२२ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

अखिल र गुटबन्दी

यतिबेला अनेरास्ववियुभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ। २० औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित नेतृत्वलाई एमाले स्थायी कमिटीले विघटन गरी एकपक्षीय गुटबन्दीको आधारमा आयोजक कमिटी बनाएको छ। यो विषयमा अखिलका चार उपाध्यक्षसहित बहुमत सदस्यले असहमति जनाउँदै पार्टी अध्यक्षलाई अल्टिमेटम दिइसकेका छन्। नयाँ प्रक्रियाबाट समस्या समाधान नगरिए देशभर नै समानान्तर कमिटी बनाई आन्दोलन गर्ने चेतावनी दिएपछि अखिलभित्रको विवाद झनै छताछुल्ल बन्न पुगेको छ। आरोप-प्रत्यारोप र दोषारोपण कार्यकर्ताहरुका दिनचर्या बन्न पुगेका छन्। दुईवटा प्यानल बनाएर चुनाव उठेपछि दुइवटा मनोविज्ञान हुन्छ नै, त्यसलाई आग्रह-पूर्वाग्रहरहित व्यवस्थापन गर्न सक्नुपर्थ्यो नेतृत्वले। तर सबै चुनौती पेलेरै पार लगाउँछु भन्ने अहंकार र दम्भका कारण परिस्थिति जटिल बन्न पुगेको यथार्थ हो। जबसम्म फराकिलो छाती र सन्तुलित भूमिका निर्वाह गर्न सक्दैनौं, तबसम्म समस्या समाधान हुन सक्दैन्।

आफूले भनेको हुनुपर्ने, आफूलाई अधिकार चाहिने तर अरुलाई अधिकार दिन नचाहने प्रवृतिले के अखिलभित्रको समस्या समाधान हुन सक्छ? जे नहुनुपर्ने हो, त्यही भइरहेको छ अनेरास्ववियुभित्र। अखिलसँग गर्बिलो इतिहास छ, त्याग, समर्पण र बलिदानले भरिएको जीवनगाथा छ तर त्यो जीवनगाथा नयाँ पुस्ताको गुटगत चिन्तन र प्रवृत्तिले समाप्त हुने त होइन भन्ने गम्भीर प्रश्न उब्जिन पुगेको छ। समाजवादी मूल्य र वैज्ञानिक चेतनायुक्त सदस्य संगठन सञ्चालनका आधार हुन। काम सिन्को नभाँच्ने, आन्दोलनमा उपस्थित नहुने, गुण्डागर्डी गर्ने, ठेक्कापट्टामा उपस्थिति जनाउने, विभिन्न कार्यक्रमको बहानामा अखिलको लेटरप्याड र सहयोग रसिद बोकेर विभिन्न संघ/संस्थामा चन्दा उठाउँदै हिँड्ने अनि गुटको पुच्छर समाती चोखिन खोज्ने, गुट चलाउने र सिकाउने कार्यकर्ता उत्पादन यसरी नै अखिलले गर्दै गयो भने कमिटी त गठन/पुनर्गठन हुँदै जाला तर सिङ्गो संगठन नै ढिलो चाँडो ध्वस्त नहोला भन्न सकिन्न। २० औं राष्ट्रिय सम्मेलनपश्चात् प्रतिबद्धता कार्यान्वयन त भएन नै, अखिलका नेताहरुमा संकीर्णतावादी प्रवृति र गुटगत चिन्तन मौलाउँदै गयो।
हुन त विगत कोट्याएर वर्तमान जुठ्याउनु छैन तर अखिलमा जे/जस्ता घटना/गतिविधि हुँदैछ, त्यो सुखद् छँदै छैन। काम गर्न नसकेर पार्टीले संगठन नै विघटन गर्नुपर्ने त्योभन्दा लाजमर्दो अरु के हुन सक्छ? काम गर्न दिएनन्, गुटबन्दी गरे भनेर चोखिने कोसिस नगरौं। आफ्नै असक्षमता र गुटगत आग्रहले निम्तिएको समस्याका रूपमा बुझौं। विगतमा कार्यकर्तालाई के पाठ सिकायौं? कस्ता कार्यकर्ता निर्माण गर्यौंए? त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ। नीति, सिद्धान्त र संस्थागत फैसला नमानेर नेताहरुको घरदैलोमा गएर गुटबन्दी निम्त्याउने कार्य नेतृत्वले नै गरेको होइन र? विगतमा नजिर आफंैले बसाल्ने तर अहिले आफ्नो अनुकूलतामा निर्णय हुँदा पार्टीको निर्णय हो भनेर मान्दिनुपर्ने? यसरी विगतको यथार्थतालाई ढाकछोप गरेर राख्न सकिँदैन। अरुलाई संस्थागत फैसला मान भनेर हप्काउन राजनीतिक स्वतन्त्रता र कानुनी अधिकार भएरमात्र पुग्दैन, नैतिक अधिकार पनि जोगाएर राख्न सक्नुपर्छ। हिजो नेतृत्व निरङ्कुश भयो भन्ने आरोप लगाउँदै संस्थागत फैसला नमान्नेहरुले आज आफ्नो अनुकूलतामा गरिएका निर्णय अरुले मान्देलान् भन्ने अपेक्षा राख्नु बेकार छ।
सिद्धान्तप्रतिको समर्पणभाव, अनुशासित जीवन पद्दतिलाई अनुशरण गर्ने र अवसरवादी अहंकार गुटगत गतिविधि यो आन्दोलन र संगठनका निम्ति महारोग हुन भन्ने निष्कर्ष निकाल्ने हो भने अहिले देखिएका समस्या समाधान हुन सक्छन्। यसका लागि नेतृत्वले आफूले गरेको कमजोरी र पूर्वाग्रही निर्णय हटाउन सक्नुपर्छ। जसरी निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक पटक जानकारीसमेत नदिइ पूर्वाग्रही ढंगबाट हटाइएको छ, त्यसले लोकतान्त्रिक विधि, पद्धति र आन्तरिक लोकतन्त्र न्याय समानताको समेत खिल्ली उडाएको छ।
२५ वर्षपहिले एसएलसी पास गरेका तर हालसम्म स्नातकसमेत पढ्न नसकेकाहरु पदाधिकारीमा यथावत् रहने, उनीहरुलाई मापदण्ड लागु नहुने तर सदस्यहरुलाई त्यो मापदण्ड लागु हुने हुन सक्छ? त्यही व्यवसाय गर्ने एउटा सदस्य कमिटीमा पर्ने तर त्यही व्यवसाय गर्ने अर्को सदस्य नपर्ने त्यो कस्तो मापदण्ड हो? कार्यकर्तालाई उत्पादनसँग जोड्नुपर्छ भन्ने पेशा व्यवसायी गरी आत्मनिर्भर बनी संगठनलाई समय दिने कार्यकर्तालाई हटाउने नेतृत्वको कस्तो कार्यकर्ता नीति हो? कमजोरी हुन सक्छन् तर त्यसलाई ढाकछोप गर्नुहुँदैन। बरु त्यसलाई बेलैमा सच्याउनुपर्छ। गल्ती सच्याउँदा विश्वास कमजोर हुँदैन, अरु बलियो हुन्छ। घमण्ड र दम्भले कुनै अर्थ राख्दैन। वरदानको परीक्षण आफंैभित्र खोज्नुपर्छ। संगठनभित्र खोज्नुपर्छ, शक्ति केन्द्र्रमा खोजेर हुँदैन्। काम गर्दै नगर्ने नेताको गोटी बनेर राजनीतिको खाल धान्न खोज्ने प्रवृति अन्त्य गर्नैपर्छ। कहिलेकाहीँ सही विश्लेषण गर्न नसक्दा निर्णयहरु बेठीक हुन सक्छन्। तर त्यसलाई पार्टीले पनि सच्याउन सक्नुपर्छ। नेतृत्व असफल भयो भनेर विघटन गर्ने अनि त्यही नेतृत्व विकल्प हुने तर अरु सदस्यचाहिँ हट्नुपर्ने हुन सक्छ? असफलताको भागीदार कार्यकर्ता होइन, नेतृत्व बन्नुपर्छ। जसरी पूर्वाग्राही ढंगले नियतवस ३५३ सदस्यीयबाट १४१ सदस्य आयोजक कमिटी गठन गरिएको छ, त्यसले समस्या समाधान होइन, झनै विकराल रूप लिने निश्चित छ। संगठनबाट गुटबन्दी अन्त्य गर्ने र सबैको भावना कदर गर्ने हो भने ३५३ सदस्यलाई नै आयोजक कमिटीमा राखी सम्मेलन गर्ने संकल्प गर्न सक्नुपर्छ।

प्रकाशित: ४ चैत्र २०६९ ००:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App