१५ आश्विन २०७७ बिहीबार
विचार

कोरोना महामारीमा मृत्यु चिन्तन

विश्वभर फैलिएको कोरोना रोगको महामारीबाट अहिलेसम्म मृत्यु हुनेको संख्या करिब ८ लाख पुगेको छ। यस रोगबाट संक्रमित हुनेको संख्या करिब ३ करोड पुगेको छ। करिब साँडे सात अरब जनसंख्या भएको विश्वमा यो संख्या त्यति व्यापक नहोला तर यसको क्षतिको प्रभाव र भावी असरले मानव समाजलाई त्रस्त बनाएको छ। मृत्यु सुखद कुरो होइन। जीवनको अन्त्य हो। मानव समाजमा विभिन्न युद्ध प्रकोप र संकटबाट सामूहिक मृत्युको घटना इतिहासदेखि नै छ। पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा यस्तै सामूहिक नरसंहार भयो।  

सन् ९० को दशकमा अफ्रिकाको रुवान्डामा भएको जातीय नरसंहारमा यस्तै गरे। लाखौँको ज्यान गयो। हिरोसिमा र नागासाकीमा अणु बम प्रयोगबाट लाखौँ जापानीले ज्यान गुमाए। सन् १९१७ को स्पेनिस फ्लुबाट करोडौँ मरे। यसरी आममानिसको नरसंहारले त्यसपछि समाजमा व्यापक सांस्कृतिक र मनोवैज्ञानिक प्रभावहरू पार्ने गरेको छ। त्यसरी नै यस कोरोना भाइरस प्रकोपले पनि वर्तमान समाजमा भविष्यमा व्यापक सांस्कृतिक र मनोवैज्ञानिक असरहरू पार्नेछ। यसमा पनि विशेष गरेर कला साहित्यमाथि प्रभाव पर्नेछ। यस महामारीका विषयमा असंख्य सिर्जना गरिनेछ। भयमा आधारित सौन्दर्यशास्त्र निर्माण हुनेछ। विश्वयुद्धको प्रभावपछि युरोपमा अस्तित्ववादीहरू देखिए। ज्याँ पाल सात्रले साहित्य लेखे। त्यस्तै अर्का चिन्तक सोरेन किर्केगार्दले भय, असुरक्षा र मृत्यु चिन्तनलाई लिएर ‘सिकनेस अन टु डेथ’ भन्ने पुस्तक नै लेखे। जसको प्रभाव विशवव्यापीरूपमा देखियो।  

अस्तित्ववाद विश्वयुद्धको त्रासदको उपज थियो। यस्तै कोरोना त्रासदीका कारण सांस्कृतिकरूपमा नयाँ नयाँ सिर्जना र चिन्तन देखिन थालेका छन्। मानव मस्तिष्कमा पृथ्वीको अन्त्यलाई लिएर अनेक विमर्श छन्। बाइबलमा पृथ्वीको अन्त्यलाई लिएर ‘एपोक्लापटिक’ चिन्तन छ भने हिन्दु धर्ममा कलियुगको अवधारणा छ। मानिस आफ्नो मात्रै होइन, आफूजस्तै अन्य मानिसको पनि सामूहिक सुरक्षा चाहन्छ। विश्वनाशको सम्भावनालाई अहिलेसम्म चारवटा संकट मानवसामु रहेको वैज्ञानिक आकलन छ। पहिलो कुनै अर्को ग्रह पृथ्वीमा ठोकिन पुगेमा, आणविक युद्ध भएमा, वातावरणीय विनाश भएमा र कृतिम बुद्धिले मानव जातिलाई परास्त गरेमा यी खतरा रहन्छन्।  

मानिस प्रकृतिको अङ्ग हो। प्रकृतिबाट अलग रहेर मानव बाच्न सक्दैन। प्रकृतिले नै मानिसलाई जीवन वरदान दिएको छ भने प्रकृतिमा नै मानवलाई नष्ट गर्ने क्षमता रहेको यस कोरोना महामारीले पुष्टि गरेको छ।

अन्त्य हुनु भनेको मृत्यु हो। दार्शनिकरूपमा भन्ने हो भने मृत्यु अनिवार्य घटना हो। भौतिकरूपमा मात्रै होइन, मनोवैज्ञानिकरूपमा पनि हामी क्षण÷प्रतिक्षण मरिरहेका हुन्छौँ। मानिसभित्र रहेका अनेकौँ ‘म’ हरूको मृत्यु र जन्म क्षण क्षणमै भइरहेको हुन्छ। भौतिकरूपमा भन्ने हो भने शरीरमा अणुहरूको विघटन नै मृत्यु हो। मानिस भौतिकरूपमा नरहेपछि त्यसले सिर्जना गर्ने खालीपन नै मृत्युको अनुभव हो। करिब ४ लाख ५० हजार मानिसको मृत्युले त्यस्तै खालीपन महसुस गरायो।  

अब मानव समाज प्रकृतिकेन्द्रित हुनेछ। जसरी मध्ययुगमा ईश्वरकेन्द्रित थियो। तर पछिबाट पुनर्जागरण र प्रबोधन क्रान्तिले समाजलाई मानवकेन्द्रित बनायो। अध्यात्म विज्ञानमा मृत्युलाई अत्यन्त महत्वपूर्ण तत्वका रुपमा लिइन्छ। तत्वमीमांसीयरूपमा अझ भन्ने गरिन्छ कि जीवन र मृत्युबीचको स्पेस त्यति ठूलो छैन। तिब्बती धर्म गुरु दिल्गो खेन्चे रिम्पोचेले भनेका थिए कि ध्यानहरूमा सबैभन्दा उत्तम ध्यान मृत्युमाथिको ध्यान हो। तसर्थ तिब्बतीहरू मृत्युलाई जीवनको सम्पूर्णताको उत्सवका रूपमा लिन्छन्। तर कोरोनाको मृत्यु असामयिक हो। जैविक रोगको कारणले भएको हो। यसको मानव क्षतिका बारे हामी आ–आफ्ना विश्वासमा रहेर चिन्तन मनन गर्न सक्छौँ। तर यस रोगको समाधान भने वैज्ञानिकरूपमा खोज्नेबाहेक अर्को विकल्प मानिससामु छैन।  

रोगव्याधिको प्रकोपविरुद्ध लड्न मनोवैज्ञानिक तयारी मात्र हाम्रासामु छ। हुन त एक्काइसौँ शताब्दीमा मृत्युलाई जित्ने विज्ञान ‘क्रोएनिक्स’ को अविष्कारसमेत भएको छ। जसको प्रयोगबाट मानिस कहिल्यै पनि नमर्ने हुन सक्छ। औषधि विज्ञानको उच्च विकास भइरहेको अवस्थामा यस रोगविरुद्ध औषधिको अविष्कार भइरहेको छ। मानिस प्रकृतिको अङ्ग हो। प्रकृतिबाट अलग रहेर मानव बाच्न सक्दैन। प्रकृतिले नै मानिसलाई जीवन वरदान दिएको छ भने प्रकृतिमा नै मानवलाई नष्ट गर्ने क्षमता रहेको यस कोरोना महामारीले पुष्टि गरेको छ। धर्म, सांस्कृतिक र राजनीति निर्मित कुरा हो। प्रकृति मात्रै शाश्वत कुरा हो। यस भाइरसबाट के इसाई, हिन्दु, बौद्ध र इस्लाम सबैको मृत्यु भयो। यो मानव प्रजातिमाथि नै आइलागेको विपत्ति हो।  

यसर्थ, यस विपत्तिले ज्यान लिने गरेकाले सन्त्रासमा बाँच्न आज मानव बाध्य छ। यही सन्त्रासले आज मानव जातिलाई एक ठाउँमा ल्याइदिएको छ। जसका विरुद्ध सामूहिक संघर्ष जरुरी छ। यो स्वास्थ्य संकट हो। तर यसको राजनीतिक र आर्थिक आयाम पनि छन्। मानिसको स्मृतिमा यत्रो ठूलो संकट विरलै आएको थियो। यो होमोसेपियन्समाथिकै संकट हो। मानिसले हजारौँ वर्षमा अनेकौँ कुरा आविष्कार गरी त्यसको ज्ञानले पृथ्वी सञ्चालन गर्दै आएको छ। बुद्धिको प्रयोगले मात्रै मानव जातिलाई आफ्ना संकट समाधान गर्न मद्दत गर्छ। यसर्थ यस रोगको समाधान पनि मानव बुद्धिकै प्रयोगबाट सम्भव छ। करिब ६ महिना लामो यस संकटमा ज्यान गुमाउनेका लागि हामी ध्यान गर्न सक्छौँ। यिनीहरूलाई साहित्य÷कलामा उतार्न सक्छौँ। जीवन आखिर स्मृति न हो।

प्रकाशित: २२ भाद्र २०७७ ०९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App