१५ आश्विन २०७७ बिहीबार
विचार

आकस्मिक र अप्रत्याशित घटना प्रभावित जीवन

मार्क्सवादी दर्शनका अनुयायी र चिन्तक तथा लेखक अरविन्द रिमालको संस्करणात्मक कृति ‘डिल्लीबजारको लप्टनको होटेल’ मा नेपालको आधुनिक इतिहासमा पाँच शिखर पुरूषहरू भनेर क्रमशः टंकप्रसाद आचार्य, राजा त्रिभुवन, विश्वेश्वरप्रसाद कोइराला, राजा महेन्द्र र पुष्पलाल श्रेष्ठलाई उल्लेख गरेका छन्। अक्सर व्यवहारमा एकांकीरूपमा कसैलाई देवत्व वा राक्षसीकरण गर्ने गरेको पाइन्छ। अतिवादी स्तुति र निन्दा आमपाठकका लागि रूचिकर हुन्छ जस्तो पनि लाग्दैन। तर रिमालले आलोचनात्मक चेतका साथ विश्लेषण र विवेचना गरेका छन्। कोही पनि मानिस गुणातित हुँदैन। सफलता वा असफलताको शिखर वा फेदीमा पुगेको किन नहोस् ?  

हरेक मानिसमा सबल र दुर्बल पक्ष हुन सक्छ भन्ने मान्यताका साथ आएका आलेख मात्र पाठकका लागि पठनीय बन्छन् भन्ने लाग्छ। त्यसैले पाँच पैसामा लप्टनको होटलमा चिया खाएको पुस्ता रिमालको कृतिले उल्लेख गरेको हो। त्यसमा पनि कुनैबेला पुष्पलाललाई आफ्नो नायक मान्दै वाम आन्दोलनमा सशक्तरूपमा क्रियाशील पात्र हुन् रिमाल। उनले भनेका पाँच शिखर पुरूषमध्येका विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीका दिन यो उल्लेख गर्नु सान्दर्भिक लाग्यो।  

बि.पी. कोइरालाको जीवन नियाल्दा लाग्छ– आकस्मिक र अप्रत्याशित घटनाले प्रभावित थिए। ती सबै घटना कठोर र निर्मम थिए। कहिलेकाहीँ मनमा प्रश्न पनि उठ्ने गर्छ ? राज्याभिषेकको तामझाम भइरहेको अवस्थामा आकस्मिकरूपमा १४ वर्षको वनबासको भाग परेका राजकुमार÷कुमारी राम, लक्ष्मण, सीताको अवस्था कस्तो भयो ? मात्र प्रश्न छ। त्यस्तै देशमा प्रथमपल्ट भएको आमनिर्वाचनमा दुईतिहाइ मत प्राप्त गरेको कांग्रेस दलका प्रधानमन्त्री बि.पी. कोइराला थिए। दुईतिहाइ मत प्राप्त दलको प्रधानमन्त्री आफ्नै दलको कारणबाट बाहेक अन्य अवस्थामा पदच्युत हुने सम्भावनाको अनुमान कसैले पनि गर्न सक्दैन थियो। संविधानतः उनी बलिया र शक्तिशाली थिए तर राजनीतिक अनिष्टको सामना अप्रत्याशितरूपमा उनले गर्नुप¥यो।

२०१० कात्तिक १० गते सिंहध्वज खड्काको अध्यक्षतामा तरुण दल गठन गरेका थिए उनले। तरुण दलको महाधिवेशन २०१७ पुस १ गतेका दिन उद्घाटन समारोहमा सम्बोधन गरिरहेको अवस्थामा राजनीतिक कु हुन्छ, गिरफ्तारीमा पर्छन्। त्यसपछि २०२५ सालसम्म लगभग ८ वर्ष सुन्दरीजल जेलमा बन्दी जीवन बिताउँछन्। त्यत्रो आकस्मिक घटना हुँदा पनि उनमा आवेग, उत्तेजना, विषाद, आक्रोश राग, द्वेष नआउनु अनौठो हो। आफ्नो सैद्धान्तिक निष्ठा र मान्यताबाट विचलित हुँदैनन्।

बि.पी. कोइरालालाई आकस्मिक र अप्रत्याशित घटनाद्वारा प्रभावित विराट राजनीतिक व्यक्तित्व हो भन्न हिच्किचाउनुपर्छ जस्तो लाग्दैन।  

त्यसरी राजनीतिबाट निषेधको अवस्थामा रहेका उनले बन्दीकालमै ‘आफ्नो कथा’, ‘जेल जर्नल’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’ जस्ता कृति सिर्जना गरे। साहित्यिक साधक बने, आफ्नो राजनीतिक पात्रतालाई एउटा कुनामा थन्काएर। त्यसपछि विश्वेश्वरप्रसाद कोइरालाका कथा, दोषी चश्मा, स्वेत भैरवी नामका कथा संग्रह, उपन्यासमा मोदी आइन, हिटलर र यहुदी, बाबुआमा र छोरा लेखे भने संस्मरण विधामा विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त, फेरि सुन्दरीजल उनका साहित्यिक योगदान हो भने ‘राष्ट्र, राष्ट्रियता र राजनीति’ उनको चिन्तनको झलक दिने कृति हो।

भारतको वनारसमा रहँदा १५–१६ वर्षका बि.पी. विद्यार्थी थिए। त्यसबेला राजनीतिक गतिविधिमा संलग्न भएका थिएनन्। अज्ञात नै थिए। तर बसिराखेको घरबाट दाजु मातृका सँगै पक्राउ पर्छन्। त्यसबेला बिहारको एक राजनीतिक षडयन्त्रको मुद्दाको अभियोग लगाएर उनीहरूलाई पक्राउ गरिएको थियो। एक महिनापछि दुवै दाजुभाइ थुनामुक्त हुन्छन्। सन् १९३० को भारतको ‘नमक सत्याग्रह’ को बेलामा मातृका प्रान्तीय कांग्रेसको कायममुकायम महासचिव, प्रबन्ध र सञ्चालन गर्ने गर्थे। त्यही कारण उनलाई बिहार सरकारले पक्रँदा बि.पी. दाजुकै घानमा पक्राउ परे। यो पनि किशोर बि.पी.का लागि एउटा आकस्मिक घटना नै थियो। फेरि सन् १९४२ मा भारतमै पक्राउ पर्छन्। ३ वर्षको त्यसबेलाको कैदी जीवनले राजनीतिक व्यक्तित्व निर्माण ग¥यो। राजनीतिक प्रतिष्ठा आर्जन भयो। बि.पी. भनेर चिनिने मौका भयो उनलाई।

पटक–पटकको जेलको जीवनलाई लिएर उनका दाजु मातृकाप्रसाद कोइरालाले बि.पी.को जीवनलाई भाग लगाउँदै लेखेका छन्– बि.पी.को ६८ वर्षको जीवनकालको भाग यसप्रकार छ। भारतमा प्रवास ३७ वर्ष, बन्दी जीवन नेपालमा ११ वर्ष र भारतमा ४ वर्ष गरी १५ वर्ष, प्रशासन २ वर्ष ३ महिना। यसरी नेपाली जनताको भागमा सोझो सम्पर्क १६ वर्षको मात्र पर्न आउँछ।

मातृकाकै भनाइमा सन् १९४२ मा बि.पी.सँगै पक्राउ पर्नेहरूमा डा. डिल्लीरमण रेग्मी, सूर्यप्रसाद उपाध्याय, राजेश्वरीप्रसाद उपाध्याय, गोपालप्रसाद भट्टराई, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, सुब्बा आदिभक्त (सहिद धर्मभक्तका पिताजी), हरिप्रसाद प्रधान (२००७ सालपछिका पहिलो प्रधानन्यायाधीश), सन्तवीर लामा महिकर, देवनारायण चौधरी, गृहेन्द्र रामशरण बराल, उत्तरबहादुर, माधवप्रसाद नेपाल थिए भने जयप्रकाश नारायण, डा. राममनोहर लोहियालाई भगाएको आरोपमा पक्राउ परेका रामेश्वरप्रसाद सिंह, स्व. चतुरानन्द सिंह, जयमंगलप्रसादलगायत ३८–३९ जना थिए भन्ने छ।

त्यसरी थुनामा पर्नेहरूमध्ये बि.पी.लाई पछाडि पार्न सक्ने अरू कोही नहुनु उनमा नेतृत्व क्षमता र गुण थियो। त्यही वैशिष्ट्यकै कारण आफ्ना समकक्षी भन्दा निकै अगाडि पुगे। राजनीतिक वर्चश्व कायम गरेर राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो छवि र प्रतिष्ठा कायम गर्न सफल भए।

नेपाली कांग्रेस स्थापना भएपछि टंकप्रसाद आचार्य, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेरले नेतृत्व गरेको समयबाहेक अकिँचनरूपले नेपाली कांग्रेसको नेतृत्व गरिरहे आफ्नो जीवनपर्यन्त। स्वनिर्वासनमा रहेका उनी २०३३ पुस १६ गते जोखिम लिएर नेपाल आएका थिए। विमानस्थलबाटै पक्राउ परे। उनमा अदम्य साहस र जोखिम मोल्ने क्षमता थियो भन्ने कुरा मातृकाकै भनाइमा ‘जब हामी प्रवासमा थियौँ, कोसीमा बाढी आएको थियो र हामी डुङ्गामा बसेर गइरहेका थियौँ। हाम्रा दीर्घराजजीका पिताजी विष्णुप्रसाद काकाले पिताजीलाई ‘तपाईँले छोरालाई बढ्ता माया गरेर बिगार्न लाग्नुभयो’ भन्नुभयो। उहाँको इसारा विश्वेश्वरबाबुप्रति भन्ने पिताजीले बुझ्नुभयो।  

रातको आठ बजेको थियो। पिताजीले विश्वेश्वरलाई हाम फाल् भन्नुभयो। विश्वेश्वरले यो बिर्से कि उनलाई पौडिन आउँदैन। उनी हाम फालिहाले बाचूँ या मरूँ, परिणामको परवाह नगरी आफूलाई होम्थे। त्यसैले बि.पी. कोइरालालाई आकस्मिक र अप्रत्याशित घटनाद्वारा प्रभावित विराट राजनीतिक व्यक्तित्व हो भन्न हिच्किचाउनुपर्छ जस्तो लाग्दैन।

प्रकाशित: २४ भाद्र २०७७ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App