२६ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

जगको इँटा र सीके प्रसाईं

टाडैबाट देखिन्छ मन्दिरको गजुर। चलाख मान्छेले दान गर्नुपर्‍यो भने ऊ मन्दिरमा गजुर हालिदिन्छ। सबैले देख्नेछन् त्यसलाई र त्यसको प्रशंसा गर्नेछन्। भनिरहने छन् पछिसम्म नै, त्यो गजुर फलानोले हालिदिएको, कति सुन्दर र कलात्मक छ। वास्तवमा मन्दिर, यदि त्यसमा सुन्दर गजुर नभए त्यो के मन्दिर? तर मन्दिर अडिएको हुँदैन गजुरमा। मन्दिर त उभिएको हुन्छ दह्रो इँटा वा ढुङ्गाको जगमा। ती इँटा वा ढुङ्गा पनि कसैले दान गरेकै पैसाले किनेर त्यहाँ राखिएका हुन्छन्। तर कसले देख्छ जगको इँटा? आज जति पनि पुराताŒिवक संरचनाहरु हजारौं वर्षदेखि उभिन सकेका छन्, तिनको जग नै तिनलाई उभ्याउन सक्षम छ। कत्रा कत्रा भूकम्पले नढलेको चीनको पर्खाल, मिश्रका पिरामिडहरु, ताजमहल वा इफेल टावरहरु जगमै दरिएर उभिन सकेका छन्।
कुनै पनि व्यक्ति, वस्तु, विचार, दर्शन जे पनि यदि धेरै समयदेखि सशक्त छ भने त्यो वैज्ञानिक र वस्तुगत कुराको आधारभूत शक्तिमा दह्रो गरी उभिएको हुन्छ। हजारौं वर्षदेखि समाजमा घुलेर रहेका धर्म, परम्परा र संस्कृतिहरु कुनै नौलो दर्शनको आँधीमा त्यत्तिकै बगेर जान सकेका हुँदैन। त्यस्ता विचारका भेलहरु त्यसमाथि भएर जान्छन् र पछि ती चीजहरु, धमिलो, घुर्मैलो, घोटिएको भएर त्यही ठाउँमा त्यसैगरी स्थिर भेटिनेछन्।
हामी यदि कुनै घर बनाउँदैछौं भने - के हामीले त्यसको जगमा भइरहेको खर्च कटौती गर्दैछौं? के जगको खर्चलाई जोगाएर भित्तामा राम्रो रङ्ग लगाउन सोच्दैछौं? धेरै जसो गल्ती यहीँबाट सुरु हुन्छन्। जुन काममा बढी लगानी गर्नुपर्ने हो त्यसमा नगर्ने र जुनमा त्यत्ति आवश्यक छैन, त्यसमा धेरै मेहनत गर्नु। यसबाट वर्तमान झन्झटिलो र भविष्य असुरक्षित हुन्छ। साना साना भूकम्पहरुले पनि ढलिहाल्ने घरहरु धेरै मानिसका अदूरदर्शिताका नमुना हुन्।
यस्तै हो, विचार र दर्शनको स्थिति पनि। ती विचार वा दर्शन जसका बलमा समाजलाई परिवर्तन गर्नेबारे हामी सोच्छौं, यदि तिनको वैचारिक शक्तिको जग दह्रो छैन भने त्यसमा समाजलाई उभ्याउन सकिँदैन, उभ्याए पनि त्यो ढल्छ। संसारमा धेरै त्यस्ता विचार वा दर्शन ढले र समाप्त भए, जसको जगमा मानवहीत, कल्याण र सनातन शक्ति थिएन। आध्यात्मिक दर्शनसँग एउटा मनोगत शक्ति हुन्छ, जसले व्यक्तिलाई सांसारिकताबाट विमुख गराई एक्लो बनाउँछ। उसलाई संगठनबाट पृथक गराउँछ तर समाजपरक विचार र दर्शनहरु समाजसँगै समानान्तर गतिमा बग्नुपर्ने हुनाले तिनको वैचारिक शक्ति आधारभूतरूपमा सशक्त हुनुपर्ने हुन्छ।
आजसम्म संसारमा चलेका र टिकिरहेका जति पनि विचार वा चिन्तन छन्, तिनका पछि गतिशील र परिवर्तनकारी शक्ति लुकेको हुन्छ। राजनीतिक जगतमा त यस्ता विचार झन् धेरै धरापमा पर्ने गर्छन्। सारा समाज र देशलाई हाँकेर हिँड्नुपर्ने विचारसँग अनेकौं तर्क, बहस र क्रियागत सामर्थ्य हुनु जरुरी छ। नेपाली राजनीतिमा पनि २००७ सालपछि थुपै्रखाले वैचारिक धारहरु समावेश हुँदै आएका छन्। कतिपय विचार तात्कालिक प्रभावोत्पादक शक्ति बोकेर आए र तिनीहरु केही कालपछि नै सबैले नसम्भि्कने गरी बिलाएर गए। नेपाली राजनीतिमा दीर्घकालसम्म प्रभाव पारेर बसिरहन सक्ने शक्ति दुइटा विचारसँग मात्र देखिन्छ। एउटा कार्ल मार्क्सको साम्यवाद र अर्को बीपीकोइरालाको प्रजातान्त्रिक समाजवाद।
नेपाली राजनीतिको औपचारिक प्रस्थान विन्दु २००३ साललाई मान्दा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने पहिलो र अहिलेसम्मकै आन्दोलक विचार भनेको प्रजातान्त्रिक समाजवाद नै रहेको देखिन्छ। २००७ सालदेखि २०६२/६३ सालसम्मका हरेक आन्दोलनको नेतृत्व यही विचारले गर्दै आएको छ। नेपालको भूराजनीतिक अवस्था र सामाजिक, साँस्कृतिक परिवेशसँग मिल्न सक्ने यस विचारका प्रस्तावक बीपीकोइरालाले यसलाई आफ्ना कृतिहरु र भाषण तथा अन्तर्वार्ताहरूद्वारा समय-समयमा प्रकट गरेको भेटिन्छ। यही विचारको धरातलमा टेकेर २०१५ सालपछिको डेढ वर्षे सरकारका अर्थमन्त्री सुवर्णशमशेरले प्रस्तुत गरेको बजेट भाषण अझसम्म आधार स्रोतका रुपमा मानिने गरेको पाइन्छ। राजनीतिकरूपमा प्रजातन्त्र र आर्थिकरूपमा समाजवादलाई समातेर मिश्रित वैचारिक आदर्शको परिकल्पना गरिएको पाइन्छ। यही विचारलाई निर्देशक सिद्धान्तका रूपमा स्वीकार गरी नेपाली काँग्रेस छ दशकदेखि क्रियाशील छ। र, त्यस पार्टीको शीर्षस्थ नेताका रूपमा बीपीले आफ्नो लामो राजनीतिक जीवन बिताएका थिए। तैपनि यस विचारलाई जुन ढङ्गले व्याख्या र विश्लेषण गर्नुपर्थ्याे, त्यो काम भने उनीबाट हुन सकेन।
बीपीको त्यही विचारलाई अत्यन्त गहिरो गरी अध्ययन गरेर सरल भाषामा व्याख्या गर्ने सबैभन्दा महŒवपूर्ण काम गरेका छन् सीके.प्रसाईंले। सक्रिय राजनीतिमा लागेको केही समयमै जेल तथा निर्वासनमा जानुपरेका उनले आफ्नो बाँकी समय विभिन्न राजनीतिक दर्शनहरुको अध्ययन र प्राध्यापनमा बिताए। भारतको उत्तर बंगाल विश्वविद्यालयमा वाणिज्य शास्त्रको प्रध्यापकका रूपमा उनले झण्डै एक दशक काम गरेका छन्। यही समयमा उनको अध्ययन अत्यन्त विस्तृत भएर गएको देखिन्छ। संसारका उत्कृष्ट राजनीतिक दर्शनसँग प्रजातान्त्रिक समाजवादी विचारको तुलनात्मक अध्ययन गर्दै त्यसलाई विश्वका कैयौं महान् व्यक्तित्वहरुको जीवनसँग दाँजेर विश्लेषण गर्ने नौलो शैलीद्वारा सीकेले आफ्नो ज्ञानको परिचय दिएका छन्।
निर्वासनपश्चात् स्वदेश फर्केपछि प्रतिबन्धित नेपाली काँग्रेस पार्टीको सक्रिय कार्यकर्ताका रूपमा रहेर पनि विचारको विस्तार र प्रशिक्षणमा व्यस्त देखिन्छ। आजको सरल राजनीति, व्यावहारिक राजनीतिको प्रारम्भिक रूपरेखा, कम्युनिष्ट मेनिफेस्टो समाजवादको आधारशीला, मन जे मान्या, सत्य आदि कृतिहरुलगायत् विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ लेखन गर्दै आफ्नो चिन्तनलाई विस्तृत गरेको देखिन्छ। २०५३ सालमा प्रकाशित सीके प्रसाईंका विचारहरु नामक ग्रन्थमा विभिन्न पत्रपत्रिकामा प्रकाशित उनका सामग्रीहरु संकलित छन्।
माथि उल्लिखित सीकेका सम्पूर्ण कृतिहरु प्रजातान्त्रिक समाजवादको अध्ययनका लागि महŒवपूर्ण मानिन्छन्। आफ्नो जीवनको सम्पूर्ण समय प्रजातान्त्रिक आन्दोलनमै समर्पित गरेका उनी एक निष्ठाको विम्बका रूपमा मानिन्छन्। वि.सं.१९८८ साल फागुन ७ गते सर्लाहीको पडरियामा जन्मेका उनले प्रारम्भिक शिक्षा भारतको खरसाङ र नेपालको काठमाडौंबाट पूरा गरेका थिए भने सन् १९५३ मा भारतको वाराणसी हिन्दु विश्वविद्यालयबाट एमकम गरेका थिए। २०१३ सालदेखि नेपाली काँग्रेसमा प्रवेश गरी २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा सहभागी भएर सक्रिय राजनीतिक जीवनमा प्रवेश गरेका उनी २०१६ सालमा नेका महाधिवेशन प्रतिनिधिमा चुनिए।
२०१७ सालमा राजा महेन्द्रले संसदीय व्यवस्थाको अन्त्य गरी सबै नेताहरुलाई समातेर कारबाही गर्दा उनी पनि सर्वश्व हरणमा परे। त्यसबेला सयौं विघा जग्गा, सुन्दर कलात्मक घर, हजारौं पुस्तकले सजिएको लाइब्रेरी र घरेलु चिडियाखानासमेत गुमाउनुपरेको थियो। माफी मागेर पञ्चायतलाई स्वीकार गरे सम्पूर्ण सम्पत्ति फिर्ता हुने तथा राजनीतिक सम्मानसमेत गरिने राजाको प्रस्तावलाई अस्वीकार गरी अत्यन्त गरिवीपूर्ण जीवन बिताए। आफ्नो निष्ठासँग कुनै कुरा पनि नसाट्ने सीकेलाई नेपाली प्रजातान्त्रिक आन्दोलनले सदैव सम्भि्करहेको छ। साना-साना लोभ र व्यक्तिगत अहंहरुका साथ विचलन हुने हजारौं त्यस्ता मान्छे छन्, जसलाई आज कसैले पनि स्मरण गर्दैनन्।
वि.सं.२०५० साल फागुन ८ गने हृदयरोगका कारणबाट असामयिक निधन भएका सीके आज पनि उत्तिकै स्मरणीय छन्। सीके प्रसाईं पदीय हिसाबले नेपाली काँग्रेसको केन्द्रीय सदस्यसम्म मात्र भएका देखिए तापनि त्यस पार्टीको एक बौद्धिक सम्पत्तिका रूपमा अत्यन्त आदरणीय छन्। चलाखहरुले मन्दिरमा जतिसुकै सुन्दर गजुर चढाए पनि पुरातŒववीदहरुले गजुरको होइन, त्यस मन्दिरको जगको उत्खनन् गर्नेछन् भविष्यमा। अनि त्यही जगको ढुङ्गो नै सबैभन्दा ऐतिहासिक र मूल्यवान हुनेछ। सीके प्रसाईं पनि एउटा त्यस्तै जगको ढुङ्गो हुन्, जो दिनदिनै चासो र जिज्ञासाका विम्ब बन्दै गइरहेछन्।
लेखक सीके चिन्तन प्रतिष्ठानका संस्थापक अध्यक्ष हुन्।

प्रकाशित: ७ फाल्गुन २०६९ २२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App