२ पुस २०८१ मंगलबार
image/svg+xml
विचार

नेपाल–भारत छुट्ट्याउने वास्तविक काली कुन हो ?

‘छिमेकीलाई महँगो पर्ने हिसाबले आफ्नो भू–भाग बढाउन नेपालको संसद्ले संविधानलाई संशोधन गर्ने कदम अगाडि बढाएको छ,’ यही १८ जुनको ‘टेलिग्राफ इन्डिया’मा प्रकाशित ‘कालापानी र लिपुको इतिहास’ शीर्षकको लेखमा उल्लिखित वाक्यांश हो यो । लेखक हुन्, नेपालका लागि भारतका पूर्वराजदूत देव मुखर्जी । मुखर्जीले लेखमा सत्यको कठघरामा अत्यन्त कमजोर साबित हुने प्रमाण अत्यन्त निर्धक्क रूपमा पस्केका छन् ।

उनले लेखेका छन्, ‘अंग्रेज अफिसरहरू र जोखिम उठाउने अन्वेषकको विभिन्न वर्णनबाहेक हामीसँग अलमोराका डेपुटी कमिसनर चाल्र्स ए सेरिङको वर्णन छ । ‘पश्चिमी तिब्बत र ब्र्रिटिस सीमा भू–भाग’ (एड्वर्ड अर्नोल्ड, लन्डन, १९०६) मा सेरिङले त्यस भू–भाग कसरी त्यस समयको अलमोरा जिल्लाको हिस्सा हुन गयो, त्यसको वर्णन गरेका छन् । लिपुको सन्दर्भमा उनी भन्छन्, ‘जब अंग्रेजले गोर्खायुद्ध (अंग्रेज–नेपाल युद्ध १८१४–१८१६)बाट पराजितहरूको अधिकार आफ्नो हातमा लिएपछि सो भू–भाग अंग्रेज साम्राज्यअन्तर्गत आयो ।’

कालापानीबारे सेरिङले भनेका छन्, ‘कालापानी कालीको स्रोत मानिएको कारण अत्यन्त फलदायी स्थान मानिन्छ । किनभने, त्यहाँ आधा दर्जन झरना छन्, जो प्रमुख नदीमा खस्छन्, तर यसको वास्तविक स्रोत केही माइलमाथि छ ।’  

सेरिङले दिएका ‘तथ्य’को आधारमा मुखर्जी भन्छन्, ‘लिपुबाट आउने खोला मात्र त्यो स्रोत हुन सक्छ, किनभने लिम्पियाधुरा कालापानीभन्दा धेरै माइल तल छ । तीर्थयात्रा र व्यापारका लागि लिपुको सम्भावनाबारे सेरिङ प्रशंसा गर्छन् ।  

लिपु वारपारको व्यापार सन् १९०४ मा २६ हजार स्टर्लिङ पाउन्ड मूल्य बराबर भएको थियो, जब कि ‘साठी वर्षअगाडि’ तीन हजार स्टर्लिङ पाउन्ड बराबर भएको थियो । यसले १९औं शताब्दीको सुगौलीपछि कालापानी र लिपुको अवस्थितिको सन्दर्भमा शंका  

गर्ने कुनै ठाउँ छोड्दैन । तीर्थयात्रीले ५० को दशकसम्म लेखेका असंख्य वर्णन छन्, जसमा लिपु भारत र तिब्बतको सीमाको  

रूपमा देखिन्छ ।’ जुन दिन चौतारिया बम शाहले कुमाऊ बुझाएका थिए, त्यही दिन लर्ड मोइरा (नेपाल–अंग्रेज लडाइँको रचनाकार अर्थात् अंग्रेज भारतका तत्कालीन शासक गभर्नर जनरल साथै प्रधान सेनापतिको पदमा आसीन व्यक्ति) ले तिब्बतसँग व्यापार गर्ने आफ्नो महत्वाकांक्षा पूरा हुने देखे ।  

तर, कुमाऊ भएर तिब्बत आवतजावत गर्ने भञ्ज्याङ यात्राका लागि अत्यन्त कठिन थिए । काली नदीपूर्वको लिपुलेक भञ्ज्याङ, जसलाई अंग्रेजले ताक्लाकोट जाने भञ्ज्याङ भन्थे, त्यहाँ कम कठिनाइले आवतजावत गर्न सकिन्थ्यो । सामरिक दृष्टिले पनि त्यत्तिकै महत्वपूर्ण थियो, त्यो भञ्ज्याङ । मानसरोवर र कैलाशबाट पनि निकट थियो । त्यसबेलासम्म नेपाल र कुमाऊबीचको सीमा काली नदी हुने निश्चित भइसकेको थियो । तसर्थ, बम शाहले कुमाऊ समर्पण गरेको केही दिनभित्रै लर्ड मोइराले नेपालको सुदूरपश्चिम भू–भाग कुमाऊमा गाभ्न नेपाल सरकारसँग सम्झौता वार्ता गर्न निर्देशन दिएका  थिए । 

जति कोसिस गरे पनि त्यस प्रस्तावलाई नेपाल सरकारले अस्वीकार ग¥यो । परिणामस्वरूप अंग्रेज सरकारले छल गरी चोरबाटोबाट उक्त भूमि हडप्ने योजना अगाडि बढाएको थियो ।

माथिको स्याटेलाइट चित्रबाट गुन्जीमा या नजिकै  हिमाच्छादित पर्वत श्रृंखलाको अन्तिम विन्दु पुगेको देखिन्छ । गुन्जीमा पर्वत ठीक दक्षिण झुकेको छ। कालापानी खोलाको सुदूरपूर्वी विन्दुमा हिमाच्छादित पर्वत पश्चिमतिर झुकेको छ। (चित्र गुगल अर्थ)

त्यही चालअनुरूप ५ सेप्टेम्बर १८१७ मा लर्ड मोइराले निर्देशन दिएको पत्र पठाइयो, कुमाऊका कमिसनर ट्रेललाई । यस योजनामा ट्रेल पनि कम भागिदार थिएनन् । पत्र केवल आधिकारिता दिनलाई थियो । पत्र लर्ड मोइराका प्रमुख सचिव र सरकारका राजनीतिक विभागका सचिव जन एडमको नाममा पठाइएको थियो ।

कालापानी खोला निस्कने हिमाच्छादित पर्वतको सुदूरपूर्वी बिन्दु गुन्जीबाट पूर्व लगभग ३० किलोमिटर दूरीमा छ र नेपालको भू–भागभित्र पर्छ । जब कि वास्तविक काली आउने हिमाच्छादित पर्वतको सबैभन्दा सुदूरपूर्वी बिन्दु ठीक गुन्जीमा छुन्छ ।

ब्यास परगनामा रहेका कुन्ती र नाभी गाउँ त्यस क्षेत्रमा कालीको प्रमुख शाखा भनेर जानिने खोलाको पश्चिममा अवस्थित रहेका आधारमा तपाईंले सरकारको निश्चित निर्देशनबिना चौतारिया बम शाहलाई सुम्पिन अस्वीकार गर्नुभएकामा गभर्नर जनरलले त्यसको पूर्ण अनुमोदन गरेका छन् । तपाईंले पठाउनुभएको नक्साहरूको अध्ययन र तपाईं स्वयं र लेफ्टिनेन्ट वेबले पूर्ण व्याख्या गर्नुभएको यथार्थ र तथ्यले कालापानी नामले जानिने खोला कालीको प्रमुख शाखा मानिनुपर्ने भन्नेमा गभर्नर जनरलको सोचमा कुनै सन्देह रहेन । सन्धिको निष्पक्ष र स्पष्ट व्याख्याका आधारमा दुई राज्यको भू–भागबीचको सीमाको रूपमा ती गाउँ हामीले राख्नेमा विरोध गर्न सकिँदैन ।

दोस्रोतर्फ तपाईं र लेफ्टिनेन्ट वेबको रिपोर्टबाट देखिन्छ कि यी कारणले गर्दा ती गाउँ नेपाललाई हवाला गर्दा धेरै असुसिधा हुने भएकाले लर्ड मोइराले कालापानीको पश्चिमतिर पर्ने ब्यासको कुनै पनि हिस्सा त्याग नगर्ने निर्णय गर्नुभएको छ । र, यो स्वीकृत प्रस्तावका साथ त्यसो गर्नुको पृष्ठभूमिबारे चौतारिया बम शाहलाई त्यही अनुसार जानकारी दिन तपाईंलाई प्रशन्नता हुनेछ ।

बम शाहलाई टिन्कर र छांग्रु गाउँबाट उठेको राजस्व सो नट रूपैयाँ १४०.१३ दिन तपाईंलाई अधिकार दिइएको छ, (भसिन –२००५, नेपाल इन्डिया, नेपाल चीन रिलेसन्स डकुमेन्ट्स १९४७–२००५) ।’

यस सन्दर्भमा सचिव जन एडमले एड्वर्ड गार्डनर (जो नेपाल–अंग्रेज लडाइँको थालनीदेखि कुमाऊका लागि अंग्रेज सरकारको एजेन्ट नियुक्त गरिएका थिए) लाई ३ मे १८१५ मा पठाएको पत्र विशेष महत्वको देखिन्छ । पत्रमा गार्डनरले त्यसको केही दिनअगाडि कुमाऊ आफ्नो हातमा आएपछि पठाएका सूचनाको ‘विषयवस्तुको महत्वपूर्ण र सन्तोषजनक विषयमा गभर्नर–जनरल लर्ड मोइराको विचार र निर्देशन’ दिइएको छ ।  

पत्रको बुँदा सातमा उल्लेख छ: 
गोर्खासैन्य कुमाऊबाट हटेको र शारदातिर जाने निकासलाई सुरक्षित गरेलगत्तै सम्पूर्ण प्रान्तमा सरकारको अख्तियारको थालनी तथा स्थापनातर्फ तपाईंको ध्यान जानेछ । यस विषयमा तपाईंलाई अगाडि दिइसकेको प्रान्तको सीमा निर्धारण गरिनेबाहेक कुनै पनि थप जानकारी दिनुपर्ने देखिन्न । यो सरकारसँग भएका सबै नक्सा यति गलत छन् कि कम्पनीको हितमा तिनीहरूबाट के गर्न सकिन्छ भन्नेमा कुनै पनि सन्तोषजनक निर्णय बनाउन सकिँदैन । पूर्वतिर शारदाले स्वाभाविक सीमा प्रस्तुत गर्छ । तैपनि हिमालय पर्वतहरू भएर तिब्बतसँग गोर्खाहरूको हस्तक्षेपबिना व्यापार गर्ने प्रमुख लक्ष्य त्यो नदीलाई बनाए प्राप्त नहुन सक्छ ।  

त्यही कारण यस सम्बन्धमा तपाईंले आफूलाई चित्त बुझाउन अनुरोध गरिएको छ । र, शारदामाथि हिमालय पर्वतहरू समीपका सीमा भू–भागमाथि अभिप्रायका लागि चाहिन्छ भने त्यो क्षेत्र कति हो त्यो स्पष्ट हुनुपर्छ । ताकि गोर्खा सरकारसँगको कुनै पनि सम्झौता वार्तामा त्यो भू–भाग गाभ्नेबारे बुँदा राख्नुपर्छ, (पेपर्ज रिस्पेक्टिङ दी नेपाल वार–१८२४, पृष्ठ ५७१) ।

पत्रमार्फत लर्ड मोइराले केही भू–भाग कुमाऊमा गाभ्ने वार्ता चलाउन गार्डनरलाई निर्देशन दिएका थिए, त्यो अड्कल लगाउन कुनै गाह्रो भएन । पत्रको अन्त्यमा लर्ड मोइराको निर्देशनअनुसार गार्डनरलाई ‘कमिसनर फर द अफेयर्स अफ कुमाऊ एन्ड एजेन्ट अफ द गभर्नर–जनरल’को पदमा नियुक्ति गरिएको सूचना पनि दिइएको थियो ।

यसको केही दिनपछि ११ मेमा लर्ड मोइराले लन्डनस्थित इस्ट इन्डिया कम्पनीको ‘सिक्रेट कमिटी’लाई पठाएको ‘गुप्त पत्र’मा कमिटीलाई कुमाऊ प्रान्त प्राप्त गरेकामा ‘हर्षसाथ’ बधाई दिएका थिए ।  

पत्रको बुँदा ४ मा उनले तिब्बतसँगको सम्भावित व्यापारको सम्बन्धमा लेखेका थिए, ‘हामीले निश्चित गरे अनुसार, कुमाऊको उत्तरी बिन्दुका हिमालय पर्वतहरूको भञ्ज्याङले केवल प्रचलित मात्र नभई टारटारी (तिब्बत)भित्र व्यापार गर्ने बाटो दिन्छ, यो बाटाबाट कति हदसम्म व्यापार गर्न सकिन्छ, अहिले मोटामोटी अड्कलको विषय हो । सम्भवतः धेरै हुन सक्छ । पर्वतपारि फ्रान्सेली कपडाहरू प्रयोगमा आउने प्रमाण छन् । तीमध्ये केही ‘एबभिल’ चिह्न भएका छन् ।  

युरोपेली सामानले अवश्य पनि त्यहाँका बजारमा पाउँछन् । जानकारीमा आएको कपडा रुसबाट आएको हुनुपर्छ । र, त्यसमा निश्चित छ, अंग्रेजी उत्पादन समुद्र भएर सस्तोमा कलकत्ता ल्याई गंगाको माथिल्लो भू–भागमा पु¥याउन सकिन्छ । यी कपडा उनीहरूलाई दिई त्यसको सट्टा सल बनाउने ऊन हामी लिन सक्छौँ । मैले पाएको सूचनामा निर्भर भएर म यो भन्न सक्छु– इस्ट इन्डिया कम्पनीले त्यस्ता वस्तु जति उत्पादन गर्छ, त्यसको व्यापक रूपमा बिक्री–वितरण गर्ने लाइनमा ऊ आफूले मात्र काम गर्न सक्छ, (पेपर्ज रिस्पेक्टिङ दी नेपालवार (१८२४) ।’

त्यस्तै, २ अगस्टमा ‘सिक्रेट कमिटी’लाई पठाएको ‘लडाइँको वर्णन’ गरिएको ‘गुप्तपत्र’ को बुँदा ३२० मा लर्ड मोइराले भनेका थिए, ‘कुमाऊमा फलाम, सिसा र तामा खानी छन् । ती खानीको व्यवस्थापन दयनीय छ ।  

युरोपेली दक्षता र धैर्यताले धातु उत्पादन मुनाफाको एक महत्वपूर्ण हिस्सा बन्नेछ । कुमाऊमा अत्यन्त उन्नत खालको जुटको खेती गरिन्छ । मैले जानकारी पाए अनुसार, त्यसको मनग्य खेती गर्न सकिन्छ । कुमाऊको स्वामित्वबाट हामीले शल बनाउने ऊन बोकेको जनावर उत्पादन गर्ने देशसँग सीधा र त्यति गाह्रो नपर्ने बाटो हाम्रो स्वामित्वमा आउँछ । अन्त्यमा कुमाऊलाई राजनीतिक र सैनिक दृष्टिकोणका बिन्दुबाट त्यसले दिने फाइदाबाट पनि हेर्न सकिन्छ ।

(नोट: अंग्रेजले पूरै तिब्बत अथवा खासगरी हिमालपारि निकटवर्ती भू–भागलाई हुन कबिलाको देश अथवा हुनदेश पनि भन्थे । तर, लर्ड मोइराले हुनको नभनी ऊनदेश भनेका थिए ।)

त्यही बुँदामा उनले कुमाऊको सुदूरपूर्वी सीमाको जानकारी दिएका थिए, ‘हिमाच्छादित पर्वतहरूदेखि समथल भू–भागसम्म कालीको सीमा अत्यन्त परिभाषित छ । साँगुरिएको भए पनि गहिरो र तेज गतिमा बग्छ । उचित ढंगले सुरक्षा दिएमा गोर्खा शक्तिबाट पश्चिमतिर हुने आक्रमण रोक्ने पूर्णसीमा पर्खाल बन्नेछ । यसले कुमाऊ पछाडिका सम्पूर्ण राज्यलाई सुरक्षा दिनेछ । दक्षिणतिर झुकेको हिमाच्छादित शृंखलाको अन्तिम बिन्दुले कुमाऊको सुदूरपूर्वी भू–भाग छुन्छ, (पेपर्ज रिस्पेक्टिङ द नेपाल वार–१८२४, पृष्ठ ७६१) ।

कालापानी खोला नै वास्तविक काली नदी भए, त्यसको सम्भावना हेर्न माथि उल्लिखित यो अन्तिम वाक्यलाई हेरौँ । यो सत्य हो कि कालापानी खोला पनि हिमाच्छादित पर्वतहरूबाटै निस्कन्छ । त्यस्तै, कालीमा आउने हरेक सहायक नदी, खोलाहरू र कालापानीको सहायक खोलाहरू पनि । तर, कालीसँगको सम्बन्धमा हिमाच्छादित पर्वतहरू दक्षिणतिर झुकेका छन्, लर्ड मोइराले बताएजस्तै । कालापानी खोला भने पश्चिमतिर झुकेको हिमाच्छादित पर्वतबाट निस्कन्छ । त्यस्तै, त्यही वाक्यमा लर्ड मोइराले ‘दक्षिणतिर झुकेको हिमाच्छादित पर्वतहरूको अन्तिम बिन्दु कुमाऊको सुदूरपूर्वी बिन्दुमा छ’ भनेका छन् ।  

कालापानी खोला निस्कने हिमाच्छादित पर्वतको सुदूरपूर्वी बिन्दु गुन्जीबाट पूर्व लगभग ३० किलोमिटर दूरीमा छ र नेपालको भू–भागभित्र पर्छ । जब कि वास्तविक काली आउने हिमाच्छादित पर्वतको सबैभन्दा सुदूरपूर्वी बिन्दु ठीक गुन्जीमा छुन्छ । यी अलग–अलग भौगोलिक तथ्य हेर्दा कालापानी खोलालाई काली नदी भनेर लर्ड मोइराले पत्रमा चर्चा गरेको सम्भावना देखिँदैन । लर्ड मोइराले कुमाऊको सुदूरपूर्वी सीमाको स्पष्ट वर्णन गरेका छन् । यसले लर्ड मोइरा काली नदी कुन हो भन्नेमा १८१७ सम्म अनभिज्ञ रहेको, कमिसनर ट्रेल र सर्भेयर वेबको रिपोर्ट, नक्सा देखेपछि मात्र उनले वास्तविक कालीबारे जानकारी पाएको कुरामा कुनै सत्यता देखिँदैन । सुगौली सन्धिको ‘काली नदी’ लिम्पियाधुराबाट सुरु हुने काली भएको स्पष्ट देखिन्छ ।

(नोट: सर्भेयर वेबले कैलाश–मानसरोवर जाने तीर्थयात्रीले कालापानी झरनामा स्नान गर्ने गरेको र उनीहरूले त्यहीबाट आउने कालापानी खोलालाई काली भन्ने गरेकाले त्यस खोला नै काली भएको जानकारी दिएका थिए । तर, सर्भेयर वेबको कुमाऊको सन् १८१९ मा प्रकाशित नक्सामा काली लिम्पियाधुराबाट आएको देखाइएको थियो । वेबकै सर्भेका आधारमा कुमाऊका नक्साहरू पछि बनेका थिए । त्यो १८४७ सम्म कायम रह्यो ।)

टेलिग्राफको लेखमा भूतपूर्व राजदूतले भनेका छन्, ‘सुगौली सन्धिले काली नदीलाई नेपाल र अंग्रेज भारतको पश्चिमी सीमा निर्धारण गरेको थियो । सन् १९९० को दशकदेखि नेपाल सरकारले लिएको अडान अनुसार, सन् १८१६ को सन्धिले कालीको स्रोत गुन्जीको उत्तरतिर रहेको पर्वतबाट निस्कने लिम्पियाधुरा मानेको थियो । त्यो स्वीकार भयो भने त्यसले कालापानी र लिपुलेक माथिको दावा सत्य ठहर्नेछ ।’ भारतको विदेश मामिला मन्त्रालयद्वारा सन् १९६१ मा ‘रिपोर्ट अफ द अफिसियल अफ द गभर्मेन्ट अफ इन्डिया एन्ड द पिपल्ज रिपब्लिक अफ चाइना अन द बाउन्ड्री क्वेस्चन’ (भारत र जनवादी गणतन्त्र चीनका पदाधिकारीको सीमा प्रश्न माथिको रिपोर्ट) प्रकाशित भएको थियो ।  

त्यस रिपोर्टमा एक वाक्यांश छ, ‘एकतर्फ उ–द्ररा ला (भञ्ज्याङ) को नजिकबाट सिआङ्चुआन नदी (यार्लुङ साङ्पो ?) र माप्चु नदी (कर्णाली), अर्कोतर्फ धौली गंगा र कालीनदीको सहायकलाई छुट्ट्याउने पानी ढालको साथसाथ हुँदै डार्मा भञ्ज्याङ भएर सीमारेखा लिपुलेक भञ्ज्याङ समीपको चीन, भारत र नेपालको त्रिदेशीय बिन्दु पुग्छ ।’

सीमारेखा धौली गंगा र कालीलाई छुट्ट्याउने पानीढाल (पर्वत शृंखला) को साथसाथ जान्छ भने लिपुलेक भञ्ज्याङको नजिकबाट आउने खोला या कालापानीबाट आउने खोला काली हुन सक्दैन । रिपोर्टमा बताइएको काली लिम्पियाधुराबाट आउने वास्तविक कालीबाहेक अरू कुनै काली हुने सम्भावना छैन ।

यहाँ दिइएका तथ्यको भारत सरकारले आफूसँग भएका ऐतिहासिक दस्तावेजद्वारा उचित प्रतिवाद गर्नुप-यो । अन्यथा, नेपाल भूमिमाथिको आफ्नो कब्जा छोड्नुप-यो ।
(रेग्मीको प्रकाशोन्मुख पुस्तकमा आधारित )

प्रकाशित: २० असार २०७७ ०३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App