७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

जबज के थियो ?

हामी कुनै कामविशेषले गाडीमा स्याङ्जातर्फ जाँदै थियौंँ । मेरा एक जना मित्र तथा सहकर्मीसँग जबजसँग सम्बन्धित वादविवाद सुरु भयो । मैले उनलाई उनको जबजसम्बन्धी बुझाइबारे प्रश्न गरेँ । उनले यो मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त हो, यसलाई एमाले गणले मार्गदर्शक सिद्धान्तका रूपमा लिन्छन्, यो प्रजातन्त्रसँग सम्वन्धित सिद्धान्त हो भन्ने जस्ता कुरा गरेर लामो व्याख्या दिए तर यसको कम्युनिस्टहरूले भन्ने गरेको माक्र्सवाद, लेलिनवाद तथा माओत्सेतुङ विचारधारासँग के सम्बन्ध छ भन्ने कुराको भने कुनै छेउ टुप्पो दिएन । उनी एमालेका प्रखर कार्यकर्ता हुनुका साथै शिक्षाका हिसाबले ग्रामीण विकास, राजनीतिशास्त्र तथा कानुन गरी तीन तीन वटामा स्नातकोत्तर गरेका व्यक्ति हुन् ।

सशस्त्र संघर्षको आधार नदेखेका तर भएको संसदीय व्यवस्थालाई नै उपयोग गरेर कम्युनिस्टको नेतृत्वमा राज्यव्यवस्था स्थापना गर्न सकिन्छ भन्ने सिद्धान्त नै मदन भण्डारीको जनताको बहुदलीय जनवाद हो ।  

उनलाई एउटा प्रतिनिधि मान्ने हो भने म ठोकुवाका साथ भन्न सक्छु, एमालेका आमकार्यकर्ताको बुझाइमा मदन भण्डारीले प्रतिपादन गरेको जबज अर्थात जनताको बहुदलीय जनवाद यत्ति हो । यदि कम्युनिस्ट सिद्धान्तले व्याख्या गरेअनुसार यसलाई आमकार्यकर्ताको माझमा आत्मसात गराउँंदै सोहीअनुरूपको शासन व्यवस्था नेपालमा हालको नेकपाले लागु गर्दै लगेको भए नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक परिदृश्य अर्कै हुन सक्थ्यो । तर खासगरी एमालेले जबजको रटानचाहिँ गर्दै मदन भण्डारीलाई देवत्वकरण गर्ने र त्यसलाई सत्ताको भ¥याङ मात्र बनाउने काम ग¥यो वा गरिरहेको छ भन्दा अत्युक्ति नहोला ।  

कम्युनिस्ट सिद्धान्तभित्र जबज वास्तवमा के हो भन्ने कुराको केही व्याख्या दयालबहादुर शाहीको केही लेखबाट थाहा पाए पनि मैले अन्य व्याख्या विश्लेषण सुन्न तथा देख्न पाएको छैन । अतः यसको मान्यता के हो र यसलाई कसरी प्रयोग गरिनुपथ्र्यो भन्ने कुराको चर्चा गर्न चाहन्छु । कम्युनिस्ट सिद्धान्तकार तथा दार्शनिक कार्ल माक्र्सले समाज र राजनीतिलाई वर्गीय दृष्टिकोणबाट विश्लेषण तथा व्याख्या गरेका छन् । उनको आधारभूत मान्यता भनेको समाजमा दुईटा वर्ग एउटा हुने खाने र अर्को हुँदा खाने भनेर छुट्याएका छन् । यस्ता वर्ग राजनीतिले सिर्जना गरेको हुन्छ र राजनीति सधैँ हुनेखाने वर्गले कब्जा गरेको हुन्छ र त्यसको प्रमुख आकार भनेको सेना हो अर्थात सेना अर्थात शक्ति जोसँग हुन्छ उसैले शासन गर्छ र हुने खाने वर्ग अत्यन्त सीमित हुँदाहुँदै पनि त्यही सेनाको बलमा उसले बहुसंख्यक हुँदा खाने वर्गको शोषण उत्पीडन गरेको हुन्छ किनभने सो हुनेखाने अर्थात अर्थशास्त्रको भाषामा पुँजीपति वर्गले श्रमिकको श्रमबाट उत्पादित वस्तुहरूको उत्पादन ज्याला उनीहरूको वास्तविक श्रम लगानी भन्दा कम दिएको हुन्छ र त्यो सामान उसले श्रमिकलाई दिएको ज्याला भन्दा बढीमा बेच्छ । अनि त्यो सबै नाफाका रूपमा उसले एक्लै कुम्ल्याउँछ र ऊ धनाढ्य बन्छ तथा श्रमिकहरू आफूलाई खान लाउन तथा बस्न पनि पर्याप्त नहुने आम्दानीका कारण सधैँ गरिबी र अभावमा जीउन बाध्य हुन्छन् र त्यत्तिकै मर्छन् ।  

अतः यस्तो अवस्थामा परिवर्तन ल्याउनका लागि श्रमिकहरू संगठित हुनुपर्छ । सेना निर्माण गरी सशस्त्र संघर्षको माध्यमबाट सत्ता कब्जा गर्नुपर्छ । त्यही सत्ताले पहिलेका पुँजीपतिहरूको नियन्त्रणमा रहेका उत्पादनका साधनहरू आफूले नियन्त्रण गरेको राज्यको कब्जामा लिएर त्यस्ता कलकारखानाको मालिक श्रमिकलाई बनाउनुपर्छ अर्थात राज्यले सबैलाई बराबरीरूपमा बाँड्नुपर्छ । बहुसंख्यक श्रमिकको हातमा सत्ता र उत्पादनका सबै साधनहातमा आएपछि पहिलेका शोषण, दमन र उत्पीडन सबै अन्त्य हुन्छ र सबैले समानतामा आधारित जिन्दगी आरामका साथ जिउन पाउँछन् भन्ने हो ।  

कार्लमाक्र्सले दर्शनशास्त्रमा अर्का जर्मन दार्शनिक हेगेलको सहायताले द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त प्रतिपादन गरे र उनले व्याख्या गरेका विभिन्न सिद्धान्तमध्ये पानी तातेर उम्लने विधिलाई क्रान्तिसँग जोडे । अर्थात पानी तात्ने विधिलाई संवाहन अर्थात कन्डक्सन भनिन्छ । चिसो पानी तल हुन्छ, त्यो तातेर माथि जान्छ, माथिको चिसोपानी तल आउँछ र त्यो प्रक्रिया चलिरहन्छ । सबै पानी समानरूपमा तातेपछि पानी उम्लन्छ तर उम्लिनका लागि निश्चित तापक्रममा भने पुग्नुपर्छ अर्थात ९९ डिग्रीसम्म पानी तात्यो भने त्यो वाफचाहिँ बन्छ तर उम्लिँदैन । उम्लिनका लागि त्यो १ डिग्री बढ्ने तातो दिनैपर्छ । त्यो तातो थोरै तताउँदा पनि प्राप्त हुन सक्छ । क्रान्ति गर्नका लागि पानी तताउने जस्तै निरन्तर प्रयास गर्नुपर्छ र सफल बनाउन ठूलै धक्का दिन सक्नुपर्छ । यसले आफूलाई सर्वहारा भन्नेहरूलाई क्रान्तिमा लाग्न धेरै प्रेरणा दियो ।  

उनले मानव सभ्यता सुरु भएको ऐतिहासिक कालदेखि खासगरी युरोप र अमेरिकामा भएको औद्योगिक क्रान्तिसम्म आइपुग्दा वर्गीय आधारमै विभिन्न चरणमा बाँडे र आदिम साम्यवाद, सामन्तवाद, पुँजीवाद, समाजवाद र साम्यवादका रूपमा व्याख्या गरे । पुँजीवादसम्मका घटना यथार्थमा भइसकेका थिए, समाजवाद छिटफुटरूपमा अभ्यास भइरहेको थियो भने साम्यवाद त उनको कल्पना थियो । आदिम साम्यवाद तथा आधुनिक साम्यवाद वर्गविहीन समाज भएको र हुने बाँकी सबैकालमा वर्ग हुने र ती वर्गबीचको संघर्ष चलिरहने उनको निष्कर्ष थियो ।  

यहाँ उल्लेख गरिएका चरण प्राप्त नभइकन कम्युनिस्ट सिद्धान्तअनुसारको राज्य व्यवस्था स्थापना गर्न सकिँदैन । राज्य व्यवस्थाका सबै चरणमा एउटा वर्गले अर्को वर्गलाई सिध्याउने वा शोषण गर्ने प्रक्रिया चलिरहने हुँदा बहुसंख्यक सर्वहाराले पनि आफ्नो अनुकूलको राज्यव्यवस्था बनाउन सशस्त्र संघर्षकै सहारा लिनुपर्छ । यसैकुरालाई आधार मान्दै माओले राज्य व्यवस्था बन्दूकको नालबाट सुरु हुन्छ भनेका थिए । त्यसैलाई बोकेर नेपालका माओवादीले १० वर्षे सशस्त्र युद्ध गरेका हुन् ।  

मदन भण्डारीले पनि यही शास्त्रीय व्याख्याअनुरूपकै कम्युनिस्ट शासन नेपालमा स्थापना गर्नुपर्ने कुरा बुझेका थिए तर उनले नेतृत्व गरेको माले पार्टीले आंशिक सशस्त्र संघर्षको बाटो अंगालेर गरेको झापा विद्रोहको असफलता उनले बुझेका थिए । अतः उनले माओत्सेतुङले विकास गरेको खासगरी गरिब तर औद्योगिक विकास नभएको तथा धेरैजसो किसान भएको देशमा माक्र्सवादी कम्युनिस्ट क्रान्ति गर्न सकिन्छ, त्यसका लागि समाजवादमा प्रवेश गर्नु भन्दा अगाडि पुँजीवादी क्रान्ति गर्नुपर्छ, त्यो भनेको नौलो जनवादी क्रान्ति हो, यसले समाजवादको आधार तयार गर्छ तर त्यो चरणमा सामन्तवाद तथा पुँजीवादका अवशेषहरू सर्वहारा नेतृत्वको कम्युनिस्ट पार्टीले सिध्याउँदै जानुपर्छ, अनि समाजवाद हुँंदै साम्यवादमा पुग्न सकिन्छ भन्ने हो ।

प्रकाशित: २५ माघ २०७७ ०५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App