५ वैशाख २०८१ बुधबार
विचार

भर्खरकी आमा

एघार  र नौ वर्षका आफ्ना बच्चा लिएर बाहिर गएकी थिएँ, घर आउने बेलामा बच्चाले आइसक्रिम खान मन गरे,मैले नजिकैको आइसक्रिम पाइने पसलमा लिएर गएँ। बच्चाहरूले आफ्नो स्वादअनुसारको छानेर आमा यो खाने भने, मैले पसलमा भएकी बहिनीलाई सोहीअनुरूप दिन भनेँ। आइसक्रिम दिइसकेपछि ती बहिनीले अचम्म मान्दै मतिर फर्किएर सोधिन्– दिदी हजुरकै नानीहरू हो कि के हो ? नानीहरूले त आमा भन्छन् त? मैले हाँसेर उल्टै सोधेँ– किन र बहिनी, बच्चाहरूले आमा भन्दैछन् भने म बच्चाहरूको आमा नै होला नि हैन ? ए ए ....अचेल त नानीहरूले आमा भन्दैनन् र नि। आमा त हजुरआमा र बूढीआमाहरूलाई भन्छन्, हजुर त भर्खरकी हुनुहुन्छ अनि नि...।

हाम्रो कुरा सुनेर बच्चाहरू हाँसिरहेका थिए। मैले बच्चाहरूलाई आमा नै भन्न लगाएँ। उनीहरू पनि खुसीसाथ आमा नै भन्छन्। बच्चाहरू लिएर विवाह, पार्टी,आफन्त, नातागोता, बजारतिर जादाँ उनीहरूले गरेको सम्वोधन सुनेर आश्चर्य मान्दै ममाथि प्रश्न सोधिन्छन्– किन आमा भन्न लगाएको? आमा त पाखे, गाउँलेले मात्र भन्छन्,पछि बच्चाहरूलाई साथीहरूका अगाडि लाज हुन्छ,भो मामु, ममी भन्न लगाउनू। हजुरआमाहरूलाई आमा भने भइहाल्यो नि !  

कस्तो अचम्म, आफूले जन्माएका बच्चाले आमा भने भनेर स्पष्टीकरण दिनुपर्ने। यहाँनेर अचम्म लाग्ने कुरा के छ भने हामीले र अहिलेकाले  पनि अक्षर चिनेदेखि विद्यालय, विश्वविद्यालयसम्मका पाठ्यपुस्तकमा जन्म दिनेलाई आमा भनेर पढाइन्छ, सिकाइन्छ भने यी बाँकी शब्द कहाँबाट आए,म स्वयं पनि अनुत्तरित छु। आमा, माता, मुमा, जननी,महतारी,बज्यै,मा,माईभन्ने यति धेरै र मीठा शब्द नेपालभित्र बोलिने भाषामा हँुदाहुँदै पनि किन हामी सम्बोधन गर्न अप्ठेरो मानेर दोस्रो दर्जाका शब्द बढी मात्रामा प्रयोग गरिरहेका छौँ ?बच्चाका लागि कि स्वयं आमाका लागि मैले नबुझेको कुरा यही हो।

बच्चाहरूले आमा भन्दा हामी लजाउनु र हीनताबोध महसुस गर्नुपर्ने कारण मैले त देखिन।

फलानाले नि यसो भन्छ, चिलानाले यसो भन्छ, वरिपरि सबैले भनेको नै भन्न लगाउँछु भन्दाभन्दै आमा भन्न लाज भएको हो कि भन्ने पनि लाग्छ मलाई। बच्चाहरूले आमा भन्दा हामी लजाउनु र हीनताबोध महसुस गर्नुपर्ने कारण मैले त देखिन। हुन त मैले नबुझेको पनि हुन सक्छ। म आफूलाई आजका दिनसम्म न त लाज भएको छ न हीनताबोध नै। हो, नराम्रा कुरालाई परिमार्जित गर्दै लैजानुपर्छ यसमा कसैको दुईमत हँुदैन। राम्रा कुराको अनुशरण गर्नुपर्छ भन्दैमा सम्बोधनका शब्द पनि विदेशीकै अनुशरण गर्नुपर्छ भन्ने कुरा कहाँसम्म सही हो? छुट्टाउने जिम्मा तपाईँ÷हामी सबैको हो कि जस्तो लाग्छ। समयमै यस्ता कुरामा ध्यान दिन सक्यौँ भने हाम्रा मौलिकता हाम्रै वरिपरी घुमिरहन सक्छन् नत्र पखेटा लगाएर उडेर कतै क्षितिजमा हराउने त हैनन्?

धैरैजनाले चाहिँ ओहो कस्तो राम्रोसँग आमा भन्न लगाउनुभएको,मेरा बच्चाले त सिकेनन् अब नाति÷नातिनालाई भन्न लगाँउछु माने भने भन्नुहुन्छ। आफ्ना बच्चालाई के भन्न लगाउने भन्ने कुरा आमाबुबामा भरपर्ने कुरा हुन्। त्यो एकप्रकारले भन्नुपर्दा अधिकार पनि हो। अरूले किन,कसरी भन्ने प्रश्न गर्न मिल्दैन। आफूलाई मन परेको कुरा अरूलाई पनि मन पर्नुपर्छ भन्ने मान्यता व्यावहारिक र सही हुन सक्दैन्।

एकपटक कतैबाट हिँडेर बच्चाहरूसँग आइरहेकी थिएँ। घर नजिकै आएपछि बच्चाहरूले आमा हाम्रो घर आयो भने। हाम्रो पछि÷पछि मेरो आमाको उमेरकी एकजना महिला पनि  आउँदै हुनुहुन्थ्यो। बच्चाहरूको कुरा सुनेर उहाँले नानीको घर यो हो भन्नुभयो। मैले स्वीकारोक्तिमा टाउको हल्लाएँ। ए भन्दै अनि यी बच्चाहरूका ममीचाहिँ खोइ त ? भनेर सोध्नुभयो। मैले उत्तर दिन नपाउँदै बच्चाहरूले भने– हाम्रो त ममी हुनुहुन्न, आमा मात्र हुनुहुन्छ। उहाँले दयालु नजर मेरो बच्चाहरूतिर फाल्दै भन्नुभयो– यति साना बच्चालाई छाडेर...।अनि तपाईँले नै हेर्नुहुन्छ ?

म मौन रहेँ । घर पनि आइसकेको थियो।त्यसैले घरभित्र पसेँ। यस्ता घटनाबाट के थाहा हुन्छ भने साठी पैँसठ्ठी वर्षका वृद्ध आमाहरूलाई पनि बच्चाहरूले ममी नभनिदिँदा उल्टो अर्थ लगााउनुहुने रहेछ।  

हामीले नजिकबाट राम्रोसँग चिनेको एकजना अमेरिकन प्रोफेसर छन्। उनी आफ्नो कामको सिलसिलामा दुई तीनपल्ट इन्डिया आएपछि ‘मा’ शब्द राम्रो लागेर अमेरिका फर्केपछि ‘मा’ भन्न थाले। त्यसरी नै लगभग चौध, पन्ध्र वर्षपहिले म एक अन्तर्राष्ट्रिय संस्थामा काम गर्थेँ। त्यहाँ अमेरिकी स्वयंसेवकहरू आइरहन्थे।धेरैमा छ आठ महिना बसेर जान्थे। केही समयपछि म अमेरिका जाँदा थाहाँ पाएँ।सबैले त हैन तीन जना स्वयंसेवकले मदरलाई आमा भनेर सम्बोधन गर्दारहेछन्। म छक्क परेँ। उनीहरूलाई मैले कारण पनि सोधेँ। उनीहरूको भनाइथियो– नेपाल मन प¥यो अनि आमा शब्दपनि मन प-यो। त्यसैले।

उनीहरूले यो भनिरहँदा म हर्षले भावविभोर भएँ। यी उदाहरणबाट थाहा पाउन सकिन्छ भने विदेशीहरूले समेत मन पराएका शब्द हामीले चाहिँ मन पराउन सकिरहेका छैनाँै या हामी स्वयंचाहिँ आफ्नो मौलिकता लत्याएर कता के खोज्दैछौँ ? यसरी सबै कुरामा हामीले अरूको सिको गर्न थाल्यौँ भने हाम्रा भावी पुस्ताले चाँडै नै नेपाली शब्दकोशमा नेपाली मौलिक शब्दहरू नै खोज्नुपर्ने अवस्था नआउला भन्न सकिन्न।

प्रकाशित: ९ आश्विन २०७७ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App