१५ आश्विन २०७७ बिहीबार
विचार

औषधि विकासका आयाम

खोप नबन्ने हो भने कोभिड–१९ का कारण विश्वमा झण्डै ३ करोड मानिसले ज्यान गुमाउने देखिन्छ। दैनिक हजारौँ मानिस कोरोनाका कारण मरिरहेका हुँदा खोपको उत्पादन संसारको प्राथमिकता बनेको हो। सभ्रान्त तथा गरिब नागरिक अनि अविकसित तथा विकसित मुलुकलाई समानरूपले पिरोल्ने कोरोना नियन्त्रण संसारको प्राथमिकतामा परेको हो। कोरोनाविरुद्धको अभियानमा सबै देश सहभागी भएका छन्।

वर्तमान आतंकअघि पनि संसारले धेरै महामारी बेहोरेको छ। समाचार संप्रेषणका माध्यम प्रभावकारी नभएको तत्कालीन अवस्थामा एक स्थानमा भएको भयाबह स्थितिबारे अर्को सहर अनभिज्ञ रहन्थ्यो। अनि, सीमित आवतजावतका कारण महामारीको स्थानान्तरण रफ्तार न्यून थिए। तर पछिल्लो शताब्दीमा भएको वैज्ञानिक विकासले मानिसको बसाइँ सराइको प्रकृति मात्र फेरिएन, बरु सन्देश प्रवाहको रफ्तारमा क्रान्तिकारी परिवर्तन देखिएको छ। संसार नै एउटा गाउँमा रूपान्तरण भएको छ। एक सहरको विकास र विनास तुरुन्तै अर्को देशमा पुग्न सकेको छ। चीनको एउटा सहरमा सुरु भएको कोरोना भाइरस संसारकै आतंकमा रूपान्तरित हुन ३ महिना पनि लागेन।  

वैज्ञानिक विकासका कारण अन्य क्षेत्रझैँ आयुर्विज्ञानका अनुसन्धानले समेत फड्को मारेका छ। पछिल्लो दशकमा फत्ते गर्न महिनाैं लाग्ने अनुसन्धान केही दिनमै सम्पन्न गर्न सम्भव भएको छ। विकासको शृंखला हेर्दा एउटा खोप बजारमा पुग्न वर्षौँ लागेको देखिन्छ। खोप बनाउने काम अति नै खर्चिलो हुुनुका अतिरिक्त धेरै संख्यामा अनुसन्धानकर्ताहरूले अहोरात्र काम गर्नुपर्ने हुन्छ। त्यसका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता हुन्छ। विनासकारी चरित्रलाई मध्यनजर राख्दै कोरोना भाइरसको खोप बनाउन वैज्ञानिकहरूले तीव्र गतिमा काम गरिरहेका छन्।  

यो महिनाको पूर्वाद्र्धसम्मको तथ्यांक हेर्दा संसारमा ३२१ भ्याक्सिनका संभाव्य उम्मेदवार अनुसन्धानका भिन्न चरणमा पुगेका छन्। त्यसमध्येका ३२ खोप विभिन्न ३४ देशमा परीक्षण हुँदै गरेका छन्। भ्याक्सिन एक स्थान तथा समूहका मानिसमा मात्र प्रभावकारी हुने हो कि भन्ने जाँच गर्न क्लिनिकल ट्रायलमा भरिशक्य भिन्न जातजाति, वर्ण, लिंगलगायतका विविधतालाई समेट्ने गरिन्छ।

अब खोप विकासको जटिलता हेरौँ। नवीन खोप बजारमा पुग्नुअघि धेरै तगारा पार गर्नुपर्ने हुन्छ। भाइरसले मानिसका कोस (सेल) मा संक्रमण गर्ने भएकाले कुनै पनि ओखतीको परीक्षण मानवीय कोसमा गरिन्छ। तर प्रभावकारिताको परीक्षणबिना नयाँ खोप मानिसलाई दिँदा प्रतिकूल प्रभाव पार्ने तथा व्यक्तिको मृत्युसमेत हुन सक्छ। त्यस्ता दुर्घटनाबाट जोगिन सर्वप्रथम मानवीय कोसलाई प्रयोगशालामा अभिवृद्धि गरी अनुसन्धान शृंखला सुरु गरिन्छ। ‘टेस्ट ट्युब’ मा रहेको मानवीय कोसलाई रासायनिक पदार्थद्वारा संक्रमण गराइन्छ। अनि संक्रमणपछि ‘मानव कोस’ मा भाइरसलाई निस्तेज गर्ने प्रकृतिको ‘एन्टिबडी’ विकास भए/नभएको एकीन गरिन्छ।  

यो महिनाको पूर्वार्द्धसम्मको तथ्यांक हेर्दा संसारमा ३२१ भ्याक्सिनका संभाव्य उम्मेदवार अनुसन्धानका भिन्न चरणमा पुगेका देखिन्छ।

कदाचित, विकास भएको एन्टिबडीले भाइरसको शक्तिलाई क्षीण गरेको पाइए उक्त ओखती खोपको संभाव्य उम्मेदवार रहेको ठानिन्छ अनि त्यसलाई अघिल्लो चरणको उत्खननमा लगिन्छ। ओखतीले टेस्टट्युबमा रहेको कोसमा गर्ने व्यवहार र शरीरमा देखाउने प्रतिक्रिया फरक हुने हँुदा औषधिलाई थप उत्खननका लागि मुसा अथवा बाँदरमा परीक्षण गरिन्छ। जनावरमा गरिएको परीक्षणमा समेत उक्त ‘मेडिसिन’ ले भाइरसलाई निस्तेज गर्न सक्ने एन्टिबडी बनाएको देखिए उक्त ओखती क्लिनिकल ट्रायलमा प्रवेश गर्छ।  

ओखती मानिसको शरीरमा हाल्दा सम्बन्धित व्यक्तिमा कुनै पनि प्रतिकूल प्रभाव देखिनुहँुदैन। अनि खोपले लक्षित भाइरसको संक्रमणबाट समेत जोगाउनुपर्छ। भाइरसको संक्रमणबाट जोगाउने तर अर्को रोग भित्र्याउने ओखती ‘भ्याक्सिन’ हुन सक्दैन। मानिसमा प्रयोग गरिने खोप सुरक्षित र प्रभावकारी भए÷नभएको एकीन गर्न ‘क्लिनिकल ट्रायल’ को भूमिका हुन्छ। अब क्लिनिकल ट्रायलका चरण र परीक्षण विधि नियालौँ।

क्लिनिकल परीक्षणको प्रथम चरणमा स्वस्थ मानिसको एउटा सानो समूहलाई ओखतीको विभिन्न मात्रा दिइन्छ। ओखतीले खराबी गरे सानो समूह मात्र प्रभावित होस् भन्नका लागि यो चरणमा सहभागीको संख्या छरितो हुन्छ। कदाचित, खोपले प्रतिकूल लक्षण देखाए तथा त्यसले सोचेअनुरूप एन्टिबडी उत्पादन गर्न नसके उक्त ओखतीको यात्रा टुंगिन्छ। तर भ्याक्सिनले व्यक्तिमा नयाँ रोग लागेन अनि अपेक्षाअनुरूप भाइरसलाई निस्तेज गर्ने चरित्रको एन्टिबडी उत्पादन भए उक्त ओखती उपल्लो चरणको ‘ट्रायल’ मा जान्छ।  

सानो संख्यामा गरिएको परीक्षणले मूर्त रूप लिन नसक्ने भएकाले प्रभावकारिता तथा सुरक्षाको थप उत्खननका लागि भिन्न उमेर, लिंग, वर्णका सयौँ व्यक्तिलाई समेटेर क्लिनिकल ट्रायलको दोस्रो चरण आरम्भ गरिन्छ। सहभागीमध्येका आधा मानिसलाई क्लिनिकल परीक्षणको प्रथम चरणले निर्देशित गरेअनुरूपको ओखतीको मात्रा दिइन्छ भने अर्को ५० प्रतिशतलाई औषधि जस्तो भ्रम पार्ने झोल (प्लेसिबो) मात्र दिइन्छ। अझ महत्वपूर्ण कुरा त परीक्षणका क्रममा सांकेतिक शब्द मात्र प्रयोग गरिने भएकाले ‘ट्रायल’ मा सहभागी व्यक्ति तथा स्वास्थ्यकर्मी कसैलाई पनि कुन ‘भाइल’ मा ओखती र कुनमा प्लेसिबो थियो भन्ने कुराको कुनै जानकारी हुँदैन। यस चरणमा पनि ओखती दिइएको समूहलाई कुनै पनि नवीन रोग नलागे तथा अपेक्षाअनुरूप भाइरसविरुद्धको एन्टिबडी उत्पादन भएको पाइए खोपको यात्रा अर्को चरणमा प्रवेश गर्छ।  

बहुआयामिकरूपले सुरु गरिएका दर्जनाैँ खोपमध्ये कुनै न कुनै विधिले कोरोना नियन्त्रणमा प्रभावकारिता देखाउला भन्ने आशा गरिएको छ। र, प्रारम्भिक नतिजाले त्यही भन्छ पनि।

ओखती जस्तो संवेदनशील कुरा केबल केही सय जनसंख्यामा परीक्षण गर्दा पछिल्ला दिनमा संगिन समस्या आउन सक्ने भएकाले क्लिनिकल ट्रायलको तेस्रो चरणमा हजारौँ व्यक्तिलाई सहभागी गरिन्छ। दोस्रो चरण जस्तै यस ‘ट्रायल’ मा पनि भिन्न उमेर, लिंग, वर्ण अनि भौगोलिकरूपले विविध नागरिकलाई सहभागी गरिन्छ। समेटिएकामध्ये आधालाई ओखती दिइन्छ भने अर्को समूहलाई प्लेसिबो। खोपपछि उनीहरूले सामान्य जीवन व्यतीत गर्छन्। भाइरसले समाजमा आफ्नो आयतन बढाउँदै जाँदा सहभागीमध्येका वास्तविक औषधि लिने कति जनालाई भाइरसले समायो अनि प्लेसिबो सेवनकर्ता कतिलाई कोरोनाले पिरल्यो त्यसको लेखाजोखा गरिन्छ। औषधिले भाइरसबाट जोगाएको पुष्टि हुन परीक्षणका क्रममा वास्तविक ‘मेडिसिन’ लिने व्यक्ति भन्दा प्लेसिबो पाउने व्यक्तिलाई कोरोनाले अधिक सताएको तथ्यांकले देखाउनुपर्छ। कथाचित प्लेसिबो र ओखती सेवनकर्तालाई भाइरसले सताउने दर समान रहेको खण्डमा भ्याक्सिन निस्प्रभाव रहेको मानिन्छ। अनि उक्त भ्याक्सिन बजारमा जाँदैन।  

संयुक्त राज्य अमेरिकाको औषधि अनुगमन निकाय ‘फुड एन्ड ड्रग्स एडमिनिस्टे«सन (एफडिए)’ ले गत जुनमा कदाचित भ्याक्सिनले ५० प्रतिशत प्रभावकारिता देखाएको खण्डमा उक्त ओखतीलाई खोपका रूपमा प्रयोग गर्न अनुमति दिने बताएको छ। त्यसको मतलब कदाचित प्लेसिबो लिने ५० प्रतिशत मानिसमा कोरोनाले सताउने अनि वास्तविक ओखती लिने समूहमा केबल २५ प्रतिशतलाई मात्र भाइरसले संक्रमण गरे त्यो ओखती अमेरिकी बजारमा आउने देखिन्छ। विश्वको सबैभन्दा विश्वासिलो निकाय एफडिएका निर्णयलाई अधिकांश देशले मान्यता दिएका विगत नियाल्दा अमेरिकी निर्णयले संसारलाई निर्देशित गर्ने देखिन्छ।  

सामान्यतः कुनै पनि ओखती बजारमा आउनुपूर्व क्लिनिकल ट्रायलका तीन चरण पार गर्नुपर्ने हुन्छ। तर रोगको गम्भीरतालाई नियाल्दै धेरै देशले परीक्षणका भिन्न ढाँचा अंगाल्छन्। उदाहरणका लागि क्यान्सर, एचआइभी÷एड्स जस्ता संगिन प्रकृतिका रोगको हकमा परीक्षणको लामो शृंखला पार गर्दासम्म बिरामीको मृत्यु भइसक्ने हुन्छ। त्यस्तो अवस्थामा ओखतीले गम्भीर प्रकृतिको थप समस्या नथप्ने निश्चित भएपछि ओखतीलाई सीमित मन्जुरी (लिमिटेड एप्रुभल) दिने गरिन्छ। अनि ओखती बिरामीमा प्रयोग गरिन्छ। यद्यपि, सीमितरूपले अनुमोदन पाएका ओखतीले पछिल्ला दिनमा बिरामीलाई प्रतिकूल प्रभाव पारेको पाइए उक्त ‘मेडिसिन’ को प्रयोगमा बन्देज लाग्छ।  

हालै, कोरोना भाइरसका खोपका सम्बन्धमा चीन र रसियाले क्लिनिकल ट्रायलको तेस्रो चरण पार नगर्दै मानिसमा प्रयोग गर्ने गरी लिमिटेड एप्रुभल दिए। क्लिनिकल ट्रायलको तेस्रो चरण पार नगरेका धेरै ओखतीले मानिसमा प्रतिकूल प्रभाव पारेका कारण बजारबाट हटाउनुपरेको विगत नियाल्दा चीन र रसियाले करोडौँ नागरिकमा गरेका कोरोना खोपका परीक्षणले ठूलो स्वास्थ्य समस्या आउन सक्ने वैज्ञानिकहरू ठान्छन्।  

क्लिनिकल ट्रायलको तेस्रो चरण पार नगर्दै कोरोनाको खोप जनतालाई दिँदा जटिल स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संयुक्त राज्य अमेरिकालगायतका धनी देशले भने अर्को रणनीति अपनाए। क्लिनिकल ट्रायलको तेस्रो चरणको परिणाम आउन लामो समय लाग्न सक्ने अनि त्यसका आधारमा मात्र भ्याक्सिन उत्पादनको काम थाल्दा बिरामीले खोप पाउन लामो समय कुर्नुपर्ने हुन्छ। उक्त ढिलासुस्तीबाट बच्न संयुक्त राज्य अमेरिकाले ‘क्लिनिकल ट्रायलको थर्ड फेज’ मा पुगेका औषधिहरूको लाखौँ खोराक बनाएर भण्डारण गर्ने अनि कदाचित परीक्षणमा सकारात्मक परिणाम आए गोदामबाट निकालेर सिधै जनतालाई दिने रणनीति लिए। कदाचित नकारात्मक नतिजा आए भण्डारका ओखती नास गर्नुपर्ने हुन्छ। मानिसको जीवन भन्दा पैसा महत्वपूर्ण नहुने अवस्थामा अमेरिकाको उक्त रणनीति उचित देखियो।  

कोरोना भ्याक्सिन बनाउने क्रममा अहिलेसम्म विकास भएका एन्टिबडी निर्माणका सबै आविष्कारलाई समेटिएको देखियो। दशकौँदेखि प्रयोगमा रहेको भाइरसलाई निस्तेज गरी खोपका रूपमा उपयोग गर्ने विधिका अतिरिक्त मोलिकुलर बायोलोजीका अत्याधुनिक ‘भाइरल भेक्टर, आरएनए, डिएनए तथा प्रोटिनका ‘प्रोटोकलमा आधारित सबै विधानहरू कोरोनाको भ्याक्सिन बनाउन प्रयोग गरिएको देखिन्छ। बहुआयामिकरूपले सुरु गरिएका दर्जनाैं खोपमध्ये कुनै न कुनै विधिले कोरोना नियन्त्रणमा प्रभावकारिता देखाउला भन्ने आशा गरिएको छ। र, प्रारम्भिक नतिजाले त्यही भन्छ पनि। तर अन्तिम नतिजा नआउन्जेल कोरोनाको भ्याक्सिन पक्का बन्छ भन्ने अवस्था भने छैन। कैयौँ प्रयासका अतिरिक्त एचआइभी÷एडस भाइरसको भ्याक्सिन नबनेको यथार्थ बिर्सनुहुँदैन। 

प्रकाशित: २३ भाद्र २०७७ ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App