२० श्रावण २०७७ मंगलबार
विचार

मधुमेहको बदलिँदो संहिता

झण्डै एक दशकअघि यस पंक्तिकार क्यालिफोर्निया इन्स्टिच्युट अफ् टेक्नोलोजी (क्याल्टेक)मा कार्यरत रहँदा वैज्ञानिक उत्खननका विषयमा छलफल गर्न क्याल्टेक, सिटी अफ होप मेडिकल सेन्टर र युनिभर्सिटी अफ् क्यालिफोर्निया लस एन्जलसका अनुसन्धानकर्ताको संयुक्त मिटिङ भयो । विमर्शका क्रममा एउटा कार्डियोलोजिस्टले मुटु स्वस्थ राख्न दैनिक दौडने सल्लाहमात्र दिएनन् बरु कुनै उपकरणको आवश्यकता नभएकाले ‘रनिङ’ लाई संसारभर सित्तैमा गर्न सकिने ‘युनिभर्सल एक्सरसाइज’ पनि भन्न भ्याए । प्रस्तुतिको लगत्तै हाडजोर्नी विशेषज्ञले दगुर्दा हर्ट त राम्रो हुन्छ तर त्यसले जोर्नी खिइने समस्या आउने भएकाले त्यतासमेत विचार गर्न सचेत गराए । मुटु रोग विशेषज्ञ र अर्थोपेडिक सर्जनको उल्लिखित संवादले एउटा अंगलाई स्वस्थ राख्न गरिने प्रयासले अर्को अर्गेनलाई संकटमा पार्न सक्ने भएकाले सचेत रहन सल्लाह दियो । कुद्दा कुनै हानि नहुने भन्ने अवधारणामा सुधार गर्नुपर्ने भयो । एउटा रोग बिसेक पार्ने तर शरीरमा अर्को समस्या थप्ने काम मेडिकल संहिता हुन सक्दैन ।  

मेडिकल साइन्सका अनुसन्धान सबैभन्दा चलायमान हुन्छन् । अनि जीवन–मरणलाई निर्धारण गर्ने भएका आयुर्विज्ञानका उत्खनन सबैभन्दा संवेदनशील हुन्छन् । उत्खननले निर्देशित गरे अनुरूपको मार्ग निर्दिष्ट गर्नु वैज्ञानिक धर्महो । २–३ दशकअघिसम्म मासु नखाने मानिस दुर्बल हुन्छ र उसले आफ्नो पूर्ण जीवन स्वस्थ भएर बाँच्न सक्दैन भन्ने मान्यता थियो । तत्कालीन अनुसन्धानले शरीरमा प्रोटिनको आवश्यकता धान्न मासुलाई अपरिहार्य रहेको बतायो अनि तद्अनुरूपको ‘मेडिकल प्रोटोकल’ जारी भयो । कालान्तरमा रिसर्चले प्रोटिनकालागि गरिने मासु सेवनले शरीरमा थप जटिलता थप्ने देखायो । मासुको आवश्यकतासम्बन्धी अवधारणा फेरियो । कुनै समय आफ्ना बिरामीलाई मासु खानैपर्ने बताउने डा. सुन्दरमणि दीक्षित शाकाहारी भोजनको वकालत गर्न थाले । मेडिकल साइन्सका सिद्धान्त कसरी परिवर्तन हुन्छन् भन्ने उदाहरण भए उपरोलिखित वृत्तान्त । मधुमेह रोग र खानपिनका सम्बन्धमा भएको एउटा उत्खनन सान्दर्भिक भएकाले प्रस्तुत गर्दैछु ।

कुनै पनि वैज्ञानिक उत्खनन सारगर्भित हुन अनुसन्धानका शृंखला क्रमबद्ध हुनुका अतिरिक्त परिणामलाई तथ्यांकले पुष्टि गर्न आवश्यक हुन्छ । कुनै स्थानका मानिस निश्चित किसिमको भोजन खान्छन् र कुनै समस्या प्रति उनीहरूको प्रतिरोधात्मक क्षमता उच्च छ भने खानकी र रोगबीचको अन्तरसम्बन्ध स्थापित गर्नु वैज्ञानिक धर्म बन्छ । अफ्रिकी मुलुक केन्या र तान्जनियामा ‘मासाई’ समुदायका झण्डै २० लाख बासिन्दा बस्छन्। कृषक भए पनि संसारका अधिकांश बासिन्दाभन्दा फरक छ उनीहरूको खानकी । नेपालीले धेरै भात खाएजस्तै उनीहरूको खानाको मुख्य अंशहो–दूध, घिउ, मासुलगायत ‘फ्याट्टी फुड’ ।

एउटा रोग बिसेक पार्ने तर शरीरमा अर्को समस्या थप्ने काम मेडिकल संहिता हुन सक्दैन ।

सन् १९६०को दशकमा चिल्लो पदार्थ अत्यधिक सेवनले मुटुसम्बन्धी रोग लाग्छ भन्ने अवधारणा आयो । अनि, चिल्लो पदार्थ सेवनमा व्यापक कटौती गर्नुपर्ने मेडिकल संहिता बन्यो । मेडिकल साइन्सले ‘फ्याट’ लाई खराब खान्गीकारूपमा हेरेका बेला खानाको झण्डै दुईतिहाइ भाग बोसो तथा घीउजन्य पदार्थ खाने मासाईको स्वास्थ्य अवस्था कस्तो होला भन्ने अनुसन्धानकर्तामा चासोहुनु अस्वाभाविक भएन । वैज्ञानिकहरू उत्खननमा लागे ।‘बायोलोजिकल’तथ्यांक संकलन गर्दा कोलेस्ट्रोललगायतका मुटुरोगको कारक मानिने कुनै पनि सूचकांक उच्च देखिएन उनीहरूमा । धेरै शारीरिक परिश्रम गरेर उनीहरूको ‘हार्ट’ स्वस्थ भएको हो कि भनेर हेर्दा उनीहरू धेरै पसिना बगाउने वर्गमा पनि परेनन् । चिल्लो पदार्थ अत्यधिक सेवनले मुटुको रोग लाग्छ भन्ने मेडिकल साइन्सको अवधारणालाई चुनौती दियो उक्त समुदायले । पछिल्ला दिनमा ‘हाइ फ्याट्टी’ खाना र ‘कार्डिएक डिजिज’ का सम्बन्धमा थप अनुसन्धान भए जसको चर्चा यो लेखको लक्ष्य रहेन । अझ अचम्मको कुरा त उक्त आदिवासी समुदायमा मधुमेहको लक्षणसमेत पटक्कै देखिएन । मासाई समुदायमा चिनी रोग नलाग्नुमा उनीहरूको बोसोजन्य खान्गीको कुनै भूमिका भए÷नभएको ठम्याउन पछिल्ला दिनमा भएका अनुसन्धानको चर्चा आवश्यक देखियो ।  

हाम्रो खानामा मुख्य त तीन किसिमका पोषण पदार्थ पाइन्छ– कार्बोहाइड्रेट, प्रोटिन र फ्याट । हात÷खुट्टा, मुटुलगायत अंग चल्न तथा शरीरको तापक्रम स्थिर राख्नका लागि हामीलाई अनवरत रूपले ऊर्जा आवश्यक हुन्छ । त्यसका लागि खान्गी अनिवार्य बन्छ । चामललगायतका अनाज कार्बोहाइडे«टको मुख्य स्रोतहो । ‘सुगर’ का अणुहरू मिलेर बन्ने कार्बोहाइडे«टको शरीरमा ऊर्जाआपूर्ति भन्दा अर्को खासै भूमिका देखिन्न । बोसोले ऊर्जा दिनुका अतिरिक्त महत्वपूर्ण अंग जोगाउन कबचको भूमिकामात्र खेल्दैन, बरु ‘फ्याट सोलुबल’ भिटामिनलाई शरीरको विभिन्न भागमा पु¥याउन पनि मद्दत पु-याउँछ । त्यस्तै प्रोटिनले हाम्रा तन्तुहरूको मरमत, इन्जाइम तथा हर्मोनको निर्माण अनि हामीलाई रोगलाग्न नदिने प्रतिरक्षा प्रणालीको सबलीकरणमा महत्वपूर्ण भूमिका खेल्छ । बोसोले समेत ऊर्जा आपूर्ति गर्ने भएकाले कार्बोहाइड्रेटको विकल्पका रूपमा फ्याट हुन सक्ने देखियो । हामीले खाएको खाना पाचन प्रणालीमार्पmत रगतमा पुग्छ । अनि रक्त सञ्चार प्रणालीद्वारा पोषण पदार्थ हाम्रा ‘सेल’ (कोस)मा पुग्छन् । कोसमा पुगेपछि पोषण पदार्थले आआफ्ना दायित्व निर्वाह गर्छ । अब हामीले कार्बोहाइडे«टका रूपमा भात खाँदा के हुन्छ त ?

०००० कार्बोहाइड्रेट खाँदा भोजन अन्ततः ‘सुगर’ को अणुमा रूपान्तरण हुन्छ अनि हाम्रो रगतमा मिसिन्छ । रगतमा सुगरको मात्रा बढेको सूचना पाउनेबित्तिकै ‘पेन्क्रियाज’ (आमाशय)ले इन्सुलिनको उत्पादन बढाउँछ । रगतमा भएको सुगर स्वतः कोसमा नजाने बरु इन्सुलिनले सहजकर्ताको भूमिका खेल्नुपर्ने हुन्छ । ग्लुकोजको मात्रा रगतमा जति बढी भयो त्यही अनुपातमा इन्सुलिनको उत्पादन बढ्न आवश्यक हुन्छ । रगतको ग्लुकोजलाई छिटो कोसमा पु¥याउने काम गर्छ इन्सुलिनले । इन्जाइमको त्यही सक्रियताले गर्दा सामान्य अवस्थामा हाम्रो शरीरमा रहेको ५ लिटर रगतमा जम्मा एक चम्चामात्र ग्लुकोज घुलेको हुन्छ ।

फ्याट सेवनले मधुमेह रोगको कारकका रूपमा रहेको आमाशयलाई अतिरिक्त बोझ नपर्ने भएकाले ‘आणुवांशिक’ समस्याका कारण मधुमेह हुने संभाव्यता रहेका अथवा पर्याप्त इन्सुलिन उत्पादन नहुने बिरामीलाई समेत खान्गीको ढाँचा परिवर्तनले फाइदा गर्ने देखियो ।

अब, चिनीरोग कसरी लाग्छ त्यता हेरौँ । अणुवांशिक त्रुटिका कारण आमाशयमा आएको खराबी अथवा व्यक्तिले पछिल्लो समयमा धेरै कार्बोहाइड्रेट सेवन गरेकाले विगतमा अत्यधिक हर्मोन उत्पादन गर्नुपरेका कारण ‘पेन्क्रियाज’ थकित हुन्छ । अनि चाहिने मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन ।  

पुलको भूमिका खेल्ने इन्सुलिनको मात्रा कम हुँदा रगतमा सुगरको मात्रा धेरै भए पनि कोसमा भने कार्बोहाइड्रेट न्यून हुन्छ । यसरी कोसमा सुगर न्यून हुँदाशरीरले पर्याप्त ऊर्जा पाउन सक्दैन । त्यस्तो अवस्थामा रोगी शिथिल बन्छ । रोग निको पार्न इन्सुलिनको उत्पादन अपरिहार्यबन्छ । थाकेको मासिसलाई ‘इनर्जी ड्रिंक्स’ दिएर क्षणिक ऊर्जावान बनाएझैं औषधिमार्फत पेन्क्रियाजलाई इन्सुलिन उत्पादनका लागि केही समय उत्प्रेरित गर्न सकिन्छ । तर ओखतीले शिथिल आमाशयलाई धेरै समयका लागि चलायमान बनाउन सक्दैन । अनि इन्सुलिनकोइन्जेक्सन अपरिहार्य बन्छ । शरीरमा आन्तरिक उत्पादन हुने इन्सुलिन ‘ब्लड सुगर’ को मात्राअनुसार स्वतः नियन्त्रित हुन्छ भने बाह्यरूपमा दिइने इन्जाइम डाक्टरले अनुभवका आधारमा निर्धारण गर्नेे भएकाले ओखतीको परिणाममा तल–माथि पर्नु अस्वाभाविक भएन । ओखतीको मात्रा नमिल्दा हुने समस्याको विकरालता आफ्नो ठाउँमा छँदैछ ।  

चिनी रोगका बिरामीलाई कार्बोहाइड्रेको बदला प्रोटिन सेवन गर्न सल्लाह दिने गरिन्छ । त्यसो गर्नुको कारण उत्तिकै मात्रामा प्रोटिन सेवन गर्दा कार्बोहाइड्रेट को तुलनामा शरीरमा कम मात्रामा इन्सुलिन उत्पादन हुन्छ । कम इन्सुलिन उत्पादन हुँदा पेन्क्रियाजलाई न्यून भार पर्ने भएकाले मधुमेहका रोगीका लागि उक्त सल्लाह लाभदायक हुन्छ । तर ५० किलो वजन भएको वयस्कलाई दैनिक ७५ ग्राम प्रोटिन पर्याप्त हुने हुँदा अत्यधिक प्रोटिन सेवन गर्दा आउने खराबीको मनन आवश्यक देखियो । शरीरमा फ्याट शोषण पद्धति सुगर ‘पाथ वे’ भन्दा पृथक रहने भएकाले चिल्लो खाँदा भने इन्सुलिनको मात्रा शरीरमा पटक्कै बढ्दैन । अनि डाएबेटिजका कारण शिथिल भएको पेन्क्रियाजले समेत कुनै अतिरिक्त कार्य गर्न आवश्यक हुन्न । अब, फ्याटको दहन प्रक्रिया हेरौँ ।  

ग्लुकोज ऊर्जाको सहजबाटो भएकाले कार्बोहाइडे«ट पाउन्जेल शरीरले अन्य मार्गबाट इनर्जी उत्पादनमा क्रियाशीलता देखाउँदैन । तर ग्लुकोज अपर्याप्त भएपछि भने फ्याटमार्पmत ऊर्जा उत्पादन गर्नु बाध्यता बन्छ । त्यस्तो अवस्थामा उपलब्ध बोसो ‘फ्याट्टी एसिड’ मार्फत ‘किटोन’ मा रूपान्तरण हुन्छ । अनि अन्त्यमा, किटोनको विखण्डीकरण हुन्छ, ऊर्जा उत्पादन हुन्छ । त्यसैले फ्याटको मात्रा अत्यधिक भएको खानालाई ‘किटोजेनिक डाएट’ पनि भनिन्छ । कार्बोहाइड्रेटको बदला फ्याट सेवन गर्दा शरीरमा केही खराब आउँछ कि भनी चिन्ता हुनु अस्वाभाविक भएन । ‘इपिलेप्सी’ का बिरामीको हकमा कार्बोहाइड्रेटको बदला बोसोजन्य खान्गी दिने प्रचलन स्थापित भएको र त्यसले प्रतिकूलता नल्याएको अवस्थामा चिल्लो पदार्थको सेवन खराब होइन भन्ने मत देखियो ।  

फ्याट  सेवनले  मधुमेह रोगको कारकका रूपमा रहेको आमाशयलाई अतिरिक्त बोझ नपर्ने भएकाले ‘आणुवांशिक’ समस्याका कारण मधुमेह हुने संभाव्यता रहेका अथवा पर्याप्त इन्सुलिन उत्पादन नहुने बिरामीलाई समेत खान्गीको ढाँचा परिवर्तनले फाइदा गर्ने देखियो । किटोजेनिक डायटका लागि सामान्य अवस्थामा ५० ग्राम कार्बोहाइड्रेट, ७५ ग्राम जति प्रोटिन र आवश्यकताअनुसार फ्याट खान सल्लाह दिइन्छ । किटोजेनिक खानामार्पmत ‘प्रिडाएबेटिक’ तथा चिनीरोगले सताएको मानिसलाई समेत सामान्य अवस्थामा  फर्काएको अनुसन्धानले देखायो । तर जटिल शारीरिक प्रक्रियाका कारण इन्सुलिनमा बसेका र चिनी रोगको ओखती सेवन गर्ने बिरामीले भने किटोजेनिक खाना सेवन गर्नु अघि चिकित्सकको सल्लाह लिन आवश्यक ठान्छ अन्वेषणकर्ता । थप अनुसन्धानले समर्थन गरेआउँदा दिनमा मधुमेहका बिरामीलाई घीउ तथा बोसोजन्य खाना ख्वाउने गरी मेडिकल संहिता जारी नहोला भन्न कहाँ सकिन्छ ?

प्रकाशित: १३ श्रावण २०७७ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App