१५ आश्विन २०७७ बिहीबार
विचार

जनस्वास्थ्य समस्याका रूपमा आत्महत्या

आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने नारासहित यो वर्ष आज अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवस मनाइँदैछ । सन् २००३ देखि सेप्टेम्बर १० मा यो दिवस बढ्दो आत्महत्या रोकथामका लागि जीवन बहुमूल्य हुन्छ भन्ने जनचेतना फैलाउन मनाउँदै आइएको छ । पहिलो केही वर्षहरूमा फरक–फरक नाराहरू लिइएको भए पनि विगत तीन वर्षदेखि एउटै नारा लिइएको छ । यसको कारण आत्महत्या व्यक्तिगत समस्या नभई जनस्वास्थ्यको विषय हो र यसको रोकथामका लागि सबैजनाको महत्वपूर्ण भूमिका हुन्छ भन्ने बुझाउन हो । एउटा गुम्न लागेको जीवनलाई जोगाउने क्षमता हामी सबैमा हुन्छ र यस विषयमा हामी सजग भयौँ एवम् सहयोग ग-यौँ भने जीवन बचाउन सकिन्छ ।

दिवसको दिन वा महिनामात्रै आत्महत्यासम्बन्धी जागरण र जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने सीमितता भने पक्कै छैन । यसै पनि दिनहुँजसो आत्महत्याका समाचार आइरहेका छन् । कसैको आत्महत्या धेरैका लागि विवरण हुन्छ, थोरै चिनेजानेकाका लागि मृतकका काम र चरित्रका कुरा गर्ने माध्यम बन्छ भने उसको परिवारका सदस्यहरूका लागि अतुलनीय शोक र जिन्दगीभरि बिझाइरहने काँडा बन्छ ।  

अहिलेको समयमा आत्महत्या विश्वव्यापी गम्भीर जनस्वास्थ्य समस्या र मानसिक स्वास्थ्यको आपत्काल बनेको छ । हामी धेरैले आत्महत्या गर्ने वा प्रयास गर्नेलाई कायरको संज्ञा दिन्छौँ, जीवनसँग लड्न नसकेको कमजोर मनस्थितिको भन्छौँ । तर त्यो व्यक्ति कसरी जीवन समाप्त गर्ने कठोर निर्णयमा पुग्यो, यसका लागि बाध्य पार्ने परिस्थितिहरू के थियो अथवा हामीले के गरेको भए उसलाई बचाउन सकिन्थ्यो भन्ने विषयमा हामी कमै सोच्छौँ । यसो भनिरहँदा आत्महत्या गर्ने वा प्रयास गर्नेहरूप्रति सहानुभूति दिन खोजिएको नभई यो जनस्वास्थ्य समस्याका बारेमा हुनुपर्ने छलफल, अध्ययन र बहस हुन नसकेको हो कि भन्नेतर्फ इङ्गित गरिएको हो । यो आलेखमा आत्महत्या कारण, आत्महत्या गर्न खोज्ने व्यक्तिले देखाउने सङ्केत, हामीले उनीहरूलाई गर्नुपर्ने सहयोग, समाज र राज्यको दायित्व एवम् अहिलेको कोभिड–१९ को महामारीले ल्याएको अवस्थाका बारेमा चर्चा गरिएको छ ।

आत्महत्याको तथ्याङ्क
विश्व स्वास्थ्य सङ्गठनका अनुसार आत्महत्याका कारण विश्वभरि बर्सेनि आठ लाखभन्दा बढी मानिसले ज्यान गुमाउँछन् । यसको अर्थ हरेक ४० सेकेन्डमा यसले एउटा जीवन अल्पायुमै चुँड्छ । योभन्दा कैयौँ गुणा बढी मानिसले बर्सेनि आत्महत्याको प्रयास गरिरहेका हुन्छन् ।  

जसरी डिप्रेसन जस्ता मानसिक अस्वस्थताको उपचार हुन सक्छ त्यस्तै आत्महत्या पनि रोक्न सकिन्छ ।

विश्वभरिको तथ्याङ्कमा पुरुष, किशोर/किशोरी र ४५ देखि ५९ वर्षको व्यक्तिले महिला एवम् अधवैँसे व्यक्तिभन्दा बढी आत्महत्या गर्ने पाइन्छ । यसो भन्दैमा महिलाले आत्महत्या गर्दैनन् भन्ने होइन किनभने पुरुषभन्दा बढी आत्महत्याको प्रयास महिलाले गर्छन् तर पुरुष जत्तिको संख्या सफल हुन सक्दैनन् भन्ने मात्रै हो । किशोरावस्थामा १५ देखि १८ वर्षमा युवाहरू बढी जोखिममा रहेको तथ्याङ्कले देखाउँछ र त्यो उमेर समूहमा सडक दुर्घटनापछि दोस्रो ठूलो मृत्युको कारण आत्महत्या हो । धेरै आत्महत्याका घटना गरिब र विकासोन्मुख देशहरूमा हुन्छ ।

नेपाल प्रहरीको विगत तीन वर्षको तथ्याङ्क हेर्दा पनि केही नमीठो लाग्ने प्रवृत्ति देखिन्छ । आ.व. २०७४/७५ मा ५,३४६ जनाले आत्महत्या गरेकामा त्यसपछिका वर्षमा त्यो संख्या ५,७८५ र ६,२७९ छ । आत्महत्या गर्ने महिलाको संख्या यी तीन वर्षमा २२ सयको हाराहारीमा रहे पनि पुरुष र बालबालिकाको संख्या बढेको छ । आत्महत्या गर्ने बालबालिकाको संख्या विगत तीन वर्षमा २५०, ४७९ र ६६२ छ । यो वृद्धि राम्रो होइन ।

आत्महत्याको विषयमा स्थापित कुरा के हो भने मानिस आवेशमा एकैचोटि बिरलै आत्महत्या गर्छन् । उनीहरूले यसका लागि योजना बनाउँछन् जुन समयमा केही स्पष्ट थाहा हुन सकिनेखालका व्यवहार र सङ्केत देखाउँछन् । नजिकका व्यक्तिहरू सजग हुँदा ती सङ्केत पहिचान गरेर समयमै सहयोग गर्न सक्छन् जसले त्यो जीवन बच्ने सम्भावना धेरै हुन्छ । यो हामी सबैको कर्तव्य पनि हो ।  

जीवन कसरी बचाउन सकिन्छ ?
एउटा व्यक्ति आत्महत्या गर्छु भन्ने सोचेर प्रयाससम्म पुग्नुअगाडि विभिन्न अप्ठ्यारा र नकारात्मक परिस्थितिसँग जुधिरहेको हुन्छ । केही अपवादबाहेक मानिसले आवेशमा आएर तुरुन्तै आत्महत्या गर्दैन । यसका लागि उसलाई लामो समयदेखि नकारात्मक सोचाइले घेरिरहेको हुनुपर्छ र जीवन बाँच्ने आधारहरू छैन भन्ने पक्का भएपछि ऊ बिस्तारै योजना बनाउन थाल्छ । योजना बनाउँदा उसले आत्महत्या गर्न सकिने स्थान, समय र माध्यमको खोजी गर्छ । उसले बारम्बार आफू नजिकका व्यक्ति र साथीहरूलाई यसको सङ्केत दिइरहेको हुन्छ । त्यो सङ्केत भनेको बरोबर आत्महत्याको बारेमा कुरा गर्ने, आफू अरूका लागि बोझ भएको बताउने, खाने वा निदाउने व्यवहारमा अनौठो परिवर्तन, एकान्त मन पराउने र दैनिक गतिविधिप्रतिको अरूचि जस्ता कुरा पर्छन् ।

जसरी हामी शारीरिक स्वास्थ्यको विषय असहज हुँदाहुँदै पनि अरूलाई भन्छौँ र चिकित्सकको सल्लाहमा औषधिमूलो गर्छौँ त्यस्तै मानसिक अस्वस्थताबारे पनि खुलेर कुराकानी गर्नुपर्छ ।  

यस्तो अवस्थामा उनीहरूलाई हौसला दिने, उनीहरूको कुरालाई बेवास्ता गर्नेभन्दा ध्यान दिएर सुनिदिने वा आफ्नो साथ छ भन्ने कुरामा विश्वस्त बनाउन सकेमा आत्महत्याका लागि आउने नकारात्मक सोचलाई अन्तै मोडेर जीवन जिउने आशा देखाउन सकिन्छ ।

आत्महत्याका घटनाबारे सुनेपछि हामी धेरैले किन आफैँले आफैँलाई मा-यो होला भन्ने प्रश्न गर्छौँ र धेरै जस्तो अवस्थामा सजिलै भनिदिन्छौँ– किन उसलाई डिप्रेसन थियो । तर डिप्रेसन हुँदैमा कसैलाई मर्ने इच्छा हुने होइन । आत्महत्या गर्न मानिसले बाँच्ने आधार नदेख्ने एक्लो र निराश अवस्थामा पुग्नुपर्छ । आत्महत्या मानसिक अस्वस्थता भएको अवस्थामा गरिने भएकाले यसको रोकथामका लागि मानसिक स्वास्थ्यको विषय पनि महत्वपूर्ण हुन्छ ।

मानसिक स्वास्थ्यका विषयमा हाम्रो समाजमा खुलेर कुरा हुँदैन त्यसैले कसैले आत्महत्याको सोच आएको बताए पनि यस्तो कुरा गर्न हुन्न भन्ने वा खुस्केको सोच भनेर बेवास्ता गर्ने गर्छौँ । परिवार सदस्यले यस्तो कुरा गर्न थाले त समस्या नभई सकेसम्म अरूलाई जानकारी दिन खोजिँदैन । तर जसरी हामी शारीरिक स्वास्थ्यको विषय असहज हुँदाहुँदै पनि अरूलाई भन्छौँ र चिकित्सकको सल्लाहमा औषधिमूलो गर्छौँ त्यस्तै मानसिक अस्वस्थताबारे पनि खुलेर कुराकानी गर्नुपर्छ ।

कसैले आत्महत्याका सङ्केत दिन्छ भने त्यसलाई बेवास्ता गर्ने भन्दा पनि उनीहरूसँग खुलेर कुरा गर्नुहोस् । उसको योजनाबारे सोध्नुहोस् र तपाईँलाई त्यस्तो व्यक्तिले आत्महत्याको योजना लामो समयदेखि बनाइरहेको वा छिटै गर्ने योजनामा छ भन्ने लाग्यो भने मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका लागि उपलब्ध परामर्श सेवा र हेल्पलाइनका बारेमा जानकारी दिनुहोस् । ती सेवा लिन प्रोत्साहन गर्नुहोस् । तपाईँलाई त्यस्तो सोच आएको छ भने परामर्श र हेल्पलाइनका सेवाहरू लिन नहिच्किचाउनुहोस् ।

जसरी डिप्रेसन जस्ता मानसिक अस्वस्थताको उपचार हुन सक्छ त्यस्तै आत्महत्या पनि रोक्न सकिन्छ । आत्महत्याको सोच भएकालाई सुरक्षित वातावरण र उचित व्यवहार गरियो एवम् आत्महत्याको प्रयासमा विफल भएकाहरूलाई दुव्र्यवहार र सामाजिक लाञ्छनाबाट जोगाउन सकियो भने आत्महत्या कम हुन्छ । आत्महत्यालाई सही भन्न हुँदैन तर आत्महत्याको असफल प्रयास गरेकालाई दुव्र्यवहार र सामाजिक लाञ्छनाको सिकार पनि बनाउनु हुँदैन । समाजमा खुलेर यस विषयमा छलफल हुन सकेमा आत्महत्याको जोखिममा रहेका व्यक्तिहरूलाई व्यावसायिक सहयोग लिन र आत्महत्याको सोच त्याग्न सहज हुन्छ ।

आत्महत्याका सामग्रीका सम्वेदनशीलता
आत्महत्यासम्बन्धी विषयलाई खुलेर कुरा गर्नुपर्छ भन्दै गर्दा यससम्बन्धी आमसञ्चार माध्यममा आउने सामग्रीले हाम्रो सामाजिक सोचलाई कसरी असर गरिरहेको छ भनेर सोच्नु पनि जरुरी छ । आत्महत्यासम्बन्धी सामग्री प्रस्तुतिको विषयमा सञ्चार माध्यमहरू सम्वेदनशील हुनु जरुरी छ । अध्ययनहरूले आत्महत्या सरुवा रोगजस्तो हुने देखाएको छ । विशेषगरी चलचित्रका नायक÷नायिका वा समाजमा चिनिएका व्यक्तिले आत्महत्या गर्दा सहानुभूतिपूर्ण सामग्री प्रस्तुत हुने र त्यसले निराश व्यक्तिहरूलाई त्यस्तै गर्न झन् दुरुत्साहन गर्छ ।

डब्ल्युएचओलगायत विभिन्न संस्थाले सञ्चार माध्यमहरूले कसरी आत्महत्याको समाचार लेख्ने भन्ने विषयमा निर्देशिकाहरू बनाएका छन् तर अहिलेको सोसल मिडियाको समयमा असम्वेदनशील सामग्री रोक्नु ठूलो चुनौती छ । नेपालमा विशेषगरी युट्युबमा सनसनीपूर्ण बनाएर र कतिपय अवस्थामा मिथ्या सूचना नै राख्ने गरिएको छ जसले आत्महत्या रोकथाममा सहयोग गर्दैन ।

कोभिड–१९ को अप्ठेरो अवस्था
आत्महत्या प्रतिकूल अवस्थामा सोचमा आउने कुरा हो । जब संसारमा प्रतिकूल समय आउँछ तब आत्महत्या बढेको पाइन्छ । महामारी, युद्ध, आतङ्कवाद र आर्थिक मन्दीको अवस्थामा आत्महत्याको संख्या बढ्ने गरेको देखिन्छ । तर प्रतिकूल अवस्था हुँदैमा आत्महत्या बढ्छ भन्नु पूर्ण सत्य होइन किनभने उचित योजना कार्यान्वयन गर्दा विषम परिस्थितिमा पनि आत्महत्याको दर नबढेका उदाहरण पनि छन् ।

अहिले नेपाललगायत विश्वका धेरै ठाउँमा कोरोना भाइरसका कारण लकडाउन छ । केहीअगाडि नेपालमा लकडाउनमा आत्महत्या बढेको विवरणहरू आए पनि महामारीमा के भयो भन्ने सम्पूर्ण एकीन जानकारी पाउन समय लाग्छ । महामारी र आत्महत्या सीधा सम्बन्धित छैनन् तर महामारीले निम्त्याउने अन्य समस्याहरूको राज्यले उचित व्यवस्थापन गर्न नसकेको खण्डमा चाहिँ आत्महत्या पनि समस्या बनेर आउन सक्छ ।

अहिले महामारीले गर्दा आर्थिक समस्या र निषेधाज्ञाका कारण एक्लोपन बढेको छ, जीवनको अर्थ बदलिरहेका छन् र स्वास्थ्यमा समस्या आउँदा सहजरूपमा उपचार पाउने अवस्था छैन । यसले गर्दा मानिसमा असहाय हुनुको भावना आएको छ । कतिलाई खाना जस्तो आधारभूत आवश्यकता पूर्ति गर्नै मुस्किल परिरहेको छ र रोगभन्दा ठूलो डर भोकको भएको छ । अहिले नेपालमा भइरहेका भोकको अवस्था, नागरिकको निरीहतामा सरकारको बेवास्ता, भ्रष्टाचारको समाचार, रोगको डर हुँदाहुँदै भारत जानेको लर्को, सांस्कृतिक र धार्मिक विषयहरूमा असम्वेदनशील व्यवहारले अरू समस्या मात्रै होइन् आत्महत्याको समस्या पनि बढाउँछ । समयमै व्यवस्थापन नभएका जीवनप्रतिको निराशा र निरिहताको भावना आत्महत्याको प्रमुख कारक हुन सक्छ ।

राज्यको दायित्व के त ?
आत्महत्या रोकथाममा राज्यको दायित्वको कुरा गर्दा सबैभन्दा महत्वपूर्ण कुरा भनेको ज्ञानमा आधारित नीति र त्यसको प्रभावकारी कार्यान्वयन हो । ज्ञान स्थापित गर्न तथ्यहरूको अध्ययन र त्यसमाथि छलफल हुनुपर्छ जसले हाम्रो देशमा अवस्था र स्थानअनुसार आत्महत्याका जोखिममा रहेका समूह छुट्टिन्छ । जोखिम समूह कारणहरूको आधारमा वर्गीकरण हुन्छ र ती कारणलाई निराकरण गर्ने समूह लक्षित नीति र कार्यक्रम नै रोकथाम गर्ने पहिलो सही कदम हो ।

मानसिक स्वास्थ्य सेवाको सहज उपलब्धता अर्को महत्वपूर्ण कुरा हो । नेपालमा अहिलेसम्म मनोपरामर्श सेवामा नागरिकको सहज पहुँच बनेको अवस्था छैन । मानसिक स्वास्थ्यका विषयमा कुरा गर्न पछि हट्ने समाजमा मनोपरामर्श सेवा नहुनुले अवस्था खराब बनाएको छ । अहिले लकडाउनमा विज्ञहरूले विशेषगरी वृद्धवृद्धालाई मनोपरामर्श दिन सुझाव दिइरहेका छन् तर सीमित केही व्यक्तिभन्दा धेरैलाई त्यो उपलब्ध हुन सक्दैन । आत्महत्या रोकथामका लागि केही प्रयास भएका छन् तिनले जीवन जोगाएका पनि छन् तर त्यो सबैतिर र सबैका लागि पुग्न सकेको छैन ।

नेपालमा मानसिक स्वास्थ्यलाई राज्यको स्वास्थ्य सेवा प्रणालीभित्र राख्न केही प्रयास भएका छन् तर तीप्रति राज्य संयन्त्र गम्भीर देखिएको छैन् । राखिदिनुपर्छ भन्नका लागि प्रावधानहरू समेटिएका छन् । राज्यले मानसिक स्वास्थ्य सेवाप्रति गम्भीर भएर मानसिक स्वास्थ्यकर्मीहरू जसमा मनोसामाजिक सहयोगी, मनोसामाजिक परामर्शदाता, मनोवैज्ञानिक, मनोपरामर्शविद्, मनोचिकित्सामा तालिम प्राप्त नर्स र मनोचिकित्सकको उत्पादन एवम् उचिततवरले परिचालन गर्नुपर्छ । त्यसो भएमा आत्महत्याबाट बर्सेनि गुम्ने अमूल्य केही जीवन बच्नेछन् । यी सबै नभएसम्म हाम्रो समाजमा आत्महत्या बढिरहन्छ र ती जीवन बचाउन नसकेको दोष समाजको कालो दागका रूपमा रहिरहन्छ ।
मनोपरामर्शविद्

प्रकाशित: २५ भाद्र २०७७ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App