक्रामकरूपले क्रियाशील छन्। यही परिप्रेक्ष्यमा शाहको सो नेपालसम्बन्धी बयान आएको हो।

हाम्रो मुलुकको सार्वभौमसत्ता, भौगौलिक अखण्डता र स्वतन्त्रतालाई अक्षुण्ण राख्नका लागि हामी नेपाली एकजुट भएर लागेनौँ भने हामी नेपालीको नाडी छाम्न यस्ता किसिमका बयान आइ नै रहन्छन्। तसर्थ नेपाली जनता सचेत हुनु आवश्यक छ।

नेपाल र भारतबीचको सम्बन्ध यति जटिल र बहुआयामिक छ कि एउटा पक्षलाई मात्र समातेर विश्लेषण गरियो भने त्यो अन्यायपूर्ण हुन्छ । दुवै मुलुकका नेताले नेपाल–भारत सम्बन्धमा खलल पुर्‍याउने यस्ता वक्तव्यबाजीबाट टाढा रहनुपर्छ र एकअर्काप्रति असहिष्णु होइन कि सहिष्णु बन्नुपर्छ ।

भारतले नेपाललाई एउटा बजारमात्र नठानेर खुला हृदयले सहयोगको हात बढाउनुपर्छ । हालसम्म भारतबाट नेपाल विद्युत् आयात गर्ने व्यवस्थामात्र छ। वर्षायाममा नेपालमा बढी भएको विद्युत् किन्न भारत हालसम्म पनि तयार भएको छैन । यस्तै नेपालमा निर्माण पूरा हुन लागेको भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई बाटो दिनेमा अझै सहमत भएको छैन । नेपाल–भारत सीमामा भारतीय पक्षद्वारा बनाइएको तटबन्ध, बाँध र बाटोका कारण वर्षायाममा नेपालको हजारौँ बिघा जमिन डुबानमा पर्ने गरेको छ । यस्ता कैयौँ विषय छन् जसले गर्दा नेपाल पीडित हुने गरेको छ।

नेपाल भारत र चीनबीच रहेर लगभग १८५० किलोमिटरको क्षेत्रमा भारतको सुरक्षाका लागि योगदान पु¥याइरहेको छ। यहीकुरा उत्तरी छिमेकी चीनतिर पनि लागुहुन्छ । भारत र चीन दुवै छिमेकीले चीन–भारत सीमा सुरक्षाका लागि खरबौँ रुपियाँ खर्च गरिरहेका छन् । जबकि नेपाल–भारत सीमा खुला भएको हुनाले सीमा सुरक्षाको खासै समस्या छैन । चीनको पनि नेपाल–चीन सीमा सुरक्षाका लागी नगण्य खर्चहुन्छ।

नेपाल–भारत सम्बन्धलाई झन् कसिलो बनाउनका लागि भारतका गृहमन्त्री अमित शाह र त्रिपुराका मुख्यमन्त्री विप्लव देवले नेपाल र नेपाली जनतासमक्ष आफ्नो भनाइ फिर्ता लिइ माफी मागी यो विषयको पटाक्षेप गर्नुले नै दुवै मुलुकको भलो हुनेछ।

प्रकाशित: ७ फाल्गुन २०७७ ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App