१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

बेला नयाँ बाटोको

अमेरिकाका प्रसिद्ध चिन्तक थोमस पेनले 'कमन सेन्स' भन्ने पुस्तकमा लेखेका छन्- 'समाज मानिसको चाहनाले जन्मियो र सरकार मानिसको कुकृत्यले।' निकै अगाडि पढेको यो भनाई अहिले नेपाली परिदृश्य हेर्दा सत्यजस्तो लाग्छ। तर त्यस भनाईलाई अलिकति संशोधन गरियो भने नेपालको यथार्थता बढी झल्कन्छ- सत्ताको लोभले राज्य र सरकारलाई अपराधी बनाउँदोरहेछ र समाजलाई डस्दोरहेछ। थोमस पेनले सरकारको नकारात्मक चरित्रको संकेत गर्दा कुनै अमूर्त संस्थामाथि इंगित पक्कै गरेका हैनन्। सत्कार भनेर विचार गर्दा उनको 'चिन्तन' मा मानिसको, त्यो जातको मानिसको चित्र सल्बलाइरहेको हुनुपर्छ, जसलाई 'नेता वा राजनीतिज्ञ' भनेर चिनिन्छ आधुनिक सभ्यतामा। त्यस मानिसले गर्ने दुष्कर्म खतरनाक हुन्छ भन्ने कुरा अनुमान गर्न सकिन्छ। कारण ऊ राज्यको ढुकुटी, राज्यको बल र राज्यको वैभव सबै कुरा हातमा राखेर बस्छ। उसलाई नियन्त्रण गर्र्ने विधि निर्वाचनलाई अवरुद्ध पारिदिएपछि लोकतन्त्रमा जनताले सडकमा लाठी खानुबाहेक अर्को विकल्प बाँकी रहँदैन।
समाज मानिसको आवास स्थान हो। यो सुरक्षित हुनुपर्छ र त्यसले मानिसको स्वतन्त्रताको प्रयोगलाई उत्प्रेरित गर्नेमात्रै होइन, मानिसको सिर्जनशीलताको संरक्षण र सम्बर्द्धनद्वारा सामाजिक र वैयक्तिक उत्पादकत्वको विकास गर्नुपर्छ। समाज प्रेम, सद्भाव, नैतिकता र सदाचारको मान्यतामाथि खडा भएको हुन्छ। अधिक 'परस्पर निर्भरता' को प्रबर्द्धन गर्नु नै मानिसले समाज निर्माण गर्नुपछाडिको ध्येय हो। समाजको यस विशेषतालाई जोगाइराख्न कानुन आवश्यक पर्छ र त्यही कानुनको प्रयोगद्वारा समाजको बलियो परस्पर निर्भरता निर्माण गर्न सरकार चाहिन्छ। सरकारले समाजको यिनै चरित्रको उल्लंघन रोक्छ। त्यसैले भनिन्छ, सरकारले समाजलाई नकारात्मकताबाट जोगाउने भूमिका निर्वाह गर्छ। तर सरकारमा बस्ने मानिसका नियत र सत्कार बनाउने संयन्त्र (राजनीतिक दल) हरुको प्रभावहीनता राजनीतिक यथार्थ बनेपछि 'समाजको नैतिक र सदाचारपूर्ण' जग भत्कन्छ। अहिले नेपाली समाजको दुर्दान्तता राजनीतिक असफलताको परिणाम हो।
समाजले यस्तो अवस्थामा आफ्नो बौद्धिकताको प्रयोगले समस्याको समाधान खोज्नुपर्छ। उन्नत विचारद्वारा समाजको परिवर्तनलाई अग्रगति दिँदै आफूले आफ्नो भलाईका लागि निर्माण गरेको संयन्त्र सरकारमाथि नियन्त्रण गर्ने सामाजिक चेतनाको निर्माणमा सक्रिय भूमिका खेल्नुपर्छ। जुन कुरा नेपाली समाजमा अहिले भइरहेको छैन। समाजमा विद्यमान सांस्कृतिक संरचनाको जडताले परिवर्तित वा नयाँ सामाजिक चेतनाको विकासमा अवरोध पुर्यायउँछन्। नेपालको समाजको चेतना अहिले सुषुप्त अवस्थामा, कठ्यांग्रिएको अवस्थामा रहेछ भन्न सकिन्छ। अत्यन्त व्यक्तिवादी सोचाइ आफूलाई फाइदा हुने भए जुनसुकै मर्यादित मन्थनप्रतिको निरासा वा आलस्यता र अरुलाई जेसुकै होस् भन्ने स्वार्थी मनोवृत्ति र अरुका पीडामा बेवास्ता गर्ने वा खुसी हुने पीडात्मक भाव सामाजिक जडता र सुषुप्त सामाजिक चेतनाका लक्षण हुन। यस्ता लक्षण सबैभन्दा बढी सत्तामा बस्नेहरुमा, सत्तामा जान चाहनेहरुमा र सत्ताको राजनीति बुझ्नेहरुमा पैदा हुन्छ। त्यसै कारण अपराध, भ्रष्टाचार, राष्ट्र विरोधी गतिविधि, समाजलाई अराजकता र विशृंखलतातर्फ धकेल्ने खेलहरु राजनीतिका पर्याय बन्छन् र आमसर्वसाधारण मानिसमा तिनीहरुको गहिरो, खतरनाक र झन् बढी जडतालाई प्रबर्द्धन गर्ने निरासा सिर्जना गर्छन्।
नेपाली जनतामा यस घडीमा निरासा चुलिएको छ। राजनीतिमाथि नै वितृष्णा भरिएको छ। परिवर्तनप्रतिको उत्साह भत्किएको छ। सामाजिक एकतामाथि शंका मौलाएका छन्। अर्थात् परम्परागत समाज चिरा परेको छ। चिरा परेको ठाउँबाट साँप, बिच्छी र त्यस्तै पीडादायी तŒवहरु बाहिर आउने मौका पनि यही हो। उनीहरुका लागि यो अमूल्य समय पनि हो। कोही साम्प्रदायिकताका नाममा, कोही जातीयताका नाममा, कोही धर्मका नाममा, कोही भौगोलिकताका नाममा चल्बलाइरहेका हुन्छन्। यिनीहरुका आवाज ठूलाठूला हुन्छन् र गतिविधि तीव्र हुन्छन्। उनीहरुले पुग्ने ठाउँ त्यही हो, जहाँ राजनीतिककर्मीहरु आवास गर्छन्। नेपालमा अहिले यो परिस्थिति घनघोर भएको छ। राजनीति त्यस अर्थमा नयाँ सामाजिक चेतना र सामाजिक सह-अस्तित्वको साधन बन्न छाडेर राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथिको खतरा, मानवीय मर्यादा र स्वतन्त्रतामाथिको प्रहार, कमजोर मानिसमाथिको हिंसाको कारण बन्न पुग्छ। ३५०० वर्ष पुरानो इतिहासमा सन् १८१६ (सुगौली सन्धि) पछाडि नेपाली समाज राष्ट्रिय अखण्डताको चुनौतीमा जहाँ खडा भएको थियो, अहिले ठीक त्यस्तै स्वाभिमानीपूर्ण पहिचान अत्यन्त फितलो भएको छ र नेपालीको नियति अहिले विदेशिएका कामदारमा सीमित भएको छ र त्यसले मर्यादा र स्वतन्त्रता दुवै गुमाएको छ। महिलामाथि हिंसा, शोषण र अपराध सामाजिक विशृंखलताको प्रकट प्रवृत्तिका रूपमा खडा भएको छ।
यस्तो जटिल अवस्थामा पनि चिन्तन मुहानहरु फुट्न नयाँ विचारहरु प्रवाह हुन सकिरहेको छैन। जसविना नयाँ सामाजिक चेतना निर्माण हुन सक्दैन। समाजको अन्तरनिहीत परिवर्तनशीलताको चरित्रको परीक्षण यस्तै अवस्थामा हुने गर्छ। अर्थात् नेपालको वर्तमान अवस्थालाई नजिकबाट नियाल्दा कतै नेपाली समाजले परिवर्तनशीलता नै गुमाएको त होइन? भन्ने शंका पैदा भइरहेका छन्।
किन यस्तो जडता देखिएको होला भन्ने प्रश्नमा चिन्तनहरु मुखरित हुनुपर्ने अवस्था टड्कारो देखिएको छ। केही मोटा कारण भने देखिन र बुझिन थालेका छन्। नेपाली समाजमा विगतमा लादिएको भाग्यवादी चिन्तनले समाजका शिक्षित, बौद्धिक र सचेत मानिसमा पनि परिवर्तनप्रति डर, परम्पराप्रतिको अति-आस्था, समस्याबाट पलायन गर्ने मनोवृत्ति व्यापकरूपमा देखापरेको छ। नेपाली बौद्धिकताको चिन्तन प्रणाली अतीतमुखी देखिएको छ, भविष्यमुखी होइन। रुपान्तरणका लागि जाँगरभन्दा निरासाप्रति उन्मुख मनोवृत्ति देखिएको छ। नेपाली बौद्धिकताले सन्देहवादी संस्कारलाई प्रहार गर्न चाहेको छैन र अराजकतालाई अस्वीकार गर्ने दृष्टिकोण बनाउन पनि सकेको छैन। 'जगत मिथ्या' भन्ने भाववादी, रुढीवादी चिन्तनले मानिसलाई राष्ट्रियताभन्दा शिवरात्रि, परिवर्तनभन्दा रुढीवादको जगेर्ना, स्कुलभन्दा मन्दिर निर्माण, वैज्ञानिक चेतनाको प्रवाहभन्दा धार्मिक प्रवचनको आयोजना र राष्ट्रको पहिचानभन्दा आधुनिकताका नाममा विदेशी जीवन संस्कारको गौरवपूर्ण ग्रहणशीलताप्रति उत्प्रेरित गरेको स्पष्ट देख्न सकिन्छ।
अर्को महŒवपूर्ण कारण हो- निरन्तरको असफल क्रान्ति र क्रान्तिका नाममा अत्यन्त ठूलो धोका। २००७ सालदेखि अहिलेसम्म नेपाली क्रान्ति केही राष्ट्र विरोधी मानिसका कारणले मानिसको भविष्य निर्माण गर्ने गौरवपूर्ण परिवर्तनको बाहक नबनी राष्ट्र र जनताप्रति धोकामा परिणत भएका घटना अब छर्लंग भएका छन् र तिनीहरुले केवल धोकाको संस्कृति निर्माण गरेकामात्र होइन, अब उप्रान्त क्रान्तिप्रति नै जनताको अविश्वासको अवस्था सिर्जना गरेका छन्। असफल क्रान्तिको एउटा महŒवपूर्ण कारण सत्तालाई निजीकरण गर्ने षडयन्त्रमूलक व्यक्तिहरुको पहिचान गर्न र राजनीतिमा बौद्धिकता, तटस्थता र इमानदारिताको पक्षपोषण गर्न नसक्ने संयम समूहको कमजोर भूमिका पनि हो। यस चरित्र र अकर्मण्यताको दोष प्रत्येक शिक्षित मानिसमा धेरै थोरै छ। ममा पनि छ र मेरो त्यो दोषप्रति आजैबाट क्षमायाचनासहित बाहिर आउने अठोट गर्छु।
त्यसैले अब राजनीतिक विवादमा बहस होइन, नेपाली समाजको नयाँ चेतना जसले राष्ट्रिय सुरक्षा, राष्ट्रिय अखण्डताको संरक्षण, वैज्ञानिकताउन्मुख परिवर्तन र समृद्ध लोकतन्त्रको प्रतिनिधित्व गर्न सक्छ, लाई सांस्कृतिक टुँडिखेलमा ओर्लंदै, राष्ट्र निर्माण र समानत, समान सहभागिता र समान मर्यादाका आदर्शमा आधारित सामाजिक सद्भावपूर्ण संरचनाका लागि चाहिने औजारहरु, संगीतहरु, काव्यहरु, कथाहरु बोकेर सडक ओर्लिने बेला आएको छ। अब देशले एउटा मानिस, जसले यस्ता चाहनाको नेतृत्व गर्छ, खोजेकै हो। बाँकी सबै अब केवल इतिहास हो। अब भविष्यतर्फ हेरौं।

प्रकाशित: २७ फाल्गुन २०६९ २३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %