दरवारिया सुखसयलमा हुर्केको, विवाहित, श्रीमती, एक छोरा र आमाबाबुसहितका सिद्धार्थ गौतम घर परिवार र सारा साम्राज्य छोडेर सत्यको खोजीमा घरबाट निस्के। तिनै सिद्धार्थ गौतमले ६ वर्ष लामो निरन्तर ध्यान साधनापश्चात मोक्ष प्राप्त गरी आर्य सत्यको बोध गरे। सबलाई बुझाए र भगवान बुद्धको नामले चिनिए। यति मात्रै थाहा पाउँदा पनि हामीलाई सांंसारिक जीवन र परमार्थको ख्याल गर्नुपर्ने रहेछ भन्ने बोध हुन्छ। तर एउटा राजनीतिक नेतृत्वले आफ्नो दम्भका कारण पद त्याग्न ३ करोड जनताको उपेक्षा गर्न पछि परेको छैन। अहंकारको परिचय, अहंकारको दम्भ सहन बाध्य जनताको तर्फबाट एउटा राजकुमारले सारा भौतिकताको सुख त्यागेर कसरी जीवन, जगत्र परमार्थलाई जान्न सक्यो ? जानौँ, बुद्धका चार आर्य सत्य र अष्टांगिक आर्य मार्गलाई।
चार आर्य सत्य
१. जीवन दुःख हो : जीवन दुःख हो र यो सत्य पनि हो किनभने जब मानिस जन्म लिन्छ तब तुरुन्तै उसलाई स्वास लिनुप¥यो, भोजन चाहियो, प्रेम चाहियो, आमाको न्यानो काख चाहियो। एवम् रितले हुर्कँदै, बढ्दै जाँदा उसका आवश्यकता पनि बढ्दै जान्छन्। तिनलाई पूर्ति गर्नका लागि मानिसलाई संघर्ष अर्थात् कर्म गर्नुपर्छ। गाँस, बास, कपासबाट सुरु भएका चाहना धन, पद प्रेम, सम्मान, अपनत्व, सफलता आदि चाहन्छ जुन स्वाभाविक पनि छन्, जुन सत्य हुन्। जीवनलाई दुःख मानिनुका कारण यिनै हुन्।
२. दुःखका कारणः जीवनमा दुःख छ, दुःखको कारण पनि छ, यो पनि सत्य हो। विनाकारण दुःख आउँदैन। कारणविना केही पनि सम्भव छैन।
३. दुःख निवारणका उपाय छन् : दुःखका कारण छन् भने निवारणका उपाय पनि छन्, यो पनि सत्य हो। कारणसहित आएको दुःखलाई निवारण गर्न सकिन्छ।
४. दुःख निवारणका मार्ग छन् : जहाँ समस्या छ त्यहाँ समाधानको उपाय पनि छ, त्यो उपाय नै निवारणका मार्ग हुन्, यो पनि सत्य हो। दुःख निवारणका मार्ग अष्टांगिक आर्य मार्ग हुन्।
अष्टांगिक आर्य मार्ग
१. सम्यक दृष्टिः जीवनमा आइपर्ने घटना र परिस्थितिलाई सही तरिकाले बुझ्नु सम्यक दृष्टि हो। घटना र परिस्थितिप्रतिको हेराइ दृष्टि हो। घटना र परिस्थिति एकातिर हुन्छ, हाम्रो सोच अर्कै हुन्छ, हामी आफ्नै तरिकाले सही, गलत, यसो हुनुपथ्र्याे, त्यसो नहुनुपथ्र्याे भनेर अर्थ लगाइदिन्छौँ। हाम्रो दृष्टि जस्तो हुन्छ परिणाम त्यस्तै आइलाग्छ त्यसैले भन्ने गरिन्छ– ‘यथा दृष्टि तथा सृष्टि’। घटना एकातिर हुन्छ, सत्यता अर्कै हुन्छ तर हाम्रो कथा आफ्नै जोड्छौँ भने दृष्टि सम्यक भएन। सकारात्मकता र नकारात्मकताको सोच पनि हाम्रै दृष्टिको कारण उत्पन्न हुने हुँदा आफू सकारात्मक बन्ने कि नकारात्मक भन्ने आफैँमा भर पर्छ। वास्तविकतामा ध्यान दिने र घटनाबाट सत्यताको ग्रहण गर्ने कि आफ्नै कथामा डुब्ने रोजाइ आफ्नै हो। अझ गहन कुरा गर्नुपर्दा परमात्मालाई मङ्गलमय मानेर स्वधर्मको पालना गर्नु सम्यक दृष्टि हो। सम्यक दृष्टिको मार्गमा हिँड्ने व्यक्तिको जीवनमा दुःख हुँदैन।
२. सम्यक जागृतिः आफ्ना हरेक कर्म र क्रियाकलापप्रति सचेत हुनु, होशपूर्ण हुनु सम्यक जागृति हो। जागृतिविनाको कर्मबाट असफलता र दुःख मिल्छ। आफ्नो अहंकारप्रति जागृत हुनु, म मात्र सही छु भन्ने भावनाबाट जागृत हुनु, अरूलाई दोष देखाउनमा मात्र रूचि लाग्छ भने त्यसप्रति पनि जाग्नु र होशपूर्ण कर्म र व्यवहार गर्नु सम्यक जागृतिको मार्ग हो। कुनै काम बिग्रियो, असफलता हात लाग्यो भने मानौँ हामी बेहोशीमा थियौँ। क्रोध, इष्र्या, द्वेष, कामना, लोभ, मोह जस्ता सबै रिपुहरू आफूमा प्रवेश गर्छन् भने त्यो हाम्रो बेहोशीको कारण हो। सम्यक जागृतिको मार्गमा हिंँड्ने व्यक्तिको जीवनमा दुःख सम्भव नै छैन।
३. सम्यक कर्मः कर्म त्यस्तो होस् जसले आफ्नो आवश्यकता, खुसी र सन्तुष्टि पनि मिलोस् अनि आफ्नो कर्मले अरूलाई हानि र कष्ट भने नपु¥याओस्, यो नै सम्यक कर्म हो।हामीसँग दिनमा २४ घण्टा समय हुन्छ। त्यो समय हामी केही न केहि कर्म गरेर बिताउँछौँ। रोजीरोटीका लागि गरिने कर्मदेखि लिएर सुखभोगका कर्म, परोपकारदेखि लिएर आफ्नो स्वार्थ पूर्तिकालागि पनि हामीले नै कर्म गरेका हुन्छौँ। कसैले अरूलाई दुःख दिने कर्म गरेका हुन्छन् भने कसैले अरूको कल्याण हुने र आफूलाई आनन्द पनि आउने कर्म। भगवान बुद्ध चाहनुहुन्थ्यो कर्म त्यस्तो होस् जसले संसारको आवश्यकता र सुख मात्र पूर्ति नगरोस्, परमार्थसम्म जाने मार्ग पनि तय गरोस्। अहिंसा र सत्यको कर्मलाई उहाँले जोड दिनुहुन्थ्यो। सम्यक कर्म गर्ने व्यक्तिलाई जीवनमा दुःख कहिल्यै हुँदैन।
४. सम्यक सम्बन्ध : सम्बन्ध जीवनको आधार हो। सम्बन्धमा मधुरता होस्, विश्वास होस् अनि दीर्घकालीन होस् त्यो नै सम्यक सम्बन्धको आधार हो। जोसँग हामी नजिक हुन्छौँ ऊसँग नै हाम्रो सम्बन्ध कायम रहन्छ। आफ्नो घर परिवार, इष्टमित्र, साथीभाइ, कार्यक्षेत्रका सहकर्मीलगायतका जोसँग पनि हाम्रो सहकार्य रहन्छ सबैसँग सम्बन्ध सुमधुर र टिकाउ हुन सक्नु सम्यक सम्बन्ध हो। एकअर्कामा विश्वास, प्रेम, सहयोगको भावना हुनु र तिम्रो पनि जित मेरो पनि जित, तिम्रो भलो मेरो पनि भलो भन्ने भाव र प्रेमसहितको सम्बन्ध कायम राख्न सक्नु सम्यक सम्बन्ध हो। सम्बन्धमा तिक्तता भएको व्यक्ति जतिनै सम्पन्न भएपनि उसको जीवनमा आत्मसन्तुष्टि मिल्दैन। सुमधुर सम्बन्धमा रहने व्यक्तिको जीवनमा दुःख भन्ने नै हुँदैन।
५. सम्यक शीलः मधुर वाणी, प्रसन्नता, धन्यवादभाव र असल जीवनशैलीमा बाँच्ने कला सम्यक आचरणभित्र पर्छन्। एकअर्कामा खबरको आदान–प्रदान गर्ने, बोल्दा, काम लिँदा या सहयोग माग्दा मीठो व्यवहारसहित गर्ने, सानो ठूलो भेदभाव नगरी मीठो र सम्मानजनक भाषाको प्रयोग गर्नु सम्यक आचरण हो। सम्यक दृष्टिको मार्गमा हिँड्ने व्यक्तिको जीवनमा दुःख हुँदैन। सेवाग्राही या सेवा प्रदायकसँगको मिठासपूर्ण आचरण आदिले हाम्रो शील, जीवनशैली कस्तो छ निर्धारण गर्दछ, सुखी, दुःखी, आनन्दित या गुनासोमा बाँचेका छौंँ निर्धारण गर्दछ। सम्यक शील अपनाउने व्यक्तिको जीवनमा दुःख कहिल्यै हुँदैन।
६. सम्यक सङ्कल्पः कुनै पनि काम प्रक्रियागतरूपमा सम्पन्न गर्नका लागि अपनाइने मानसिक उपाय सङ्कल्प हो। कर्मप्रतिको उत्प्रेरणा, अभिप्रेरणा र मनोवैज्ञानिक इच्छाशक्ति नै सङ्कल्प हो। सङ्कल्पसहित गरिएको कर्म पूरा हुन्छ र नतिजा पनि राम्रै आउँछ तर सङ्कल्प भीष्म सङ्कल्प भने हुनुहुँदैन। अरूलाई के असर गर्छ, कस्तो प्रभाव पर्छ ख्याल नगरी म गरेरै छाड्छु भन्ने अठोट लिइहाल्नु हुन्न। जुन सङ्कल्प आफ्नो हितमा छ र अरूलाई हानिगर्दैन त्यस्तो कर्मको सङ्कल्प लिनुपर्छ। सम्यक सङ्कल्पको मार्गमा हिँड्ने व्यक्तिको जीवनमा कहिल्यै दुःख हुँदैन।
७. सम्यक व्यायामः मानिसको शरीरलाई स्फूर्त राख्न, मानसिक स्थितिलाई शान्त र भावदशा स्वस्थ राख्न सम्यक व्यायाम अर्थात् सम्यक श्रमको आवश्यकता पर्छ। शरीर जति अस्थिर अर्थात् व्यस्त रह्यो त्यति स्वस्थ हुन्छ भने मन जति स्थिर रह्यो त्यति मानसिक शान्ति प्राप्त हुन्छ। श्रम र विश्राम दुवै ख्याल गरी योगाभ्यासलगायत कर्मशील हुने आचरण सम्यक व्यायामभित्र पर्छन्। सम्यक व्यायामलाई पनि महŒव दिएर त्यो मार्गमा हिँड्ने व्यक्तिको जीवनमा दुःख हुँदैन।
८. सम्यक ध्यानः विचारका कोलाहलबाट विश्राम लिएर स्वसत्ताको पहिचानमा डुब्नु सम्यक ध्यान हो। आउँदै जाँदै गरेको स्वासप्रति लयबद्ध भएर प्रणायामको लयमा आफ्नो शरीर र मनप्रति होशपूर्ण हुँदै साक्षीमा रहनु ध्यान हो। हरेक कर्मप्रति होशपूर्ण, खेलपूर्ण र सिर्जनात्मक हुनु सम्यक ध्यानको अभ्यास हो। अन्तर्मुखी भएर आफ्नो भाव दशासँग साक्षीमा रहनु, कुनै वकालत नगर्नु र केवल विश्राम अनि शून्यतामा रहनु ध्यान हो। आफू शरीर र मनबाट पार भई केवल छु र हुँ को शान्त अवस्था ध्यान हो। दैनिक १–२ घण्टा सम्यक ध्यानमा बिताउने व्यक्तिको जीवनमा दुःख भन्ने नै हुँदैन।
प्रकाशित: ६ पुस २०७७ ०३:४५ सोमबार