पहिलो, एयरपोर्टमा आयोजकलाई भेट्नासाथ भने तपाईंहरुलाई सरकारी होस्टेलमा राखिँदैछ। सोचँे, भ्रमण गतिलो हुने भएन। अफ्रिका, चर्को गर्मी र बाक्लो लामखुट्टे लाग्ने देशमा सरकारी होस्टेलमा कसरी रात बिताइएला? चिन्ताबीच हामी सरकारी व्यवस्थापनमा रहेको इन्ष्टिच्युट डे टेक्नोलोजी एलिमान्टेरे पुग्यौं। कोठाभित्र पस्दा यो नेपालको राम्रो होटेलभन्दा फरक थिएन। सफा, साधारण बेड, टावल, एउटा साबुन, टेवल, एट्याच टवाइलेट र एसी। कोठामा पस्नासाथ अहा बसेर पढुँ/लेखुँ लाग्ने वातावरण। तर हामीकहाँ भएका सबै सरकारी आवास माकुराको जालो लागेका, ट्वाइलेट गनाउने, फोहोर, पानी नभएका र एकचोटि गएपछि अर्को पटक जानै मन नलाग्ने छन्। त्यति राम्रो वातावरण दिएर पनि होटेलको भन्दा धेरै सस्तो रहेछ।
त्यहाँको आम्दानीबाट ग्रामीण समुदायलाई खाद्य प्रविधि र प्रशोधनका विषयमा तालिम दिइँदो रहेछ। धेरै मानिस होटेलमा जाने भन्दा त्यहाँ जान मन पराउँदा रहेछन्। त्यसैले एलिमान्टेरे कहिल्यै पनि खाली हँुदो रहेनछ। यो मात्रै नभएर हामी गाउँको एउटा काउन्सिलको भवनमा समुदायसँगको अन्तरक्रियामा गयौं, जहाँको हल र चर्पीहरु यहाँका होटलभन्दा कम थिएनन् तर हाम्रो त मन्त्रालयकै पनि मन्त्री, सचिव र सहसचिवका कोठाका भन्दा अरु ट्वाइलेटमा दिसापिसाव गर्न नसकिने छन्। हाम्रो देशको यस्तो प्रशासन छ, आफू बस्ने कोठा राम्रो भएपछि अरुको कुनै मतलव छैन। कर्मचारीले आफूलाई राम्रो गरेपछि अरुलाई जस्तो गरुन् मतलव छैन। त्यसैले त हामीले शक्तिको पछि लाग्ने संस्कार विकास गरिरहेका छौं।
दोस्रो, हामीलाई एयरपोर्टमा लिन आएका ड्राइभरले भने- आज मेरो जन्म दिन। अनि मेरा साथी भारतीयले सोधे- कति वर्षको जन्मदिन मनाउँदै हुनुहुन्छ? उसले भन्यो- मेरो उमेर अनुमान गर्न सक्नुहुन्छ? मेरा भारतीय साथीहरुले अन्दाज गरे- ३६ देखि ३८ वर्ष। उसले हाँसेर भन्यो- म ५७ वर्ष पुगेर ५८ वर्षमा प्रवेश गरें। साथीहरुले अचम्म मान्दै सोधे- साँच्चिकै? हामीलाई लिन आएका आयोजक मित्र मिजाडेले पनि त्यही मेसोमा थपे- म ७३ वर्ष भएँ। जबकि उनी ४० वर्षका देखिन्थे। हामी चकित पर्यौंे। मिजाडेले थपे- मेरी आमा ९३ वर्षको हुनुहुन्छ, अझै पनि काम गर्नुहुन्छ। मेरी हजुरआमा १०३ वर्ष बाँच्नुभयो। हामीले सोध्यौं- सबै सेनेगली यस्तै हुन् वा तपाईंको परिवारमात्रै हो? हाँसेर उत्तर आयो- ममात्रै किन फरक हुन्छु? सबै सेनेगलीको सरदर आयु ७८ वर्ष छ, महिलाको मात्रै सरदर आयु ८० वर्ष छ। सबै सेनेगलीको उस्तै हो।
उनले भने- स्वास्थ्य र सुरक्षाका लागि पहिला हामीले २ वर्षका लागि आर्मी तालिम लिनुपर्छ। त्यसैगरी धेरै सेनेगली स्वास्थ्यका लागि खेल खेल्छन्। खेल खेल्नाले स्वास्थ्यमा धेरै राम्रो असर पर्छ। युवा/युवतीका लागि सरकारले खेल मैदानमा लगानी गरिदिएको छ। खेलमा संलग्न भएपछि युवा/युवती नचाहिँदो काममा संलग्न हुन पनि भ्याउँदैनन्। यसले स्वास्थ्यमा पनि राम्रो गर्छ। सेनेगली खानामा धेरै ध्यान दिन्छन्। त्यसैले उनीहरु स्वस्थ छन्। अल्कोहल ९० प्रतिशतले प्रयोग गर्दैनन्। गाउँमा कुनै पनि अल्कोहलको पसल पाइँदैन। खाली बस्दैनन् र केही न केही गरिरहन्छन्। उनका यी भनाइपछि मैले नेपालका मुसहर समुदायलाई सम्झें, जसको सरदर आयु ४२ वर्षमात्रै छ। सेनेगल गरिबै देश भए पनि त्यहाँका मानिस लामो समय बाँच्छन्। त्यसको मूल कारण आर्मी तालिम, खेल वा व्यायाम, अल्कोहल निषेध र दिनमा फरक-फरक खाना। सेनेगली दिनमा ३ पटक खान्छन् तर हरेक पटकको परिकार फरक हुँदोरहेछ।
तेस्रो, सेनेगलको एउटा गाउँमा भूमि सुधार अभियानको अन्तरक्रियाका लागि गइयो। खाना खाने समय भयो। खाना टेवल टेवलमा एउटै ठूलो स्ट्रे (भाँडो) मा राखियो। मैले सोचें, प्लेट आउँदै होला तर सेनेगलीले भने- सुरु गरौं। सबैले एउटै भाँडोमा खान थाले। मेरा लागि पनि उपाय भएन। सुरु गरेँ। उनीहरुले भने- यहाँको खाना खाने चलन नै यस्तै छ। खानामा विभिन्न प्रकारका तरकारी, कासभा र माछालगायत् विरयानी थियो। अन्तमा खाना बाँकी रह्यो। सोधें- यो खाना के हुन्छ? उनीहरुले भने- गरिबलाई बाँडिन्छ, एक छिनपछि देख्न सक्नुहुन्छ। नभन्दै गेटबाहिर स्कुले बच्चा टिफिन बक्स लिएर बसेका रहेछन्। बाँकी रहेको खाना लगेर तिनै गरिब स्कुले बच्चालाई बाँडियो। अघिल्लो दिनमा पनि मैले प्लाष्टिकको टिफिन बक्स बोकेर हिँडेका बच्चा बाटोमा देखेको थिएँ। उनीहरुकहाँ पकाएको खाना अर्को पटकलाई राख्ने चलन रहेनछ। शहरमा के छ थाहा भएन तर गाउँमा यस्तो चलन देखियो। यसमा मैले २ वटा कुरा पाएँ। पहिलो, गरिबलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावना र दोस्रो, स्वास्थ्यका लागि बासी खाना राम्रो होइन भन्ने बुझाइ।
चौथो, नेपाल र सेनेगलमा एउटै वर्ष सन् १९६४ मा भूमि ऐन बनाइ लागु गरिएको रहेछ। सेनेगलको ८० प्रतिशत जमिन समुदायको नियन्त्रणमा छ। ५ प्रतिशत मात्रै निजी स्वामित्वमा गएको रहेछ भने १५ प्रतिशत राज्यको नियन्त्रणमा छ। जुन बाटो, जंगल, नदी आदि पर्छ। प्रयोगको अधिकार दिएकाले बहुराष्ट्रिय कम्पनीबाहेक अरुलाई जमिनको धेरै लोभ पनि छैन किनभने यो व्यक्तिको निजी सम्पत्तिका रूपमा अहिलेसम्म स्वीकार गरिएको छैन। सबै जनासँग जमिन छ, जमिनविहीन वा भूमिविहीन कोही पनि छैन। गाउँमा बस्नेहरुमा धनी र गरिबको खाडल धेरै छैन् वा कामदार र जमिनदार छैनन्। सबैको जमिन भएकाले कोही कोहीप्रति आश्रित छैनन्।
पाँचौ, हामी गाउँको एउटा महिला सहकारीसँग छलफल गर्न गयौं। जसमा १० हजार महिला आबद्ध रहेछन्। उनीहरुले महिलाले गरेका सबै कृषि उत्पादन लिने अनि प्रशोधन गरेर बजारमा लैजाने गर्दारहेछन्। उनीहरुको फलफूल र तरकारीकोे आफ्नै ट्रेडमार्क र बजारमा स्टल रहेछ। खाद्य वस्तु पाउने प्रक्रियामा रहेछन् तर खाद्य सामग्री पनि सरकारको टे्रडमार्कमा रहेको प्याकिङमा बिक्री गरिरहेका छन्। उनीहरु भन्छन्- 'हामीले अप्रत्यक्षरूपमा १० हजार महिला र प्रत्यक्षरूपमा करिव ५ सय महिलालाई रोजगारी दिएका छौं। हिजो हामीलाई (राडी नामक गैरसरकारी संस्था) ले सहयोग गर्यो्, आज हामी राडीलाई पनि सहयोग गर्न सक्छौं। हाम्रा सदस्य राडीले मागेको ठाउँमा गएर तालिम दिन्छन्।' मैले सोचें- नेपालमा त महिलाको बचत समूह र सहकारीमात्रै छ। यसरी आफ्नै टे्रडमार्कमा सामान उत्पादन, बिक्री वितरण गर्ने र हजारौं महिलालाई रोजगारी दिने कृषि सहकारी छैन। गैससले गरेकै सहयोगमा पनि समुदायलाई आत्मनिर्भर बनाउने दिगो कार्यक्रम सञ्चालन गरेको पाएँ। सोचें- नेपालका गैससभन्दा सेनेगलका गैसस बचत समूह र सहकारीभन्दा अलि टाढा गएका रहेछन्। महिलाको आफ्नै उद्योग र उद्यममा सघाएका रहेछन्।
प्रकाशित: २८ चैत्र २०६९ ००:२१ बुधबार