१० कार्तिक २०७७ सोमबार
विचार

नजिकबाट देखिएका महाकवि

हालै महाकवि लक्ष्मीप्रसाद देवकोटाका सुपुत्र प्रा. डा. पद्मप्रसाद देवकोटाले प्रकाशित गर्नुभएको किताब ‘सम्झनामा बुबा महाकवि देवकोटा’ हात प-यो, तत्काल आद्योपान्त पढेँ। व्यक्तिगतरूपमा मलाई यो किताब तीन कारणले बडो महत्वपूर्ण लाग्यो। पहिला, यो नेपालका सर्वाधिक चर्चित र एक प्रकारको पौराणिक पात्र (लेजेन्ड) जस्ता महाकविको जीवनका केही महत्वपूर्ण पक्षमा छ। दोस्रो, यो किताब महाकविका सुपुत्र (जो स्वयं प्राज्ञिक अनुशासन बुझेको र अंग्रेजी साहित्यमा पिएचडीसमेत गरेको व्यक्ति हुनुहुन्छ) ले नै लेखेको हुनाले देवकोटाको व्यावहारिक जीवनबारे योभन्दा बढी आधिकारिक र सन्तुलित स्रोत अरू पाउन गाह्रो छ। हुनपनि यसमा पद्मजीले आफैँ देखेका र आफ्नी आमाले भोगेका अनि भनेका कुरा लेख्नुभएको छ। तेस्रो, असामयिक देहावसान भएका महाकवि देवकोटा (१९६६–२०१६) को कविताको पृष्ठभूमि र उहाँको जीवनका व्यावहारिक पक्ष (कठिनाइ या दुःख) के/कस्ता थिए भन्ने कुरा नजिकबाट हेर्न/बुझ्न सकिन्छ यस किताबबाट। मलाई लाग्छ, कविको कविता मीठोमसिनो पद्य हो भने उसको दैनिक या व्यावहारिक जीवन खस्रोधस्रो गद्य हो। अथवा यसो भनौं, कविता रेशमको धागो हो भने कवि किम्बुका तीता पात खाएर रेशम धागो दिने कीरा हो। यो कुरा लक्ष्मीप्रसाद देवकोटामा भन्दा बढी लागु हुने अर्को नेपाली साहित्यकार मेरो ज्ञानमा छैन।  

यस लेखमा महाकवि देवकोटाका कृतिहरूको व्याख्या सम्भव छैन र त्यसो गर्नु यसको उद्देश्य पनि होइन। पद्म देवकोटाले लेखेर हालै प्रकाशित गरेको किताबको छोटो चर्चा गर्नु मात्र यस लेखको उद्देश्य हो। सुरुका १० पृष्ठबाहेक १९७ पृष्ठ भएको यस किताबमा चार खण्ड (क, ख, ग, घ) छन्। खण्ड क ‘बुबा लक्ष्मीप्रसाद देवकोटा’महाकविकै बारेमा छ। यसमा ४५ उपशीर्षकमा विविध कुरा लेखिएका छन्। खण्ड ख ‘मुमा मन देवकोटा’ का बारेमा छ। यसमा १३ उपशीर्षकमा विविध कुरा लेखिएका छन्। खण्ड ग दुई उपशीर्षकमा विभाजित छ– १.‘महाकवि देवकोटाका सम्पदा’ जसमा देवकोटाका कृतिहरूको अवस्थाको चर्चा छ।  यहाँ देवकोटाका नेपाली, संस्कृत र अंग्रेजीमा प्रकाशित कृति र अप्रकाशित पाण्डुलिपि गरी जम्मा ८८ वटा छन् भन्ने र तिनको प्रकाशनबारे सूचना पाइन्छ र २.‘कवि कुञ्ज’ जुन महाकविले २००० सालदेखि मैतीदेवी फाँटमा बसोबास गरेको घर हो।  खण्ड घ ‘अरू सबै’ भनिएको छ जसमा आठवटा विषय छन्। अनि परिशिष्ट खण्डमा नौवटा विषय छन्।  

पद्म देवकोटाले आफ्ना पिताजीका बारेमा जे/जति लेख्नुभएको छ इमानदारीसाथ लेख्नुभएको छ। यो किताब नेपाली साहित्यका सबै पाठकले पढ्नैपर्छ।

किताबमा महाकविसित सम्बन्धित केही ऐतिहासिक महŒवका तस्बिर पनि छन्–केही सार्वजनिक भइसकेका र केही नभएका। पहिलो तस्बिर महाकविका जेठा छोरा प्रकाश देवकोटा (१९८८–२०११) को छ। यो किताब नै प्रकाश देवकोटाको विषयबाट सुरु हुन्छ। बीच–बीचमा प्रकाश देवकोटाका डायरीका उद्धरणहरू पनि छन् जसले महाकविको कष्टमय जीवनमा थप प्रकाश पार्छन्। महाकविका जेठा छोरा प्रकाशको २३ वर्षको उमेरमा निधन हुनु बडो शोचनीय विषय त छँदै थियो तर त्यो पनि गरिबी र अभावका कारणले भएको थियो जस्तो देखिन्छ जसले सहानुभूतिशील पाठकलाई बढी मर्माहत बनाउँछ। महाकविका दोस्रो छोरा कृष्णको पनि बाल्यकालमै निधन भयो। त्यो पनि गरिबी र अभावमा नै। पद्म देवकोटा महाकविका तेस्रो सुपुत्र हुनुहुन्छ। उहाँपछि कान्छो छोरा डा. दीपक देवकोटा (हाल अस्ट्रेलिया)। महाकविका पछिसम्म बाँचेका छोरीहरू तीन जना छन्– सावित्री, अम्बिका र मुना। एउटी छोरी मीराको देहावसान भएको छ। अर्की काखकी बालिका सानैमा बितेको बुझिन्छ।  

कालजयी साहित्य, संगीत र कलाकृतिहरू धेरै महत्वपूर्ण हुन्छन् तर तिनका सर्जकहरू कति त बिर्सिन्छन् पनि। कोणार्क र खजुराहोका अद्भूत कलाकृतिका सर्जकहरू को थिए थाहा छैन। टाढा किन जाने ? पाटनको कृष्णमन्दिर, भक्तपुरको पाँचतले मन्दिर, चाँगुनारायण मन्दिर या विश्वसम्पदा भनिने काठमाडौँंका मन्दिर या मूर्ति बनाउने कुनै कलाकारको नाम हामीलाई थाहा छैन। यसरी उत्कृष्ट कलाकृतिका सर्जक अज्ञात रहने परम्परा हिन्दु समाजको मात्र हो या अन्यत्र पनि छ थाहा छैन। युरोपमा चाहिँं यस्तो छैनजस्तो देखिन्छ। माइकल एन्जेलो, लियोनार्दाे दा भिन्ची, रेम्ब्रान्ट, भिक्टर भ्यान गग आदि कलाकारको नाम र कृति मात्र होइन, कतिपयको त दर्दपूर्ण जीवनबारे पनि हामीलाई केही थाहा छ।      

महाकवि देवकोटाका साहित्यको प्रेमी पाठकले उहाँका विषयमा राम्रा, सुखद र सकारात्मक कुरा मात्र सुन्न चाहेको पनि हुनसक्छ। त्यसकारण कति कुरा यसमा नलेखेको भएपनि हुनेथियो भन्ने पनि लाग्न सक्छ उसलाई।    

जब कुनैपनि मानिस महाकवि देवकोटाको स्थितिमा पुग्छ अनि ऊ यथार्थभन्दा पनि मिथकका रूपमा चर्चित हुन्छ। संस्कृत साहित्यका कालिदासलगायत धेरै प्राचीन कविहरूको नामबाहेक उनीहरूको जीवनबारे खास धेरै थाहा छैन। ती धेरैजसो मिथकका रूपमा छन्– कालिदास या भवभूतिकै कुरा गरौंँ। उनीहरूलाई सरस्वतीले प्रत्यक्ष प्रकट भएर वरदान दिएको रे। त्यो हुनसक्ने कुरा हो र ? तर महाकवि देवकोटा त आफ्नै जीवनकालमा एक प्रकारको मिथक र कारुणिक यथार्थ बन्नुभएको देखिन्छ–नाम लक्ष्मीप्रसाद, काम सरस्वतीप्रसाद।

कविले भोगेको भौतिक वातावरण र उसको व्यक्तिगत जीवनका विविध घटना धेरै पछि गएर असान्दर्भिक हुन पनि सक्छन्। निश्चय नै सान्दर्भिक रहिरहने उसको कालजयी कृति हो। तथापि संस्कृत महाकाव्य किरातार्जुनीयका लेखक कवि भारविको कृति जति राम्रो छ उनको जीवन पनि उत्तिकै मार्मिक लाग्छ। भनिन्छ, उनी गरिब थिए र राम्रो काव्य लेखेकाले उनलाई राजाले धेरै धन दिए तर त्यो सबै धन उनले धमाधम बाँडेर तुरुन्तै सिध्याए र फेरि गरिबै भए। भारविले धन बाँडेको सुनेर कुनै गरिब केही धन पाउने आशाले एक दिन उनकहाँ आइपुग्यो। तर घरको हालत यति खराब भइसकेको थियो कि उनकी पत्नी लाज मात्र छोप्न पुग्ने लुगा लगाउँथिन्। बटुवा आएको कुरा बताउन पतिले बोलाएपछि उनी घरभित्रबाट आइन् तर ढोकाबाट अनुहार मात्रै देखाएर पतिको कुरा सुनिन्। त्यस बखतको घटनालाई वर्णन गर्ने यो एक श्लोक छ–  
क्षुत्क्षामः पथिको मदीयभवनं  
पृच्छन् कुतोऽप्यागतः  
तत् किं गेहिनि किञ्चिदस्ति  
यदयं भुङ्क्ते बुभुक्षातुरः।  
वाचाऽस्तीत्यभिधाय नास्ति च
पुनह्र्युक्तं विनैवाक्षरैः  
स्थूलस्थूलविलोललोचनजलैर्
वाष्पाम्भसां बिन्दुभिः।    

(मेरो घर सोध्दैसोध्दै एक बटुवा भोकले लखतरान भएर कतैबाट यहाँ आइपुगेछ। त्यसकारण, हे गृहिणी, घरमा केही छ कि,यसलाई खान दिनका लागि ? यो सुनेर पत्नीले वचनले त ‘छ’ नै भनिन् तर तत्काल डबडबाएर उनका आँखाबाट झरेका आँसुका ठूलाठूला ढिक्काले विनाअक्षर नै भनिरहेका थिए कि घरमा त केही पनि ‘छैन।’)

महाकवि देवकोटाजीको कृतित्व र जीवनलेकरिब करिब यस्तै कुरा सम्झाउँछ। पद्मजीले लेखेको यस किताबले पनि उहाँको यस्तै चित्र प्रस्तुत गर्छ।  महाकवि देवकोटाका साहित्यको प्रेमी पाठकले उहाँका विषयमा राम्रा, सुखद र सकारात्मक कुरा मात्र सुन्न चाहेको पनि हुनसक्छ। त्यसकारण कति कुरा यसमा नलेखेको भएपनि हुनेथियो भन्ने पनि लाग्न सक्छ उसलाई।  

तर पद्म देवकोटाले आफ्ना पिताजीका बारेमा जे/जति लेख्नुभएको छ इमानदारीसाथ लेख्नुभएको छ। यो किताब नेपाली साहित्यका सबै पाठकले पढ्नैपर्छ। महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रले प्रकाशनमा ल्याएकोयस किताबको आगामी दिनमा कामका लागि दुई कुरामा महत्व छ– एक, यो धेरैसूचनामूलक छ। दोस्रो, यसले महाकविको भौतिक तथा साहित्यिक सम्पदा नष्ट हुनुभन्दा अघि नैे संरक्षण गर्न सरकारलाई घच्घच्याउन सक्छ।वास्तवमा घच्घच्याउनु पर्छ नै।

प्रकाशित: १९ आश्विन २०७७ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App