३ आश्विन २०७७ शनिबार
विचार

कोरोनाबाट बच्न खानेकुराको भूमिका महत्वपूर्ण

स्वस्थ र हितकर खाद्य पदार्थ उपभोग स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ । त्यसमा पनि संक्रामक रोगको महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न, संक्रमणबाट बच्न र संक्रमित भइसकेको अवस्थामा पनि शीघ्र स्वस्थ हुन उचित खानेकुरा उपयोगी सिद्ध हुने तथ्यबारे विश्व स्वास्थ्य संगठनले गत जेठ १२ गते विज्ञप्ति जारी गरी जानकारी गराएको थियो । पोसिलो ताजा खानाले कैयौं प्रकारका स्वास्थ्य समस्या जस्तै : मुटुको रोग, मधुमेह, उच्च रक्तचाप, मोटोपना तथा सबै प्रकारका क्यान्सर रोग लाग्न नदिन ठूलो भूमिका खेलेको हुन्छ । त्यसो त खाना वा पेय आफैंमा हरेक (संक्रामक) रोगका लागि औषधि नहुन सक्छन्, तर पनि त्यस्ता खाद्य पदार्थले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन र दीर्घ रोग लाग्ने जोखिम घटाउँछ । तसर्थ कोभिड–१९ को उच्च जोखिम रहेको यो बेला खाद्य पदार्थको छनोट र सेवनमा उच्च सावधानी अपनाउनुपर्ने हुन्छ ।  

कोरोना महामारीका बेला विशेष सावधानी अपनाउनुपर्ने पक्ष भनेको खाद्य असुरक्षा तथा कुपोषणका कारण कोही पनि भोको र संक्रमित नहोउन् भन्नेतर्फ सचेत हुनु हो ।

नेपालको सन्दर्भका कोरोनाबाट संक्रमितमा केही बच्चा छन् भने अधिकतर सक्रिय प्रजनन उमेर समूहका व्यक्ति छन् । यस्तो अवस्थामा सहजै के अनुमान गर्न सकिन्छ भने नेपालमा कुपोषण एउटा डरलाग्दो समस्या हो । शिशुका लागि स्वस्थ खाना भनेको ६ महिनाको उमेरसम्म आमाको दूध मात्र खानु हो । यस्तै ६ महिनादेखि २ वर्षसम्मका बच्चालाई आमाको दूधका साथै पोसिला खानेकुरा पनि खुवाउनुपर्छ । यस प्रकारका खानाले बच्चाको शारीरिक÷मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउन ठूलो भूमिका खेल्छन् । यस्तै पाको उमेरका मानिसका लागि तागतिला खाना स्फूर्ति र निरोगिताका लागि उपचारसरह हुन्छ ।  

पोषणयुक्त खाना भनेको के हो ?

पोषण विज्ञका अनुसार पोषणयुक्त स्वस्थ खाना भन्नाले थरीथरीका खाद्यान्न मिसाएर तयार पारिएका खाना तथा फलफूल र तरकारी पर्छन् । हरेक दिन खाने अन्न जस्तै : चामल, मकै, गहुँ दलहनमा गेडागुडी, रहर, मुसुरो, मास आदिका साथमा प्रशस्त ताजा तरकारी र फलफूल सेवन गर्नुपर्छ । साथै उपलब्ध भएसम्म दुग्धजन्य पदार्थ र आफ्नो रुचिअनुसार माछामासु खानुपर्छ । प्राकृतिक रूपमा तयार पारिएका खानामा शरीरलाई आवश्यक पर्ने पोषक तत्वको सन्तुलित मात्रा पाइनाका साथै पर्याप्त मात्रामा प्राकृतिक रेसादार पदार्थ पनि पाइन्छ । यस्ता खाना पचाउन सजिलो हुनाका साथै शरीरलाई लामो समयसम्म ऊर्जा दिन सक्षम हुन्छन् । खाजाका रूपमा समेत ताजा तरकारी, फलफूल, ओखर, बदाम, किसमिसजस्ता वस्तु सेवन गर्नु निकै उपयोगी हुन्छ ।  

खाद्य वस्तुको व्यवस्थापनमा अपनाउनुपर्ने सावधानी

हालसम्मको जानकारीअनुसार कोरोना भाइरस चीनको खाद्य बजारबाट फैलिएको मानिन्छ । तसर्थ खाद्य पदार्थ कारोबारका लागि बजारमा जाँदा होस् वा त्यहाँ खाद्यान्नको भण्डारण, वितरण, ढुवानी गर्ने माध्यम (झोला वा सवारीसाधन) आदिबारे निकै सावधानी अपनाउनुपर्छ । ताजा कृषिजन्य, पशुजन्य वा अन्य प्रकारका खाद्य पदार्थ अक्सर ओसिलो स्थानमा संग्रह गरिने र त्यसमा चिस्यानको मात्रा बढी हुने भएको हुँदा त्यस्तो स्थान वा वस्तु पहिल्यै कोरानाबाट संक्रमित भइसकेका छन् भने संक्रमण सर्ने उच्च जोखिम हुन्छ ।  

बजार क्षेत्र नियमित सरसफाइ गर्ने, कोरोनाको सम्भावित संक्रमण र विस्तार रोक्न सरकार र विश्व स्वास्थ्य संगठनले तोकेका सुरक्षाका उपाय अवलम्बन गर्ने, कारोबार हुने स्थलमा भीडभाड नगर्ने, क्रेता र बिक्रेताबीच तोकिएको भौतिक दूरी कायम गर्ने, घर वा भान्छामा ल्याइएका त्यस्ता खाद्य वस्तुलाई निर्मलीकरण गर्ने जस्तै ः धोइपखाली खुला स्थान वा घाममा फिँजाएर राख्ने, पोटास वा क्लोरिनको झोलमा डुबाउने गर्न सकिन्छ । खाद्य बजारबाट घर ल्याइएका सामाग्रीको प्रशोधन वा केलाउने क्रममा व्यक्तिगत सुरक्षाका सावधानी अपनाउनुपर्छ ।  

खाद्य तथा पोषणका बाधक

मानिसलाई हरेक दिन खानासँगै निश्चित मात्रामा नुन र तेल सेवन गर्न आवश्यक हुन्छ । नेपालीमा नुनको प्रयोग बढी हुने गरेको तथ्यलाई जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०१६ ले हाम्रा भान्छामा घिउ, बटर, बोसोजन्य पदार्थको उपयोग बढी हुने गरेको औंैल्याएको छ । एक वयस्क मानिसका लागि हरेक दिन ५ ग्रामभन्दा बढी नहुने गरी नुन खान सिफारिस गरिएको छ, त्यो भनेको एक चियाचम्चा बराबर हुन्छ भने भुटन वा चोखिनका रूपमा हाल प्रयोगमा रहेका तेलीय पदार्थको सट्टामा अलिभ, भटमास, मकै, तोरीको तेल निश्चित मात्रामा प्रयोग गर्न सकिन्छ ।  

मासु छनोट गर्दा रातो मासुको सट्टा सेतो मासुलाई प्राथमिकता दिनुपर्छ । किनकि यस प्रकारको मासुमा बोसोको मात्रा कम हुन्छ । मासुजन्य खाद्यान्नलाई केही समय चिसोमा जम्न दिएर पछि मात्र राम्ररी गल्नेगरी  पकाएर खान सल्लाह दिने गरिन्छ । यसो गर्दा मासुको स्रोत जनावरमा भएका विकार वा संक्रामक रोग भएको अवस्थामा पनि मासु उपभोग गर्ने मानिसलाई कम मात्र असर गर्छ । बजारमा प्रशोधित मासुका धेरै परिकार पाइन्छन् । त्यस्ता प्रशोधित मासुको सेवन नगर्नु नै उचित हुन्छ । त्यसैगरी दुग्धजन्य पदार्थ छनोट गर्दा बाक्लोपना कम भएको वा हटाइएको गर्नुपर्छ । स्वादका लागि खाइने वा खाने बानी परेका प्रशोधित, तारेका वा लामो समयसम्म सञ्चय गर्न मिल्ने गरी रसायन प्रयोग गरिएका खानाले स्वास्थ्यलाई फाइदा गर्दैन ।    

खाना तयार गर्ने हाम्रो तरिकामा समेत सुधार आवश्यक छ । हामी तरकारी वा अन्य खाजा तयार गर्दा तेलमा भुटेर त्यसमा स्वादका लागि मसला, नुन आदि हाल्ने गर्छाैं । यसो गर्दा कतिपय खाद्यान्नको पोषकतत्व नै नष्ट हुने वा कतिपय अवस्थामा हानिकारक समेत बन्न जाने सम्भावना रहन्छ । तसर्थ खाना तयार गर्दा खानाको प्रकृतिअनुसार उमालेर त्यसमा आफूलाई चाहिने मात्रामा नुन वा अन्य खाद्य मसला हाल्नु उचित हुन्छ ।  

खाद्य तथा पोषणका नाममा भ्रम

सहर/बजारमा मात्र होइन, अचेल सबैतिर खाना वा खाजासँग प्रशोधित पेय पदार्थ अभिन्न अंगका रूपमा लिइने संस्कृति विकास भएको छ । हाम्रा परम्परागत पेय पदार्थ जस्तै : दही, मही बिस्तारै हराउँदै गएका छन् । पाहुना आउँदा होस् वा आफ्नै परिवारका सदस्य कामबाट घर फर्किंदा मही, दहीको सट्टा गुलियो र सोडाले तयार पारिएका पेय पदार्थ, प्रशोधित रसायन मिलाइएका जुस, सुगन्धित दूध वा कफी/चियाले स्वागत गर्ने प्रचलनले व्यापकता पाएको छ । उपभोक्ताको रुचि हेरेर व्यापारीले विदेशी पेय पदार्थको बजारीकरण गरिरहेको पाइन्छ । त्यस्ता प्रशोधित खाद्यान्नमा उत्पादकको नाम/ठेगाना, तयार गरिएको मिति, त्यसमा मिसाइएका पदार्थ, षोषण तत्व आदिबारेमा पर्याप्त जानकारी नै दिइएको हुँदैन । केही वर्षदेखि शक्तिवद्र्धक पेय पदार्थका रूपमा बजारमा पाइने इनर्जी ड्रिङ्क आदि त्यसका उदाहरण हुन् । त्यसको सट्टामा मौसमी ताजा फलफूल वा त्यसबाट घरमै बनाइने सर्बत आदि प्रयोग गर्ने बानी बढाउनुपर्छ । पेय पदार्थको कुरा गर्दा स्वच्छ पानी उचित मात्रामा पिउन पनि बिर्सन हुँदैन । स्वच्छ र शरीरलाई आवश्यक पानी आफैंमा पोषण हो ।  

लकडाउनका कारण सपरिवार लामो समयदेखि घरमा बसेको अवस्थामा थरीथरीका परिकार बनाउनु आफैंमा महामारीको प्रभाव कम गर्न निकै उपयोगी हुन्छ । यसले सिर्जनशीलता बढाउँछ, परिवारमा माया प्रेम बढाउँछ र फुर्सदको समयको सदुपयोग गर्न सकिन्छ । यस अवधिमा सामाजिक सञ्जालमा केक, पिज्जा, मिठाई, गुलिया पेय पदार्थका तस्बिरले निकै प्रश्रय पाएको देखिन्छ । त्यस्ता खानामा पनि धेरै मात्रामा चिनी, घिउ, तेल, रङ, रसायन मिसाउने गरेको पाइन्छ । यस्ता खानेकुराले स्वास्थ्यमा गम्भीर खतरा निम्त्याउन सक्छन् ।  

खाद्य तथा पोषण संस्कृतिमा आएको विचलन

पछिल्ला दिनमा कुनै चाडबाड वा विशेष दिनमा रमाइलोका लागि केक, आइसक्रिम, चकलेट, कुकिजजस्ता प्रशोधित खाद्य पदार्थको धेरै प्रयोग हुने गरेका छन् । पहिला–पहिला घरपरिवारमा तयार पारिने सेलरोटी, चाम्रे, हलुवा, खीर, पुरी, अचार, तरकारी हिजोआज एकादेशका कुरा हँुदैछन् । त्यस्ता परिकार बनाउन नजान्ने वा झिँजो मान्ने कारण सजिलो र राम्रो देखिन आयातित संस्कृतिले हाम्रो खानाको थालीमा प्रवेश पाएका छन् । यस्ता पदार्थ थोरै खाँदा पनि अघाएको महसुस हुने, खाने र खुवाउनेलाई सन्तुष्टि महसुस हुने हुन्छ ।  

तयारी खाद्य वस्तु व्यापार गर्ने औद्योगिक प्रतिष्ठानले साना बच्चाको मनोविज्ञान अध्ययन गरी उनीहरूलाई लोभ्याउने चिजको प्रवद्र्धनमा जोड दिने गरेको पाइन्छ । चीनमा म्याक डोनाल्डको मस्कटलाई बच्चाको देवताको प्रतिकका रूपमा प्रचारप्रसार गरिएका कारण छोटो समयमै त्यसले बजारमा प्रभुत्व जमाएको तथ्य कसैबाट लुकेको छैन । संसारका अधिकतर देशका सहरमा थुप्रै शाखा विस्तार गरी बजारमा दबदबा सिर्जना गर्न सफल म्याक डोनाल्ड, केएफसी यसै सूत्रको प्रयोग गरी स्थापित भएका हुन् । त्यस्ता प्रदायकले उपलब्ध गराउने खाद्य वस्तुको अत्यधिक प्रयोगका कारण मानिसमा मोटोपन र अन्य स्वास्थ्य समस्या देखिएको अध्ययनले पत्ता लगाएको छ ।  

स्वास्थ्य विज्ञानमा सर्वमान्य सिद्धान्त भनेको शरीरमा पानीको मात्रा तोकिएको मापदण्डभन्दा तल झर्न नदिने वा सन्तुलन कायम गर्नु हो । यसैले स्वास्थ्य अवस्था निर्धारण गर्न ठूलो भूमिका खेल्छ । शरीरमा पानीको मात्रा कायम गर्ने नाममा प्रयोग हुने रसायनयुक्त औद्योगिक पेय पदार्थलाई शुद्ध पानीले प्रतिस्थापन गर्न सक्दा मात्र पनि हानिकारक तहमा खपत भइरहेका चिनी, अत्यधिक क्यालोरी घटाउन सघाउ पुग्न सक्छ । फलस्वरूप स्वास्थ्यलाई गम्भीर खतराबाट बचाउन सकिन्छ ।  

कोभिडको सन्दर्भमा विश्वव्यापी रूपमा निकै चर्चामा रहेको र बढी खपत भएको ठानिएको अर्को पेय पदार्थ मदिरा हो, जुन कोरोना महामारीमा मात्र होइन, जुनसुकै अवस्थामा स्वास्थ्यका लागि हानिकारक हुन्छ । मदिराबाट कोभिड–१९ निको हुने होइन, बरु स्वास्थ्यमा थप संकट निम्त्याउने कुरा विश्व स्वास्थ्य संगठनले बारम्बार भनिरहेको छ । विश्व स्वास्थ्य संगठनले मदिराको एक थोपा पनि स्वास्थ्यका लागि हानिकारक हुने चेतावनी दिएको छ ।

खाद्य तथा पोषण सुरक्षा

कोरोना महामारीका बेला विशेष सावधानी अपनाउनुपर्ने पक्ष भनेको खाद्य असुरक्षा तथा कुपोषणका कारण कोही पनि भोको र संक्रमित नहोउन् भन्नेतर्फ सचेत हुनु हो । यस अवस्थामा धेरै श्रमजीवी कामविहीन हुन सक्ने भएका कारण आम्दानी नहुने र केही रकम सञ्चित भएकाहरूले पनि गुणस्तरीय खाद्य वस्तु बजारबाट खरिद गरी खान नसक्ने जोखिम धेरै हुन सक्छ । साथै बेसाहरा, सडकमा आश्रित व्यक्तिको अवस्था थप संकटमा पर्ने भएका कारण राज्यका निकायले त्यस्ता मानिसको पहिचान गरी पर्याप्त मात्रामा पोषिलो खाना उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्छ । खाद्य तथा पोषणमा भएका हेलचक्र्याइँका कारण बालबालिका, गर्भवती, सुत्केरी, वृद्धलगायत अन्य सर्वसाधारणमा पर्न जाने नकारात्मक असर समाज र राष्ट्रले निकै लामो समयसम्म भोग्नुपर्ने हुन्छ । तसर्थ संक्रमितलाई खोज र उपचारात्मक सेवामा जति तदारुकता देखाइन्छ, त्यहीस्तरमा भोका र कुपोषितको खोजी र उपचारमा ध्यान दिन जरुरी छ ।  

खाद्य तथा पोषण सुरक्षाको प्रभावकारिता

महामारीको अवस्थामा खाद्य तथा पोषणसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न धेरै निकायको सहकार्य अपरिहार्य हुन्छ । खाद्य तथा पोषणका हिसाबले जोखिममा रहेका व्यक्ति तथा समूह पहिचान गर्ने, त्यस क्रममा उच्च जोखिम, जोखिम र साधारण जोखिम समूह भनेर वर्गीकरण गर्नुपर्छ । साना बच्चा, गर्भवती वा सुत्केरी, वृद्ध, दीर्घरोगी उच्च जोखिम समूहमा राख्नुपर्छ भने पोषणको अवस्था कमजोर भएका, बिरामी मानिसलाई जोखिम र अन्यलाई साधारण जोखिम वर्गमा विभाजन गरी त्यसैअनुरूप उनीहरूको आवश्यकताअनुसार खाद्यान्न जोहो गर्ने, तयार पार्ने तथा वितरणको व्यवस्था मिलाउने गर्नुपर्छ ।  

त्यस कार्यमा स्थानीय सामाजिक संघ÷संस्था, व्यक्ति तथा दाता तथा खाद्य पोषण विज्ञले राज्यलाई सहयोग गर्नुपर्छ । महामारीको अवस्थामा सार्वजनिक निकायले सञ्चालन गर्ने षोषणका कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्छ । साना बच्चाको वृद्धि÷विकासको अनुगमन (तौल लिने) देखि पोषण कार्यक्रमअन्र्तगतका खोप, आहारा वितरण, परामर्श सेवासम्मको सान्दर्भिकता अझ बढ्छ ।  

कोभिडको सन्दर्भमा विश्वव्यापी रूपमा निकै चर्चामा रहेको र बढी खपत भएको ठानिएको अर्को पेय पदार्थ मदिरा हो, जुन कोरोना महामारीमा मात्र होइन, जुनसुकै अवस्थामा स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

त्यस्तै गर्भवती, सुत्केरी र अन्य दीर्घरोगीलक्षित कार्यमक्रमलाई नियमित गर्दै संक्रमण नियन्त्रण, खाद्य तथा पोषणसम्बन्धी परामर्शका कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक छ । कोरोना एकअर्काबीचको नजिकको दूरी वा संक्रमितले प्रयोग गरेका वस्तु तथा सामग्रीबाट समेत सर्ने भएकाले त्यसतर्फ निकै सावधानी अपनाउने, व्यक्तिगत सुरक्षा सामग्रीको उचित प्रयोग तथा संक्रमितको सम्पर्कमा आएका वस्तुको पुनः प्रयोग गर्नु पर्दाको अवस्थामा अपनाउनुपर्ने विशेष सावधानीका सम्बन्धमा सेवा लिने र दिनेबीचमा राम्रो जानकारी हुन आवश्यक हुन्छ ।  

अन्तमा, कोभिड–१९ को प्रभाव र असर लामो समयसम्म रहन सक्ने विज्ञले बताइरहेको सन्दर्भमा सधैं स्वयंसेवी संस्था वा व्यक्तिले दिने राहतका भरमा काम चल्दैन । तसर्थ स्थानीय खाद्य वस्तुका उत्पादक, खाद्य व्यवसायी, स्थानीय स्वयंसेवी संस्था, सामाजिक संघ÷संस्था वा निकायको सहकार्यमा सर्वसुलभ, प्रभावकारी, पर्याप्त र गुणस्तरीय खाद्य वस्तुको तयारी र वितरणको बन्दोबस्त मिलाई राज्यका निकायले अभिभावकीय भूमिका खेल्नुपर्छ । त्यसमा हरेक तहका जनसमुदायको सहयोग र संलग्नता पनि सुनिश्चित गर्नुपर्छ ।

लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य संकायमा कार्यरत छन् ।  

प्रकाशित: २६ श्रावण २०७७ १७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App