१५ माघ २०७८ शनिबार
विचार

महामारीमा रेडियो

२०७२ सालको भूकम्प, तीन वर्षअघिको तराईको डुबान र अहिलेको कोरोनाले निम्त्याएको संकटमा नेपाली सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेका छन्। नेपाली सञ्चारमाध्यमले यस्ता विपत्तिका साथै कोभिड–१९ को महामारीविरुद्ध लड्न खेलेको भूमिकालाई विश्वसमुदायले प्रशंसा गरेको छ। विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय पत्रकार संगठनले नेपाली सञ्चारकर्मीले आफूलाई जोखिममा राखेर समुदायलाई बचाउने काममा सक्रिय भएको बताएका छन्।  

सेवा÷सुविधा खोजेजस्तो प्राप्त नगरेपनि कामलाई पहिलो प्राथमिकता दिने नेपाली पत्रकारको बानी छ। लकडाउनका कारण धेरै पत्रकारले रोजगारी गुमाए तर समग्रमा नेपाली सञ्चार जगत्ले कोरोनाको जनचेतना अभिवृद्धि गर्न ठूलो भूमिका खेलेका पाइएको छ। अझ जिल्ला/जिल्लामा रहेका स्थानीय रेडियोले नागरिकलाई कोरोनासम्बन्धी जानकारी निरन्तर दिइरहे।  

स्थानीय भाषा र लवजमा कोरोना महामारीबाट कसरी बच्ने भनेर हात धुने, मास्क प्रयोग गर्ने तरिका मात्रै रेडियोले सिकाएनन्, सुरक्षित क्वारेन्टाइनबारे निरन्तर वकालत गर्ने काम गरे। रेडियोको स्टुडियोबाटै टेलिफोनमार्फत पीडित र सरोकारवालालाई सजिलै जोडेर समस्याको समाधान गर्ने काम गरेकाले पनि बढी प्रभावकारी देखियो। प्रत्यक्ष भेटेर अन्तर्वार्ता लिँदा जोखिम हुने भएकाले पनि रेडियोहरूले टेलिफोनलाई नै बढीभन्दा बढी प्रयोग गरेर समाचार संकलन गर्ने काम गर्नुपर्छ।  

सामुदायिक रेडियोहरूले २८ भन्दा बढी भाषामा कोरोनाबाट बच्ने उपायहरू उल्लेख भएको जानकारीहरू प्रसारण गरे। सेरकास्ट र अन्य सर्वेक्षण गर्ने संस्थाहरूको तथ्याङ्क हेर्ने हो भने ७० प्रतिशत मानिसले कोरोनासम्बन्धी जानकारी रेडियोबाट लिने गरेको बताएका छन्। नेपालमा मात्रै होइन, भारत, बेलायत, अमेरिकामा भएका मिडिया सर्वेक्षणले रेडियोका स्रोता ३० प्रतिशतले वृद्धि भएको देखाए। एसिनेल्सनको सर्वेक्षणले पनि रेडियोको स्रोता ३५ प्रतिशतले बढेको बताएको छ। भारतीय रेडियो सञ्चालकहरूको संस्था एआरओआइले गरेको सर्वेक्षणअनुसार भारतमा ८२ प्रतिशतले रेडियो सुन्न थालेका छन्। 

सेवा/सुविधा खोजेजस्तो प्राप्त नगरेपनि कामलाई पहिलो प्राथमिकता दिने नेपाली पत्रकारको बानी छ।   

लकडाउन र अन्य सामान्य समयमा पनि स्रोताले मनोरञ्जन र सूचनाका लागि एफएम रेडियो बढी सुन्ने गरेका सर्वेक्षणले देखाएको छ। स्थानीय रेडियोले पनि विज्ञापन गुमाएका छन्, आर्थिक मार भोग्नुपरेको छ। तर धेरैजसो स्थानीय सामुदायिक रेडियोमा स्वयंसेवी तरिकाले संकट मिलेर सामना गर्नुपर्छ भन्ने भावना देखियो। त्यसैले ३६५ सामुदायिक रेडियोमध्ये कोरोनाकै कारण कुनै पनि बन्द भएनन्। एक जना रेडियो पत्रकार पनि निकालिएनन्। यसले विश्व मिडिया समुदायलाई नै उदाहरण प्रस्तुत गरेको छ।  

शिक्षालयको भर्ना खुल्ने बेलामा भएको कोरोना महामारीले यस्तो विज्ञापन रेडियोमा बज्न पाएनन्। यस्तै कारणले रेडियोले करिब ७० प्रतिशत आम्दानीको स्रोत गुमाए। त्यसपछि रेडियोले आफ्नो रणनीति परिवर्तन गरे। रेडियो कार्यक्रममार्फत दूर शिक्षाका कक्षा सञ्चालन गर्न थाले। रेडियो गुरुबाबा बर्दियाले त चैत तेस्रो साताबाटै  कक्षा ९ र १० का विद्यार्थीका लागि कक्षा सञ्चालन ग¥यो। आफूहरूले थारू भाषामा पनि विद्यार्थीका लागि कक्षा सञ्चालन गरेको रेडियोका प्रमुख एकराज चौधरीले बताए। त्यसैगरी भिजन एफएम ओखलढुंंगाले पनि सुरुकै चरणदेखि रेडियो कक्षा सुरु ग¥यो। रेडियो मदनपोखराको दूर शिक्षा कार्यक्रम पनि प्रभावकारी बन्यो।  

पाठ्यक्रम विकास केन्द्रले विकास गरेको कक्षा ९ र १० को पाठ्यक्रमलाई सामुदायिक रेडियोहरूको नेटवर्क सिआइएनबाट प्रसारण गर्न थालेपछि धेरै रेडियोले यसलाई पनि पछ्याए। स्थानीय सरकारसँग साझेदारी गरेर अन्य कक्षाका पाठ्यक्रम पनि प्रस्तुत गर्दै आए। शिक्षक पनि घर नजिकको सामुदायिक रेडियोमा गएर पढाउन पाउँदा दंग छन्। एउटा कक्षामा रहेका विद्यार्थीलाई मात्रै पढाइरहेका शिक्षकलाई टाढाका विद्यार्थीले सुनेर प्रशंसा गरेपछि खुसी त मिल्ने नै भयो। अहिले ३ सय २० भन्दा बढी रेडियोले शिक्षा दिइरहेका छन् भने ९५ रेडियोले आफैँ रेडियो कक्षा सञ्चालन गरिरहेका छन्।  

पाठ्यक्रम विकास केन्द्रले तयार पारेको कक्षा ९ र १० को अंग्रेजी पाठ सिकाइ बुझ्न गाह्रो भएको गुनासो आयो, डडेल्धुराको रेडियो अमरगढीलाई। त्यसपछि यो रेडियोले स्थानीय शिक्षकलाई नै अंग्रजीको पाठ पढाउने व्यवस्था मिलायो। रेडियोहरूले पाठ्यक्रमका अतिरिक्त सिर्जनात्मक कार्यक्रमहरू पनि प्रसारण गरेका छन्।  

रेडियोहरूले विद्यार्थीलाई कथा, कविता, गीत लेख्न र वाचन गर्न सिकाउने खालका सिर्जनात्मक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छन्। पछिल्लो समय सामुदायिक रेडियोहरूले प्रसारण गर्दै आएका ‘हाम्रो घर, हाम्रो पाठशाला’ रेडियो कार्यक्रममा लेख्नेका साथै, परिकार पकाउने, बाजागाजा बनाउन सिकाउने र विभिन्न सिपलाई सिकाउने काम भएका छन्। जसका कारण विद्यार्थीलाई किताबका पाना मात्रै होइन, समाज समेत पढ्न सिकाएको छ।  

कोरोना महामारीले अझै पनि विषम परिस्थिति ल्याउन सक्ने अवस्था भएकाले सञ्चारकर्मीले तयारी गर्नुपर्छ। कोरोना संक्रमणबाट बच्न सघाउने अझै धेरै जानकारी दिनुछ।  
(प्रमुख, सामुदायिक रेडियोहरूको नेटवर्क सिआइएन)

प्रकाशित: १ भाद्र २०७७ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App