२२ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

बेहाल विश्वविद्यालय

मुलुकको सबैभन्दा पुरानो, ठूलो र धेरै विद्यार्थी अध्ययन गर्ने त्रिवि दिन/प्रतिदिन कमजोर बनिरहेको छ। सबै संघ/संगठनहरुको आन्दोलन गर्ने क्षेत्र बन्न पुगेको छ। विभिन्न माग राखी मधेसी लोकतान्त्रिक प्राध्यापक संघले उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेका छन्, जसका कारण प्रमाणपत्र तहदेखि विद्यावारिधिसम्मका विद्यार्थीको भविष्यको रेखा कोर्न जिम्मेवारी बोकेको त्रिभुवन विश्वविद्यालय अन्यौलग्रस्त र समस्याग्रस्त बन्न पुगेको छ। राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा कमाएको ९६ प्रतिशत उच्च शिक्षाको भार एक्लै बोकेर अगाडि बढेको त्रिविका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी भएको १ महिना बितिसकेको छ। यति लामो समयसम्म पदाधिकारीहरुको कार्यकक्ष बन्द हुँदासमेत राज्यपक्ष, शैक्षिक जगत विद्यार्थी र विद्यार्थी संगठनहरु मौन बस्नु भन्दा दुर्भाग्य के हुन सक्छ? वास्तवमा विश्वविद्यालयले मुलुककै मानप्रतिष्ठा र मर्यादा बोकेको हुन्छ तर राज्यले त्रिभुवन विश्वविद्यालय जस्तो महत्त्व राख्ने राष्ट्रको इज्जत बुझ्नै सकेन। यसको गरिमा र महत्त्व बचाउने कोसिस नै गरेन। बरु उल्टै यसको प्रतिष्ठालाई तहसनहस बनाएर शिक्षालाई व्यापारको खेती गर्न खोज्ने शैक्षिक क्षेत्रका व्यापारीहरुलाई नै फाइदा पुग्ने ढंगबाट अगाडि बढिरहेको छ।
लोगोको व्यापार : देशभर ८५ प्रतिशत निजी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयमा आबद्ध प्राध्यापकहरुको छ। देशको सर्वांगीण विकासका लागि उच्चस्तरीय जनशक्ति उत्पादन गर्र्न शैक्षिक संस्था स्थापना हुनु सरानीय पक्ष हो तर त्रिभुवन विश्वविद्यालयकै नीति निर्माण गर्ने व्यक्तिहरुकै पहल र प्रयत्नमा पूर्णतया नाफामूलक र व्यापारिक दृष्टिबाट शिक्षा सञ्चालन गर्नु मुलुक र विद्यार्थीको उच्च शिक्षा ग्रहण गर्ने चाहनामाथिको कुठाराघात हो कि होइन? यो जवाफ त्रिविको उच्च तहमा बस्ने पदाधिकारी तथा प्राध्यापकले दिन जरुरी छ। मुलुकमा शैक्षिक संस्था जस्तो सम्मानित संस्थाको जन्म आफंैमा राम्रो कुरा हो तर संस्थाको नाममा सर्वसाधारणको पहुँचभन्दा माथि गई शिक्षालाई कमाइ खाने भाँडोका रुपमा सञ्चालन गरिन्छ भने यो मुलुकका लागि दुर्भाग्य हो कि होइन? यो प्रश्नको उत्तर त्रिविको लोगो बेचेर पैसा कमाउने र राजनीति गर्ने, निजी शैक्षिक संस्थाको ब्रोसरमा सजिएर विज्ञापनमा खेल्ने प्राध्यापकले दिन जरुरी छ।
मध्यदेशी उपल्लो स्तरको जनशक्ति निर्माण गर्न सफल त्रिविभित्रका केही प्राध्यापकको कालिदास प्रवृत्तिका कारण त्रिभुवन विश्वविद्यालय यो अवस्थामा आइपुगेको हो। विश्वविद्यालयमा पाउने जति सुविधा सबै लिने अनि पढाउँदै नपढाई तलव/भत्ता खाने विश्वविद्यालयको हितमा भन्दा आफ्नो लगानीमा खोलिएका कलेजको विज्ञापन गर्ने केही शैक्षिक माफियाहरु विश्वविद्यालयको प्रतिष्ठा गौरव, संरचना र शैक्षिक वातावरण भत्काउन क्रियाशील छन्।
कालिदास प्रवृत्ति : इन्जिनियरिङ अध्ययन संस्थानले साउन २७ मा सञ्चालन गरेको प्रवेश परीक्षाको प्रश्नपत्र एक दिनपहिले नै बाहिरिएको घटना सेलाउन नपाउँदै एमए प्रथम वर्षको अंग्रेजीको प्रश्नपत्र बाहिरिएको घटना सञ्चार माध्यमा नै आइसकेको छ। इन्जिनियरिङ अध्ययन संस्थानमा पुनः परीक्षाको माग राख्दै विद्यार्थीले तालाबन्दी गरेका छन्, जसका कारण संस्थानको प्रशासनिक कामसमेत अवरुद्ध छ। राज्य र त्रिविका जिम्मेवार पदाधिकारी मौन बसेका छन् भने त्रिविको प्रतिष्ठा र मर्यादालाई कमजोर बनाई फाइदा लिने शैक्षिक व्यापारीकरणका व्यापारी त्रिवि खत्तम भयो, अब यसको भविष्य छैन भन्दै मिडियाबाजी गरिरहेका छन्। आफू नाफा र घाटाको जोडघटाउ गर्छन्, अनि आफूलाई उच्चकोटीको बुद्धिजीवीको कित्तामा उभ्याई राजनीतिक पार्टीहरुको प्रवक्ता बनी भागवण्डाको भागिदार बन्छन्। विद्यार्थी र विद्यार्थी संगठनलाई राजनीति गर्नुहुँदैन भन्ने सुझाव दिन्छन्। विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नैपर्छ भनेर न्वारानदेखिको बल लगाएर कुर्लिन पछि पर्दैनन् उनीहरु। तर आफ्नो अनुकूल सरकार बनेपछि पदाधिकारी नियुक्ति खान र खुवाउन नेताहरुको घरदैलो चाहार्दै हिँड्छन्। आफू र आफ्नो मान्यताको भए ठीक र प्राज्ञिक अरुको भए राजनीतिक भागवण्डा भन्ने आरोप लगाउँछन्। उदाहरणका रुपमा शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीको अनसनलाई लिन सकिन्छ। आफ्नो विचार नजिकको व्यक्ति आए ठीक नत्र बेठीक भन्ने मान्यता दरिद्र मानसिकता हो। आफ्नो अनुकूलको व्यक्ति नियुक्त भएको भए शायद डा. गोविन्द केसी आमरण अनसनमै बस्ने थिएनन्। भागवण्डामा कुनै पद पाएको भए मधेसी प्राध्यापकहरुले पनि पदाधिकारीकोमा तालाबन्दी गर्ने थिएनन कि? त्यो सहजै अनुमान गर्न सकिन्छ। अहिले त्रिविमा तालाबन्दी, बन्द/हड्ताल गर्ने बेला होइन। विश्वविद्यालय जस्तो संवेदनशील राष्ट्र विकासको मेरुदण्डका रुपमा रहेको संस्थाका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी हुनु, त्यो पनि त्यही भित्रका प्राध्यापकले गर्नु भन्दा गैरजिम्मेवारी अरु के हुन सक्छ प्राज्ञिक क्षेत्रका लागि? लाखौं विद्यार्थीको भविष्यको जिम्मेवारी बोकेको विश्वविद्यालयको भविष्य बर्बाद बनाउने कुरा कुनै पनि बहानामा राम्रो हुन सक्दैन। विश्वविद्यालयमा राजनीतिक क्रिडास्थल भएकै कारण यसको स्वयतत्ता, प्राज्ञिकता, शैक्षिक मर्यादा, प्रतिष्ठा र गुणस्तरीयता कमजोर बन्न पुगेको यथार्थ हो। स्वाभाविकरुपमा प्राज्ञिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नैपर्छ। प्राज्ञिक स्थल कुनै पनि पार्टी वा सरकारको राजनीति गर्ने थलो बन्न हुँदैन। अझ प्राध्यापकहरु त राजनीतिक पार्टी वा नेताको नजिकको भनेर गर्व गर्नुमा आफ्नो पहुँच चल्छ भन्ने ठान्छन्, जुन बेकार छ। विश्वविद्यालय योग्य, क्षमतावान, कर्तव्यनिष्ठ र नैतिकवान प्राज्ञिक व्यक्तिहरुको साझा फूलबारी बन्न सक्नुपर्छ। त्यसका लागि विश्वविद्यालय सञ्चालन गर्ने जिम्मा पाएको पक्ष प्राज्ञिक, पारदर्शी, व्यावहारिक, इमानदार बन्नैपर्छ भने प्राध्यापकहरु पनि आफ्नो जिम्मेवारीप्रति उत्तरदायी बन्नैपर्छ। यतिबेला सिङ्गो शैक्षिक जगतलाई एउटै चिन्ता छ- त्रिवि जस्तो श्रमजीवी र सर्वहारा वर्गका छोराछोरीले अध्ययन गर्ने संस्था डुब्ने त होइन? तालाबन्दी, बन्द/हड्तालले यसको स्वाभिमान समाप्त हुने त होइन? विश्वविद्यालय नै नरहे भोलि प्राध्यापक भई टोपलिने राजनीतिक पार्टीको झण्डा समात्ने, भागवण्डामा नियुक्ति खान तछाडमछाड गर्ने अवस्था पनि नरहला नि? आफ्नै घरमा तालाबन्दी गरेर बाहिर तर्क/वितर्क गर्दै हिँड्दा विश्वविद्यालयको प्राज्ञिक व्यक्तित्व बनी गर्व गर्ने नैतिक अधिकारसमेत रहन्न।

प्रकाशित: ८ आश्विन २०६९ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App