१५ माघ २०७७ बिहीबार
विचार

जबज कति जिम्मेवार ?

संसारका कुनै पनि देश कम्युनिस्ट शासनमा समृद्ध भएका छैनन् । अहिले चीन संसारको दोस्रो अर्थतन्त्र भएको छ जापानको एउटा संस्थाले गरेको अध्ययनका आधारमा सन् २०२८ सम्म संसारकै पहिलो अर्थतन्त्र बन्ने आकलन गरेको छ जुन अस्वाभाविक छैन । चीनको यो समृद्धि कम्युनिस्ट शासन व्यवस्थाकै कारणले आएको मान्न सकिँदैन किनभने त्यहाँको अर्थतन्त्र पूरै पुँजीवादी छ र पुँजीवादका सबै प्रवृत्ति र विकृति त्यसले अपनाइसक्यो भन्दा फरक पर्दैन । सन् २०१० ताका करिव ४ दिनको बेइजिङ बसाइका दौरानमा त्यहाँको बाहिरी चालचलन हेर्दा कुनै पनि हिसावले समाजवादी व्यवस्था छ जस्तो लागेन । बाटोघाटो चौडा र चिल्ला छन् तर छिनछिनमा टोल ट्याक्स तिर्नुपर्छ । हामी बसेको संभवतः तीनतारे होटल थियो, त्यहाँ बाहिरको कारको त कुरा छाडौँ मोटरसाइकल पार्किङको पनि पैसा उठाइएको थियो ।

मदन भण्डारीले प्रतिपादन गरेर प्रयोगमा ल्याएका सिद्धान्तले एमाले र हालको नेकपालाई संसारबाटै लगभग लोप हुन लागेको कम्युनिस्ट सिद्धान्तमा टेकेर सत्तासीन बनायो ।  

फेरि टोललाई सम्झाउने त्यहाँ भव्य एउटा विवाह समारोह पनि आयोजना भइरहेको थियो । सो विवाह समारोहमा मैले त्यसअघि चलचित्रमा पनि नदेखेको संभवतः फ्रान्सको लक्जरी कार औडीको बथान थियो अर्थात विवाह समारोहमा उपस्थित सबै एकैखालको महँगो कारमा आएका थिए । हामीबाहिरको पर्यटक थियौँ तर होटेलले हामीसँग हरेक कोठाको ८० डलरका दरले तीन दिनको भाडा डिपोजिट गर्न लगायो र अनिमात्र होटलमा राख्यो, त्यो भन्दा अगाडि सुरुमा १५० डलर भनिएको होटललाई मोलमोलाई गर्दा गर्दा ८० मा झरेको थियो । साँझ हुन नपाउँदै उनीहरू (संभवतः दलाल हुनुपर्छ) ले देहव्यापारमा लागेका महिलाको तस्बिरसहितको सानो कार्ड वितरण गर्दै हिँडेका थिए जसमा सम्पर्क नम्बर दिइएको थियो । सुन्नमा आएअनुसार त्यस्तो पेसा बेइजिङमा वैधानिक जस्तै छ ।  

मैले विद्यार्थीकालमा सुनेको चीन र अहिलेको चीनमा आकाश–जमिनको फरक थियो । त्यतिबेला हाम्रा कम्युनिस्ट नेताहरूले चीन स्वर्गै जस्तो भएको, सबै समान, नागरिकको सबै जिम्मा राज्यले लिएको, व्यक्तिगत सम्पत्ति कसैको नहुने हुँदा लोभलालच र झैझगडा पनि नहुने, चोरको कुनै बिगबिगी नभएको हुँदा सबै घरमा ताल्चा पनि लगाउँदैनन इत्यादि । संभवतः यिनै सुखी समाजको चर्चा र व्याख्या कम्युनिस्ट शासनले दिने भएको हुँदा राजतन्त्र भएको गरिब देशका जनताले आफूलाई कम्युनिस्ट भन्नेहरूलाई बाहिरका जनताले मात्र नभइकन तुलनात्मकरूपमा समृद्ध काठमाडौँका रैथाने नेवारहरूले समेत उनीहरूलाई आश्रय मात्र दिएनन, आफ्ना छोरीचेलीहरूसँग विवाहसमेत गरिदिए । अहिलेका प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य तिनै चेलीमध्येकी एक हुन् ।  

जनमत र संख्यात्मकरूपमा कम्युनिस्टहरू धेरै भए तापनि उनीहरूबीच धेरै विभाजन भएका हुँदा त्यसको लाभ सधैँ कांग्रेसले लियो र लामो समय सत्ताभोग गर्‍यो तर कम्युनिस्टहरू एकजुट नहुँदासम्म एकमना सरकार बनाउन नसकिने बुझेर केपी ओली र प्रचण्ड एकजुट भएर सत्ताभोग गर्ने बाटो सुनिश्चित गर्दै करिब दुईतिहाइको सरकार बनाउन सफल भए तर उनीहरूको गुट र फुटको संस्कार पहिलेदेखि नै जब्बर भएको हुँदा अहिलेको अवस्था आएको हो भन्न कुनै विज्ञानको सहायता लिनुपर्दैन ।  

जसले कम्युनिस्ट दर्शन पढेको तथा बुझेको हुन्छ उसले संसदीय अभ्यासबाट कम्युनिस्ट शासन स्थापना गर्ने कल्पना पनि गर्दैन किनभने शासन भनेको वर्गीय हुन्छ र वर्गीयरूपमा जो धनी र सत्तासीन हुन्छ उसले सेनालाई आफ्नो अधीनमा राखेको हुन्छ र उसैमार्फत शासन गर्छ । अतः जबसम्म सेनालाई पराजित गरेर सर्वहाराहरूले आफ्नै सेना स्थापित गर्न सक्दैनन् तबसम्म कम्युनिस्ट शासन स्थापना हुँदैन र भइहाले पनि त्यो टिकाउ हुँदैन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालले सशस्त्र संघर्षबाट कम्युनिस्ट शासन ल्याउने विचार कहिल्यै पनि राखेनन, उनले जीवनपर्यन्त कांग्रेससँगको सहकार्यमा मात्रै पञ्चायत ढाल्न सकिन्छ र संसदीय अभ्यासबाटै कम्युनिस्ट शासन स्थापना गर्न सकिन्छ भन्ने धारणा राखे । त्यही धारणाको विरोधमा नेपालका कम्युनिस्ट तथा माक्र्सवादी चिन्तक मोहनविक्रम सिंंहले ‘गद्दार पुष्पलाल’ भन्ने पुस्तक लेखे । पुष्पलालको देहावसान पञ्चायतकालमै भयो, उनका अनुयायी मनमोहन अधिकारीहरूले पनि कांगे्रससँगको सहकार्यमै पञ्चायत ढाल्नुपर्ने लाइन जारी राखे तापनि त्यसले व्यापकता पाउन सकेन । यता झापा विद्रोहबाट उदय भएको कम्युनिस्ट समूहलाई मोहनविक्रमको समूहले उग्रवामपन्थी धार मान्थ्यो र उग्रवादको अन्त्य अवसरवादमा हुन्छ भन्ने मान्यता राख्थ्यो अथवा उनीहरू घोर संशोधनवादी भएर अन्ततः पुँजीवादकै तावेदारी गर्छन् भन्ने मान्थ्यो । मोहनविक्रमको सो व्याख्या अहिले कत्तिको सान्दर्भिक छ त्यो हेर्ने जिम्मा म पाठकलाई नै छोड्छु ।  

पुष्पलालकै समूहबाट प्रशिक्षित भएका मदन भण्डारी तत्कालीन माले पार्टीको नेतृत्वमा आए । उनले मोहनविक्रम सिंहको माक्र्सवादको व्याख्यालाई राम्ररी बुझेका थिए र के कुरामा विश्वस्त थिए भने पुष्पलालले जस्तै सिधै कांग्रेससँगको सहकार्य र संसदीय व्यवस्थाको वकालत गर्दा मोहनविक्रम जस्ता कम्युनिस्ट चिन्तकहरूले उनको सजिलै धज्जी उडाउनेछन् र उनको सिद्धान्त कम्युनिस्ट खेमामा टिक्न सक्दैन अतः उनले त्यसलाई व्याख्या गर्ने आधार माक्र्सवादी चिन्तकहरूको लाइनलाई नै बनाए । कम्युनिस्टहरूले देवता जस्तै पुज्ने पाँच जना व्यक्ति माक्र्स, ऐंगेल्स, लेनिन, स्टालिन र माआत्सेतुङ हुन । संसारकै कम्युनिस्टहरू उनीहरूले देखाएकै बाटोलाई सच्चा कम्युनिस्ट क्रान्तिकारी धार मान्छन् ।  

माक्र्सको आधारभूत ऐतिहासिक भौतिकवादको सिद्धान्तलाई आधार मान्दै पुँजीवादलाई फ्याँकेर लेनिनले रुसमा बोल्सेभिक क्रान्ति गरे । माक्र्सका सबै सिद्धान्त औद्योगिक क्रान्ति भएको पुँजीवादी शासन सत्ताकालमै गरेको हुँदा पुँजीवादको विकास नभएको कृषिमा आधारित अर्थतन्त्र भएको देशमा कसरी गर्ने भन्ने प्रश्न अनुत्तरित रहेको बेलामा माओत्सेतुङले किसानहरूलाई नै संगठित गरेर जुन क्रान्ति सफल गरे त्यसले नेपाल जस्तो कृषिप्रधान र किसानै किसान भएको देशमा पनि गर्न सकिन्छ भन्ने बाटो देखाइदियो । त्यसकारण नै नेपालका सबै कम्युनिस्ट पार्टी, केशरजंग रायमाझीबाहेकले माओत्सेतुङ विचारधारा अंगीकार गरेको देखिन्छ ।  

ऐतिहासिक भौतिकवादले पहिले आदिम साम्यवाद, त्यसपछि सामन्तवाद, पुँजीवाद, समाजवाद तथा साम्यवादको परिकल्पना गरेको छ । सबैजसो माक्र्सवादी पुँजीवाद नभइकन समाजवाद आउँदैन भन्ने मान्यता राख्छन् । माओत्सेतुङले पुँजीवाद र समाजवादको बीचमा अर्को एउटा चरण ल्याए त्यो भनेको नौलो जनवाद । त्यो नौलो जनवादमा सामन्तवादका अवशेषहरू प्रशस्तै रहन्छन्, अल्पमतमा पुँजीवादी राजनीतिक पार्टी पनि रहन्छन् तर त्यसलाई कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको सरकारले परास्त गर्दै समाजवादको बाटो सुनिश्चित गर्छ । माओत्सेतुङको यही व्याख्या र प्रयोगलाई मदन भण्डारीले प्रयोग गर्दै उनले माओत्सेतुङको सशस्त्र क्रान्तिबाट ल्याउने नौलो जनवाद पनि बहुदलीय प्रतिस्पर्धाबाट प्राप्त गर्न सकिन्छ । यसको प्रयोग मालेहरूले पञ्चायतकालमै गरिरहेका थिए । त्यतिबेला राष्ट्रिय पञ्चायतलाई उपयोग गर्ने भन्दै जनपक्षीय उम्मेदवारको नाउँमा धेरैलाई रापस बनाएका थिए । त्यसमध्येको अग्रणी नाम थियो– पदमरत्न तुलाधर, जागृतप्रसाद भेटवाल, सोमनाथ प्यासी इत्यादि ।  

झापा विद्रोहमा असफल भएको तत्कालीन माले पार्टीले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्ने आँट गर्न सकेन । सशस्त्र संघर्षको वकालत गर्ने मोहनविक्रम तथा निर्मल लामहरूको समूहले त्यस्तो संघर्षको अवस्था पनि देखेन । यस्तो अवस्थामा २०३६ सालको करिब एक हप्ते विद्यार्थी आन्दोलनबाटै तर्सिएर पञ्चायतले विद्यार्थी संगठनहरूलाई दिएको छूट तथा जनमत संग्रह गरेको अवस्थामा तत्कालीन पुष्पलालको लाइनलाई समातेर माले, अन्य कम्युनिस्ट घटकहरू मिलेर (जसलाई संयुक्त वाममोर्चा भनियो) कांग्रेससँग मिलेर २०४६।०४७ सालको पञ्चायत विरोधी आन्दोलन सफल भयो । यो सफलता मिल्नुमा पुष्पलालको लाइन तथा कम्युनिस्टहरूलाई एकजुट गराउनमा नौलो जनवादको सट्टा जनताको बहुदलीय जनवादको मदन भण्डारीको लाइन कारक तत्व थियो । त्यसैले उनलाई खासगरी एमाले पक्षधर नेता तथा कार्यकर्ताहरूले नेता, प्रणेता तथा सिद्धान्तकार मान्छन् ।  

मदन भण्डारी अहिलेसम्म जीवित रहेका भए के हुन्थ्यो त्यो केवल अनुमानको विषय हो तर उनले प्रतिपादन गरेर प्रयोगमा ल्याएको सिद्धान्तले एमाले र हालको नेकपालाई संसारबाटै लगभग लोप हुन लागेको कम्युनिस्ट सिद्धान्तमा टेकेर सत्तासीन बनायो । तर यो सिद्धान्त उनीहरूका लागि सत्ता प्राप्त गर्ने भर्‍याङ मात्र भयो । जनताले कम्युनिस्टहरूले बहुसंख्यक गरिब तथा निम्नमध्यमवर्गीय जनताको हितमा काम गरेर नेपाललाई समृद्धितर्फ डोर्‍याउँछन् भन्ने विश्वास गरेर करिब दुईतिहाइ बहुमतसहितको पार्टीले जनताप्रति घोर अपमान गरेको छ । यो पृष्ठभूमिमा मदन भण्डारीको जबज कति सफल कति असफल यसको निक्र्योल गर्ने जिम्मा पाठकलाई नै ।

प्रकाशित: २८ पुस २०७७ ०९:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App