१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

जननायक र खलनायक

राजनीतिर्यदा सम्यक् शास्तारमधितिष्ठति।
तदा विद्याविदः सर्वे शेषा विद्या उपासते।।
(प्राचीन सूक्ति)

जुन बेला राजनीतिशास्त्रमा पारङ्गत जननायकद्वारा विधि/विधानअनुसार न्यायनिसाफ र सुव्यवस्था कायम गरी सुशासन कायम हुन आउँछ, त्यसै बेला मात्र मुलुकमा विद्याको विकास र विद्वान््हरूको कदर हुन्छ।
नियम कानुनअनुसार सुशासन भएका बखत देशमा सबै विद्याको अभिवृद्धि, शास्त्रज्ञानको सञ्चार देशको विकास समुन्नति भएर जनतामा सुशासन खुशियाली आउँछ तर जुनबेला देशको शासनको बागडोर खलनायक-दुष्ट शासकको हातमा पर्न आउँछ, त्यस बेला यसको ठीक विपरीत देशको अवस्था हुन आउँछ, न त देशमा विधिविधान न्याय निसाफअनुसार शासन चल्छ न त विद्याको विकास हुन्छ न विद्वान्/विज्ञहरूको कदर हुन्छ। देशमा अव्यवस्था, अशान्ति, अन्याय, अत्याचारको पराकाष्ठा हुन आउँछ, दुःख कष्ट पीडाले सताउँछ। यो राजनीति शास्त्रकारका सूक्तिकोे भाव हो।
इतिहासमा चाहे राजतन्त्र होस्, चाहे प्रजातन्त्र होस्, प्रजाहितैषी सुशासक छ भने देशमा सुख शान्ति सुव्यवस्था हुन्छ। जननायक होइन, देशमा प्रजापीडक खलनायक शासक भयो भने त जहिले पनि अशान्ति अव्यवस्था अराजकता नै हुन्छ। तर लामो इतिहासको अन्तरालमा थोरैमात्र जनहितैषी राजा वा शासक भेटिएका छन्, नत्र प्रायः धेरैचाहिँ सत्ता स्वार्थमै लिप्त आत्मकेेन्द्रित धनलोलुप अर्थकाममै आशक्त देखिएका छन्।
लिच्छविकालमा प्रजाहितैषी शासक अंशु बर्मा देखिन्छन्, जो प्रजाको सुख सुविधाका लागि यथोचित न्यायनिसाफ दिनका लागि रातोदिन धर्मशास्त्र अर्थशास्त्रमै विचार विमर्श गरिरहन्थेे। उसबेला पनि उनी लोकप्रिय थिए, अहिलेसम्म पनि उनी असल शासकका रूपमै सम्भि्कएका छन्। त्यस्तै मध्यकालमा जयस्थिति मल्ल, महीन्द्र मल्ल पनि जनप्रिय र जनताले सम्भि्कएका शासकमा पर्छन्। आधुनिककालको इतिहासको श्रीगणेश नै गोरखाका राजा पृथ्वीनारायण शाहबाट सुरू हुन्छ। प्रथमतः उनले थोरै अर्थबल र सैन्यबलले छरिएको जनशक्तिलाई एकतासूत्रमा आबद्ध गरी भुरेटाकुरे राज्यमा विभाजित नेपाललाई एकीकरणमा ल्याउने काम गरी सिङ्गो नेपाल पुनः निर्माण गर्ने कार्य गरे। हुन त नेपाललाई एकत्रित गर्ने राजाहरू पृथ्वीनारायणभन्दा पहिले नभएका होइनन्। तिनमा पहिलो मध्यकालका सिजाका अशोक चल्ल, जयतारी आदित्य मल्ल आदिको नाम लिन सकिन्छ। पछिल्लो मध्यकालमा भएका राजा यक्षमल्ल (मुनि) मुकुन्द सेनहरूले विजय अभियान चलाएर विशाल नेपाल नबनाएका पनि होइनन्। तर तिनको सो कार्य दिगो हुन सकेन। यो हुन नसक्नाको रहस्य पत्ता लगाएर पृथ्वीनारायणले जनतामा उत्साह, उमङ्ग राष्ट्रियता राष्ट्रिय जागरण ल्याएर प्रारम्भ गरेको एकीकरण अभियानले निरन्तरता पनि पायो, दिगो पनि भयो। विगतमा भएका असफलताको रहस्यचाहिँ उत्तराधिकारीको रोलक्रम नियमबद्ध नहुनु र राज्यलाई अंशबण्डा गर्ने प्रथा चल्नु नै थियो। यसमा कडासँग प्रतिबन्ध लाउँदा नै यो दिगो भएर आएको हो। सो राष्ट्रियताको जोस जागरण नसेलाई रहुन्जेल पृथ्वीनारायणसँग साँधिएका भाइभारदारले उनको नीतिनियम अनुशरण गरुन्जेल नेपाल राज्य डगमगाएन पनि। परन्तु सो नीति पालन नगरेदेखि नै नेपालले यस्ता अनेक ठक्कर खाँदै आउनु परिरहेछ।
पृथ्वीनारायणको अर्को अवदान हो सुशासन। विजित प्रदेशका आफ्ना जनतामा भेदभाव नगरी शान्ति सुरक्षाको प्रत्याभूति दिने र न्याय व्यवस्था कायम गर्ने। त्यस बेला यस देशमा अशान्ति अव्यवस्थाले घर गरेको थियो। ती भुरे राजाहरूको आपसी कलहले दिनहुँजसो झैझगडा वैमनस्यले गर्दा जनता आजित भइसकेका थिए र यस्तै शान्ति सुरक्षाको सुशासनको प्रत्याभूति दिने जोसुकै होस्, त्यस्तो पुरुषार्थी जननायकको प्रतीक्षामा थिए। यसमा अघिसरा पृथ्वीनारायणै भए, जनता स्वतःस्फूर्त रूपमा यस अभियानमा संलग्न भए, जनताको यस्तो आकाङ्क्षा जागेको नहँुदो हो त यति चाँडै यति सानो शक्तिले सानो अर्थबलले एकीकरण अभियान यति तीव्र गतिमा अघि बढ्न सक्ने थिएन।
पृथ्वीनारायणको अर्को ठूलो अवदान हो, विदेशी शक्तिलाई परास्त पार्न सक्नु। पहिलो पहिलेदेखि जरो गाडेर बसेको मुस्लिम शक्ति र दोस्रो एसियालाई निल्न मुख बाएर अघि बढेको ब्रिटिसको साम्राज्यवादी शक्ति। यी ठूला शक्तिलाई एक एक गरेर गोरखाली बलले तोड्न सकेपछि नेपालमात्र होइन, बाहिरी देशमा पनि पृथ्वीनारायणको बाहबाही चल्यो। यस्तै अनेक अवदानका कथाले नै पृथ्वीनारायण अनन्य साधारणमा श्रद्धेय वीर पुरुषमा जननायक गनिए, जनमनमा आदरणीय पनि भए।
अहिले पृथ्वीनारायणको यो कथा हाल्नुको अर्थ छ। नवनेपाल निर्माण गर्छौँ भनेर उदाएका नयाँ नेताहरूको हातमा नेपालको शासन भार आएपछि साँच्चै नयाँ नेपाल निर्माण गर्ने ती जननायकको सम्झनामा मनाइआएको दिवस (पृथ्वी जयन्ती) रोकियो। पृथ्वीनारायणमात्र के, हामीले श्रद्धा गर्नुपर्ने, सम्झनुपर्ने आफ्नो राष्ट्र जनताका लागि मरिमेटेर लागिपरेका तनमन दिएका वीर शहीद सपुत जननायकहरू तथा विद्याव्यवसायी विद्वान्हरूलाई श्रद्धा गर्न छाड्यौँ भने हाम्रो राष्ट्रियता, नेपालीपना, धर्म संस्कृति र इतिहास के होला? हामी कहाँ पुगौंला?
नेपाल बनाउने राष्ट्र निर्माताहरूको अवदानलाई अवमूल्यन गर्ने कथित कल्पित नयाँ नेपाल बनाउनेहरूको के अवदान छ त? विदेशीले भन्ने गरेको, विदेशीले वषर्ौंदेखि चाहेको नेपाली राष्ट्रियता भत्काउने, नेपाली धर्म संस्कृति इतिहास बिगार्ने कुरा सिकेर सुनेर स्वयं नेपाली नेताहरूले गर्न लागेको देखिन्छ। पृथ्वीनारायण आफ्नो वा आफूले मन पराएको मान्छे होइन, जनताले मन पराएको योग्य मान्छे पद प्रतिष्ठामा पुर्याूउनुपर्छ भन्थे र त्यसै गरेका पनि थिए। अहिले यसको उल्टो आफ्ना जहान परिवार र आफन्तलाई माथि माथि पदमा पुर्या इन्छ, योग्यलाई फालिन्छ। पृथ्वीनारायण घुस दिने र घुस खाने दुवै देशका महाशत्रु हुन् भन्थे, अहिले स्वयं शासक र शासकका आफ्नै मान्छे भ्रष्टाचारमा लिप्त छन्। यी के हुन्? देशका मित्र कि महाशत्रु? पृथ्वीनारायणले अपराधी उम्कन नपाओस् भन्ने ध्येयले निष्पक्ष न्याय व्यवस्था चलाउने नीतिशास्त्र पढेका डिठ्ठा अदालतपिच्छे नियुक्त गरी दोषीलाई सजाय र निर्दोषलाई उन्मुक्ति दिलाउने काम गराउँथे। अहिले सबैले देखे/जानेकै कुरा हो, शासकका आफन्तले सात खतबाट मुक्ति पाइरहेछन्। अन्य निर्दोष जनता शोषित, पीडित भएर कष्ट भोगिरहेछन्। धनजनको सुरक्षा छैन, अपहरण, भ्रष्टाचार, बलात्कारका घटना बढिरहेछन्। खुशीराजीले नभए बलजफ्तीले धन बटुल्ने पेशा मौलाएको छ। चन्दा आतङ्कले जनता त्राहिमाम् छ। यस्तो स्थितिमा अहिलेका यी स्वयम्भू नेताले साँच्चै राष्ट्रनिर्माता पृथ्वीनारायण जस्ता वीर सपुतहरूलाई तिरस्कार गर्न मिल्छ? तिनको अवमूल्यन गर्ने नैतिकता यिनमा छ? ती हाम्रा पूर्खाको बितेका जननायकहरूको अवदानका कथाबाट प्रेरणा पो लिनुपर्ने हो। आफ्नो राष्ट्रियता छाडेर आफ्नो धर्म संस्कृतिलाई फालेर आफ्नो परम्परा इतिहासलाई बिर्सेर आफंैआफ बनेर भोटका लाङ्दार्मा, चीनका शिहहाङ्ती हुने हो भने उनीहरूको नियति सम्झँदा हुन्छ।
पृथ्वीनारायण, बहादुर शाह, दामोदर आदि वीर सपुतको अवदानसँग अहिलेका सत्तासीन शासकका कारनामाको के तुलना गर्नु? त्यो धेरै माथिको कुरा भो, अहिलेका प्रधानमन्त्रीको त प्राइमिनिष्टर जङ्गबहादुरसँग पनि राष्ट्रियता र नैतिकताको सवालमा तुलनै हुन सक्तैन। उनी आफूभन्दा माथिका आफूसमानका भारदारलाई मारेर सत्तासीन भएका थिए। यिनीचाहिँ निरपराध निमुखा निहत्था जनतालाई मारेर, बिल्लीवाठ पारेर। यतिसम्मचाहिँ साम्य छ भन्दा हुन्छ। जङ्गबहादुरसँग राष्ट्रियता चुरो मरेको थिएन। ब्रिटिस सरकार प्रमुखसँग पनि आफ्नो देशको शानमान राखेरै रहे। मिलेरै भए पनि नयाँ मुलक ल्याए, लडेरै भोटमा नेपालीको सबै व्यापारमा आधिपत्य जमाइराखे। तर नयाँ नेपाल बनाउँछु भन्ने अहिलेका प्रधानमन्त्रीमा त्यस्ता गुण ठ्याम्मै छैनन्। विदेशीका एजेन्ट र सामान्य कर्मचारीसम्मले पनि हेपाइत गरेको देखिन्छ। जननेता भन्नेहरू पनि त्यस्ता विदेशीसँग दबेर अदबसँग पेश हुन्छन्, सामान्य शिष्टाचारसम्म नराखी आफ्नो मानमर्यादा भुलेर लाज पचाई बेला न कुवेला सेवामा हाजिर हुन्छन्।
यस्तो नेपालको अवस्था देख्ता २००७ सालका प्रजातन्त्रका सेनानी जननेताको सम्झना हुन आउँछ। ती देशकै लागि जनताकै हक अधिकार उन्नतिका लागि लडिरहेका थिए, अहिलेका यी नेता जस्तो प्रत्येक पल जनताकै दुहाइ दिने जनताकै नाम जप्ने तर व्यवहारमा सम्पूर्ण कामकारवाही गर्दाचाँहि आफ्नो र आफन्तको स्वार्थमै अभिप्रेरित र सीमित भएर चल्ने थिएनन्। तिनमा पनि त्यसबेलाका उदीयमान जननेता विश्वेश्वरप्रसाद कोइरालाको अहिले स्मरण हुन आउँछ। उनी सर्वशक्तिमान् गृहमन्त्री भएका बेला ठानामा जाइलाग्न खोज्ने जुलुस हटाउने सिलसिलामा प्रहरीको गोली लागी एउटा छात्रको ज्यान गयो। गृहमन्त्रीले त्यसको जिम्मेवारी लिई नैतिकताका आधारमा तत्काल पदबाट राजीनामा दिए। दुर्घटना हुँदा पनि सम्बद्ध मन्त्री राजीनामा दिन्थे। छिमेकमा रेल दुर्घटना हुँदा पनि विभागीय मन्त्रीले राजीनामा दिएका छन्। अहिले यहाँ यस्ता दुर्घटना त के? कत्रा कत्रा भ्रष्टाचार बलात्कार, हत्या, अपहरणका काण्ड र बम बिस्फोटसम्म भइरहेछन्। दिनदहाडै मान्छे मारिरहेका छन्। अहँ, जिम्मेवारी कसैको छैन। गृहमन्त्री, प्रधानमन्त्रीको रौँ पनि हल्लँदैन। नैतिकता हरायो, जिम्मेवारी कहाँ गयो? जाँचपडताल भयो भने पनि साना प्रहरी कर्मचारी दोषी ठहर्छन्। सत्तासीन मन्त्रीहरू चोखाको चोखै, पानीमाथिका ओभाना।

प्रकाशित: २१ पुस २०६९ २२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App