१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

कता जाँदै छौं हामी

'यो राज्य दुई ढुंङ्गाको तरूलजस्तो रहेछ, चीन बादशाहसित ठूलो घाहा राख्नु, दक्षिण समुद्रको बादशाहसित घाहा त राख्नू तर त्यो महाचतुर छ, हिन्दूस्थान दबाइराखेछ, सरजीमीमा परिरहेछ हिन्दुस्थान जाग्यो भने कठिन पर्ला भनी किल्ला खोज्न आउन्यैछ ...जाई कटक नगर्नू, झिकी कटक गर्नू... गङ्गाजीको साँध पनि लाग्नैछ।'

अहिलेभन्दा २ सय ३८ वर्षपहिले पृथ्वीनारायण शाहले नेपालको यस्तो परराष्ट्र नीति निर्धारण गरी निकालेको उद्गार हो यो। त्यसबेला यति नै सिमानाभित्र गोरखा बाहेकै ५२ जति साना/ठूला राजा/रजौटा थिए। गोरखा पूर्वमा ६ वटा राज्य थिए भने नेपाल दूनभित्र मात्रै कान्तिपुर, भक्तपुर, ललितपुर तीन राज्य हुँदा नेपाल भन्ने नामै हराउन लागेजस्तो महसुस गरेर एकजना विद्वान्ले 'नेपाल मुद्दत भो र कान्तिपुर भो नेपाल बुझ्न्या तहाँ' भनी विस्मात् मान्दै लेखेका थिए।
यस्तो अवस्थामा गोरखासमेत सातवटा राज्यको एकता गरेका उनले साहसका साथ पश्चिमका बाइसी चौबिसी आदि राजालाई बश बनाई गङ्गासाँध लाउने लक्ष्य लिएका थिए। यसै कारणले त उनले दुई छिमेकी महान् देशबीच नेपाल मात्र एक देश रहनेछ भन्ने अभिप्रायले नै यसलाई दुई ढुङ्गाको तरूलको संज्ञा दिएका हुन् र यो जति पनि पूर्व पश्चिमचाहिँ बढ्न सक्छ, उत्तर दक्षिण होइन। त्यता बढ्नु पनि हुन्न भन्ने पनि उनको अभिप्राय प्रकट हुन्छ। यद्यपि त्यतिबेला भारतमा कायम रहे पनि दिल्लीमा मुगल बादशाह लखनौं आदिका नवाव र राजाहरू कम्पनी सरकारका सामु गलिसकेका हुँदा अरू पनि यसरी नै अंग्रेज सरकारका अधीनमा हुनेछन् र यता हिमाली भेगका पाल्पा, पर्वत, जुम्ला, कुमाउ र गढवाल पनि नेपालभित्रै गाभिनेछन् भन्ने लख काटेरै सो उद्गार निकालेका थिए। भविष्यमा त्यस्तै भयो पनि। राजनीतिमा अतिचतुर नायक बहादुर शाहको नायवी कालको सातै वर्षमा पश्चिमका सबै साना/ठूला राज्य जितिएर नेपालको सिमाना गङ्गासम्म मात्र होइन, त्यसपर यमुनासम्म पुग्यो। यसबाट पृथ्वीनारायण शाहको सुझबुझपूर्ण राजनीतिक दीर्घदर्शिता पनि प्रकट हुन्छ।
अर्को मुख्य कुरा उनको परराष्ट्र नीतिमा छ। यी दुई उत्तर दक्षिणका महान् शक्तिशाली बादशाहका राज्यसँग सधैं मित्रता कायम गरिराख्नू 'चार अङ्गुल बराबर' जमिन पनि नच्याप्नू, तटस्थ भइरहनू भनेर आफ्नो भौगोलिक अवस्था आंकलन गरेरै पृथ्वीनारायण शाहबाट असंलग्न परराष्ट्र नीति निर्धारण गरिएको थियो। यो पनि उनको अर्को महत्वपूर्ण दूरदर्शिता नै थियो।
अहिलेभन्दा २०-२२ वर्ष पहिलेसम्म संसारमा शक्तिशाली अमेरिकी साम्राज्य र सोभियत संघबीच शीतयुद्ध चलिरहेका बेला, विश्वका धेरै राष्ट्र दुई धुरीमा विभाजित थिए। स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू युगोस्लाभियाका मार्शल टिटोहरूले असंलग्न परराष्ट्र नीति निर्धारण गरेका थिए। नेपालमा पृथ्वीनारायण शाहले दुई ठूला राष्ट्रको राप ताप नहोस् भनेर यसभन्दा धेरै पहिल्यै यस्तो नीति अवलम्बन गरेको थियो। यही नीति अवलम्बन गरेरै नेपालले अभूतपूर्व सफलता पनि हासिल गरेको हो। स्वतन्त्र भएर आफ्नो देशको सार्वभौम अक्षुण्णता कायम गर्न सकेको पनि थियो।
त्यसबेला नेपालका शासक/प्रशासक सैैनिकदेखि साधारण जनसमुदायसम्मका नेपालीले राष्ट्रप्रति समर्पण भाव राखेका थिए। राष्ट्र प्रेम, राष्ट्र भक्ति जिउँदोजाग्दो भएर ती जुर्मुराएका थिए। राष्ट्रिय एकता, सद्भाव सहकार्य सबैमा भरिपूर्ण भएरै एकीकरण कार्य पूर्ण भएको थियो। राष्ट्रिय जागरण उत्साह उमङ्ग बढेकाले उन्नाइसौं शताब्दीको सात दशक नेपालको एक जागरण युग थियो। नेपालीमा एक किसिमको स्वाभिमान पनि जागेको थियो। देश स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न हुनका लागि सर्वप्रथम आत्मनिर्भर हुन सक्नुपर्छ। आत्मनिर्भर हुनका लागि देशको समृद्धि/समुन्नति विकास नै मूल आधार हो। यो पराइले गरिदिने कुरो होइन। परनिर्भरतामा जाने हो भने त्यसको फल उसैले हासिल गर्छ। यस सम्बन्धमा अलिकति भूत-वर्तमानतिर हेरौं।
गत शताब्दीमा छिमेकी भारतको स्वतन्त्रता आन्दोलनका प्रवर्तक गान्धीले मुख्य गरेर निर्भयता र आत्मनिर्भरताको पाठ सिकाएका थिए। आफ्ना देशको उत्पादनले आफ्नो जीवन निर्वाह गर्न सक्ने गरी आत्मबल बढाएका थिए। यसका लागि उनले विदेशी सामान बहिष्कार मात्र गरेनन्, त्यसप्रति अनास्था जगाउन त्यस्ता वस्तु डढाएर नष्टसम्म गरिए। घरेलु उद्योगलाई प्रोत्साहनका लागि चर्खाको अभियानै चलाए। घरबुना कपडा लाउने लहरै चल्यो। सो भावना अहिलेसम्म केही मात्रामा त्यहाँका जनमानसमा विद्यमानै छ।
यसभन्दा धेरै पहिल्यै पृथ्वीनारायण शाहले घरेलु उद्योगलाई नै प्रोत्साहन दिएका थिए। घरबुना कपडा बुन्ने तालिम घरघरै दिने र राम्रा वस्तु उत्पादन गराई आफू पनि त्यही वस्तु उपयोग गर्ने, सकभर विदेशी सामान पैठारी हुन नदिने नीति लिएका थिए। विलासी सामान झिकाउन प्रतिबन्धै लाउने, जति सक्यो स्वदेशमा उत्पादित वस्तुको निकासी बढाउने, मनोरञ्जनका लागि नाचगान बजान गर्ने स्वदेशी कलाकारलाई नै प्रोत्साहन दिने, विदेशीहरूलाई झिकाउनचाहिँ प्रतिबन्ध लाउने जस्ता नीति थिए। कतैबाट पनि स्वदेशको धन विदेश जान नदिने काम गरेका थिए। कृषिलाई प्रोत्साहन दिई उत्पादन बढाएर जनतालाई समृद्ध आत्मनिर्भर तुल्याए। जनता समृद्ध (मोटा) भए भने राज्य शक्ति (दरबार) बलियो भइरहन्छ भन्ने उनको सोच थियो। पृथ्वीनारायणको यस्तो परराष्ट्र नीति र गृहनीतिले नै उन्नाइसौं शताब्दीको सात दशकसम्म नेपाल देश सर्वतन्त्र स्वतन्त्र बनी अगम नै रह्यो। अब आजको नेपाल हेरौं।
कस्तो परराष्ट्र नीति?
अहिले नेपालको परराष्ट्र नीति के हो? कस्तो हो? अहिलेसम्म बनेको छैन? पार्टीपिच्छे फरक-फरक नहुनुपर्ने? राष्ट्र राष्ट्रियताकै परिभाषा बदलिँदैछ- अहिलेका नेताहरूले जाति नै राष्ट्र, जातीयता नै राष्ट्रियता भनेर आदिम युगको परिभाषा ल्याएका छन्। अतिप्रचारले शब्द नै 'ब्रेनवास' गरिँदैछ। देशका प्रधानमन्त्री नै नेपाल बहुराष्ट्रिय हो भन्ने गर्छन्। कतिवटा राष्ट्र हुने? यो विचारणीय छ। सुखदेव मुनिले पुस्तकमार्फत् 'माओवादी नेताले दिल्लीका प्रधानमन्त्रीलाई निवेदन हालेर त्यहाँ सुरक्षित रहन छुट पाए र नेपालमा हिंसात्मक आन्दोलन सुचारू ग्ार्न सके' भनि खुलासा गरिदिए। यता अहिले स्वयं प्रधानमन्त्री शासनको 'चाबी' अन्यत्रै छ भन्छन्। यी कुराबाट नेपाली जनता शङ्कित छन्। निवेदन कहाँ कहाँ र कस्तो ब्यहोरामा के के छ? 'चाबी' अन्यत्र छ भनेको कहाँ हो? भनेर जान्न पनि जनता उत्सुक छन्। अहिलेको स्थितिमा त्यो ऐतिहासिक रहस्य सबै जनताले पनि बुझ्न पाउने अधिकार अनिवार्य छ। यसमा बौद्धिक वर्गका साथै सञ्चार जगतले प्राथमिकताका साथ पहल गर्नु आवश्यक छ।
अर्को कुरा पराई देशको 'चार अङ्गुल जग्गा चाप्नु' पनि अपराध मानिन्छ, त्यसमा पनि भारत जस्तो विशाल मुलुकले नै तीनैतिरबाट घेरेको सानो देशको सीमा मिच्नु भनेको आश्चर्य लाग्ने कुरा हो। नेपालको तीनतिरका सीमास्तम्भ 'दश गजा' अतिक्रमणका घटना दुई सयभन्दा बढी नै भए भन्ने सीमाविद्को भनाई छ। धेरै जमिनै चापेको सुस्ता तिङ्करका कुरा त झन् अलग्गै भए। दुई सय वर्षदेखि नेपालको तराईका वन पैदावरबाट निकासी भइरहेकामा अहिले झन् बढेर चुरे क्षेत्रको वातावरण नै बिगार्ने गरी गिट्टी, बालुवासमेत ओसारिँदै छ- बाँध, बाटो बनाउने बहानामा। जलस्रोतमा अधिकार जमाइँदैछ। सीमापारि छेवैमा ठूला बाँध बाँधी बाढीको पानीले वर्षेनि नेपाली बस्ती, बारी र खेत डुवानमा पारिराखेको छ। तर, मधेसवादी नेताहरू चुइँक्क बोल्दैनन्, सरकार हेरेको हेर्यैड मूकदर्शक छ। स्वतन्त्र देशको स्वतन्त्र परराष्ट्र नीतिको अवस्था यस्तो छ।
देशका प्रधानमन्त्री भन्छन्- नेपाल तरूल होइन 'पुल' बन्नुपर्छ। 'पुल' बन्नलाई देश आत्मनिर्भर हुनुपर्छ। त्यसो हुन पृथ्वीनारायण शाहको सूत्र अनुगमन गर्नैपर्छ। तर देशको विकासको गति रोकेर, कलकारखाना उद्योगधन्धा बन्द गराएर, विदेशी माल आयात गर्न प्रश्रय दिएर र बौद्धिक शक्तिका साथै श्रमशक्ति विदेश पठाएर 'पुल' कसरी बन्छ? 'पुल' नबने देश मर्ज (विलय) हुन्छ भन्नेसम्मका अभिव्यक्ति आए। प्रधानमन्त्री जस्तो पदमा रहेको व्यक्तिले यस्तो अभिव्यक्ति दिन मिल्छ? देशभक्ति राष्ट्रप्रेम भएको व्यक्तिले यस्ता अभिव्यक्ति कदापि दिँदैनन्।
गृहनीतिको अवस्था
देशको उन्नतिका लागि पहिलो सर्त सुरक्षा हो, त्यसबाट समाजमा निर्भयता, शान्ति छाउँछ। शान्ति सुरक्षासाथ जनताले न्याय पाउनुपर्योा। यसका लागि योग्यताको कदर हुनुपर्यो । अहिले हाम्रो देशमा यी तीनै कुराको अभाव छ। मानिसको सुरक्षा छैन। भय अशान्ति रोकिएको छैन। राज्य सञ्चालकका मान्छेको मनोमानी छ। भ्रष्टाचार व्याप्त छ। 'घूस दिने लिने दुवै उत्तिकै अपराधी हुन्' 'यिनलाई जे सजाय दिँदा पनि कमै हुन्छ' भन्ने भाव पृथ्वीनारायण शाहले उतिबेलै बोलेका थिए।
अहिलेका नेताहरूको शासन विधि हेर्दा त अचम्म मान्नुपर्ने हुन्छ। स्वयं सरकारमा रहेका व्यक्ति नै भ्रष्टाचार गर्छन् भने अरु कसलाई के भन्ने? त्यसैले अहिले नेपालमा 'घूसको अभियोग' 'ज्यानको अभियोग' त धनबल र जनबल नभएकालाई मात्र लाग्ने स्थिति आइसक्यो। दण्डहीनताले यति प्रश्रय पायो कि सार्वलौकिक (अन्तरर्राष्ट्रिय) मान्यता विपरीत ठाडै मानव अधिकार उल्लंघन सरकार सञ्चालन गर्नेहरुबाटै हुन थाल्यो।
संस्कृति : देशको आत्मबल
राष्ट्रभक्ति राष्ट्रियता नै जनताको आत्मबल स्वाभिमान बढाउने कुरा हुन्। देशको आत्मबल भनेकै त्यस देशको इतिहास संस्कृति हो। इतिहास संस्कृतिले नै मानिसलाई सभ्य संस्कृत समृद्ध बनाउँछ। 'जुनसुकै देशलाई पनि वशमा ल्याउनुछ भने त्यस देशको इतिहास/संस्कृतिलाई मेटाउने प्रयास गर्नुपर्छ' भन्ने त साम्राज्यवादीहरूको पुरानो सिद्धान्त नै हो।
नयाँ नेपाल बनाउने भनेर आएका नेताहरूले पहिले यही साम्राज्यवादीको सूत्रलाई अनुशरण गरेर नेपालको इतिहास बंग्याउने, धर्म/संस्कृति मेटाउने प्रयत्नमा लागे, जसका केही उदाहरण हेरौं- १. पृथ्वीनारायणले चलाएको भनेर इन्द्रजात्रा रोक्न खोज्नु, २. पशुपतिको पूजा-दक्षिणा आफ्ना मान्छेलाई दिलाउन प्रयत्न गर्नु ३. परापूर्वदेखि फर्फराउँदै आएको चन्द्र-सूर्याङ्कित झण्डा राजाको वंशबोध गर्ने हो भनेर फेर्न खोज्नु, ४. नेपालमा राष्ट्रिय संवत्का रूपमा चलिआएको जनमनमा भिजेको विक्रम संवत् हटाएर विदेशी ईश्वी संवत् प्रवर्द्धन गर्ने प्रयत्न गर्नु, ५. सबै जातजाति र भाषाभाषीले बोल्दै/लेख्दै आएको नेपाली भाषाको अवमूल्यन गरी हिन्दीलाई पनि दोस्रो भाषाका रूपमा प्रयोगमा ल्याउने प्रयत्न गर्नु।
यसरी हेर्दा नवनेताहरूको प्रयत्न नयाँ नेपाल बनाउने नभई प्रायोजित कर्म गर्नेखालको देखिन्छ। राज्यसत्तामा जसरी पनि टिकिरहने बरु त्यसका लागि 'विदेशी प्रभु' कै आदेशअनुरुप काम गर्न पनि तयार हुने प्रवृत्ति देखिएको छ। विदेशीको नक्कल गरेर र उनीहरुको योजनाअनुसार चलेर मुलुक नयाँ बन्ने हो र? विदेशीले त सदासर्वदा आफ्नो अनुकूल हुने कुरामात्रै सोच्छन्। नेपालमा दिने सहयोग र सल्लाहको उद्देश्य पनि त्यही हो। अरू कुरा त देखाउने बहानामात्र हुन्। यस्तो स्थितिमा स्वराष्ट्र परिपालन परिवर्द्धन कार्यमै चिन्तित बनेर मुलुकलाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र, समृद्ध र समुन्नत बनाउन लागिपर्ने नेता खाँचो छ। आफ्नो देशको जनताका लागि तन, मन, धन दिएर लागिपर्ने र देश निर्माणका निम्ति जस्तोसुकै चुनौती पनि सामना गर्न पछि नपर्ने कोही त अवश्य निस्केला।

प्रकाशित: १ कार्तिक २०६९ २२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App