७ वैशाख २०८१ शुक्रबार
विचार

ईः र यी

बाइरोडको बाटोमा

वसन्तपुर डबलीमा १५ दिनदेखि आमरण अनशनरत युवा आन्दोलनकारी ईः अहिलेका दुर्लभ पात्र हुन्। अरूका दुःख महसुस गरी उनले प्रदर्शन गरेको यो उत्कर्ष प्रेम स्वार्थपूर्ण अहिलेको समयका निम्ति अनुपम उदाहरण हो।  

हामी सबैलाई लाग्छ– मुलुकमा नेता भएनन्। भइरहेका नेता हे-यो, आशा मर्छ। मौका नपाएका दोस्रो वा तेस्रो पुस्ताका व्यक्तिलाई हे-यो झन् मन मरेर आउँछ। भनिन्छ, नहुने बेलामा नातिदेखि मरिआउँछ।  

जुन समाज वा मुलुक प्रगति पथमा हुन्छ, त्यहाँ अग्रजले देखाएको बाटो असल हुन्छ र नयाँ पुस्ता उम्दा निस्कन्छ। हिजोभन्दा आज आशाका किरण फैलन थाल्छन्। हाम्रोमा भने अग्रजको पथ नै कुपथजस्तो अनुभव हुन्छ। नयाँलाई हेर्दा पुरानाप्रतिको गुनासो कम हुने अवस्था आउनुपर्छ। बीउ राम्रो भयो भने मात्र बालीनाली सप्रन्छ।  

सरकारले कोरोना विषाणु उत्पन्न प्रकोप नियन्त्रण निम्ति अपनाएका विधिप्रति आन्दोलनकारी ईःलगायत युवा सन्तुष्ट छैनन्। ती असन्तुष्ट बनेर सामाजिक सञ्जालका भित्तामा लेखेर मात्र बसेनन्। ‘अति गरे खति हुन्छ’ भन्ने सन्देश दिँदै अहिलेका पढे–लेखेका युवाले पनि बुझ्ने गरी नारा तय गरेका छन्– ‘इनफ् इज् इनफ्’।  

ईःलाई मैले अघिल्लो र अहिले जारी अनशनका क्रममा दुवैपटक भेटेँ। यी युवामा अरूको पीडा महसुस गर्न सक्ने क्षमता छ। अहिलेका धेरै नेता आफ्नो युवाकालमा यस्तै महसुस गर्न सक्ने क्षमताका कारण नेतृत्वमा आएका हुन्। तिनले तत्कालीन अवस्थामा कुनै सम्भावना देखेनन् र आफूलाई विद्रोहको बाटोमा लगाए। पद्धति नै बदल्नुपर्छ भन्ने लागेका कारण अहिले हाम्रो नेतृत्व तिनले गरिरहेका छन्।  

हालसम्म राजनीतिमा रहेका व्यक्तिले मौका पनि पाए। झन्डै ३० वर्षदेखि अहिलेको शासक वर्ग राज्यसत्ता वरिपरि छ। संसार बदल्छु भनेका ती व्यक्ति अहिले मौका पाएपछि आफैँ बदलिए। परिवर्तनका निम्ति महसुस हुने पात्रले नेतृत्व गर्दै जाँदा सफलता पाउँछन्। त्यो सफलतालाई सदुपयोग गर्दै गयो भने राजनेता कहलाउँछन्। दुःखको कुरो हामीले राजनेता पाउन सकेनौँ। हाम्रो वर्तमानको अभिशाप यही हो।  

समकालीन समयमा दुई पात्रले हाम्रो धर्ती बाँझो छैन भन्ने सन्देश फेरि दिएका छन्। पहिलो हुन् डा. गोविन्द केसी, जसले नेपाली समाजलाई स्वास्थ्य, शिक्षा र प्रणालीमा रहेका समस्याबारे प्रशस्त ध्यानाकर्षण गराएका छन्। दोस्रा हुन्, युवा ईः, जसले डा. केसीकै पथ पछ्याएका छन् र अहिलेको कोरोना संक्रमणको अवस्थामा परीक्षणको दायरा बढाउनु र यसमा सुधार हुनुपर्छ भन्दैछन्।

दृश्य फेरिएको छ– आज ईःहरू आन्दोलन गरिरहेका छन् र ‘यी’ अर्थात् शासन सत्तामा भएकाहरूलाई विगत सम्झाइरहेका छन्।  

हाम्रो स्वास्थ्य प्रणाली कति जर्जर छ भन्ने डा. केसीले बुझाएका हुन्। त्यो बताउन पनि उनले अनशनको कठिन अभ्यासलाई साधनका रूपमा प्रयोग गर्नुप¥यो। वास्तवमा उनले निरन्तर आमरण अनशन गरेपछि स्थिति सुधार हुनुपथ्र्यो, भएन। उनका कारण यो मुद्दाको मूल प्रवाहीकरण भने भएको छ। अहिले युवा ईःले फेरि त्यही विधि अपनाउनुपर्ने बाध्यता देखिएको छ।  

डा. केसी मार्गदर्शक मात्र बन्न सके। उनी आफूले चिकित्सा सेवा दिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश लिएर बसेका छन्। उमेरले पनि राजनीतिक नेतृत्व गर्ने अवस्थामा उनी छैनन्। तर अहिले पनि प्रेरणाको स्रोत हुन सक्छन्। वास्तवमा गान्धीलाई नदेखेका र नभोगेका अहिलेको समयका हामीलाई डा. केसी र ईःको उत्सर्ग प्रेम अनुपम छ।  

ईः आफैँमा जोगीजस्ता छन्। राजधानी काठमाडौंमै जन्मेका ईः देशैभरि घुमेका पनि छन्। देश बुझेका मात्र छैनन्, यहाँका गडबडी पनि चिनेका छन्। त्यही भएर कुनै बेला सिंहदरबारका पर्खालमा रातो रङ पनि छ्याप्दै हिँडे। सारा विकृतिको जड कहाँ छ भन्ने उनलाई थाहा छ।

वास्तवमा गान्धीलाई नदेखेका र नभोगेका अहिलेको समयका हामीलाई डा. केसी र ईःको उत्सर्ग प्रेम अनुपम छ।

अस्ति वसन्तपुर डबलीमा ईःलाई भेट्न गएका बेला धेरै बेरसम्म मनमा विगतका हाम्रा संघर्षशील समय सम्झना मनमा झुत्ती खेल्न आइरहे। त्यो बेलाका पात्रको सम्झना भइरह्यो। हामी ईःलाई भेट्न गएका बेला कांग्रेस नेता प्रकाशमान सिंह र नवीन्द्रराज जोशी पनि पुगेका थिए। अर्की अनशनकारी समाइरा श्रेष्ठ त्यहीबेला गलिसकेको अवस्थामा थिइन्। अहिले उनको स्वास्थ्य अवस्था बिग्रेका कारण अस्पताल लगिएको छ। ईः भने अझै वसन्तपुर डबलीमै छन्। उनलाई त्यहाँ भेट्न जानेहरूले स्वास्थ्य अवस्था कमजोर भइरहेका कारण सरकारको ध्यानाकर्षण हुनुप¥यो भन्ने आग्रह गरिरहेका छन्, सुनुवाइ भएको छैन।  

ईःको समर्पणले अहिले मुलुकका ठुल्ठूला नेतालाई वसन्तपुर डबलीतिर डो¥याइरहेको छ। उनीहरूलाई लाग्दो हो– आफ्नै विगत डबलीमा आमरण अनशन गरिरहेको छ। तत्कालीन सत्ताले पनि आफूलाई सुन्दैनथ्यो। अहिले आफैँ सत्ता भएर पनि सुन्न सकिएको छैन।  

दृश्य फेरिएको छ– आज ईःहरू आन्दोलन गरिरहेका छन् र ‘यी’ अर्थात् शासन सत्तामा भएकाहरूलाई विगत सम्झाइरहेका छन्।  

त्यसो त ईःलाई भेट्न अघिल्लो अनशनका बेला प्रधानमन्त्री केपी शर्मा ओली आफैँ ह्याम्स अस्पताल पुगे। पाटन दरबार डबलीमा अनशन बसेका उनको स्वास्थ्य अवस्था कमजोर भएपछि अस्पताल भर्ना गरिएको थियो। प्रधानमन्त्री त्यहाँ ईः र अर्का अनशनकारी पुकार बमलाई तत्काल फलको रस पियाएर अनशन समाप्त गर्न पुगेका थिए। उनलाई लागेको हुँदो हो, प्रधानमन्त्री आफैँ आएपछि कुरो किन नमिल्ला ? कुरा समर्पणको हो। हिजो आफैँ क्रान्तिकारी भएका बेलाको अवस्था सम्झौँ न, के तत्कालीन सत्ताले झुकाउन सक्ने पर्याप्त अवसर थिएन र ? अहिले शासनमा रहेकाहरू सबै त्यो बेला आफ्नो विवेक नगुमाई अहिलेको अवस्थामा आइपुगेका हुन्।  

प्रधानमन्त्रीलाई पक्कै पनि कुनै शुभेच्छुकले यो पवित्र काममा सहभागी भइहाल्न सुझाव दिएको हुनुपर्छ। राजनीतिको चौका दाउ हान्न सिपालु नेताका निम्ति यो इसारा काफी हुन्छ। तर यी युवा प्रधानमन्त्री पुगे पनि नतमस्तक हुन सकेनन्। तिनले तत्कालै फलको रस पिएर आफूलाई आन्दोलनको कठिन बाटो परित्याग गर्न तयार पारेनन्। प्रधानमन्त्री ओलीले भेटेलगत्तै म तिनलाई भेट्न पुगेका कारण पनि त्यो परिस्थिति बुझ्न सहज भएको हो। उनीहरूले प्रधानमन्त्री आएका बेला भएका घटनालाई जस्ताको तस्तै बताएका थिए। प्रधानमन्त्रीलाई भेटेर तत्काल अनशन नतोडेपछि माग पूरा गर्ने आश्वासनसहित सम्झौता भएको हो। तर, त्यो सम्झौता पालना नभएपछि फेरि ईः अनशनमा छन्।

अनशनमा रहेको दुवैपटक ईःको विश्वासमा कुनै कमी थिएन। उनी आफूले चाहेका कुरामा प्रस्ट देखिन्छन्। वास्तवमा ईःजस्ता सर्वजन हिताय निम्ति कार्य गर्न तत्पर हुने युवाको जाँगरमा सबैको साथ जरुरी हुन्छ। यस्ता उदात्त भावनाले प्रेरित व्यक्तिलाई जोगाउन सके अहिले मुलुकमा देखिएको युवा नेतृत्वको अभाव पनि कम हुन्छ। त्यति मात्र होइन, ईःमार्फत मुलुकमा युवा पुस्तालाई राजनीतिबारे जानकारी पनि प्रवाहित भइरहेको छ। राजनीति फोहोर लाग्छ भन्ने धेरैका निम्ति ईःले राजनीति बुझ्नु र अहिलेको अवस्थालाई लथालिंग छाड्नुहुँदैन भन्ने सन्देश पनि दिइरहेका छन्।

हामीले राजनीतिप्रति धेरै अपेक्षा गरेको हो। हिजो पञ्चायतका बेला पनि राजनीतिलाई धेरथोर अनुभव गर्न पायौँ। त्यो अवस्थाबाट हामी कति साह्रै वाक्क भएका थियौँ। राजनीतिले कुनै निकास दिन सक्दैन भन्ने त्यतिबेला हामी सबैलाई लागेको थियो। त्यो बेला नेपालको राजनीति परिवर्तन गर्न हिँडेकाले धेरै दुःख पाए। अन्ततः मुलुकमा परिवर्तन आयो। नेपाल फेर्न परिवर्तनकारीले मौका पाएपछि केही हुन्छ भन्ने थियो। पञ्चायत ३० वर्ष टिक्यो। पञ्चायतपछिको ३० वर्ष पनि पूरा हुनै लागेको छ। वास्तवमा बितेका यी ६० वर्ष खेर गएजस्तो भएको छ।  

यस्तो विषम परिस्थितिमा ईःजस्ता युवा अगाडि आउनुपर्छ। अन्यत्र मुलुकमा युवा उमेरमै नेतृत्वमा पुगेर परिवर्तनका निम्ति काम गरेको देखिन्छ। हामीकहाँ अझै ७० वर्षका बाहरू देश फेर्न भनेर हिँडिरहेका छन्। वास्तवमा बाहरूलाई अहिलेसम्म गरेका काममा धन्यवाद दिँदै बिदा गर्ने र ईःहरू जस्ता केही गरौँ भन्ने युवालाई मद्दत गर्नुपर्ने देखिन्छ। नेपाल फेर्ने हो भने निस्वार्थ भावले काम गर्ने मानिस चाहिन्छ। जहिल्यै वरिष्ठ नागरिकले सत्ता बाँडफाँटमा गरेका झैझगडाले वाक्क भइसकेका मानिसलाई अहिले त्राण चाहिएको छ।

प्रकाशित: १९ श्रावण २०७७ ०४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App