२३ फाल्गुन २०७७ आइतबार
विचार

लोकतन्त्र खतरामा छ !

दुनियाँका वर्चश्वशाली तप्का ट्रम्सको पराजयसँगै अहिले मर्मान्त्त छ । वैचारिकी ऐक्यबद्धता त हुने नै भए । पराजय स्वीकार्न नसकेका राष्ट्रपति ट्रम्पले संसद् भवन क्यापिटोल हिलमाथि आक्रमण गर्न भीडलाई उकासे । अझै ह्वाइट हाउसमा उनी ६ दिन रहनेछन् । वहालवाला राष्ट्रपतिका हरेक आदेश मान्न सत्ता बाध्य हुन्छ । उनको उदण्डताका अन्तिम कथा लेखिँदै जाँदा उनलाई नेता मान्ने संविधान अर्थहीन सोच्ने विश्वकै अधिनायकवादी शासकले भने यसबाट के/कस्तो शिक्षा लिने हुन ? हामीले पनि के सिक्ने ?

दुनियाँमा अन्यन्त्र युद्ध थोपरिँदा सीमित अमेरिकीजनमात्रै युद्ध र हस्तक्षेपको विरोध गर्छन् अरू भने अन्यन्त्र ध्वस्त भएको रमिता र तमासा हेरेर लुटको हिस्सेदार हुन्छन् ।

शक्तिशाली देशको सत्तामा आउने सामान्य हेरफेरले पनि संसारमै असर पार्छ । प्रख्यात विचारक नोम चोम्स्की भन्छन्– अमेरिकामा दुई पार्टी (रिपब्लिकन र डमोक्रेट) नभई एउटै पार्टी छ, त्यो हो कर्पोरेट । कर्पाेरेट त्यसमा पनि हतियार निर्मातालाई युद्ध चाहिन्छ । दुनियाँमा अन्यन्त्र युद्ध थोपरिँदा सीमित अमेरिकीजनमात्रै युद्ध र हस्तक्षेपको विरोध गर्छन् अरू भने अन्यन्त्र ध्वस्त भएको रमिता र तमासा हेरेर लुटको हिस्सेदारी हुन्छन् । भियतनाम युद्धपछि युद्ध विरोधी शक्ति सडकमा देखिएन । हेर्दाहेर्दै लिबिया, अफगानिस्थान इराक, लिबिया र सुडान तहसनहस भए । अहिले आफ्नै आँगनमा लोकतन्त्रका नाममा भएको ताण्डव नृत्यले भने अमेरिकी समाज गम्भीर बन्यो ।

भीडतन्त्र भर्सेस लोकतन्त्रको महायुद्धमा उदारवाद केही समयसम्म आप्mनो मूल चरित्रमा रहन सके पनि कालान्तरमा ऊ अनुदारवादी बन्छ । पहिलो लोकतन्त्र अमेरिका होस् या सबभन्दा ठूलो लोकतन्त्र भारतमा कसरी अनुदारवाद मौलायो ? वर्चश्वशाली तम्का घृणाको भर्‍याङ चढेर सत्ता हासिल गरेर कसरी तानाशाहमा फेरिन्छ भन्ने उदाहरण बने  । संवैधानिक संरचना, शासकीय संस्था एक व्यक्तिमा केन्द्रित गरेर राष्ट्रवादको आवेगमा जनतालाई भीडमा फेर्दै स्वयं लोकतन्त्रमाथि आक्रमण कसरी गर्न सक्छ भन्ने कुरा क्यापिटल हिलले विश्वलाई सन्देश दियो ।

समर्थकको विश्वासलाई अन्धभक्तिमा फेरिएपछि उत्तेजित भीड एउटै झुटमा कसरी बौलाएर ‘प्रजातन्त्र’ को केन्द्रमाथि आक्रामक हुँदोरहेछ, देखियो । संसारकै शक्तिशाली व्यक्तिमाथि उत्तेजना फैलाएको भन्दै फेसबुक, इन्स्ट्राग्राम र ट्विटरले प्रतिबन्ध लगायो । अहंकारमा ठेस लागेपछिका उत्तेजना बनाँउदा इतिहासकै नकारात्मक नजिर देखिए ।

भीड ठूलो त हुन सक्छ तर बहुमत भने हुन सक्दैन् । संकट एक राजनीतिक मौका लिएर आउँछ तर धेरैजसो नेताहरू यस्तो फाइदा लिन चुक्छन् ।

राष्ट्रवाद भर्सेस अधिनायकवाद  

राष्ट्रवाद २० औं शताब्दीमा औपनिवेशिक शक्तिसँग स्वतन्त्रता पाउन छट्पटाइरहेका देशको ऊर्जा थियो । तर अहिले राष्ट्रवाद अधिनायकवादी, फासीवादी, तानाशाहको शक्तिशाली औजार बन्दा अल्पसंख्यकलाई दमन गर्ने हिंसक अजेन्डा बन्न पुग्यो । अमेरिका स्वयं एक आप्रवासी मुलुक हो । क्रिस्टोफर कोलम्बस ५२८ वर्ष पहिला पुग्नुअघि त्यहाँ आदिवासी रेड इन्डियन मात्रै थिए । दास लगे । सम्भावना खोज्ने उन्नत जनशक्ति लोभ्याए । अहिले भने वर्चश्वशाली तप्काको सोचमा अन्य आप्रवासी, अश्वेत, मुस्लिम, गÞरिब, महिला र  नागरिक अधिकारमाथि बज्रने ट्रम्पवाद बन्यो ।  

वैश्वीकरण नभई ‘अमेरिका फस्ट’ भन्दै राष्ट्रपति ट्रम्पले आफ्नो ‘राष्ट्रवादी’ नारालाई राजनीतिक उत्तेजनामा भरेर यस्तो ‘प्रतिष्ठा’ दिलाए कि स्वयं नै अलगिन चाहे पनि समर्थक भीडबाट उनी अब छुट्टिनै  सक्दैनन् । पराजित राष्ट्रपतिहरूले यति ज्यादा ७ करोड ४२ लाख मत कहिल्यै पाएका थिएनन् । आफ्नो ४ वर्षे कार्यकालमा २ पटक महाभियोग सामना गर्ने राष्ट्रपतिसमेत बने । सभामुख नान्सी पेलोसीले सेना प्रमुखलाई निवर्तमान राष्ट्रपतिको बाँकी ६ दिनको कार्यकालमा कोही यस्तो कदम नउठाउन्, सुरक्षा खतरामा नपारुन् जसको हातमा परमाणु बटन छ भनिन् ।  

के ट्रम्प युग सकिएको हो ?  

ट्रम्प व्यक्ति मात्रै नभई संसारकै वर्चश्वशाली प्रवृति र सोचको राजनीतिक प्रतिनिधि हुन् । त्यो यत्र, तत्र सर्वत्र छ । यो प्रवृति सामान्यजन, अल्पमत, प्रगतिवादी चिन्तनसँग सदा आतंकमा रहन्छ  । घृणा नै सोच केन्द्र बनाउँछ ।  कुनै पनि बेला  वर्चश्व गुम्न सक्ला भनेर कमजोर र अल्पसंख्यकमाथि आक्रामक हुन्छ । द्वयम् दर्जाको नागरिक स्वीकारोस् भन्ने चाहन्छ । आक्रमणको औजारमा राष्ट्रवाद, धर्म, इतिहासका गौरवता, जातीय वा सांस्कृतिक श्रेष्ठता बनाउँछ । लोकतान्त्रिक बर्बरतालाई न्यायिक बर्बरताले औचित्य दिलाउँछ । संवैधानिक संरचना भत्काउँदै शक्तिको केन्द्रीकरणमा पार्टी, सरकार र संस्थाको टुप्पोमा एउटा व्यक्ति मात्र बस्न पुग्छ । लोकतान्त्रिक चुनावमार्फत सत्ताको कार्यकारीमा पुगेर सब भन्दा पहिला लोकतन्त्रमाथि नै जाइलाग्छ । सबै काम संविधान पालकका नाममा नै ध्वस्त गरिन्छन् । विरोधी, आलोचकलाई राष्ट्रद्रोही आरोप लगाउँदै न्यायिक उत्पीडन गरेर आफूमात्र राष्ट्रवादी अथ्र्याउँछन् । कार्यकर्ता र जनताको चेतनाशून्य पारेर भीडमा फेरिन्छ । सुविधाअनुसारको सिद्धान्त गढ्नु र तर्क राख्नु ट्रम्पवाद हो । असहमतिलाई हतियार बनाएर आफ्ना विरोधी तह लगाउन खोज्नु अधिनायकवाद हो ।  

प्रधानमन्त्री किन बोलेनन् ?

ह्युस्टनको ५०औँ हजार अमेरिकी–भारतीयलाई सम्बोधनमा ‘अब कि बार, ट्रम्प सरकार’ को नारा लगाएर जोखिम मोलेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत क्यापिटोल हिलमा भीडद्वारा संसद् भवनमा भएको आक्रमणको निन्दा गरे । विश्वका अन्य अधिनायकवादी राष्ट्राध्यक्ष वा प्रमुखले पनि ६ जनाको हत्यासमेत गर्ने सो उपद्रोहको निन्दा गरे । घटनालाई उक्साउने राष्ट्रपति ट्रम्प स्वयंले पनि पछि निन्दा गरे । तर हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिक्रिया भने आएन् । विश्व ‘प्रजातन्त्रको प्रहरी’ अमेरिकी सो घटनाप्रति नेपालको पनि प्रतिक्रिया हुनुपथ्र्यो । हुन त अमेरिकी सत्ताले दुनियाँका कैयौँ लोकतन्त्रलाई कसरी ध्वस्त ग¥यो ? इतिहासका पाठक र राजनीतिशास्त्रका विद्यार्थीका नजरमा ओझल छैनन् ।

प्रधानमन्त्री ओलीले आफ्नै बहुमतको सरकार गिराउँदा संसद्को विश्वास लिएनन् । संसद्को सामना नगर्नु संसद्प्रतिको आक्रमण नै थियो । अहंकारको टकराहट र सत्ताहीन–भयले संसद्को सामना गर्न उनले चाहेनन् । त्यसकारण पनि अमेरिकी संसद् भवनमाथिको आक्रमण गर्ने कार्यको निन्दा नगरेका हुन् सक्छन् । घटनाको भूगोल र तरिका भिन्न भए पनि संसद् सामने पेस हुन नसक्नु एउटै विषय थियो ।

शक्ति र भय  

क्यापिटोल हिलमाथिको आक्रमण त्यो पनि संविधानको रक्षकको उक्साहटबाट अमेरिकी इतिहासमा अकल्पनीय घटना हो । संसारमा ‘प्रजातन्त्रको प्रहरी’ को यस घटनाले संसारले के सिक्ने ? शिक्षा के ? जहाँको भए पनि शक्ति जहिले पनि त्रासमा रहिरहन्छ । आदर्शका नारा लिए पनि ऊ षडयन्त्रको सिद्धान्तमै टिकिरहन चाहन्छ । जबसम्म सत्तामा रहन्छ, सबै संस्था स्वीकार्छ, जब सकिन्छ तब उनको आदेश संस्थाले स्वीकार्दैनन् भन्ने मनोत्रासले ऊ तानाशाह बन्छ । तब संस्थाप्रति अविश्वास मात्रै हैन, आरोप लगाउन थाल्छ । वर्चश्वशाली तप्का भोट बैंक कसरी बचाउनेमा रहन्छन् । वर्चश्वशाली समूह आमजनतामा डर पैदा गरेर मात्रै सुरक्षित सोच्छन्  । त्यो  ट्रम्प प्रवृति हो । उनले सो समूहलाई वाणी दिए । जो रक्षक त्यही भक्षक हुन्छ भने समाज त अराजक हुन्छ नै,  निरास पनि बन्छ । दुवै अवस्थामा समाजमा अराजकता फैलन्छ । आदर्श र सत्ता फरक हुन । चुनावमा उत्तेजना र भावुकतापूर्ण नारा उठ्छन् ।  

हरेक चिज पहिलोचोटि हुन्छ । पहिला सोच्न डराइएको विषय पनि कालान्तरमा स्वीकारोक्ति हुन्छ । स्ट्याटस फेरिँदा शक्तिलाई असहज महसुस गर्छन् । झट्का लागेपछि मान्छे सोच्न थाल्छ । झट्का अमेरिकामा मात्रै लागेन, ट्रम्प प्रवृतिलाई नै लाग्यो । वर्चश्व सकिन्छ कि भनेर आतंकित वर्चश्वशाली तप्का नै नयाँ विषय चाहन्थ्यो । त्यसलाई पात्र चाहिन्थ्यो । ट्रम्सले धनको तुजुग राजनीतिमा लगाए । तर बदला लिने कोसिस राजनीतिमा कमजोरी हो । डरलाई बढाएर राजनीति गर्नेहरू आफ्ना असफलता भने अर्काको टाउकोमा राख्न चाहन्छन् ।  

अन्तमा  

–तानाशाह आफ्नो हार अन्तसम्म पनि स्वीकार्दैनन् ।

–भीड ठूलो त हुन सक्छ तर बहुमत भने हुन सक्दैन् । संकट एक राजनीतिक मौकÞा लिएर आउँछ तर धेरैजसो नेताहरू यस्तो फाइदा लिन चुक्छन् ।  

– लोकतन्त्रमा कस्तो मान्छेलाई शक्तिमा पुर्‍याइँदैछ सोच्न आवश्यक पर्दोरहेछ । प्रणालीमा व्यक्तिको भूमिका नियाल्न आवश्यक हुन्छ ।  

–जसले हार्दाखेरि संसद्मै आक्रमण गर्न भिडलाई उकास्छ, जुन संसद्ले शक्तिमा पु¥यायो त्यसैलाई विघटन गर्न सक्छ भने उसले एकछत्र जित्यो भने के गर्ला ?  

–जब मान्छे कमजोर हुन्छ तब बहादुर देखिन चौतर्फ आक्रमण गर्छ । त्रासमा गुज्रिरहेको मान्छे सबैलाई शंका गर्छ । घृणामा जलिरहेको मान्छेले जे पनि गर्न सक्छ । अझ भविष्यमा शक्तिमा पुग्न सकिँदैन भन्ने लाग्छ भने त अझ ताण्डव नृत्य गर्न सक्छ । आक्रमक भिड जम्मा गरेर उनीहरूको दिमाग कब्जा गरेपछि उसले शक्ति आर्जन गरेँ भन्ने भ्रममा रहेर जे/जसो गर्न पनि हिच्किचाउँदैन्  ।

–सत्ता गुम्दाको पीडायुक्त शक्तिशाली मान्छेलाई उसको दिमागले काम गर्न सक्दैन् । सत्ताको विपक्षमा रहनु आलोचनात्मक चेत राख्नु हो । हरेक प्रश्नको जवाफ घृणा र प्रतिक्रिया हुनै सक्दैन् ।  

–हरेक तानाशाह अतिरञ्जित आत्मविश्वासका कारण गल्ती गर्दै जान्छन् । त्यसै खाल्डोमा खसेर पुरिन्छन् ।  

– संवैधानिक संस्था, न्यायिक र अर्धन्यायिक निकायको हैसियत सुरक्षित हुन्छ भने सन्काहा र रोगी तानाशाहले केही लछारपाटो लगाउँदैनन् । अझ हिटलर, तोजो, मुसोलिनी र राष्ट्रिय स्वयंसेवक संघ जस्तोे आवेगी सहयोगी संगठन छैन भने त लोकतन्त्र सुरक्षित पनि हुन सक्छ, सही लिकमा फेरि फर्कन पनि सक्छ ।  

–क्यापिटोल हिलको हमलाले बुर्जुवा प्रजातन्त्रको संसारमै सीमा, समस्या र अवस्थाको आँखा खोलिदियो  ।

–‘एक अस्वस्थ’ शासकले अन्तिम कुकृत्य केसम्म गर्न सक्दोरहेछ, आगामी दिनमा संसारका धेरै ठाँउमा देखिनेछन्  ।

– के अमेरिका मात्रै हैन, संसारकै लोकतन्त्र अहिले खÞतरामा छ !

प्रकाशित: १ माघ २०७७ १०:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App