१६ फाल्गुन २०७७ आइतबार
विचार

संकटका बेला राजनीतिज्ञको भूमिका

नेटफ्लिक्स (अनलाइनमार्फत विश्वभरका दर्शकसामु सिनेमाहरू उपलब्ध गराउने वेबसाइट) मा ‘द क्राउन’ नामक एउटा वेब सिरिज छ । दर्शक र समीक्षकहरूले निकै मन पराएको यो सिरिजमा बेलायतकी महारानी एलिजावेथ द्वितीय, बकिङघम प्यालेस र त्यसबेलाको बेलायतको राजनीतिलाई निकै आकर्षक ढंगले देखाइएको छ । इतिहासकारहरूले चौथो सिरिजमा केही काल्पनिक कुरा देखाइएको भए तापनि अन्य भाग यथार्थको नजिक रहेको टिप्पणी गरेका छन् । बेलायत, रानी एलिजावेथ द्वितीय, उनको परिवार र तत्कालीन बेलायती राजनीतिबारे बुझ्न यो सिनेमा निकै उपयोगी छ ।

महामारी र प्रकोपको समयमा सरकार अभिभावकका रूपमा प्रस्तुत हुनुपर्ने सर्वमान्य सिद्धान्त विपरित सरकार करिब करिब पीडकका रूपमा प्रस्तुत भएको छ । जिम्मेवारीको पूर्णतः अभाव छ ।

यो सिनेमाको तेस्रो सिजनको तेस्रो एपिसोडमा सन् १९६६ मा वेल्सको कोइला खानीको दुर्घटना देखाइएको छ । ११६ बालबालिकासहित १४४ जनाको ज्यान लिएको उक्त दुर्घटनापश्चात ह्यारोल्ड विल्सनको नेतृत्वमा रहेको लेबर पार्टीको सरकार मात्र होइन, महारानी एलिजाबेथको पनि निकै आलोचना भयो । टार्न सकिने दुर्घटनालाई पनि टार्न नसकेको भनेर सरकारको आलोचना भएको थियो भने पीडितप्रति सहानुभूति प्रकट गर्न कञ्जुस्याइँ गरेका कारण महारानीको आलोचना भएको थियो ।  

सिनेमामा एउटा रोचक सम्वाद प्रस्तुत गरिएको छ । ह्यारोल्ड विल्सनले महारानीलाई दुर्घटनाबारे जानकारी गराउँछन् र तुरुन्त दुर्घटनास्थल पुगेर पीडितलाई सहानूभूति दिनुपर्ने सल्लाह दिन्छन् । तर महारानीले उक्त सल्लाह अस्वीकार गर्छिन् । महारानीको विचार राजपरिवारका सदस्य दुर्घटनास्थलमा जाने होइन, उनीहरू आवश्यक परे अस्पतालमा भेट्न जाने हो भन्ने हुन्छ ।  

तर सार्वजनिक आलोचना निकै बढेपछि महारानी दुर्घटनाको आठौँ दिन मात्र दुर्घटनास्थल पुग्छिन् । इतिहासकारहरूका अनुसार पछि महारानीलाई समयमै दुर्घटनास्थल नगएकामा निकै पछुतो हुन्छ । त्यसपछिका दिनमा महारानीले उक्त स्थानको धेरैपटक भ्रमण गरेकी छन् । भनिन्छ, अहिले महारानी एलिजावेथले जीवनभरमा सबैभन्दा बढी भ्रमण गरेको स्थान त्यही दुर्घटना भएको सहर हो । यसको कारण त्यतिबेला गरिएको गल्तीको प्रायश्चित हो भनिन्छ ।

माथिको उदाहरण राजनीतिज्ञ र उच्च ओहोदामा बसेका मानिसको आमनागरिकप्रति कस्तो उत्तरदायित्व हुनुपर्छ भन्ने कुरा देखाउन लिइएको हो । आमनागरिकको पीडामा मलम लगाउनु उनीहरूको कर्तव्य हो । नागरिक संकटमा परेका बेला उनीहरूका बीचमा गएर एक शब्द बोलिदिँदा वा उनीहरूलाई परेको अप्ठ्यारो सुनिदिँदा मात्र पनि उनीहरूलाई राहत प्राप्त हुन्छ । अझ उनीहरूलाई आफूले सकेको सहयोग गर्‍यो भने त झनै राम्रो हुन्छ ।

नेतामा हुनुपर्ने गुण

नेता भनेको को हो ? उनीहरूमा के गुण हुनुपर्छ भन्नेबारे सामाजिक विज्ञानसँग सम्बन्धित साहित्य र दर्शनहरूमा मनग्यै वर्णन गरिएको छ । जस्तोसुकै परिस्थितिमा पनि आमनागरिकमा आशा र उत्साहको सञ्चार गर्दै अगाडि बढ्न प्रेरित गर्ने व्यक्ति नै वास्तविक नेता ठर्दछ । कुनै पनि असल नेताले आमनागरिकलाई आफू उनीहरूको अभिभावक भएको महसुस गराउँछ जसले गर्दा दुःखको बेलामा उसको उपस्थितिले मात्र पनि आमनागरिकलाई राहत प्रदान गर्छ ।

कोभिड महामारीविरुद्ध एकजुट भएर यसको प्रतिकार गर्नुपर्ने बेलामा सरकार आफैँ पार्टीको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न व्यस्त छ । 

विश्वको इतिहास हेर्ने हो भने विन्सटन चर्चिल, अब्राहम लिङ्कन, महात्मा गान्धी, नेल्सन मन्डेला, लालबहादुर शास्त्री जस्ता नेता तथा राजनीतिज्ञ जनताको बीचमा निकै लोकप्रिय मानिन्छन् । संकटको बेलामा राजनेताको पहिचान हुन्छ भनिन्छ । कोभिड–१९ को समयमा न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेन तथा जर्मन चान्सलर एङ्गेला मार्केल निकै लोकप्रिय भए । उनीहरूले कोभिड नियन्त्रणका निमित्त अवलम्बन गरेका उपायलाई आमनागरिकले साथ दिए । यसले आमनागरिकको उनीहरूप्रतिको विश्वास दर्शाउँछ । जेसिन्डा आर्डेन, क्रोएसियाकी पूर्वराष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिच जस्ता राजनेतालाई उनीहरूका जनताले आँखाको नानीमा राख्छन् । यसको कारण उनीहरूको इमानदारिता, साहस, आफू र आमनागरिकमा फरक नदेख्ने, सिद्धान्त र व्यवहारमा एकरूपता कायम गर्नु हो ।

कोभिड–१९ को सन्दर्भमा पनि कतिपय नेताले उनीहरको व्यवहार र समस्या समाधानको निमित्त अवलम्बन गरेका उपायका निमित्त उच्च प्रशंसा प्राप्त गरे । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडेरिक्सेन, फिनल्यान्डकी ३४ वर्षीया प्रधानमन्त्री स्याना म्यारिन, नर्वेकी प्रधानमन्त्री अर्ना सोलवर्ग, ताइवानकी प्रधानमन्त्री चाइ इङ्गवेन पनि आर्डेन र मर्केलले जस्तै आमनागरिकको विश्वास जित्न सफल भए । आमनागरिकले उनीहरूलाई माया गरे ।

यी राजनेताले प्राप्त गरेको सफलता र आमनागरिकले उनीहरूप्रति देखाएका सदासयता र विश्वासलाई आधार मानेर प्रसिद्ध पत्रिका द न्युयोर्क टाइम्सले ‘सच्चा नेतृत्वको उदय संकटको बेलामा हुन्छ’ भन्ने शीर्षकको आफ्नो सम्पादकीयमा लेखेको छ– राजनीतिक जोखिम हुँदाहुँदै पनि शीघ्र र साहसिक निर्णय लिन सक्ने क्षमता, वैज्ञानिक तथ्यप्रति सम्मान, पारदर्शिता, अद्यावधिक सूचना, दया, करुणा कुनै पनि नेतृत्वमा हुनुपर्ने गुण हुन् ।

नेपालमा पनि कोभिड–१९ ले आमनागरिकको जीवनलाई अस्तव्यस्त बनाइदिएको छ । मानिसले रोजगारी गुमाएका छन् । भर्खरै राष्ट्रिय योजना आयोगले गरेको अध्ययनले पनि कोभिडका कारणले करिब १५ लाख मानिस गरिबीको रेखामुनि धकेलिएको जनाएको छ । कोभिडले आमनागरिकको जीविकामा त असर पारेको छ नै, यसले जनस्वास्थ्यमा पनि उत्तिकै असर पारेको छ । यो लेख लेख्ने बेलासम्म नेपालमा २ लाख ४० हजार भन्दा बढी कोभिडका बिरामी भेटिएका छन् भने १६ सय भन्दा बढीले ज्यान गुमाएका छन् । सरकारले यथेष्ट मात्रामा परीक्षण गरेको छैन । त्यसैले कोभिड प्रभावितको वास्तविक तथ्याङ्क प्राप्त भएको छैन । एक अनुमानअनुसार नेपालमा हाल करिब ३० लाख मानिस कोभिडबाट प्रभावित छन् ।

सरकार कोभिडबाट बचाउन र प्रभावितहरूलाई उपचारको व्यवस्था गर्न असफल भएको छ । विश्व स्वास्थ्य संगठनले तयार गरेअनुसारका प्रोटोकल त तयार गरिएका छन् तर ती प्रोटोकलअनुसार काम भएका छैनन् । आमजनता कोभिडबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका लागि लाग्ने खर्च बेहोर्ने क्षमता राख्दैनन् । मास्क, स्यानिटाइजर, साबुन, पानी जस्ता कुरा हुनेखानेका लागि त सामान्य होला तर धेरै गरिब मानिसका लागि ती पहुँच भन्दा बाहिर छन्  । अतः आमनागरिक बाध्यताले गर्दा यी कुरा प्रयोग नगर्ने अवस्थामा छन् ।

कोभिड लागि सकेका मानिसलाई स्वास्थ्य सेवा प्राप्त गर्न दुरुह छ । कहाँ जाने, एम्बुलेन्स कहाँ छ, कसलाई सम्पर्क गर्ने भन्नेबारेमा आमनागरिकलाई थाहा छैन । अस्पतालमा भर्ना भइहालेमा पनि खर्च कसरी बेहोर्ने भन्नेमा जनतामा अन्योल छ । कोभिड परीक्षणको रिपोर्टमा खेलवाड गरिएको छ । निजी  अस्पतालहरूले कोभिडको सन्दर्भमा विश्वसनीयता गुमाएका छन् । सरकारले कोभिडको बिमा रकम उपलब्ध गराउन सकेको छैन ।  

कोभिड महामारीविरुद्ध एकजुट भएर यसको प्रतिकार गर्नुपर्ने बेलामा सरकार आफैँ पार्टीको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न व्यस्त छ । पार्टीभित्रको द्वन्द्व पनि एकपटक होइन, पटक–पटक दोहोरिएको छ । कोभिड नियन्त्रणका नाममा अरबौँ खर्च भइसकेको छ तर आमनागरिकले खर्चअनुरूपको राहत र सुविधा महसुस गरेका छैनन् । सरकार कतै कोभिडको नाममा चरम भ्रष्टाचारमा त लिप्त छैन भन्ने शंका आमनागरिकमा छ । शृंखलाबद्ध भ्रष्टाचारका घटनाले यी शंकालाई बल पुर्‍याएका छन् । महामारी र प्रकोपको समयमा सरकार अभिभावकका रूपमा प्रस्तुत हुनुपर्ने सर्वमान्य सिद्धान्त विपरित सरकार करिब करिब पीडकका रूपमा प्रस्तुत भएको छ । जिम्मेवारीको पूर्णतः अभाव छ ।

देशमा लोकतन्त्र पुनस्र्थापनापश्चात लोकतन्त्रका लागि जीवन अर्पण गरेका राजनीतिक नेताहरूको तेजोबध गर्ने काम भएको छ । यसमा कतिपय अवस्थामा नेताहरूको आफ्नै आचरणले बल पु¥याएको छ भने अन्य अवस्थामा यो रणनीतिक हिसाबमा नै गरिएको छ । देशमा लोकतन्त्रका लागि लडेका राजनीतिज्ञहरूले आफ्नो साख फिर्ता गर्ने र आमनागरिकको विश्वास जित्ने समय भनेको संकटको बेलामा नै हो । सरकार र सम्पूर्ण राज्यसंयन्त्र आमनागरिकलाई राहत प्रदान गर्न उदासीन भएको अहिलेको अवस्थामा जनताको घरदैलोमा गएर उनीहरूका समस्या सुनिदिने र राहत प्रदान गर्ने काम गर्नु आवश्यक छ । यसले आमनागरिकलाई केही मात्रामा भए पनि राहत महसुस हुनेछ र राजनीतिप्रतिको नकारात्मक धारणा कम गर्नेछ । वास्तवमा नेपाली जनता सरकार र कर्मचारी संयन्त्रप्रति शंकित हुन्छन् भने आफ्ना जनप्रतिनिधिसँग खुलेर समस्या राख्न सक्छन् । अतः राजनीतिज्ञ र जनप्रतिनिधि  जनताको घर दैलोमा पुग्नुपर्ने अहिलेको आवश्यकता हो । पूर्वउद्योग मन्त्री नवीन्द्रराज जोशीले ठीक यही काम गरेका छन् जुन निकै स्वागतयोग्य कदम हो  ।

जोशीको सक्रियता

कोभिड नियन्त्रणमा जोशीको सक्रियता तारिफयोग्य छ । वरिष्ठ चिकित्सकहरूको साथमा उनले काठमाडौँ क्षेत्र नं. ८ का जनतालाई निःशुल्क मास्क, स्यानिटाइजर, थर्ममिटर, अक्सिमिटर र सिटामोल वितरण तथा टेलिफोनमार्फत आमनागरिकलाई २४ सै घण्टा चिकित्सकीय परामर्श प्रदान गर्ने कार्यको सुरुवात गरेका छन् । यसले आमनागरिकलाई राहत मात्र प्रदान गरेको छैन, नेताहरू चुनावका बेलामा मात्र भेट्न आउँछन् भन्ने आममानिसको धारणामा परिवर्तन गर्न पनि सहयोग गरेको छ । यसले समग्र लोकतन्त्रलाई नै सबल बनाउन भूमिका खेलेको छ । जोशीले हातमा मास्क, स्यानिटाइजर, थर्ममिटर बोकेर घर घरमा जाँदा अशक्त र वृद्धवृद्धासमेत बाहिर आएर उनीप्रति आभार व्यक्त गरेका दृश्यले नेताहरू जनताको घरदैलोमा जाँदा उनीहरूलाई कति खुसी प्रदान गर्छ भन्ने देखाउँछ ।  

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका जोशीले प्रतिष्ठानमार्फत लगाताररूपमा विभिन्न जनचेतनामूलक कार्य पनि गरिराखेका छन् वरिष्ठ चिकित्सकहरूलाई अन। लाइन मिटिङमा बोलाइ सो मिटिङलाई फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गर्दा आमनागरिकलाई कोभिडसँग सम्बन्धित तथ्यमा आधारित सूचना प्राप्त भएको छ । यस्तै उनकै अध्यक्षतामा देशका प्रतिष्ठित अर्थशास्त्रीहरूको समूहले कोरोनाको आर्थिक प्रभाव र अपनाउनुपर्ने उपायहरूबारे गहन अध्ययन गरेर नेपाल सरकारलाई प्रतिवेदन बुझाएको थियो । सरकारलाई कोरोनाले गर्दा जीवन यापनमा परेको प्रभाव कम गर्न २ खर्बको राहत प्याकेज घोषणा गर्नुपर्छ भन्ने सुझाव सोही अध्ययनले दिएको हो ।

समस्याको बेलामा नै नेतृत्वको पहिचान हुन्छ । अतः जनताका प्रतिनिधि संकटको बेलामा उनीहरूका घर दैलोमा नै पुग्नुपर्छ । अन्यथा राजनीति पेसामा परिवर्तन हुन्छ र नेताहरूको बोली र आदर्श पाखण्डपन मात्र हुन्छ । यसले आमनागरिकमा राजनीतिप्रति वितृष्णा जगाउँछ जुन लोकतन्त्रका लागि नै खतराको विषय हुन जान्छ । नेपालको सन्दर्भमा भन्ने हो भने नेपाली जनताका बीचमा वास्तविक नेता नभएका पनि होइनन् । तर विभिन्न कारणले ती नेता ओझेलमा परेका देखिन्छ । यस्तो बेलामा नवीन्द्रराज जोशीले जस्तै सबै राजनीतिज्ञले आआफ्नो क्षेत्रमा गएर जनताको सुखदुःखमा सहभागी भएमा आमनागरिकलाई अहिलेको अवस्थामा राहत त पुग्ने छ नै, राजनीतिप्रति जनआस्था पनि बढ्नेछ ।

प्रकाशित: २८ मंसिर २०७७ ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App