८ वैशाख २०८१ शनिबार
विचार

पुष्पलालका विविध पक्ष

नेपालको राजनीतिक इतिहासमा बिपी कोइराला र पुष्पलाललाई मैले सुन्दा र थाहा पाउँदा क्रमशः अराष्ट्रिय तत्व, गद्दारका रूपमा चित्रण गर्थे एक पक्षले। २०३५ साउन७ गते भारतको दिल्लीस्थित गोविन्दबल्लव पन्त अस्पतालमा पुष्पलालको निधन भयो भने २०३९ साउन ६ गते बिपीले जीवनबाट विश्राम लिए। कहिल्यै सत्तामा नपुगेका, विरोधको राजनीतिमा अनवरत लागिरहेका पुष्पलालले देश र जनताप्रति गद्दारी गर्ने सम्भावना नै थिएन। ‘गद्दार पुष्पलाल’ पुस्तकनै लेखेर उनको मानमर्दनसमेत गरे। यो पंक्तिकार जस्ता अराजनीतिक प्राणीलगायत थुप्रै सर्वसाधारणलाई भ्रम छर्ने कार्य किन भयो ? भन्ने लाग्छ।  

त्यो पनि अरू कुनै प्रतिस्पर्धी दल वा पक्षबाट भएको थिएन। आफ्नै स्ववन्धुबाट नै भएको थियो। अहिले इतिहासले बिपी र पुष्पलालमाथि न्याय गरेको छ। यी दुई पात्र उनीहरूको समयमा असफल राजनीतिक पात्र भनेर ठानियो होला। तर उनीहरू जति सर्वाधिक सफल राजनीतिक पात्र अहिलेको पुस्ता बन्न सक्छन् वा सक्दैनन् ? त्यो त आउँदो पुस्ताले मूल्याङ्कन गर्ने हो। हाम्रो पुस्ताको होइन। कोही सफल वा असफल छ भन्ने कुरा तत्कालको मूल्याङ्कनले होइन, उसको भौतिक उपस्थिति नभएपछि जनजनको मानसपटलमा कसरी ऊ सम्झिइन्छ, त्यसले उसको सफलता वा असफलताको निक्र्यौल गर्छ। फेरि बिपीलाई अराष्ट्रिय तत्व भन्ने र पुष्पलाललाई गद्दार भन्नेले मानसिक प्रायश्चित गरिसकेका छन् अहिले। हालाकि उनीहरूलाई जीवित छँदा त्यसले जे÷जति चोट पु-याएको होस्।

पुष्पलालको जीवनका पाटाहरूलाई सानै भएपनि आलेखमा उतार्नु उनको यसपालिको स्मृति दिवसमा समय सान्दर्भिक हुन्छ भन्ने लाग्यो। त्यसमा पनि नेकपाको गृहकलह मत्थर भएजस्तो अवस्थामा राजनीतिमा के हुन्छ के हुँदैन ? जे सतहमा आउँछन् त्यो नहुन सक्छ, जे आउँदैन त्यो हुन सक्छ भन्ने पनि पुष्टि हुन्छ। यही मानकमा राजनीतिक दलका अन्तरकलहलाई बुझ्न आलेख सहायक पनि हुन्छ जस्तो लाग्छ। 

सन् १९६० देखि १९७८ सम्मको लगभग १८ वर्ष अवधि पुष्पलालले प्रवासकालमै बिताए। प्रवासमै जीवनबाट सदाका लागि विश्राम लिए। 

पुष्पलालको राजनीतिको प्रारम्भिक अभ्यास कांग्रेसबाट भएको देखिन्छ। जसको पुष्टि ‘त्यसबेला पुष्पलाल नेपाली राष्ट्रिय कांग्रेसको कार्यालय सचिव हुनुहुन्थ्यो। एकताका प्रयत्नहरू एकपछि अर्को गर्दै विफल भएपछि पुष्पलाल, रुद्रप्रसाद गिरी, केदारमान व्यथितले सात दिनको म्याद दिइ दुवै नेताहरूमा मेलमिलाप नभएको खण्डमा आमरण अनशन गर्ने निर्णय सार्वजनिक गरे। केदारमान व्यथितका अनुसार विश्लेश्वरप्रसाद कोइरालाले आफ्नो लेटरप्याडको खाली पानामा हस्ताक्षर गरी जसरी मिलाउन सक्नुहुन्छ, त्यसरी मिलाउनुहोस् भनी त्यो कागज दिए। तर डिल्लीरमण रेग्मी टसको मस हुनुभएन। यसरी एकता प्रयास असफल भयो। दुवै नेताहरू आआफ्नो ढंगले क्रियाशील भएपछि नेपाली राष्ट्रिय कांग्रेसको नामका पछाडि रेग्मी समूह र कोइराला समूह लगाउन थालियो। एकताको प्रयत्न असफल भएपछि पुष्पलाल नयाँ विकल्पको खोजमा अग्रसर हुनुभयो’(ज्ञवाली, गोविन्द, समकालीन इतिहासमा पुष्पलाल) भन्ने वाक्यांशले कांग्रेसभित्रको अन्तरकलह साम्य भएको भए पुष्पलालले अर्को दल निर्माण गर्ने आवश्यकता पथ्र्यो कि पर्दैन थियो ? प्रश्न स्वाभाविकरूपमा आउँछ।

त्यसपछि ‘संवत् २००५ सालमा नै बिपी कोइरालाले नेतृत्व गरेको नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातान्त्रिक कांग्रेस मिली बिपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस गठन भएको थियो। यसपछि पुष्पलालले केही समयसम्म नेपाली कांग्रेसभित्र वामशक्तिका रूपमा सक्रिय हुने या नेपाल कम्युनिस्ट पार्टी गठन गर्ने भन्ने विषयमा सोच विचार, सम्पर्क र छलफल चलाउनुभयो। यस अवधिमा पुष्पलालले कम्युनिस्ट घोषणापत्र सोभियत रुसमा व्यक्ति र समाज चीनको क्रान्ति र चीनको कम्युनिस्ट पार्टी आदि पुस्तकहरू नेपाली भाषामा अनुवाद गर्नुभयो (पूर्ववत्, ज्ञवाली)।’ हुनत राष्ट्रिय कांग्रेसको कार्यालय सचिव हुनुभन्दा अगाडि काठमाडौँमा पुष्पलाल, प्रेमबहादुर कंसकार, सूर्यबहादुर भारद्वाज, शम्भुराम श्रेष्ठ, भैरवगोपाल वैद्य, कामक्षदेवी मिलेर नेपाल प्रजातन्त्र संघ नामको संगठन खोलेका थिए भनिन्छ (भट्टराई, लोककृष्ण स्व. क. पुष्पलाल र नेपाली कम्युनिस्ट आन्दोलन, क. पुष्पलाल, स्मृति अंक २०५२, पुष्पलाल स्मृति प्रतिष्ठान)।

कहिल्यै सत्तामा नपुगेका, विरोधको राजनीतिमा अनवरत लागिरहेका पुष्पलालले देश र जनताप्रति गद्दारी गर्ने सम्भावना नै थिएन।

पार्टी स्थापनाका लागि दार्जिलिङमा पुष्पलालले भेट गरेका भारतीय कम्युनिस्ट पार्टीका नेता रतनलाल ब्राह्मणको माध्यमबाट चिनाजानी भएका भारतीय कम्युनिस्ट पार्टीका नेता नृपेन्द्र चक्रवर्तीको अहं भूमिका थियो भनिन्छ। पुष्पलाल स्वयंले भनेका छन्–‘नृपेन्द्र चक्रवर्तीसँग मेरो जुन भेटघाट भयो, त्यो नेपाल कम्युनिस्ट पार्टी गठनका निम्ति अति नै महत्वपूर्ण घटना भयो’ (पूववत् ज्ञवाली)। सन् १९४९ अप्रिल २२ का दिन भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टी गठन भयो। पुष्पलाल, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठ संस्थापक सदस्य थिए।

टुटफुट र जुटको लामो इतिहास भएको कम्युनिस्ट विभिन्न चिरामा विभाजित भएको यथार्थ जसकसैबाट छिपेको छैन। घात–अन्तरघातका कुरा पनि बेलामौकामा सुन्नमा  आइराख्छन्। यसै सिलसिलामा पुष्पलाल र मनमोहन अधिकारीको बीचमा भएका राजनीतिक प्रसङ्ग उल्लेखनीय लाग्यो। दुईजनाको बीचमा राजनीतिक मात्र नभएर पारिवारिक सम्बन्ध पनि थियो। मनमोहन र पुष्पलालले क्रमशः साधना र साहनासँग वैवाहिक सम्बन्ध गाँसेका थिए। ‘कमरेड पुष्पलाललाई कमरेड मनमोहन अधिकारीको दिमागशोषण गरेको आरोपमा र कमरेड पुष्पलाललाई आफ्नो दिमाग शोषण गरेको हुँ भन्ने कमरेड मनमोहन अधिकारीको आत्माआलोचनाका आधारमा पुष्पलाललाई पार्टीको जनरल सेक्रेटरी पदबाट हटाए’ भनेर शम्भुराम श्रेष्ठले लेखेको स्मरणले राजनीतिक परिघटना र दाउपेचमा को कसरी पिल्सिन्छ भन्ने लाग्यो। शालीन, स्वच्छ, निर्भिक र निष्कलंकित अधिकारीलाई कसरी प्रयोग गरियो। श्रेष्ठ लेख्छन्– ‘कमरेड मनमोहन अधिकारीलाई जनरल सेक्रेटरी बनाउने काम ग¥यो जो बिलकुलै अन्यायपूर्ण र अवैधानिक कार्य थियो। मलाई त त्यो षडयन्त्र जस्तो पनि लाग्छ किनभने एक त केन्द्रीय कमिटीले चुनेकोलाई राजनीतिक ब्युरोले हटाइने र त्यसको ठाउँमा अर्कोलाई जनरल सेक्रेटरी बनाउने त्यसको अधिकार नै छैन र अर्को कुरा पुष्पलालबाट त्यस्तो कारबाही गर्नुपर्नेखालको कुनै कमजोरी भएको छैन। त्यस्तो कुनै कमजोरी भएको भए केन्द्रीय समितिले गर्छ र राजनीतिक ब्युरोको त्यो कामै होइन। जहाँसम्म कमरेड मनमोहन अधिकारीको सवाल छ, उहाँ त्यस्तो षडयन्त्र गर्ने स्वभावको बिलकुलै होइन तर उहाँलाई बनाइयो’ (श्रेष्ठ र अधिकारीको राजनीतिक मात्र नभएर पारिवारिक जीवनमा कस्तो प्रभाव प¥यो होला स्वाभाविकरूपमा प्रश्न उठ्छ। राजनीति कति निर्मम र कठोर हुन्छ भन्ने कुराको पुष्टि यो घटनाले पनि उजागर गर्छ।

सन् १९६० देखि १९७८ सम्मको लगभग १८ वर्ष अवधि पुष्पलालले प्रवासकालमै बिताए। प्रवासमै जीवनबाट सदाका लागि विश्राम लिए। उनका जीवनका अन्य थुप्रै पाटा केलाउन उल्लेख गर्न आलेखको आफ्नो सीमा बन्धनका कारण सम्भव भएन। केही अंशमा भएपनि उनको जीवनका पक्ष स्मृति दिवसका दिन लेख्दा कृतज्ञताको भावका साथै शब्दाञ्जली भयो भन्ने लागेको छ। बिपी र पुष्पलाल दुवैमा हार्दिक श्रद्धाभाव, दुवैको स्मृति दिवसमा।

प्रकाशित: ७ श्रावण २०७७ ०५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App