२३ फाल्गुन २०७७ आइतबार
विचार

वातावरण संरक्षणमा विद्यालय

भोट क्षेत्रका बासिन्दा समूहमा अउलतर्फ झर्ने क्रममा आफ्ना चौरी, घोडासहित बास बसेको स्थानमा समूहका व्यक्तिहरू कोही चौँरी घोडालाई दाना खुवाउनतर्फ लाग्दछन्, कोही समूहलाई खानाको चाजोपाँजो गर्नतर्फ लाग्छन्, कोही बाजा बजाउन त कोही गीत गाएर रमाइलो गर्न थाल्छन् । समूहको एक जना चित्र र मूर्ति निर्माण गर्न रमाउने बयस्क व्यक्तिले त्यहाँ भेटिएको ढुङ्गामा खोपेर रुखको चित्र बनाइरहेका हुन्छन् । यो चित्र समूहको कनिष्ट सदस्य तथा एक बालकले देख्छन् । उनी यस भन्दा पहिला यसरी समूहमा यात्रा गर्ने, मध्यपहाड तथा अउल झर्ने मौका पाएका थिएनन् ।  यो उनको यात्रा पहिलो थियो ।  

उनले काका पर्ने चित्रकारले ढुङ्गामा खोपेर बनाउदै गरेको चित्र देखेर  सोध्छन् । यो केको चित्र हो ? काका भन्छन्– यो रुखको चित्र हो ।  कहिले पनि रुख नदेखेको बालक निकै उत्सुक हुन्छन् र जिज्ञासा बढाउँछ । दोस्रो प्रश्न हुन्छ, रुख कत्रो हुन्छ ? काकाले ठूलो हुन्छ भन्ने उत्तर दिन्छन् । उनी पुनः उत्सुकता बढाउँदै भन्छन्, म जत्रो ? काका भन्छन्, तिमी भन्दा पनि ठूलो । उनी फेरि उत्तरको संकेत दिँदै प्रश्न गर्छन्– काका जत्रो ? काका भन्छन्– म भन्दा पनि ठूलो । यो उत्तरबाट बालक वास्तविक रुख हेर्न निकै उत्साहित हुन्छन् ।

विद्यालयहरूले विभिन्न प्रतियोगिता आयोजना गरेर, विद्यालय परिसरमा वृक्षरोपण जस्ता अभ्यास गरेर तथा यसको महत्व र उपादेयता बुझाएर विद्यार्थीलाई वातावरण संरक्षणतर्फ उत्प्रेरित गर्न आवश्यक छ ।

यो प्रसंग होओस्कारकालागि मनोनयन भएको एरिक भ्यालीले निर्माण गरेको क्याराभान चलचित्रको ।एरिकले सामाजिक, संस्कृतिक पक्षहरू देखाएको कुरामा सबै जानकार छन् उनले उपकथा जोडेर वातावरण संरक्षणसम्बन्धी पनि सन्देश दिन खोजेको कुरा धेरैलाई जानकारी नहुन सक्छ ।भोट क्षेत्रका बासिन्दा आफूलाई चाहिने खाद्यान्नलगायत दैनिक उपयोगका सामग्री खरिद गर्न र आफ्ना उत्पादन र लेकाली जडीबुटी बिक्री गर्न अउलतर्फ झर्ने गर्छन् ।  

त्यसरी झर्दा एक्लै नभएर समूहमा नै झर्छन्, हप्तौँ, महिनौँ पैदल यात्राका क्रममा बीच–बीचमा समूहमा नै बास बस्ने गर्छन् । यो परापूर्बकालदेखि हालसम्म चल्दै आएको परम्परा हो । यही कुरालाई एरिक भ्यालीले क्याराभान चलचित्रको मुख्य विषयवस्तु बनाएका छन् ।बालक अउलमा झरेपछि रुख देखेपछि उत्सुकता र हर्षका साथ रुखको नजिक हुँदै जान्छन् चलचित्रको पनि अन्त हुन्छ । चलचित्रको मूल कथासँगै यो उपकथा पनि समाप्त हुन्छ ।  

रुख बिरुवाको विनाश र वातावरण संरक्षणका लागि युवा पुस्तालाई वास्तविक मर्म बुझाउन, विद्यालयमा शिक्षकले बालबालिकालाई वातावरण संरक्षणको महत्व बोध गराउन, संरक्षणमा बालबालिकादेखि युवाको सहभागिता बृद्धि गर्न सकेमा रुख बिरुवा जोगाउन, वातावरण संरक्षण गर्न र विश्वव्यापी ताप वृद्धिको क्रमलाई केही मात्रमा भए पनि कमी गर्न सम्भव हुन्छ ।  

साविकको जिल्ला शिक्षा कार्यालय डोल्पाले विद्यार्थीलाई वातावरण संरक्षणमा सरिक गराउन यार्सागुम्वाको स्थानीय पाठ्यक्रम निर्माण गर्‍यो र जिल्लाभरका विद्यालयमा लागु गर्‍यो । चितवनको राष्ट्रिय निकुञ्ज नजिकका विद्यालयहरूका विद्यार्थीलाई वातावरण र वन्यजन्तु संरक्षणका लागि वातवरण शिक्षक समूहको सक्रियतामा वातावरणसम्बन्धी स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरियो । अन्नपूर्ण क्षेत्र संरक्षण परियोजनाले वातावरण संरक्षणसम्बन्धी सामग्री निर्माण गरी कास्कीलगायतका अन्नपूर्ण क्षेत्रका विद्यालयमा वितरण गर्ने र शिक्षकलाई सामग्री प्रयोगसम्बन्धी तालिम दिने कार्य गरिरहेको छ ।  

यी भए प्रतिनिधिमूलक कार्य । यस्ता कार्य अन्य जिल्ला र क्षेत्रमा पनि भएका हुन सक्छन् । यी र यस्तै राम्रा अनुभवबाट पनि अन्य जिल्ला, प्रदेश र स्थानीय तहका विद्यालयले सिक्न सक्छन् ।  

विद्यालयहरूले वातावरण संरक्षणको मर्म विद्यार्थीसम्म पुर्‍याउन विद्यालय वरपर तथा हातामा रुख बिरुवाहरू रोप्ने, संरक्षणका लागि विद्यार्थीलाई जिम्मेवार बनाउने, स्थानीय पाठ्यक्रममा वातावरण शिक्षालाई राख्ने, वातावरण संरक्षणसँग मिल्दा पाठहरूमा स्थानीय वातावरणसंग जोडेर संरक्षणको महत्व बुझाउने, समय–समयमा वातावरणसम्बन्धी गीत, कविता, वक्तृत्वकला, वादविवाद जस्ता प्रतियोगितासञ्चालन गर्ने जस्ता कार्य गरेमा विद्यार्थीमार्फत वातावरण संरक्षणको सन्देश समाजमा पुर्‍याउन सकिन्छ । त्यति मात्र नभई भविष्यमा विद्यार्थीलाई संंरक्षणकर्मी बन्ने अधारसमेत प्रदान गर्छ । यदि समयमै यतातर्फ लाग्न सकिएन भने वातावरण विनाश भइसकेपछि भोलि पछुताउनुसिवायअरूकेही हुने छैन ।

प्रकाशित: ३० माघ २०७७ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App