२२ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

पुष्पलालको सम्झनामा

'सिद्धान्तअनुसारको भौतिक स्थिति होइन, भौतिक स्थितिअनुसारको सिद्धान्त खोज्नुपर्छ', 'सिद्धान्त, संगठन र संघर्ष आमूल परिवर्तनका कडी हुन्', 'जनता चेतनशील हुनुपर्छ, कार्यकर्ता संगठित हुनुपर्छ, क्रान्ति र परिवर्तन अवश्यम्भावी छ । र, यसलाई दुनियाँको कुनै तागतले रोकेर रोक्न सक्दैन्' भन्ने नेपाली कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३४ औं स्मृति दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइयो। यसरी २०३५ साल साउन ७ गते सम्झने गरिन्छ।
कम्युनिष्ट पार्टीमा जनवादी केन्द्रीयता लागु हुन सकेन भने पार्टी जीवनमा नै व्यथिति देखा पर्छ। जनवाद र केन्द्रीयता पार्टी संगठनका दुई पहल हुन्, जुन अहिले पनि सन्तुलित हुनु आवश्यक छ। अनुशासनविनाको स्वतन्त्रता स्वेच्छाचारी हुन्छ। स्वतन्त्रताविनाको अनुशासन निरंकुश हुन्छ, केन्द्रीयताविनाको जनवाद अराजक हुन्छ, जनवादविनाको केन्द्रीयता नोकरशाही हुन्छ, यी तराजुका दुई पल्ला हमेसा बराबर र सन्तुलित हुनुपर्छ भन्ने मान्यता स्थापीत गर्न खाजे पुष्पलालले। उनले कम्युनिष्ट पार्टीभित्र लेनिनवादी संगठनात्मक पद्दति जनवादी केन्द्रीयताको सिद्धान्त विस्तारै कमजोर हुँदै गएको र कम्युनिष्ट पार्टीको क्रान्तिकारी छवि प्रायः ध्वस्त हुन थालेको महसुस गरे। त्यसपछि पार्टी पूर्ण सुविधाभोगी दलदलमा फसी खाली सुधारका मात्र कुरा उठ्न थालेपछि ६ जनाको पहलकदमीमा कम्युनिष्ट पार्टीलाई पुनर्ताजगी बनाउन २०२५ सालमा तेस्रो ऐतिहासिक सम्मेलन गरे। जसले नेपाली समाजको सही वर्ग विश्लेषण गरी नयाँ जनवादी क्रान्तिकारी कार्यक्रम पारित गर्यो।। पार्टीभित्र छद्मभेषी तत्वहरुको घुसपैठ हुन लागेपछि पुष्पलालले नेपालको कम्युनिस्ट आन्दोलनभित्रका दाहिने वा देब्रे भड्कावविरुद्ध सम्झौतारहित अन्तरपार्टी संघर्ष चलाए भने बाहिर निरंकुशता अन्त्यको अभियान चलाए। दुश्मनलाई कमजोर बनाउन उनी निरंकुशतावादी शक्तिलाई साथ लिई अगाडि बढे।
इतिहासको भौतिकवादी नियमअनुसार सत्यलाई एक दुई दिन, महिना वा वर्ष ढाक्न सकिन्छ तर आखिरी सत्य सत्य नै हुन्छ। मार्क्सवाद गतिशील विज्ञान हो। यो आफ्नो देशकाल परिस्थिति सामाजिक बनौट, भूबनोट आदिको विश्लेषण गरेर लागु हुन्छ। यही कुरालाई पुष्पलालले नेपालमा प्रयोग गर्न खोजे। यसरी प्रयोग गर्दा उनलाई कम्युनिस्ट आन्दोलनभित्र कहिले आतंककारी, कहिले काँग्रेसपरस्त, कहिले भारतपरस्त जस्ता आरोप लागे। वास्तवमा उनी यी केही थिएनन्। त्यसैले ती आरोप मिथ्या सावित भए। आरोप लगाउने उग्रवामपन्थी तथा दक्षिणपन्थी धार अहिले उनको गुणगाान गाउँछन्।
राजनीतिमा कुनै पनि शक्ति स्थायी मित्र वा दुश्मन हुन सक्दैनन्। राजनीतिक परिस्थितिमा परिवर्तन आउँदासाथ विभिन्न वर्ग तथा वर्गस्तरको सम्बन्धमा परिवर्तन देखिन थाल्छ भन्ने पुष्पलालको बुझाई थियो। यही क्रममा केशरजंग रायमाझीले सामन्तवादको विरोधमा उठेको आन्दोलनको जोड कम गर्न क्रमशः २०१७ सालको काण्डपछि शाही गुप्तचरका रुपमा काम गरे। अनि नानाथरी भ्रम फैलाई नेपाली कम्युनिष्ट आन्दोलनलाई टुक्र्याई शाही पञ्चायती व्यवस्थाको पक्षमा लान चाहे। त्यसविरुद्ध संघर्ष गर्दै पुष्पलालले अनेकौं जालझेल र षडयन्त्र चिर्दै अनेकौं भ्रमपूर्ण झुट्टा प्रचारको खण्डन गर्दै कम्युनिष्ट पार्टीलाई जीवन्त बनाउने काम गरे। शोषित-पीडित जनताका अगाडि आफ्नो विश्वासघाती काममा पर्दा हाल्न र शोषकहरुको दलाली गर्नका निम्ति उनीहरुले आफू राम्रो हुन तेस्रो बाटोको जाली नारा उठाएका थिए। तर तेस्रो बाटो हुनै सक्दैन्, आफ्ना विश्वासघाती अनुहार ढाक्न र प्रतिक्रियावादीसँगको आफ्नो मेलमिलापलाई लुकाउन यी नकच्चराहरुले तेस्रो बाटोको नारा लगाएका हुन भन्दै पुष्पलालले कम्युनिस्ट आन्दोलनलाई भण्डाफोरको माध्यम बनाए।
मुढेबल या छलकपटबाट क्रान्ति हुँदैन। क्रान्तिका निश्चित नियमअनुसार नै क्रान्ति हुन्छ भन्ने पुष्पलालले राजनीतिको व्यवहार र क्षेत्र आफ्नै देश, जनता र समाजलाई बनाएका थिए। उनले समाजलाई अगाडि बढाउने सन्दर्भमा परिस्थिति विश्लेषण गर्दै त्यस बेला पनि विभिन्न पक्षमा आफ्ना मान्यता अगाडि सारेका थिए।
वर्ग विश्लेषणका सन्दर्भमा
वर्गमुक्त समाजमा एक वर्गको आर्थिक, सामाजिक तथा सांस्कृतिक स्वार्थ अर्को वर्गसँग मेल खाँदैन। समाजका भिन्नभिन्न वर्गबीच आपसी संघर्ष भइरहेको हुन्छ। यो संघर्ष व्यक्ति-व्यक्तिको बीचमा नभई संगठितरुपले परस्पर विरोधी वर्गबीच हुन्छ। यो वर्ग संघर्ष पहिले अचेतनरुपमा हुन्छ भने पछि चेतनरुपमा हुन्छ।
यस्तो संघर्षको सिलसिलामा इतिहासको कुनै खास स्थितिमा भिन्नाभिन्दै स्वार्थ भएका सबै वर्ग समाजको साझा दुश्मनको रुपमा देखापर्न आएको कुनै एक वर्ग, जो समाजको प्रत्येक क्षेत्रमा हावी भएर बसेको हुन्छ, त्यसका विरुद्ध संयुक्त भई संघर्ष गर्छन्। यस्तो संघर्षको चरण समाप्त भएपछि सामाजिक वर्गको शक्ति सन्तुलनमा परवर्तन आउँछ र परिणामस्वरुप वर्ग संघर्षको मोड अर्को हुन्छ। यसको सञ्चालन पार्टीमार्फत् नै हुन्छ। अतः वर्गयुक्त समाजमा वर्गस्वार्थ रक्षाका निम्ति कम्युनिष्ट पार्टी अनिवार्य छ।
क्रान्तिको लक्ष्य सम्बन्धमा नेपालबाट सम्पूर्ण सामन्ती शोषण र यसको रक्षाको किल्लाका रुपमा रहेको शाही पञ्चायती राजतन्त्र समुल अन्त्य गर्नु। र दोस्रो, विदेशी एकाधिकारी पुँजीवाद, भारतीय एकाधिकार पुँजीवाद र अमेरिकी साम्राज्यवादलाई खत्तम गर्नु हो। यो लक्ष्य नेपाल कम्युनिस्ट पार्टीको मात्र नभई देशका समस्त प्रगतिशील सामाजिक वर्गको लक्ष्य हो।
क्रान्तिको नेतृत्व सम्बन्धमा
आजको युगमा चलाइने सामन्तवाद विरोधी तथा साम्राज्यवाद विरोधी जनवादी क्रान्तिको नेतृत्व नेपालको पुँजीपति वगर्ल गर्न सक्दैन। मजदुर वर्ग नै सबैभन्दा वैज्ञानिक, क्रान्तिकारी तथा मार्क्सवाद लेनिनवादले सुसज्जित भएको हुँदा आजको नयाँ ऐतिहासिक युगमा यस्तो क्रान्तिको नेतृत्व मजदुर वर्गको पार्टी नेपाल कम्युनिस्ट पार्टीले मात्र गर्न सक्छ।
उनले रोपेको कम्युनिस्ट आन्दोलनको बीउ कम्युनिस्ट पार्टीहरुको प्रेरणाको स्रोत बनेको छ। उनले बिताएका जिन्दगीका यात्रामा घात, प्रतिघात, गुट, फुट, षड्यन्त्रका कठोर बलिदानीपूर्ण संघर्षबाट पाठ सिकेर अहिलेका कम्युनिस्ट अगाडि बढ्न जरुरी छ। अनिमात्र पुष्पलाललाई सम्भि्कनुको सार्थकता रहनेछ।

प्रकाशित: ८ श्रावण २०६९ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App